ऋषिपञ्चमी व्रत तथा महिलाहरुले रजस्वला बार्नुको पौराणिक तथा आधुनिक महत्व

ऋषिपञ्चमी व्रत किन गर्ने ? नारीहरुले महिनावारी किन बार्ने ? 

वर्तमान परिप्रेक्ष्यमा यत्र तत्र सुनिन्छ कि " म त आधुनिक नारी महिनावारी बार्दिन ।" यस्ता कुराहरु आजभोली विशेष गरि शहरका जनजीवनमा हुर्केका यूवतीहरुमा सुन्न र देख्न पाईन्छ । वस्तुतः महिनावारी हुनु वा रजोवती हुनु नारी आफैँमा सौभाग्यको कुरा हो  र यो प्राकृतिक वा जैविक नियम पनि हो । नारी स्वयम् प्रकृति हुन् । विधाताले पनि नारीलाई रजस्वला हुने, गर्भधारण गर्न सक्ने र सन्तानलाई जन्मदिएर आमा वन्न सक्ने सौभाग्य प्रदान गरेको छ । यो सौभाग्य र सम्मानलाई आम नारी तथा मातृशक्तिहरुले सहर्ष ग्रहण गर्न सक्नु पर्दछ ।  
    हाम्रा शास्त्रहरुले पनि महिनावारीको प्रकृयाले नारीलाई शुद्ध बनाउँदछ भनी उल्लेख गरेको छ । 
जस्तै:
भस्मना शुद्ध्यते कास्यं ताम्रं अम्लेन शुद्ध्यति ।
रजसा शुद्ध्यते नारी नदी वेगेन शुद्ध्यति ।।
सप्ताह पितृदेवानां व्रतयोग्या भवार्चने ।।

             अर्थात् भस्मद्वारा काँस शुद्ध हुन्छ ।अमिलोले तामालाई शुद्ध वनाउँछ, वेग पूर्वक बग्नाले नदीका किनारमा रहेका फोहोरहरुलाई बगाएर नदी शुद्ध अनि पवित्र हुन्छिन् भने रजस्वला रुपि प्रकृयाले नारीहरु शुद्ध हुन्छन् । रजस्वला भएका नारीहरु आमा बन्नको लागि सक्षम हुन्छन् । रजस्वला भएको सातदिन पछि मात्र देवता तथा पितृकर्म गर्नका लागि योग्य मानिन्छन् । सन्तान उत्पादन गर्ने प्रक्रियाको लागि पनि सातदिन पछिको समय नै उत्कृष्ट हो भनेर शास्त्रहरुले उल्लेख गरेका छन् । 


महिनावारी किन वार्नु पर्छ? अर्थात रजस्वला भएको चार दिन किन अलग रहनु पर्छ? 
    
वस्तुतः हाम्रा धर्मशास्त्रहरुले हामिलाई जीवन जीउन सिकाएको छ । एउटा अनुशासनमा रहेर बाँच्न सिकाएको छ । यिनै शास्त्रहरुको अध्ययन, मनन र चिन्तन गर्दै शास्त्रोल्लिखित नीति र निर्देशनमा रहेर व्यवहार गर्न सकिएको खण्डमा जीवन स्वस्थ वन्दछ, सुन्दर बन्दछ । वास्तवमा विभिन्न पुराण, दर्शन, मिमांशा आदिले मानिसलाई जीवन जीउने कला पनि सिकाएका छन्  । यी शास्त्रहरुले मानिसलाई धेरै माया गरेका छन् । मानिसको विषयमा हाम्रा शास्त्रहरुले धेरै चिन्ता प्रकट गरेका छन् । हाम्रा धर्मशास्त्रहरुले हामी मानव प्रति अगाध प्रेम प्रकट गरेको पाईन्छ । मानौ एउटि आमाले अाफुले जन्म दिएका सन्तान प्रति जति माया  गरेकि हुन्छिन जति आफ्ना सन्तानको भविष्य प्रति चिन्ता प्रकट गरेकि हुन्छिन् त्यसको दशहजार गुणा बढी चिन्ता शास्त्रहरुले हाम्रा लागि प्रकट गरिरहेका हुन्छन् त्यसैले हाम्रा धर्मशास्त्रले देखाएको बाटो अनुसरण गर्दै अगाडि बढ्नु हाम्रो कर्तव्य हो । यिनै शतपथहरुको अनुसरण गरेमा पक्कै पनि हाम्रो गन्तव्य सुनिश्चित र सुखदायी बन्दछ । 
           

रजस्वला के हो?

