श्रीस्वस्थानी व्रतकथाको त्रिंशोऽध्यायः, चन्द्रावतीद्वारा आफ्नो वृत्तान्तको वर्णन

कथा भन्ने र सुन्ने सबैले चन्दन, अक्षता, फूल लिएर हात जोर्नू ।
वक्ताले तलको स्तुति पढ्नु-

यं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतः स्तुन्वन्ति दिव्यैः स्तवै- र्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः । 
ध्यानावस्थित-तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्याऽन्तं न विदुः सुरासुरगणा देवाय तस्मै नमः ।।१।।

श्रीमच्चन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका-

मालाऽलंकृतकुण्डला प्रविलसन्मुक्तावलीशोभिता ।
सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा 
वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।।

मूकं करोति वाचालं पङ्गं लङ्घयते गिरिम् ।
यत्कृपा तमहं वन्दे परमानन्दमाधवम् ।।३।।

नमो भगवते तस्मै व्यासायाऽमिततेजसे ।
यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् ।।४।।

नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम् ।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।५।।

सबैले पुष्पाञ्जलि पुस्तकमा चढाएपछि वक्ताले कथा भन्न थाल्नु। श्रोताले एकचित्त भएर कथा सुन्नु। 

त्रिंशोऽध्यायः

कुमारजी आज्ञा गर्नुहुन्छ-हे अगस्त्य मुनि! तिमी ध्यानपूर्वक सुन-त्यसपछि चन्द्रावतीले गोमा रानी र आफ्ना पति नवराज राजालाई प्रणाम गरिन् र नवराजले सम्मानसाथ बसालेर चन्द्रावतीलाई सोधे-हे स्त्री! मैले तिम्रो मुख नदेखेको आज यतिका वर्ष भइसक्यो। फेरि तिमीलाई ल्याउन भनी डोलेहरू पठाएको थिएँ, ती डोले पनि आजसम्म फर्केर यहाँ आएनन्। तिमीले पनि आउन धैरे विलम्ब गरयौ? म राजा भएको तिमीले थाहा पाइनौ कि? मैले त राज्यको कार्यभारले तिमीलाई बिर्सिराखेको थिएँ। फेरि शालीनदीको तटमा आएर  एक्लै किन बसेकी। मलाई त लावण्यदेशका प्रजागणले भनेर थाहा पाएँ। फेरि तिमी पनि पहिले जस्ती छैनौ अत्यन्त तेजवती भइछौ। आफ्नू सबै वृत्तान्त सुनाऊ।

 

यति आफ्ना स्वामी नवराज राजाले सोधेपछि प्रसन्न भएकी चन्द्रावती भन्न लागिन्-हे स्वामी! म माइतमै बसिरहेकी थिएँ। हजुरले डोले पठाउनु भएछ। उनै द्वारा हजुर राजा भएको समाचार पाएकी हुँ र माता- पितासित बिदा मागी डोलीमा बसेर कहिले हजुरको दर्शन होला भनी हत्पताइरहेकी थिएँ। संयोगले त्यस दिन माघशुक्ल पूर्णिमा रहेछ र यहाँ आउने बाटोमा यौटा ठूलो जंगल रहेछ, त्यहाँ स्वर्गबाट अप्सराहरू आई श्री स्वस्थानी परमेश्वरीको व्रत गर्न लागेका डोलेहरूले देखेछन् र डोली अड्याई हामीलाई भोक लाग्यो त्यहाँ, पर केही पाए खाएर आउँछौ, तपाइँ एक छिन यहीं बस्नु हवस् भनी मलाई वनमा एक्लै छाडी अप्सराहरूले व्रत गरेको स्थानमा गई उनीहरूको संसर्गमा पूजा गरेर प्रसाद लिई मनेर आई प्रसाद दिए।

 

त्यसबेला मलाई अहंकारले छोप्यो र डोलीबाट वर्ली डोलेहरूका हातबाट प्रसाद खोसी थु:थुः गरी थुकेर खुट्टाले कुल्ची मिल्काइ दिएँ र डोलेहरूलाई बेसरी हप्काई छिटो लैजाओ भन्दै श्री स्वस्थानी परमेश्वरीको अनेक प्रकारले निन्दा पनि गरें। बिचरा डोलेहरू डरले बोल्न नसकी चुपचाप डोली बोकेर त्यहाँबाट हिंडे। शालीनदीमा आइपुगेपछि पुल द्वारा पारी तर्न लाग्दा अकस्मात् चँदुवा टाँगेजस्तै मेघ उठेर ठूलो पानीका साथै भयंकर हुरी पनि आयो र म डोलीबाट लडी शालीनदीमा परें। डोलेहरूको के गति भयो, केही पनि थाहा पाउन सकिन। मेरो शरीर कहिले मूर्च्छा हुने र कहिले चेत आउने भयो। म यस्ती हुँ भन्ने पनि सुद्धि हरायो। नदीकै तटमा पडिरहें।

 

निकै दिनपछि कपिल नामका दुई ब्राह्मण त्यतैबाट आए। मैले कहाँ जान लागेका भनी सोधें र तिनले राजाको ब्राह्मण भोजनमा जान 'लागेका भनेपछि मैले त्यसो भए मलाई पनि केही मागेर ल्याइदेओ भनें। तिनीहरू भोजन गरेर घर फर्कन लाग्दा फेरि आए-र हे पापिनी! तेरो निम्ति हामीले लज्जित हुनु पर्यो। तेरो नाम लिनासाथ राजाको भण्डार नै सुक्यो। रानीलाई खान भनेर पकाइराखेको भात रहेछ, त्यही ल्याई दिएका छौं भनी मलाई पातमा | भात दिए। भोकले आत्तिइरहेकी हुनाले मुख पनि 1. नधोई खान तयार भएँ। त्यो देखेर ती ब्राह्मणले भने-हे पापिनी! यस्तो अवस्थामा परेर पनि तँलाई धर्मको चेष्टा रहेनछ। तेरो अवस्था देखेर हामीलाई दया लाग्यो। मुख धोएर खा। अनि स्वस्थानी परमेश्वरीको व्रत गरे तेरो समस्त पाप, रोग नाश हुनेछ भनी ती ब्राह्मण घर गए।

 

अनि म मुख धुन शालीनदीमा जाँदा नदीको जल सुक्तै गयो। त्यो देखेर म माथि आई मुख न धोएरै खान तयार भएँ र भात खरानी भयो, खरानी पनि खान खोज्दा ठूलो हुरी आएर उडाई लग्यो। अनि म नाना तरहको शोक गरी रोई कराई भोक-प्यास सहेर ढूलो कष्टले दिन काटि रहें। त्यही क्रमले रहँदा बस्ता पौषशुक्ल पूर्णिमा आयो र स्वर्गबाट स्वस्थानी परमेश्वरीको व्रत आरम्भ गर्न अप्सराहरू शालीनदीमा आएर मैले देखें। अनि चार हात-पाउ टेकेर गई तिमीहरू को हौ? केही खानेकुरा भए मलाई देओ, पुण्य होला। म के पापले यस्ती भएँ? भन्दा उनीहरूले भने-हामी इन्द्रका अप्सरा हौं, श्री स्वस्थानी परमेश्वरीको व्रत आरम्भ गर्न यहाँ शालीनदीमा, स्नान गर्न आएका हौं। हे पापिनी! तेरो अवस्था देख्दा हामीलाई दया लाग्यो। तँ श्री स्वस्थानी परमेश्वरीको व्रत गर। त्यसैको प्रभावले तेरो सारा पाप नाश होला र यो दुःखको सिन्धुबाट पार होलिस्।

 

अनि मैले भने-म यस्तो स्थितिमा परेकी पापिनीले त्यो व्रत कसरी गर्नेछु? सामग्री को देला? के-के चाहिन्छ? मेरो कुरा सुनी तिनीहरूले व्रतविधि बताई स्वर्ग गए। मैले पनि उनैहरूको उपदेश अनुसार पौषशुक्ल पूर्णिमाको दिनदेखि स्नान गरी एकभक्त रही, एक चित्त गरी महीना दिनसम्म नित्य मध्यान्हकालमा श्री महादेवको पूजा गरिरहें। महीना दिन भयो र माघशुक्ल पूर्णिमाको दिन आयो र श्री स्वस्थानी परमेश्वरीको व्रत पूर्ण, गर्न अप्सराहरू फेरि त्यहीं आए। हे स्वामी! महीना दिनमै श्री स्वस्थानी परमेश्वरीको व्रतको प्रभावले मेरो कुष्ठ रोग पनि निको भयो, हात-खुट्टा पनि पहिले जस्तै भए र अप्सराहरूसित भनें-हे अप्सरा हो ! तिमीहरूको उपदेशले पौषशुक्ल पूर्णिमादेखि व्रत प्ररम्भ गरेकी छु, महीना दिन भयो। अब श्री स्वस्थानी परमेश्वरीको पूजा गर्न मसँग केही सामग्री छैन, कसरी गर्ने भन्दा अप्सराहरूले भने-सामग्री नभए नदीबाट बालुवा ल्याई सामग्री तुल्या। अनि मैले शालीनदीबाट बालुवा ल्याई सामग्रीको कल्पना गरें र त्यो सामग्री सिद्ध भयो अर्थात् मैले जे-जे कल्पना गरेकी थिएँ, त्यो-त्यो सबै सिद्ध भएको देखेर अप्सराहरू प्रसन्न भई हे सुन्दरी! आजसम्म तँलाई हामी पापिनी भन्थ्यौं, तर आजदेखि तेरो नाम 'पुण्यवती' भयो भने र सोही सामग्रीले मैले तिनै अप्सराहरूको संसर्गमा व्रत गरें। सम्पूर्ण व्रत पूरा गरेर उनीहरू स्वर्ग गए।

 

अनि श्री स्वस्थानी परमेश्वरीको प्रसाद अष्टोत्तर सयमा आठ रोटी, आठ अक्षता, आठ पुष्प, आठ पान, आठ कुड्का सुपारी, यज्ञसूत्र र सगुन समेत दिन हजुर सामुन्ने नहुनाले मैले गंगाजीमा, मेरा स्वामीसित छिटै भेट होस् भनी बगाइ दिएँ। प्रातःकाल भयो र शालीनदीमा स्नान गरी अब माइत जान्छु भनी तयार भइसकेकी थिएँ, र लोकहरू लिन आए। हे स्वामी! मैले श्री स्वस्थानी परमेश्वरीको अपमान र निन्दा गरेको पापले त्यस्ती भएर पनि फेरि उनैको कृपाले र कपिल ब्राह्मण, एवं अप्सराहरूको उपदेशले म यस्ती भएर आज हजुरको दर्शन गर्न पाएँ। श्री स्वस्थानी परमेश्वरी भन्दा ठूलो अर्को कुनै पनि देवता त्रिलोकमा छैनन् भन्ने मेरो मनमा निश्चय भयो। समस्त व्रतहरूको पनि व्रत, सम्पूर्ण तीर्थको पनि तीर्थ, धर्मको पनि धर्म, कालको पनि काल र देवताको पनि देवता यस्ती जगदीश्वरीलाई मेरो कोटि-कोटि नमस्कार छ भनी चन्द्रावतीले बारम्बार दण्डवत् प्रणाम गर्दी भइन्।

इति श्री स्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये कुमारअगस्त्यसंवादे श्री स्वस्थानी परमेश्वर्या-व्रतकथायां चन्द्रावतीस्ववृत्तान्तकथनंनाम त्रिंशोऽघ्यायः  ॥३० ।। 

कथा सकिएपछि निम्न स्तोत्र पढेर पुष्पाञ्जलि गर्नु-

उपनयतु मंगलं वः सकल जगन्मंगलालयः श्रीमान् ।

दिनकर किरण निबोधित नवनलिनदलनिभेक्षणः कृष्णः ।।

काले वर्षतु पर्जन्यः पृथिवी शस्यशालिनी । 
देशोऽयं क्षोभरहितो ब्राह्मणाः सन्तु निर्भयाः ।। 

अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः । 
निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।

तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च ।

तीर्थानि सर्वाणि वसन्ति तत्र, यत्राच्युतोदार कथा प्रसंगः ।।

या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता ।
या वीणा वरदण्डमण्डितकरा या श्वेतपद्मासना ।।
या ब्रह्माच्युत शंकरप्रभृतिभिर्देवैः सदा वन्दिता ।
सा मां पातु सरस्वती भगवती निःशेष जाड्यापहा ।।

कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृतिस्वभावात् ।

करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पये तत् ।।

श्री स्वस्थानी देव्यार्पणमस्तु ।

यति भनिसकेर कथा सुन्ने जति समस्त श्रोताहरूले | पुष्पाञ्जलि चढाई दण्डवत् गर्नु र आफाफ्ना मनको इच्छित वरदान माग्नु ।

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish