एकादशी व्रतको शास्त्रीय महत्व र विधि

एकादशीको व्रत सम्पादन गर्नाले कार्यक्षमतामा अभिवृद्धि हुन्छ, मानसिक सामर्थ्य र शक्ति बढ्छ,आयुवृद्धि हुन्छ र आत्मिक उन्नतिमा शीघ्रता हुन्छ। एकादशी व्रत लिनाले हुने फाइदाका बारेमा पद्मपुराणमा उल्लेख गरिएको छ-

स्वर्गमोक्षप्रदा ह्येषा शरीरारोग्यदायिनी। 
कलत्रसुतदा ह्येषा धनमित्रप्रदायिनी।।
न गङ्गा न गया राजन् न च काशी च पुष्करम्। 
न चापि कौरवं क्षेत्रं पुण्यं भूपहरेर्दिनात्।।

अर्थात् एकादशी स्वर्ग, मोक्ष, आरोग्य, सुभार्या एवं सुपुत्र प्रदान गर्ने उत्तम व्रत हो। हे राजन् ! गङ्गा, गया, काशी, पुष्कर र कुरुक्षेत्र यी पुण्यक्षेत्रमध्ये कुनै एउटा क्षेत्रको तुलना हरिदिवस अर्थात् एकादशीका साथमा हुन सक्दैन। यस श्लोकमा उल्लेख गरिएका गङ्गा नदी र अन्य तीर्थक्षेत्र हरेक दिनको प्रातःकालमा स्मरण गर्ने गरिन्छ। अर्थात् यी नदी र तीर्थको नाम लिनासाथ तीर्थस्नानको फल प्राप्ति हुन्छ। यस्ता पवित्रतम स्थानहरू मध्ये एउटा स्थानको तुलना पनि एकादशीसँग नहुने बताइएको छ। अतः एकादशीको दिन कतिसम्म पवित्र रहेछ हामी अनुमान गर्न सक्दछौं। सङ्क्षेपमा यी उद्धृत श्लोकबाट के स्पष्ट हुन्छ भने एकादशीको व्रत लिनाले मात्र लौकिक तथा पारमार्थिक दुबै किसिमका शुभ फलहरू सजिलै प्राप्त हुन्छन्। एकादशीको व्रत सनातन धर्मको आफ्नै विशिष्टता हो। हामीले पनि यसका पौराणिक पक्षमा विचार गर्नुपर्छ र त्यसका वैज्ञानिक, व्यावहारिक र स्वास्थ्यसम्बद्ध पक्षउपर पनि।

कूर्मपुराणको मत-
व्रतोपवासैर्नियमैः होमैः, ब्राह्मणतर्पणैः। 
तेषां वै रूद्रसायुज्यं, जायते तत्प्रसादतः।

अर्थात व्रतोपवासले शिवसायुज्यको प्राप्ति हुन्छ।

श्रीमद्भगद्गीतामा निष्काम कर्मका प्रवक्ता जगद्गुरू भगवान श्रीकृष्णको उपदेश छ-

यज्ञदानतपःकर्म न त्याज्यं कार्यमेव तत्।

अर्थात यज्ञ, दान र तप रूप कर्मको कहिल्यै पनि परित्याग गर्नुहुन्न।
शास्त्रमा तपअंतर्गत व्रतको विधान बताइएको छ र व्रतमध्ये श्रेष्ठतम व्रत एकादशीलाई मानिएको छ। एकादशी व्रतको प्रारम्भ कसरी भयो? भगवती एकादशीको हुन, यस सम्बन्धमा पद्म पुराणमा के कथा छ भने एकपटक पुण्यश्लोक धर्मराज युधिष्ठिरलाई लीला पुरुषोत्तम भगवान श्रीकृष्णले समस्त दुःख, त्रिविध ताप आदिबाट मुक्ति दिलाउन, हजारौ यज्ञको अनुष्ठानको तुलना गर्न सक्ने, चारै पुरुषार्थलाई सहजै प्रदान गर्ने एकादशी व्रत लिनका निम्ति निर्देशन दिनुभएको थियो।

एकादशीका प्रकार
प्रत्येक महिनाको शुक्ल पक्ष र एवं कृष्ण पक्षमा एकएकवटा गरी एक महिनामा दुईवटा र वर्षभरिमा चौबीसवटा एकादशी पर्ने गर्दछन्, तर अधिक मास अर्थात् मलमासमा अझ दुईवटा एकादशी थपिन गई अधिक मास भएको वर्षमा छब्बीसवटा एकादशी हुन्छन्। जब एकादशी तिथि दुई दिन परेको अवस्थामा शैवमार्गीले पहिलो दिनको एकादशीको व्रत लिने गर्दछन् भने वैष्णवहरू पछिल्लो दिनको एकादशी व्रत लिने गर्छन्। एकादशीको व्रत प्रत्येक महिनामा पर्ने दुबै पक्षको एकादशी तिथिका दिन सम्पादन गरिन्छ। यस व्रतलाई महाव्रत पनि भनिन्छ।

‘एकादशी’ तिथिको शास्त्रीय महत्त्व
सनातन हिन्दू धर्मावलम्बीहरूले प्रयोग गर्ने चान्द्र गणना पद्धतिमा आधारित पञ्चाङ्गबमोजिम प्रत्येक महिनाको शुक्ल पक्ष एवं कृष्ण पक्षको एघारौं तिथिलाई एकादशी भन्दछन्। यो तिथि भगवान् श्रीविष्णुको प्रिय तिथि हो। एकादशीको ‘हरिदिवस’ र ‘हरिवासर’ पनि भन्दछन्। अन्य व्रत र उत्सवका तुलनामा एकादशीको महत्त्व बढी हुनुमा विभिन्न कारण छन्, ती यस प्रकार छन्-

१. वातावरणमा विष्णुतत्त्वको स्पन्दन बढी मात्रामा हुनु।
२. समस्त प्राणिहरूमा अधिकतम सात्त्विकताको मात्रा विद्यमान रहनु।
३. शरीरमा विद्यमान चैतन्यको गति ‘ऊर्ध्व’ अर्थात् माथिल्तिर प्रवाहित हुनु।
४. व्रत सम्पादन गर्न सजिलो हुनु।
५. व्रत सम्पादन गर्नाले अन्य व्रतको तुलनामा अत्यधिक प्रतिफल प्राप्त हुनु।

‘एकादशी’ व्रतको महत्त्व
एक महिनामा कम्तिमा दुई दिन त हामीले हाम्रो आफ्नो शरीर र चित्त दुबैलाई विश्राम दिन सक्छौ, दसै इंद्रिय र तिनका स्वामी मनलाई आहार, निद्रा, भय, मैथुनका पाशविक वृत्तिभन्दा मथि उठाएर स्वयं आफ्ना बारेमा विचार गर्न सक्छौ। एकादशी तिथिको जति महत्त्व छ, त्यत्तिकै महत्त्वपूर्ण एकादशीको व्रतको पनि छ। एउटा वर्षचक्रभरि पर्ने एकादशीको व्रत लिनाले अनेकानेक व्रतसम्पादन र तीर्थावलोकनको फलप्राप्ति हुन्छ। पद्मपुराणमा एकादशीको व्रतको महत्त्वलाई यसरी दर्शाइएको छ-

अश्वमेधसहस्राणि राजसूयशतानि च । 
एकादश्युपवासस्य कलां नार्हन्ति षोडशीम् ।।

यसको अर्थ हो- हजारौं अश्वमेध यज्ञ र सयकडौं राजसूय यज्ञको महत्त्व एकादशी व्रतको सोह्रभागको एक भाग जति पनि हुँदैन। प्राचीन मापन पद्धतिअनुसार सोह्र कला अर्थात् कुनै पूर्ण वस्तुको सोह्र भागको एक भाग। हिजोआज प्रचलनमा रहेको प्रतिशत मापन पद्धतिअनुसार लगभग ६ प्रतिशत । एकादशी व्रतको एउटा अर्को पनि महत्त्व छ, त्यो के हो भने अन्य समस्त व्रत सङ्कल्प गरेपछि प्रारम्भ हुन्छन् र सङ्कल्प गरेरमात्र समाप्त हुन्छन्। यहाँ सङ्कल्प भन्नाले एक किसिमको प्रतिज्ञा भन्ने अर्थमा लिइन्छ। मनैले उच्चारण गरी कुश र पानी समातेर वाचा गर्नुलाई धार्मिक सन्दर्भमा सङ्कल्प भनिन्छ। प्रत्येक व्रतको सुरुमा र अन्त्यमा सङ्कल्प गर्ने विधान छ, यसो नगरे सम्बद्ध व्रत निष्फल हुन्छ, तर एकादशी व्रत लिनका निमित्त सङ्कल्प गरिरहनु पर्दैन। यसबाट एकादशी एउटा यस्तो व्रतका रूपमा स्थपित भएको प्रमाणित हुन्छ जसले बिनासङ्कल्प मनुष्यलाई भुक्ति, मुक्ति आदि समस्त फल प्रदान गर्ने सामर्थ्य राख्दछ।

