कुशको उत्पत्तिको पौराणिक कथा र यसको मानव जीवनमा रहेको महत्व

हाम्रो सनातन धर्ममा कुशे औसीलाई एक महत्वपूर्ण पर्व मानिन्छ । हाम्रो समाजमा यो पर्वको महत्व धेरै रहेको छ । कुशलाई हिन्दु दर्शनमा भगवान विष्णुको प्रतिक मानिन्छ । शास्त्रमा भनिएको छ कि “दर्भो य उग्र औषधिस्तं ते बध्नामि आयुषे”,अर्थात् दर्भ(कुश) तत्काल फल दिनेवाला औषधि हो, यसलाई आयु वृद्धिको लागि धारण गर्नुपर्छ। अन्य समयमा काटेको वा उखलेको कुश एकदिन मात्र, कुशे औँशीको दिन उखलेको कुश एक वर्षसम्म र कुशे औँशीको दिन सोमवार (सोमवारे औँशी) पर्न गएमा १२ वर्षसम्म त्यो कुश काम लाग्ने कुरा शास्त्रमा वर्णन गरिएको छ । कुशे औसीलाई बुबाको मुख हेर्ने अर्थात् आफ्नो बुबाहरुको आदरसम्मान गर्ने दिनको रुपमा पनि मनाईन्छ।

कुशको उत्पत्ति कसरी भयो ?
मत्स्य पुराण अनुसार कुश भगवान् विष्णुको शरीरबाट उत्पन्न भएको थियो , त्यसैले गर्दा कुशलाई अत्यन्त पवित्र मानिन्छ। मत्स्य पुराणमा उल्लेखित एक कथा अनुसार जब भगवान श्रीहरिले वराह अवतार धारण गर्नुभयो, तब हिरण्याक्षको वध गरेपछि जब पृथ्वीलाई जलबाट बाहिर निकाल्नुभयो र पृथ्वीलाई निर्धारित स्थानमा स्थापित गर्नुभयो, त्यसपछि वराह भगवान ले पनि पशु प्रवृत्ति अनुसार आफ्नो शरीरमा लागेको पानीलाई टकटकाउनुभयो तब वराहरुपी भगवानको कपाल (बाल) पृथ्वीमा खस्यो  र कुशको रूपमा उत्पत्ति भयो।

कुशको उत्त्पत्तिको विषयमा अर्को पौराणिक मान्यता यो पनि छ कि जब सीता पृथ्वीको तल प्रवेश गर्नुभयो, त्यो समयमा श्रीरामजीले छिटो छिटो पृथ्वी फाटेको ठाउँमा आएर सीताजीलाई रोक्ने कोसिस गर्नुभयो, तर उहाँको हातमा केवल सीताजीको कपाल मात्र आयो । यहि कपाल नै कुशको रूपमा परिणत भयो। 


कुशको धार्मिक महत्व
हाम्रो संस्कार अनुसारका धार्मिक अनुष्ठान तथा पितृकर्म जस्ता जुनसुकै कर्म गर्नको लागि कुशको आवश्यता पर्दछ। हामीले जुनसुकै देवकार्य या पितृकार्य गर्दा, वेदका मन्त्र या श्लोकहरु पाठ गर्दा हाम्रो शरीरबाट एकप्रकारको उर्जा निस्किरहेको हुन्छ र त्यो ऊर्जालाई संरक्षित बनाउन र सकारात्मक उर्जा परिचालन गर्न लागि कुश एकदमै महत्त्वपूर्ण भुमिका खेल्दछ । यदि हामीले कुशको आसन र शिरमा पनि कुश राखेर वैदिक मन्त्र, जप, तप, पाठ आदि गर्यौं भने हाम्रो ऊर्जा अन्यत्र नगई आफ्नै शरीरमा निहित हुनाले हामीलाई आफूले गरेको कार्यबाट अझै बढी सकारात्मक उर्जा प्राप्त भई सत् बुद्धि र विचार आदिको विकास हुन्छ । देवकार्य होस् या पितृकार्यमा कुश मिश्रित जलले सेचन गर्ने र कुशद्वारा निर्मित पबित्र अर्थात् कुशको औँठी औंलामा लगाउने तथा कम्मरमा सिउरने धार्मिक विधि समेत रहेको छ ।


कुशको आयुर्वेदमा महत्व
आयुर्वेदमा पनि यसको निकै नै ठूलो महत्व रहेको छ । यो वनस्पतिको जरा र यसको पत्ताबाट रक्तसञ्चारमा समानता, पत्थरीमा, अल्सर, रक्तप्रद, मूत्ररोग, पायल्स साथै अन्य रोग प्रतिरोधक क्षमता कुशको सेवनले बढाउने, मुटुको चाल सन्तुलित राख्ने र कुशासनमा बस्दा नशाघात, पक्षाघात, हृदयाघात, मष्तिस्काघातजस्ता डरलाग्दा रोगको आक्रमण रोक्ने र अन्य विविध प्रकारका रोगहरुलाई नियन्त्रण तथा निर्मूल पार्न सक्ने क्षमता कुशमा रहेको छ भनेर आयुर्वेदमा उल्लेख गरिएको छ ।

कुशको वैज्ञानिक महत्व
कुशलाई विकिरणहरूको माझमा राख्दा कुशले सम्पूर्ण विकिरणहररूलाई आफ्नो शक्तिद्वारा परिवर्तित गरेको पाइयो । सम्पूर्ण वायुमण्डलमा रहेका विकिरणहरूलाई निस्तेज गर्नसक्ने क्षमता कुशमा मात्रै ६० प्रतिशत रहेको वैज्ञानिक अध्ययनहरुले पुष्टि गरेको छ । वर्तमान समयमा हामीले प्रयोग गर्ने विभिन्न प्रकारका इलोक्ट्रोनिक वस्तु घडी, मोबाईल, कम्प्युटर लगाएतका अन्य प्राविधिक, टेक्निकल लगायत विद्युतीय उपकरणहरुबाट निस्कने नकारात्मक उर्जालाई समाप्त पार्न र त्यसबाट बच्नको लागि वैज्ञानिक दृष्टिले पनि कुशको प्रयोग महत्त्वपूर्ण छ ।