प्राचीन कालमा चित्रभानु नाम गरेका शिकारी थिए । जनावरहरुलाई मारेर परिवार पाल्नु उनको जीवनचर्या थियो । उनले साहुसँग कर्जा लिएका थिए तर बेलामा चुक्त गर्न नसकेपछि रिसाएका साहूले एकदिनउनलाई शिवमठमा बन्दी बनाएर राखे ।
संयोगको कुरा, त्यस दिन शिवरात्रि थियो । बन्दी अवस्थामा रहेका शिकारीले ध्यानमग्न भएर शिवसम्बन्धी धार्मिक कुराहरु सुने ।
बेलुकी साहुले फेरि उसलाई ऋण चुक्ता गर्नेबारे कुरा गरे । शिकारीले भोलि सबै ऋण चुक्ता गर्ने शर्तमा मुक्ति पाए ।
भोकले आकुलव्याकुल शिकारी शिकारको खोजीमा जंगल गए । दिनभरि कोशिश गर्दा पनि उनले शिकार फेला पार्न सकेनन् । शिकारकै खोजीमा घरबाट निक्कै टाढा पुगिसकेका थिए । अन्धकार भइसकेको थियो । त्यसैले एउटा पोखरी नजिकको रुखमा चढेर रात बिताउने सुर गरे ।
उनी चढेको रुख बेलको रुख थियो । त्यो रुखको फेदमा पातले ढाकिएर शिवलिंग छोपिएको थियो । रुखमा बस्न आफूले ठाउँ बनाउँदा उनले थाहा नपाइकनै केही पात झरेर शिवलिंगमा परेको थियो ।
एक पहर रात्रि भएपछि एउटा गर्भवती मृग उक्त पोखरीमा पानी पिउन आइन् ।
शिकारीले धनुषमा तीर हालेर जसै प्रहार गर्न खोजे, मृगले भनिन्, म गर्भवती छु । चाँडै बच्चा पाउने छु । तिमी एकै साथ दुईट जीवनको हत्या गर्दैछौं, यो ठीक होइन । म बच्चा पाउनेबित्तिकै तिमीसमक्ष हाजिर हुनेछु । त्यसपछि तिमीले मलाई मार ।
त्यो पोथी मृगको कुराले शिकारी अलमलमा पर्यो । उनले त्यो मृगलाई जान दियो । त्यो क्रममा उनको धनुषले लागेर केही बेलपत्रहरु खसेर तल शिवलिंगमा पर्यो । नजानिँदो ढंगले शिकारीको पहिलो प्रहरको पूजा सम्पन्न भएको थियो ।
केहीबेरपछि अर्को मृग त्यहाँ देखपर्यो । शिकारी खुसीले गदगद बन्यो । जसै त्यो मृग रुख नजिक आइपुग्यो, शिकारीले धनुवाण ताक्यो । त्यो देखेर मृगले भन्यो, हे शिकारी, म आफ्नी प्रियको खोजमा भौंतारिइरहेकी छु । म आफ्ना पतिलाई भेट्नेबित्तिकै तिमीसमक्ष हाजिर हुनेछु ।
मृगको कुरा सुनेर शिकारी पुनः अलमलमा पर्यो । त्यतिखेर रात्रिको आखिरी प्रहर थियो । शिकारीले त्यो मृगलाई पनि जान दियो । अघिल्लो पटकमा जस्तै यस पटक पनि धनुष तान्दा र राख्दा केही बेलपत्र खसेर शिवलिंगमा पर्यो । उसको दोस्रो प्रहरको शिवपूजन पनि नजानिकनै सम्पन्न भयो ।
केही बेरमा अर्को एउटा मृग आफ्ना बच्चाहरुलाई लिएर त्यहाँ देखापर्यो । यो शिकारीको लागि स्वर्णिम अवसर थियो । उनले धनुषमा वाण चढाएर जसै हान्न खोज्यो, मृगले भन्यो, हे शिकारी म यी बच्चाहरुलाई यिनको पितालाई जिम्मा लगाएर आउँछु । मलाई नमार ।