एकादशीका प्रकार-
प्रत्येक महिनाको शुक्ल पक्ष र एवं कृष्ण पक्षमा एकएकवटा गरी एक महिनामा दुईवटा र वर्षभरिमा चौबीसवटा एकादशी पर्ने गर्दछन्, तर अधिक मास अर्थात् मलमासमा अझ दुईवटा एकादशी थपिन गई अधिक मास भएको वर्षमा छब्बीसवटा एकादशी हुन्छन्। जब एकादशी तिथि दुई दिन परेको अवस्थामा शैवमार्गीले पहिलो दिनको एकादशीको व्रत लिने गर्दछन् भने वैष्णवहरू पछिल्लो दिनको एकादशी व्रत लिने गर्छन्।

वर्षभरिका एकादशीका नाम-

* चैत्रमास- पापमोचनी एवं कामदा एकादशी।
* वैशाख मास- वरुथिनी एवं मोहिनी एकादशी।
* ज्येष्ठ मास- अपरा एवं निर्जला (भीमसेनी) एकादशी।
* आषाढ़ मास- योगिनी एवं शयनी एकादशी।
* श्रावण मास- कामिका एवं पुत्रदा एकादशी।
* भाद्रपद मास- अजा एवं पद्मा एकादशी।
* अश्विन मास- इंदिरा एवं पापांकुशा एकादशी।
* कार्तिक मास- रमा एवं प्रबोधिनी एकादशी।
* मार्गशीर्ष- मोक्षदा एकादशी, उत्पत्ति नामक एकादशी।
* पौष मास- सफला एवं पुत्रदा एकादशी।
* माघ मास- षट्तिला एवं जया एकादशी।
* फाल्गुन मास- विजया तथा आमलकी एकादशी।
* पुरुषोत्तम वा अधिकमास- पद्मिनी(कमला) एवं परमा(कामदा)एकादशी।

एकादशी व्रत सम्पादन गर्ने विधान-
शास्त्रानुसार वर्षभरिमा पर्ने सबै एकादशीको व्रत र उपवास गर्नु पर्दछ। सबै एकादशीको व्रतोपवास गर्न कठिनाइ उत्पन्न भएमा प्रत्येक महिनामा एउटा अर्थात् शुक्ल पक्षमा पर्ने एकादशीको व्रत र उपवासलाई महत्त्व दिइएको छ। त्यत्ति पनि गर्न असमर्थ रहँदा चतुर्मास भरि(आषाढ शुक्ल एकादशीदेखि कार्त्तिक शुक्ल एकादशीसम्म)का सबै एकादशीको व्रत गर्न सकिन्छ, यत्ति पनि व्रत लिन नभ्याउँदा आषाढ शुक्ल पक्षको हरिशयनी एकादशी र कार्त्तिक शुक्ल पक्षको हरिबोधिनी एकादशीको व्रत चाँहि अवश्य लिनु पर्दछ। एकादशीका दिन अन्न खानु हुँदैन, पानी, दुध, सक्खर, सर्वत आदि ग्रहण गर्न सकिन्छ। भोकै बस्न नसकिने स्थिति छ भने चामल मात्र त्याग्दा हुन्छ। भगवान् विष्णुको पूजा गर्नुपर्छ। पूजा स्थलमा अहोरात्र अर्थात दिनरात गरी चौबीस घण्टा घिउको वर्तन गरी अखण्ड बत्ती(दियो) बाल्नुपर्दछ। भजन, कीर्तन, स्तोत्रपाठ, भागवत आदि ग्रन्थको पाठ र भगवान् विष्णुका दिव्य नामको सङ्कीर्तन गर्नुपर्दछ। भगवानका मन्दिरहरूको भ्रमण र दर्शन गर्नुपर्दछ। व्रतको भोलिपल्ट विष्णु भगवानलाई नैवेद्य समर्पण गरेर व्रतको समापन गर्नुपर्दछ। दीनदुःखी, ब्राह्मण र साधुसन्तलाई व्रतको समाप्तिमा भोजन, दक्षिणादि प्रदान गर्नुपर्दछ। एकादशीको व्रत लिन चाहने नरनारीले दशमीका दिनदेखि माछा,मासु, लसुन, प्याज, मुसुरो आदि अखाद्य वस्तु सेवन गर्नु हुदैन। पूर्ण ब्रह्मचर्यको पालना गर्नुपर्छ तथा भोगविलासबाट टाढा रहनुपर्छ।