नारीहरुमा मासिक रुपमा हुने रजस्वला  एक जैविक प्राकृतिक प्रक्रिया ह‍ो । जब रजस्वला भएको चारदिन नारीहरु अत्यन्तै संवेदनशील हुन्छन् । यो चारदिन सम्म नारीको शरीरमा रज वगिरहने हुनाले उनिहरु अत्यन्तै कमजोर हुन्छन् र घरायसि कामहरुवाट उनिहरुलाई विश्राम दिईन्छ । 
पौराणिक ग्रन्थअनुसार पहिलेको समयमा स्वर्गका राजा ईन्द्रलाई त्वष्टा ऋषिका छोरा विश्वरुपको हत्या गरेर ( कतै वृत्रासुरको हत्याबाट पनि भनिन्छ) ब्रह्महत्याको पाप लागेको थियो । ब्राह्मणको बध गरेको हुनाले ईन्द्रलाई ब्रह्महत्या लाग्यो र त्यसलाई समाभान गर्नको लागि महाराज ईन्द्रले भूमी, जल, वृक्ष र स्त्री गरि चार भागमा सो पापलाई बिभाजन गरे । 

भूमिस्तुरीयं जग्राह खातपूरवरेण वै ।
ईरिणं ब्रह्महत्याया रूपं भूमौ प्रदृश्यते ।।

                                  अर्थात् पृथ्वीमा खाल्टो परेक‍ो भाग स्वतः भरिदै जाने वरदान पाएर पृथ्वीले ब्रह्महत्याको चार भागको एकभाग स्वीकार गरिन् । त्यसै बेलादेखि ब्रह्महत्यारुप पाप स्वीकार गरेको कारण पृथ्वीमा कतै कतै मरुभूमि देखिन्छ ।
      
तुर्यं छेदविरोहेण वरेण जगृहुर्द्रुमा: ।
तेषां निर्यासरुपेण ब्रह्महत्या प्रदृश्यते ।। 

                               अर्थात् काटेपछि पुनः पलाउने वरदान स्वीकार गरेर वृक्षहरुले ईन्द्रको ब्रह्महत्याको दोस्रोभाग ग्रहण गरे । वृक्षहरुलाई काट्दा त्यसबाट निस्कने चोपलाई ब्रह्महत्याको कारण मानिन्छ ।
       
द्रव्यभूयोवरेणापस्तुरीयं जगृहुर्मलम् ।
तासु बुद्बुदफेनाभ्यां दृष्टं तद्धरति क्षिपन् ।।

                                        अर्थात् कुवा, नदि आदिबाट जल जति झिकेपनि नसुक्ने बरु मूल फुटेर बृद्धिहुदै जाने वरदान पाएर ब्रह्महत्याको  तेस्रो भाग जलले स्वीकार गर्यो । त्यसैले अहिले पनि जलमा फोका, फिँज, तरङ्ग आदिका रुपमा त्यो ब्रह्महत्यारुपि पाप देखापर्दछ । मनुष्यहरुले ती फोका, फिँजलाई हातले हटाएर मात्र जल पिउने गर्दछन् ।
   
शश्वत्कामवरेणांहस्तुरीयं जगृहुः स्त्रिय: ।
रजोरूपेण तास्वंहो मासि मासि प्रदृश्यते ।।

                                    अर्थात् पुरुषसँग नित्य सहवास गर्दा पनि  पूर्ण तृप्ति नहुने, सन्तान प्रप्त गर्न सक्ने र गर्भवती अवस्थामा सहवास गर्दा गर्भपात नहुने वरदान लिई ब्रह्महत्याको चौथोभाग स्त्रीहरुले ग्रहण गरे । त्यसकारणले स्त्रीहरुमा ब्रह्महत्यारुपी पाप प्रत्येक महिनामा रजस्वला हुँदा आउने रजको रुपमा देखिन्छ । 

 

रजस्वला अवस्थामा किन अलग रहनु पर्दछ ? 