त्यो सुनेर शिकारी हाँस्यो र भन्यो, बल्लबल्ल फेला परेको शिकार कसरी छोडूँ ? म त्यस्तो मुर्ख छुइनँ । यसअघि पनि दुई पटक शिकार गुमाइसके । मेरा बच्चाहरु भोकले तड्पिइरहेका होलान् । म तिमीलाई मार्छु ।
त्यो सुने मृगले भन्यो, हे शिकारी, जसरी तिमीलाई तिम्रा बच्चाको ममताले सताइरहेको छ, त्यसरी नै मलाई पनि सताइहेको छ । त्यसैले हे शिकारी, मलाई विश्वास गर, म यी बच्चाहरुलाई यिनका पितालाई जिम्मा लगाएर तुरुन्तै फर्कने प्रतीज्ञा गर्छु ।
मृगको कुरा सुनेर शिकारीमा दया जाग्यो । उसले त्यो मृगलाई पनि जान दियो । भोकको सुरमा व्याकुल शिकारीले बेलको पात टिप्दै तल फ्याँक्दै गयो । बिहान हुनै लाग्दा एउटा मोटोघाटो मृग त्यहीबाटो भएर आयो । यस पटक पनि उनले घनुषमा बाण चढाएर हान्नै आटेका थिए, त्यो मृगले भन्यो, हे शिकारी, तिमीले यसअघि यताबाट गएका मृग र तिनका ससाना बच्चाहरुलाई मारेका हौ भने मलाई पनि तुरुन्तै मार ताकि मैले उनीहरुको वियोग सहनु नपरोस् । म ती तीन मृगका पति र ती बच्चा मृगहरुको पिता हुँ । तिमीले उनीहरुलाई मारेका छैनौं, जीवनदान दिएका छौ भने मलाई पनि केही बेरको लागि जीवनदा देऊ, म उनीहरुलाई भेटेर आफैं तिमीसमक्ष उपस्थित हुनेछु ।
त्यो सुनेर शिकारीको दिमागमा अघिल्ला घटनाक्रमहरु चलचित्रका भाँती देखापर्यो । उनले सबै कथा मृगलाई सुनाए । त्यो सुनेर मृगले भन्यो, मेरा तीनवटै पत्नीहरु जसरी प्रतिज्ञाबद्ध भएर गएका छन्, मेरो मृत्युबाट उनीहरुले आफ्नो धर्मको पालना गर्न सक्ने छैनन् । अतः जसरी तिमीले उनीहरुलाई विश्वास गरेर छाडिदिएका छौ, मलाई पनि छाडिदेऊ । म उनीहरुलाई सबैलाई लिएर तिमीसमक्ष चाँडै उपस्थित हुनेछु ।
मृगको त्यो टीठलाग्दो कुरा सुनेर शिकारीलाई दया लाग्यो । उनले त्यो मृगलाई पनि जान दियो ।
बिहान भयो । उपबास, रात्रि जागरण तथा शिवलिंगमा बेलपत्र चढाएका कारण नजानिकनै शिकारीले शिवरात्रिको पूजा गरे । उनले अनजानमा गरेको त्यो पूजाको फल पनि तत्कालै प्राप्त भयो । उनको हिंस्रक मन निर्मल भयो । उनमा भगवानको शक्तिको वास भयो ।
केहीबेरमै त्यो भाले मृग सपरिवार शिकारी समक्ष उपस्थित भयो र आफूहरुलाई मार्न अनुरोध गर्यो । जंगली पशुहरुमा त्यस्तो सत्यता, सात्विकता र सामुहिक प्रेम भावना देखेर शिकारीलाई अति ग्लानि भयो । उसले त्यो मृगको परिवारलाई जीवनदान दिए ।
अनजानमै शिवरात्रिको ब्रतको पालना गरेका कारण शिकारीलाई मोक्ष प्राप्त भयो । उनको मृत्युकालमा यमराजका दूतहरु उनको आत्मालाई लिन आए । त्यसैबेला शिवका दूतहरु पनि आएर यमदूतहरुलाई रोके । उनीहरुले त्यो शिकारीलाई सशरीर शिवलोक लगे ।