श्रीस्वस्थानी व्रतकथाको एकोनत्रिंशोऽध्यायः, चन्द्रावतीको व्रतपूर्ण भएर लावण्यदेश गएको वर्णन

कथा भन्ने र सुन्ने सबैले चन्दन, अक्षता, फूल लिएर हात जोर्नू ।
वक्ताले तलको स्तुति पढ्नु-

यं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतः स्तुन्वन्ति दिव्यैः स्तवै- र्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः । 
ध्यानावस्थित-तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्याऽन्तं न विदुः सुरासुरगणा देवाय तस्मै नमः ।।१।।

श्रीमच्चन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका-

मालाऽलंकृतकुण्डला प्रविलसन्मुक्तावलीशोभिता ।
सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा 
वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।।

मूकं करोति वाचालं पङ्गं लङ्घयते गिरिम् ।
यत्कृपा तमहं वन्दे परमानन्दमाधवम् ।।३।।

नमो भगवते तस्मै व्यासायाऽमिततेजसे ।
यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् ।।४।।

नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम् ।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।५।।

सबैले पुष्पाञ्जलि पुस्तकमा चढाएपछि वक्ताले कथा भन्न थाल्नु। श्रोताले एकचित्त भएर कथा सुन्नु। 

एकोनत्रिंशोऽध्यायः

कुमारजी आज्ञा गर्नुहुन्छ-हे अगस्त्य मुनि! त्यहाँपछि चन्द्रावतीले बगाएका आठ रोटीमा चार रोटी नागिनीले पाएर हातमा लिई यस्तो अपूर्व रोटी कसले बगाएछ, मेरा पति घर छैनन्। बाह्र वर्ष भयो कहाँ गए, पत्ता छैन। उनलाई नख्वाई एक्लै कसरी खाऊँ। उनको खबर गरूँ अनि दुई-दुई रोटी बाँडेर खाउँला भनी गण्डकी नदी, नाला सबै स्थानमा खबर गर्दै गइन्। तिनै आठ रोटी मध्ये चार रोटी नागले पाएर कस्तो अपूर्व रोटी पाएँ। यो मेरी स्त्रीलाई नख्वाई एक्लै कसरी खाऊँ! म परदेश हिंडको पनि बाह्र वर्ष भयो। अब घर गई दुई-दुई रोटी बाँडेर खाउँला भनी घर जान लाग्दा शालीनदी र समुद्रको दोभानमा स्वस्थानी परमेश्वरीको प्रसाद स्वरूप त्यो रोटीको प्रतापले नाग र नागिनीको भेट भयो।

 

अनि नागिनीले प्रसन्न भएर भनिन्-हे स्वामी! मलाई एक्ली छाडेर यतिका दिन सम्म कहाँ जानुभएको थियो? मेरो भाग्यले आज तपाईंको दर्शन पाएँ। कसैले बगाएको यो चार रोटी पाएँ। त्यो तपाईंलाई नख्वाई एक्लै कसरी खाऊँ, दुई-दुई बाँडेर खाऊँला भनी गण्डकी, नदी, नाला सबैतिर खोज्दै हिंडेकी हुँ। बल्ल संतोष भयो, लौ खानुहोस् भनी आफूसित भएको चार रोटीमा दुई रोटी दिइन्। अनि नाग भन्दछन्-हे स्त्री! त्यस्तै चार रोटी मैले पनि पाएको छु, तिमीलाई नख्वाई एक्लै कसरी खाऊँ! दुई-दुई रोटी बाँडेर खाउँला, घर जाऊँ भनेर आएँ। तिम्रो मुख देखेर सन्तोष भयो, लौ खाऊ, भनेर आफूले पाएका चार रोटीमा दुइ रोटी दिए। दुवै स्त्री-पुरुषले खाइसकेर नागिनी नागका काखमा बसी आनन्दले रहे। तब नाग भन्दछन्-हे स्त्री! बाह्र वर्षसम्म हामीहरूको भेट नभएको यसै रोटीको प्रभावले भेट भयो। जसले यो रोटी बगायो, त्यसको भोलिक दिनमा इच्छा सिद्धि हवस्, लक्ष्मी प्राप्त हऊन् र शत्रु नश हउन् भनेर अनेक आशिर्वाद दिए। अनि नागिनी भन्दछिन्-हे स्वामी! म पनि त्यसलाई आशिष दिन्छु-जसले यी रोटीहरू बगायो, त्यसलाई नवग्रहले पीडा नगरून्। राज्यलक्ष्मी त्यसका वशमा रहुन्। फेरि हामी जस्तै पति-पत्नी छुट्टिएका भए पनि चाँडै भेट हवस् भनेर अनेक आशिर्वाद दिइन्।

 

यसरी आशिर्वाद दिएर नाग-नागिनी आफ्ना आश्रममा गए। त्यसपछि लावण्यदेशका मानिसहरू शालीनदीमा स्नान गर्न जाँदा  त्यस्ता किसिमले बसेकी चन्द्रावतीलाई देखेर सोधे 'तिमी देवकन्या, विद्याधर-कन्या अथवा स्वर्गकी अप्सरा रम्भा, तिलोत्तमा को हौ? यहाँ एक्लै किन बसेकी?' यति लोकहरूले भनेको सुनी चन्द्रावती भन्दछिन् हे लोक हो! म देवकन्या वा स्वर्गकी अप्सरा होइन। म वरुणपुरका अग्निस्वामीकी छोरी चन्द्रावती हूँ। गोमा बराह्मणीका पुत्र नवराजकी पत्नी हूँ। हिजो स्वर्गका अप्सराहरू यहाँ आई श्री स्वस्थानी परमेश्वरीको व्रत गरेर स्वर्ग गए। मेलै पनि उनैका संसर्गमा श्री स्वस्थानी परमेश्वरीको व्रत गरेर राति जाग्राम गरें भनिन् र लावण्यदेशका लोकहरूले आश्चर्य मानेर गोमा ब्राह्मणीका पुत्र नवराज त हाम्रो देशका राजा भएका छन्। यो कुरा के कसो हो, राजालाई भन्नु पर्दछ भन्ने सल्लाह गरी नवराज राजाकहाँ गई-हे महाराज! भनी चन्द्रावतीले भनेको सारा कुरा सुनाए। ती शालीनदीको तटमा बसिरहेकै छन्, हुन् कि होइनन् विचार गरिबक्सियोस्।

 

यति लोकले भनेको सुनी नवराज राजाले आफ्नी पत्नी चन्द्रावतीलाई सम्झे। अनि हे लोक हो! तिमीहरूले उचित कुरा भन्यौ। चन्द्रावती मेरी पत्नी हो। राज्यको कार्यभारले उसलाई बिर्सिरहेको थिएँ। अब तिमीहरू सबै जना गई डाकेर ल्याओ भनी उत्तम वस्त्र अलंकारहरू पठाई दिए। अनि मन्त्रीलाई डाकेर भने- हे मन्त्री! मेरी स्त्री चन्द्रावती शालीनदीका तीरमा आएर बसेकी रहिछ। ऐल्हे, लावण्यदेशका लोकहरू नाना वस्त्र अलंकार पहिरी नाच, गीत, वाद्य गरेर लिन जाउन्, छिटै पठाऊ। म पनि परसम्म लिन आउँला, हात्ती, घोडा, रथ, पैदल सेना आदि तयार गर भनी आज्ञा दिए। मन्त्रीले 'हुन्छ' भनेर पूरा शहरमा झ्याली पिटाई सारा प्रजाहरू पछि लगाई आफू पनि गए। सबै चन्द्रावतीकहाँ पुगेर प्रणाम गरी-हे महारानी! नवराज राजाले हजुरलाई लिन पठाएर हामीहरू आयौं। यो पालकी र वस्त्राभूषण ल्याएको छ, पहिरेर छिटै जाऊँ भने।

 

तब चन्द्रावतीले आफ्ना पति नवराजलाई सम्झेर-हे स्वस्थानी परमेश्वरी! मेरा पति नवराजसित चाँडै भेट हवस् भनेर हिजो व्रत गरें, आज भेट हुन लाग्यो। हे ईश्वरी! हजुरलाई) कोटि-कोटि नमस्कार छ। म पापिनी नाम भएर दुःखका सिन्धुमा डुबिरहेकीलाई कष्टबाट पार गर्नुभयो। हे लोकेश्वरी! हजुरलाई कोटि-कोटि नमस्कार छ। हे भगवती! हजुरका कृपाले ब्रह्माले चौध भुवन सृष्टि गरे। यस्ती हजुरलाई कोटि-कोटि नमस्कार! हे जगदीश्वरी! हजुरको दयाले म पनि लावण्यदेशकी रानी हुन आँटें भनी बहुतै प्रसन्न भई वस्त्रालंकार पहिरी पालकीमा बसी समस्त प्रजाहरू समेत भई लावण्यदेश गइन्। नगर बाहिर पुगेपछि लावण्यदेशका स्त्रीहरूले थाहा पाई हतपत गरेर कसैले पाकिसकेको भात छाडेर निस्के, कसैले खाँदा-खाँदै हात पनि नधोई निस्के, कसैले छोरा-छोरी रुवाउँदै निस्के। अगाडि पुग्न र पहिले दगुर्दा कसैका हात र कसैका खुट्टा भाँचिए। यसरी नवराज राजाले चन्द्रावतीलाई अनेक मंगल-यात्रा गर्दै दरबारमा लै जाँदा भए।

इति श्री स्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये कुमारअगस्त्यसंवादे श्रीस्वस्थानी परमेश्वर्या-ब्रतकथायां चन्द्रावतीपतिगृहगमनंनाम एकोनत्रिंशोऽध्यायः ।। २९ ।। 

कथा सकिएपछि निम्न स्तोत्र पढेर पुष्पाञ्जलि गर्नु-

उपनयतु मंगलं वः सकल जगन्मंगलालयः श्रीमान् ।

दिनकर किरण निबोधित नवनलिनदलनिभेक्षणः कृष्णः ।।

काले वर्षतु पर्जन्यः पृथिवी शस्यशालिनी । 
देशोऽयं क्षोभरहितो ब्राह्मणाः सन्तु निर्भयाः ।। 

अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः । 
निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।

तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च ।

तीर्थानि सर्वाणि वसन्ति तत्र, यत्राच्युतोदार कथा प्रसंगः ।।

या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता ।
या वीणा वरदण्डमण्डितकरा या श्वेतपद्मासना ।।
या ब्रह्माच्युत शंकरप्रभृतिभिर्देवैः सदा वन्दिता ।
सा मां पातु सरस्वती भगवती निःशेष जाड्यापहा ।।

कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृतिस्वभावात् ।

करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पये तत् ।।

श्री स्वस्थानी देव्यार्पणमस्तु ।

यति भनिसकेर कथा सुन्ने जति समस्त श्रोताहरूले | पुष्पाञ्जलि चढाई दण्डवत् गर्नु र आफाफ्ना मनको इच्छित वरदान माग्नु ।

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish