कथा भन्ने र सुन्ने सबैले चन्दन, अक्षता, फूल लिएर हात जोर्नू ।
वक्ताले तलको स्तुति पढ्नु-
यं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतः स्तुन्वन्ति दिव्यैः स्तवै- र्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ।
ध्यानावस्थित-तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्याऽन्तं न विदुः सुरासुरगणा देवाय तस्मै नमः ।।१।।
श्रीमच्चन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका-
मालाऽलंकृतकुण्डला प्रविलसन्मुक्तावलीशोभिता ।
सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा
वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।।
मूकं करोति वाचालं पङ्गं लङ्घयते गिरिम् ।
यत्कृपा तमहं वन्दे परमानन्दमाधवम् ।।३।।
नमो भगवते तस्मै व्यासायाऽमिततेजसे ।
यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् ।।४।।
नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम् ।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।५।।
सबैले पुष्पाञ्जलि पुस्तकमा चढाएपछि वक्ताले कथा भन्न थाल्नु। श्रोताले एकचित्त भएर कथा सुन्नु।
कुमारजी आज्ञा गर्नुहुन्छ-हे अगस्त्य मुनि! ध्यान पूर्वक सुन-चन्द्रावती पुत्र-वधुले आफ्नू कष्ट र त्यसबाट उद्धार भएको सारा वृत्तान्त वर्णन गरेको सुनी मनमनै अत्यन्त प्रसन्न भएकी गोमा ब्राह्मणी-हे स्वस्थानी जगदीश्वरी! भनी हृदयले सम्झन्दै अंजली जोरी भन्न लागिन्! हे चन्द्रावती बुहारी! तिमी धन्य रही छौ! त्यस्तो दुर्दशामा परेर पनि जगदीश्वरी स्वस्थानीको भक्ति गर्न सक्ने तिमी धन्य रहिछौ! अब म पनि आफूले दुःख पाएको र उनै ईश्वरीको करुणाले यस अवस्थामा आइपुगेको यथार्थ वर्णन गदर्छ सुन-तिम्रो पति नवराज आफ्ना पिताको खोजी गर्न हिंडेपछि तिमी पनि माइत गयौ। घरमा म एक्ली हुनाले अर्काको ढीकी-जाँतो गरी धागो काती अनेक दुःख सहेर दिन बिताइरहेकी थिएँ। संयोगले एक दिन सप्तऋषिहरू आए र मैले दुःख पाएको जानी ठूलो करुणा गरी-हे गोमा ब्राह्मणी! श्री स्वस्थानी परमेश्वरीको व्रत गर, तिम्रो सबै कष्ट नाश होला भनेर व्रतको बिधान समेत बताई गए। ती ऋषिहरूको आतिथ्य गर्न घरमा केही पनि थिएन र चर्खामा रहेको धागोको पान लिन गएँ। म पान लिएर आउँदा ऋषिहरू गइसकेछन्।
उनीहरू बसेको पिरका मनि सात ओटा सुनका कौडी छाडेर गएका रहेछन् र मैले पाई त्यही द्रव्यले सबै सामग्री तयार पारेर पौषशुक्ल पूर्णिमाको दिनदेखि श्री स्वस्थानी परमेश्वरीको व्रत प्रारम्भ गरें। अनि महीना दिन अर्थात् माघशुक्ल पूर्णिमाको दिन व्रत पूर्ण गरी प्रसाद झिकेर स्वस्थानी परमेश्वरीलाई मनले बराबर सम्झि रहें र र जाग्राम बसें। ईश्वरीको कृपाले त्यही रात्रि तिम्रो स्वामी नवराज आइपुग्यो मलाई बाहिरबाट डाकेको सुनें र तत्काल बाहिर आई डाकेर भित्र लगें। अनि खान पिन दिई 'नवराज! तेरा पिताको के समाचार छ? भनी सोधे र तेरो स्वामी नवराजले मलाई भन्यो हे माता! मेरा पिता भिक्षा माग्न गएका गंगातटमा पुगेर नित्य पूजा गर्न फल फूल मागे छन्। अनि फल फूल टिप्न वृक्षमा चढेका संयोगले वृक्षको हाँगा भाँचिई लडेर मरे।' यति नवराजले भनेको सुनी म शोक गर्न लागे। अनि नवराजले मलाई शोक चिन्ता नगर्नुहवस् भनी बुझायो र-हे माता! आज यति रातसम्म नसुतेर किन जाग्राम गरेर बसिरहनु भएको? भनी सोध्यो र मैले भनें-हे पुत्र! हे नवराज! श्री स्वस्थानी परमेश्वरीको व्रत गरें र उनै जगदीश्वरीलाई सम्झेर जाग्राम रहेकी हुँ भनी बुझाएँ।
अनी प्रात:काल भयो र नवराज गंगा-स्नान गर्न गयो। गंगाबाट हरि-हर प्रकट भई - हे नवराज! तेरी माताले श्री स्वस्थानी परमेश्वरीको व्रत गरेकोले हामी प्रसन्न भयौं। लावण्यदेशमा राजा छैनन्। हात्तीलाई राजा रोज्न लगाएको छ। त्यहाँ आउनु, तँलाई अभिषेक दिलाउने छौं, राजा हुनेछस् भनी वरदान दिई अन्तर्धान भएछन् र नवराजले घर आई मलाई सारा वृतान्त सुनायो। अनि मैले श्री स्वस्थानी। परमेश्वरीको प्रसाद दिई-हे पुत्र नवराज! हरि-हरको वरदानले लावण्य देशको राजा बनेस् भनी आशिर्वाद, दिएर यहाँ पठाएँ र उनै ईश्वरीको कृपाले यो ऐश्वर्य पाई सुखी भयौ। अब पनि बाचुन्जेलसम्म सधै श्री स्वस्थानी परमेश्वरीको कृपाले यसलोकमा सुख सन्तोष र सम्पतिको भोग गरी परलोकमा परमगति कैलासवास होला।
यति उपदेश दिई आफ्नू बितेको यथार्थ वर्णन गरिसकी फेरि अरुपनि अर्ति दिन लागिन्-तिमी चन्द्रावती र लावण्यवती दुवै बुहारी सुन-जस्तै सूर्यनारायण नभएको दिन र चन्द्रमा नभएको रात उज्यालो वा शोभित हुँदैन, त्यस्तै प्रत्येक मनुष्यको पनि घरमा असल स्वभाव भएकी पत्नी छैन भने त्यसको घर सप्रन्न। अब मेरो वृद्धावस्था भयो। तिमी दुवै दिदी-बहिनी आपसमा मिलेर यो राज्य-लक्ष्मी थामी मेरो पुत्र नवराज राजाको सेवा चाकरी गरेर बस। यति चन्द्रावती रानीलाई शिक्षा दिई ढुकुटीको साँचो सुम्पि दिइन्। अनि चन्द्रावती रानी र लावण्यवती रानीले पनि-हे माता! हजुरको तपस्याले हाम्रो स्वामी राजा हुनु भयो। हामी दुवै रानी हुन पायौं। हजुर धन्य हुनहुन्छ भनी आफ्नी सासू गोमा महारानीका चरणमा दण्डवत् प्रणाम गरेर सदैव श्री स्वस्थानी परमेश्वरीको भक्तिमा चित्त लगाई आपसमा मिलेर नवराज राजाको सेवा गरी राज्यको सुखभोग गर्दै आनन्दपूर्वक रहँदा भए।
कुमारजी भन्नुहुन्छ-हे अगस्त्य मुनी! जो मनुष्य श्रद्धा र भक्तिसाथ श्री स्वस्थानी परमेश्वरीको व्रत, पूजा र आराधना गर्ला अथवा कथा सुन्ला, सुनाउला वा उनको महिमा लेखिएको (छापिएको ) पुस्तक घरमा राख्ला, त्यसका घरमा दुःख दरिद्रको वास कहिल्यै पनि हुनेछैन। आदित्यादि नवग्रह सदैव प्रसन्न रहेन छन्। अकालमृत्यु कहिले पनि हुने छैन। भूत-प्रेत-पिशाच, डाकिनी, शाकिनी, बेताल, त्रिदोष आदि रोगको भय हुने छैन। चोर, डाका, शत्रु, अग्नि, वनका हिंसक जन्तुको भय हुने छैन र त्यस व्यक्तिका ब्रह्महत्यादि अनेक घोर पाप नष्ट भई यस लोकमा सुख, शान्ति र सम्पत्तिको भोग गरी परलोकमा शिवका पार्षद भई कैलास पर्वतमा बस्न पाउने छन्। यति कथा स्कन्द कुमारले अगस्त्य मुनिलाई सुनाए र सोही कथा यहाँ पनि यथामति विस्तार भयो।
इति श्री स्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये कुमारअगस्त्यसंवादे श्रीस्वस्थानी परमेश्वर्या-व्रतकथायां गोमापूर्ववृत्तानावर्णनंनाम एकत्रिंशोऽध्यायः।।३१।।
कथा सकिएपछि निम्न स्तोत्र पढेर पुष्पाञ्जलि गर्नु-
उपनयतु मंगलं वः सकल जगन्मंगलालयः श्रीमान् ।
दिनकर किरण निबोधित नवनलिनदलनिभेक्षणः कृष्णः ।।
काले वर्षतु पर्जन्यः पृथिवी शस्यशालिनी ।
देशोऽयं क्षोभरहितो ब्राह्मणाः सन्तु निर्भयाः ।।
अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः ।
निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।
तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च ।
तीर्थानि सर्वाणि वसन्ति तत्र, यत्राच्युतोदार कथा प्रसंगः ।।
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता ।
या वीणा वरदण्डमण्डितकरा या श्वेतपद्मासना ।।
या ब्रह्माच्युत शंकरप्रभृतिभिर्देवैः सदा वन्दिता ।
सा मां पातु सरस्वती भगवती निःशेष जाड्यापहा ।।
कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृतिस्वभावात् ।
करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पये तत् ।।
श्री स्वस्थानी देव्यार्पणमस्तु ।
यति भनिसकेर कथा सुन्ने जति समस्त श्रोताहरूले | पुष्पाञ्जलि चढाई दण्डवत् गर्नु र आफाफ्ना मनको इच्छित वरदान माग्नु ।