यसप्रकार  स्वर्गका राजा ईन्द्रलाई लागेको ब्रह्महत्यारुपि पापलाई यसरी चार भागमा विभक्त गर्दै जमिन,वृक्ष, जल र स्त्रीमा भाग लगाईएको हो। 
त्यहि ब्रह्महत्यारुप पाप नै महिलाहरुको मासिक धर्म रजको रुपमा प्रत्येक महिनामा महिनाको चार दिन सम्म शरीरमा देखा पर्दछ । रजस्वला भएको पहिलो दिनमा चाण्डाली, दोस्रो दिनमा ब्रह्मघातिनी, तेस्रोदिनमा रजकि अर्थात् धोबिनी सरह मानिन्छ र चौथोदिनमा शुद्ध हुन्छन् यानिकि चोखिन्छन् । त्यो ब्रह्महत्यारुप पाप भएको हुनाले त्यो पाप जबसम्म देखिन्छ तब सम्म महिलाहरु घरायसी कार्य गर्न, स्पर्श गर्न, देवताको पुजा आरधना गर्न, मन्त्रजप, मन्दिर दर्शन आदि कार्यमा वर्जित गरिएको छ । 

अर्कोतर्फ वैज्ञानिक कारणलाई पनि दृष्टिगत गर्दा जब नारीहरुमा यो प्रक्रिया चल्दछ, तब सम्म उनिहरुको शरीर अत्यन्तै कमजोर हुने, यो समयमा उनिहरुलाई विशेष हेर विचार पुर्याउनु पर्ने, रक्तस्रावका कारण शरीर कमजोर हुने हुनाले आराम गर्नुपर्ने र शरीरमा पौष्टिक तत्वहरुको आवश्यक पर्ने हुनाले पोषणयुक्त खानेकुराहरु खानुपर्ने हुनाले पनि यो समय रजस्वला भएका नारीहरुलाई विशेष ख्याल गर्नु पर्ने र घरायसी काम आदिबाट विश्राम दिईएको हो। 
  
धार्मिक दृष्टिले हेर्दा चारदिन सम्म शरीरमा ब्रह्महत्यारुप पाप बग्ने हुनाले घरायसी, घरभित्रका कामहरु गर्नु नहुने शास्त्रले बताएको छ । यदी रजस्वला अवस्थामा कुनै नारीले बाध्यतावश, नजानीकन या जानिबुझिकन पनि घरायसीकाम गरिरहने यी कुराहरुलाई वेवास्ता गर्ने जस्ता कार्य गरेमा यसको विपरीत नकारात्मक फल समेत भोग्नु पर्ने शास्त्र बताउँछ । त्यहि रजस्वला भएको बेलामा घरायसी काम गरेको श्रीमान श्रीमती एक अर्कामा स्पर्शगरेको, मैथुनादि कर्म गरेको कारणरुप पापबाट मुक्त हुनको लागि नै नारी अथवा श्रीमान श्रीमतिले नै ऋषीपञ्चमीको व्रत गर्नु पर्दछ । 
यस सन्दर्भमा एउटा इतिहास पुराणमा वर्णन गरिएको छ । जसमा ऋषिपञ्चमी व्रतको महिमालाई सुन्दर ढंगबाट प्रस्तुत गरिएको छ ।

ऋषिपञ्चमी व्रतकथा
सत्ययुगमा एकजना वेदवेदाङ्गमा पारंगत सुमित्र नामक ब्रह्मण धिए । समस्त प्राणीको भलो चिताउने ब्राह्मण स्वयं कृषीआादि कर्म गरि परिवारको पालन गर्दथे ।उनकि जयश्री नाम गरेकि भार्या थिईन् । संधैभरी खेतिपातिको काममा लागिरहने उनले आफु रजस्वला भएको समयमा पनि घरायसी काम धन्दा र खेतीपाति आदि काम गरिरहिन् । रजस्वला भएको समयमा पनि घरायसि काम धन्दा गरिरहने ती ब्राह्मणीको केही समय पछि मृत्युभयो र उनी सोही घरमा कुकुर्नी भएर जन्मिईन् । ब्राह्मण सुमित्र पनि आफ्नी पत्नीको दोषका कारण आफ्नै घरमा गोरु भएर जन्मिए । ती ब्राह्मणका सुमति नाम गरेको छोरा र बुहारि थिए । कारणबश एकदिन ती बुहारिले कुकुर्नीलाई अगुल्टाले हिर्काईन जसको कारणले गर्दा कुकुर्नी अत्यन्त दुखित भईन् त्यो दिन केही अन्नआदि पनि खान दिएनन्  र आफ्ना पतिरुपि गोरुलाई गएर आफ्नो सबै दुखहरु निवेदन गरिन् । ती सबैकुराहरु  उनका छोरा सुमतिले थाहा पाए । यी कुकुर्नी र गोरु भएर जन्मेका त हाम्रा आमा बाबुनै रहेछन भन्ने जानेर रातिको समयमा नै ती छोराले तिनिहरुलाई खुवाई पियाई गरे । केही समय पछि ती छोरा पनि कुष्ठरोग बाट पिडित भए । त्यसपछि ती छोराले आफ्ना आमाबाबुको र आफ्नो दुःखलाई कसरी शमन गर्न सकिएला भनी चिन्तन गर्दै वनतिर प्रवेश गरे । जहाँ सप्तऋषिहरुको आश्रम थियो त्यहाँ गएर ती महर्षीहरुलाई आफ्ना सम्पूर्ण दुख निवेदन गरे । सप्तऋषीहरुले चिन्तन गरेर भने तिम्री आमाले पुर्व जन्ममा रजस्वला भएको समयमा कुनै प्रवाह नगरि  सम्पूर्ण घरका कामधन्दा गरेको हुनाले कुकुर्नीको योनीमा जन्मलिनु परेको हो । तिम्रा बाबुले पनि पत्निको दोषको कारण गोरुभएर जन्मनु परेको हो । हे सुमति! अब तिमी अाफ्ना माता पिताको उद्दार गर्न चाहन्छौ भने ऋषीपञ्चमीको व्रत गर सो व्रतका प्रभावले सम्पूर्ण दुखबाट मुक्ति मिल्दछ भनी सम्पूर्ण व्रतको विधि बताईदिए ।त्यसपछि ती सुमति पत्निले सहित भएर अत्यन्त पवित्रतामा रहेर सात बर्षसम्म हलोले जोतेर खेति गरिएको अन्न आदि भोजन नगरि जंगलमा पाईने फलफूल, कन्दमूल आदिको  ग्रहण गर्दै पवित्र ऋषीपञ्चमीको व्रत गरे र सो व्रतको फल आफ्ना मातापितालाई दिदा भए । सो व्रतको प्रभावले कुकुर्नीको योनीमा प्रप्त भएकी माताको सम्पूर्ण पाप छुट्यो र उनी स्वर्गलोकमा गएर सुखभोग गर्न पाईन् । त्यसैगरि पशुयोनि गोरु भएर जन्मेका पिता पनि व्रतका प्रभावले पापमुक्त भएर स्वर्ग गए र सुमतिलाई अाफ्नो शरीरमा भएको कुष्ठरोग पनि हरायो र सुख पूर्वक भगवान आराधना गर्दै रहन थाले । त्यसकारणले यस ऋषिपञ्चमीको व्रतको  महिमा अत्यन्त  पवित्र छ । रजस्वला भएको अवस्थामा गरिएका सम्पूर्ण पापहरुलाई पखाल्नको लागि यो व्रत अवश्य पनि गर्नुपर्दछ ।
भगवान श्रीकृष्णले राजा युधिष्ठिरलाई बताउनुभएको यो ऋषिपञ्चमीको व्रतकथा पढ्नाले या सुन्नाले पनि मनुष्यका सम्पूर्ण पापहरु नाश हुनेछन् ।

ऋषिपञ्चमीको दिन नारीहरले प्रातःकालमा नदी, जलाशय आदिमा गएर अपामार्ग आदिबाट दन्तधावन गर्दै स्नानादि कर्म गर्नुपर्दछ । त्यस उप्रान्त यसदिनमा व्रत गर्दै अरुन्धति सहित सप्तऋषिहरुको पुजा गर्नु पर्दछ । ती सप्तऋषीहरु यसप्रकार छन् 
कश्यपोSत्रिर्भरद्वाजो विश्वामित्रोSथ गौतम: ।
जमदग्निर्वशिष्ठश्च साध्वी चैवाप्यरुन्धती ।।

                               अर्थात्  पतिव्रता साध्वी अरुन्धतीले सहित कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम,जमदग्नि र वशिष्ठलाई नै सप्तऋषि मानिन्छ । यिनिहरुको पुजा अर्चना र वन्दना गर्नाले सम्पूर्ण पाप रुपि कर्महरु नाश भएर जान्छन् । त्यसैले  प्रयत्न पूर्वक यस ऋषीपञ्चमीको व्रत गर्नु पर्दछ । यस व्रतले यस लोकमा सुखभोग र परलोकमा उत्तम गति प्राप्त हुन्छ । 

  • Mero Jyotish

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish