हरितालिका तीजको धार्मिक, सामाजिक तथा साँस्कृतिक महत्व

हरितालिका तीजको महत्व हाम्रो सनातन संस्कृतिमा ठूलो रहेको छ l यो तीजको पर्व भाद्र महिना शुक्लपक्षको तृतीयाको दिन मनाइन्छ l मुख्यरूपले सौभाग्यवती वा विवाहित महिलाहरुद्वारा यस पर्वलाई मनाइन्छ तर यो व्रत अविवाहित महिला तथा पुरुषहरुको लागि पनि उत्तिकै श्रेष्ठ मानिएको छ l हरितालिका तीजमा भगवान शिव, माता गौरी एवं गणेशजीको पूजा-आराधनाको महत्व रहेको छ l यो व्रत निराहार एवं निर्जला भई तथा रात्रि जाग्राम गरि नाचगानको साथ गर्ने गरिन्छ l

आलिभिः सखिभिः हरिता इति हरितालिका । अथवा सखिभिर्हरिता यस्मात् तेनेयं हरितालिका । ‘हरित’ को अर्थ हरण गरिएको र ‘आलिका’ को अर्थ साथी हुन्छ । पौराणिक प्रसंगअनुसार भाद्र शुक्ल तृतीयाको दिन पर्वतराज हिमालयकी सुपुत्री पार्वतीलाई विष्णुसँग निश्चय गरिएको विवाहबाट जोगाउन उनका सखीहरूले हरण गरेर लुकाएका कारण यस दिनलाई हरितालिका भनिएको हो ।

हरितालिकाको लोकप्रसिद्ध नाम ‘तीज’ हो । यो विशेषगरी नारीहरूले मनाउने पर्व हो । धार्मिक रूपमा तीज अन्तर्गत उमामहेश्वरको पूजा गरी निराहार व्रत बस्ने र भोलिपल्ट व्रतको उद्यापन गरेर भोजन गर्नेसम्मका कृत्यहरू पर्दछन् । तीजमा निराहार व्रत बसी पार्वतीसहित भगवान् शिवको पूजा–आराधना गर्ने नियम छ । यसका साथै तीजमा दरका रूपमा विशेष खानपान, नाचगान र मनोरञ्जन समेत गरिन्छ । यो पर्व नेपाल, भारतलगायत हिन्दुहरूको बसोबास भएका अन्य मुलुकमा समेत मनाइन्छ । तीजमा मीठामीठा परिकार आफैंले पकाएर आफन्तहरूलाई बोलाएर आफ्नै मिहिनेतको फल खाने र खुवाउने चलन छ । यस्तै नयाँ कपडा तथा गरगहना जोरजाम गर्ने पर्वका रूपमा पनि तीज अगाडि रहेको छ ।

नेपाली समाजमा प्राचीनकालदेखि नै तीजलाई महत्त्वपूर्ण पर्वका रूपमा लिने गरेको पाइन्छ । विवाह भएर टाढा पुगेका छोरी–चेली–भान्जीहरूलाई घरसम्मै माइती लिन जाने,  माइतमा एकसाथ भेला हुने,  रमाइलो भेटघाटबीच मीठो एवं स्वादिष्ट दर खाने,  व्रत बसी सामूहिक पूजा गर्ने र नाचगानका माध्यमले आफ्ना दुःखसुखका पीरमर्का व्यक्त गर्ने अवसर तीजले नै जुटाउंछ ।

 यस पर्वलाई पतिपत्नीबीचको सम्बन्ध प्रगाढ बनाउने, आपसी सहयोगको भाव प्रत्यक्षरूपमा व्यक्त गर्ने, उमामहेश्वरको पूजाद्वारा पतिपत्नी एक–अर्काका पूरक भएको प्रमाणित गर्ने,  ईश्वर–उपासनाद्वारा इच्छाएको फल प्राप्त गर्ने जस्ता अनेकौं प्रेरणाहरू तीज पर्वबाट प्राप्त गर्न सकिन्छ । पतिपत्नीबाट अलि माथि उठेर हेर्दा सामाजिक पक्षसँग यो पर्व जोडिन पुग्छ । घरमा सासू–बुहारी र नन्द–भाउजूबीचको सम्बन्ध पनि तीतो नभएर मीठो एवं प्रगाढ नै हुनुपर्छ ।

आपसमा घरभित्रका व्यावहारिक विषयलाई बाहिर लैजाँदा वास्तवमा आफ्नै घरको बेइज्जत हुने र बाहिरी मानिसले घरायसी मनमुटावलाई जोड्न सक्ने हुँदा यसतर्फ सचेत गराउन माइती पक्षका अभिभावकले ठूलो भूमिका निर्वाह गरेका हुन्छन् । पारिवारिक द्वेष हुनबाट विमुख गराउने शिक्षा पनि यस पर्वबाट प्राप्त गर्न सकिन्छ । यसभन्दा पर गएर हाम्रो घरमा आश्रित व्यक्तिहरूलाई जोड्ने प्रयत्न गर्नु र नन्दआमाजू, फुपूदिदी र हजुरदिदीहरूलाई, सानीमा, ठुलीआमा एवं वरपरसम्मका इष्टमित्र र आफन्तहरूलाई बोलाएर उदारभावका साथ खानपान तथा रमाइलोले भेटघाट भए जति सबैको मन प्रसन्न भई आत्मीयपनको विकास हुनुले व्यावहारिक पक्षमा पनि एक–आपसमा सहयोग एवं सहकार्यको भावना जागृत हुन्छ ।

 

तीजको धार्मिक पृष्ठभूमि
भाद्र शुक्लपक्षको तृतीया तिथिमा पार्वतीले भगवान् शिवजीलाई पति पाऊँ भनी गरेको व्रतबाट तीजको परम्परा चलेको पाइन्छ । जब पार्वतीको चिन्तन, ध्यान, पूजा, उपासना, जप, तप सम्पूर्ण महादेवमा केन्द्रित थियो, उसबेला नारदको याचनाअनुसार पिता पर्वतराज हिमालयले भगवान् विष्णुसँग उनको विवाह निश्चय गर्दछन् ।

वासुदेव स्वयं देवः कन्यां प्रार्थयते यदि । 
तदा मया प्रदातव्या त्वदागमनगौरवात् ।।

पिताजीले आफ्नो इच्छाविपरीत भगवान् विष्णुसँग विवाह गरिदिने निश्चय गरेको थाहा पाएपछि पार्वतीलाई असह्य पीडा भयो । उनले आफ्नो वेदना सखीहरूलाई सुनाइन् । सखीहरूले पार्वतीलाई लुकाउने सल्लाह गरे, र हरण गरि जंगलमा पुर्याए । पार्वती हराएको सूचनाले पर्वतराजको दरबारमा भने हाहाकार भयो । यसरी सखीहरूले हरण गरेर लुकाएको अवस्थामा पार्वतीले आशुतोष भगवान् शिवजीको तपस्या गरिन् । उनले बालुवाको शिवलिंग बनाई पूजा गरिन् र ‘ॐ नमः शिवाय’ मन्त्रद्वारा भगवान् शिवजीलाई प्रसन्न गराई वरदानस्वरूप उनै भगवानलाई पतिरूपमा प्राप्त गरिन् । यसप्रकार पार्वतीले सिद्ध गरेको पूजालाई हरितालिका पूजा भन्न थालिएको हो ।

व्रत बस्ने दिन
तीजमा विवाहिता महिलाहरू आफ्ना पतिको दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिता सुयोग्य वरको आशा राखी व्रत बस्छन् । व्रतको समयमा महिलाहरूले तीजको व्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मण-ब्राह्मणीहरूलाई दान दक्षिणा गर्ने चलन रहेको छ । तीजको व्रत अन्य व्रत भन्दा फरक ढंगले लिइन्छ । यस दिन पानीसम्म पनि नखाई ब्रत बस्नुपर्ने परम्परागत मान्यता रहेको भएपनि कतिपय महिलाहरु महादेवको पुजा आराधना पश्चात फलफुल ग्रहण गर्दछन् । यसै दिन पार्वतीले आफ्नो तपस्या पूरा गरी शिवजी पाएको विश्वास गरिने हुनाले यस दिनलाई हर्षोल्लासका साथ नाचगान गरी मनाइने गरिन्छ ।

सामाजिक महत्व
नेपाल कृषिप्रधान मुलुक हो । तीज बालीनाली रोपिसकेपछि केही फुर्सदको समयमा मनाइने पर्व हो । आपसी प्रेम बढाउने यो पर्वले महिलाहरूको दुखेसो पोख्ने वातावरण सिर्जना गरिदिन्छ । बालीनाली लगाइसकेपछि केही फुर्सदको समयमा माइतीबाट बाबु वा दाजुभाइ गएर छोरीचेलीलाई भेट्ने र सकेसम्म माइती लिएर र्फकने प्रचलन छ जसले माइती चेलीको आपसी सम्बन्धलाई मजबुत बनाउँछ । विवाह भएर टाढा पुगेका दिदीबहिनीबीच भेट गराएर यो पर्वले उनीहरूको मन हलुका पार्न र सुखदुखका कुराकानी गर्ने अवसर समेत जुटाइदिन्छ ।

सांस्कृतिक महत्व
मानिस जति आधुनिक भए पनि उसले जन्मसँगै पाएको संस्कार एवं संस्कृति छोड्न सक्दैन । नेपालमा रहेका हिन्दू समुदायले मनाउने तीज पर्वलाई अहिले अन्य जातिले पनि मनाउन थालेको पाइन्छ । तीजलाई महिलाको रमाइलो पर्वका रूपमा समेत लिइने भएकाले युवतीहरू पनि यसमा रमाउँछन् । कामबाट केही समय अवकाश लिँदै परिवार, साथीभाइ जमघट, घुमघाम, नाचगान यो पर्वको अर्को विशेषता बन्दैछ ।