प्रातःकालमा ब्रुसमन्जन गर्नुहुदैन, बरु नीम, जामुनो वा आपको पात चबाएर कुल्ला गर्नुपर्छ। उता रुखको पात थुत्न, तान्न, टिप्न पनि निषेध गरिएको छ, त्यसैले झरेको पातको सेवन गर्नु उचित हुन्छ। झरेको पात नभेटिदा पानीले बाह्र पटक कुल्ला गर्नुपर्छ , त्यसपछि स्नानादि गरेर मन्दिरमा गई गीता पाठ गर्नुपर्छ वा पुरोहित बाट श्रवण गर्नुपर्छ। प्रभुका सामु उभिएर “आज म चोर, पाखण्डी र दुराचारी मनुष्यसित कुरा गर्ने छैन, कसैको चित्त दुखाउने छैन, गाई, ब्राह्मण, दरिद्र आदिलाई फलाहार र अन्नादि दिएर प्रसन्न तुल्याउने छु, रातमा जागरण बसी भगवानको नाम संकीर्तन गर्नेछु, ‘ॐ नमो भगवते वासुदेवाय’ यस द्वादशाक्षर मन्त्रको जप गर्नेछु, राम, कृष्ण, नारायण इत्यादि विष्णुका असंख्य दिव्य नामलाई मुखाग्र बनाउने छु” भनी प्रतिज्ञा गर्नु पर्छ। यस्तो संकल्प गरेर भगवान विष्णुको स्मरण गर्दै प्रार्थना गर्नुपर्दछ- ‘हे त्रिलोकपति ! मेरो लाज हजुरको हातमा छ, अतः मलाई मैले गरेका सङ्कल्प पूरा गर्ने शक्ति प्रदान गर्नुहवस्।’ यदि बिर्सिएर कुनै निन्दकसित कुराकानी भइगयो भने पनि त्यस दोषलाई कटाउनका निम्ति सूर्यनारायणको दर्शन अथवा भगवान हरिको पूजा आराधना गरेर क्षमा माग्नु पर्छ। एकादशीका दिन सूक्ष्म जीवजन्तुको हत्या हुने भय हुने भएकाले प्रातःकाल बाहेक अन्य समयमा घर बढार्नुहुदैन। यस दिन नङ्ग, केश आदि काट्नुहुन्न। धेरै बोल्नाले दुर्वाच्य बोलिने भय हुन्छ, त्यसैले कमभन्दा कम बोल्नु पर्छ। यस दिन यथाशक्ति दान गर्नु पर्छ तर आफूले दान दिएको वस्तु आफैकहा कुनै हालतमा पनि फिर्ता आउनुहुन्न। असत्यवादन, कुकर्म आदिबाट टाढा हुनु पर्छ।दशमीयुक्त एकादशी लाई वृद्ध मानिन्छ, शैव उपासक त यसलाई मान्यता दिन्छन् तर वैष्णवहरू द्वादशीयुक्त एकादशीको व्रत लिने गर्छन। त्रयोदशी लाग्नु पहिले नै व्रतको पारणा गर्नुपर्छ। गोभी, गाजर, शलगम, पालक आदि सागको सेवन गर्नुहुदैन र आप, अङ्गुर, केरा, बदाम, काजु आदि अमृतफल ग्रहण गर्नु पर्छ। प्रत्येक वस्तु तुलसीपत्रका साथ प्रभुलाई भोग लगाएर मात्र आफूले सेवन गर्नु पर्छ। द्वादशीका दिन दक्षिणा, मिष्ठान्न, भोजन आदिले सन्तुष्ट तुल्याई ब्राह्मणको प्रदक्षिणा गर्नुपर्छ।

व्रतको अवधिमा बिर्सिएर पनि रिसाउनु हुदैन। रिस चाण्डालको रूप हो जबकि तपाई देवतास्वरूप भएकाले सन्तोष गर्नुपर्छ, दयाभाव लिनु पर्छ, सुमधुर वचन बोल्नुपर्छ। एकादशीको व्रत लिदा यी विधि र नियमलाई पालना गर्ने व्यक्तिले दिव्य फल प्राप्त गर्दछ। देशकाल एवं परिस्थितिबमोजिम मनुष्यले व्रत, उपवास, दान, जप, इष्ट जप एवं शुद्ध हृदयद्वारा भगवती एकादशीको व्रत लिनु पर्दछ। यथासंभव आफ्ना इष्टदेवताको ११००, ११००० नाम जप पनि श्रेष्ठ प्रयोग मानिन्छ। एउटा प्रयोग के पनि छ भने एकादशी व्रतको पारणा कुनै ब्राह्मण, दरिद्र वा आवश्यकता हुने व्यक्तिलाई भोजन गराए पछि वा त्यस मात्राको अन्नदान गरेर मात्र गर्नु पर्छ। देशकाल एवं परिस्थितिबमोजिम मनुष्यले व्रत, उपवास, दान, जप, इष्ट जप एवं शुद्ध हृदयद्वारा भगवती एकादशीको व्रत लिनु पर्दछ।  एउटा प्रयोग के पनि छ भने एकादशी व्रतको पारणा कुनै ब्राह्मण, दरिद्र वा आवश्यकता हुने व्यक्तिलाई भोजन गराए पछि वा त्यस मात्राको अन्नदान गरेर मात्र गर्नु पर्छ।

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish