कथा भन्ने र सुन्ने सबैले चन्दन, अक्षता, फूल लिएर हात जोर्नू ।
वक्ताले तलको स्तुति पढ्नु-
यं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतः स्तुन्वन्ति दिव्यैः स्तवै- र्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ।
ध्यानावस्थित-तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्याऽन्तं न विदुः सुरासुरगणा देवाय तस्मै नमः ।।१।।
श्रीमच्चन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका-
मालाऽलंकृतकुण्डला प्रविलसन्मुक्तावलीशोभिता ।
सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा
वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।।
मूकं करोति वाचालं पङ्गं लङ्घयते गिरिम् ।
यत्कृपा तमहं वन्दे परमानन्दमाधवम् ।।३।।
नमो भगवते तस्मै व्यासायाऽमिततेजसे ।
यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् ।।४।।
नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम् ।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।५।।
सबैले पुष्पाञ्जलि पुस्तकमा चढाएपछि वक्ताले कथा भन्न थाल्नु। श्रोताले एकचित्त भएर कथा सुन्नु।
कुमारजी आज्ञा गर्नुहुन्छ-हे अगस्त्य मुनि! त्यसपछि ती ब्राह्मणहरू भात लिएर चन्द्रावती भएको स्थानमा पुगे। चन्द्रावतीले तिमीहरू आएको देखी मलाई पनि केही ल्याइदियौ कि भनी सोधिन् र ब्राह्मणहरूले भने-'हे पापिनी! तँ अत्यन्त पापिनी रहिछस्। तेरो निम्ति हामीले लज्जित हुनु पर्यो। किनकि तँलाई दिन भनी हेर्न जाँदा राजाको भण्डार नै सुक्यो। यति भात रानीलाई भनेर पकाइराखेको रहेछ, ल्याइदिएका छौं, लौले' भनेर सुम्पी दिए। त्यो भात पाउनासाथ चन्द्रावती भोकले व्याकुल भएकी हुनाले तत्काल खान तयार भइन्। अनि ती ब्राह्मणहरूले भने-हे पापिनी! यस्तो अवस्थामा परेर पनि तँलाई धर्मको चेष्टा रहेनछ, मुख धोएर खा, तेरो अवस्था देखेर हामीलाई दया लाग्यो। तँलाई उपदेश दिन्छौ, सुन-निरर्जन निराकार रूप श्री स्वस्थानी परमेश्वरीको व्रत गर। त्यही व्रतको प्रभावले तेरो उद्धार हुनेछ भनी उनीहरू गए।
अनि चन्द्रावती बडो कष्टले चार हात-पाउ टेकी मुख धुन शालीनदीमा जाँदा शालीनदीको जल सुक्दै गयो र चन्द्रावती रोई-कराई माथि आएर मुख नधोएरै खान्छु। भनी भात हातमा लिनासाथ खरानी भयो, त्यो खरानी पनी खाँउ भन्दा ठूलो बतास आई उडाएर लग्यो। अनि चन्द्रावती काटेको वृक्ष ढले झैं भूमिमा परी मूच्छा भइन्। फेरि चेत आयो र मैले कस्तो अपराध गरिछु भनी अनेक थरिका विषाद गरी दुःखका सिन्धुमा डुबिरहेकी थिइन्।
त्यसको केही दिनपछि पौषशुक्ल पूर्णिमा आयो र स्वस्थानी परमेश्वरीको व्रत आरम्भ गर्न स्वर्गका अप्सराहरू शालीनदीमा स्नान गर्न आए। स्नान गरिसकी सूर्यनारायणलाई अर्घ्य दिई बालुवाको शिवलिंग बनाई महादेवको पूजा गर्न लाग्दा चन्द्रावतीले देखिन् र उनीहरूको नगीच गएर भनिन्-तपाइँहरू देवता हो कि मनुष्य हौ? म पापिनी कहीं चल्न सक्तिन, कसैले केही दिदैनन्। खान पाउँदिन, मलाई अन्न-दान दिनु, हवस्। म के पापले यस्ती भएँ, मेरो कसरी उद्धार होला? यति चन्द्रावतीले भनेको सुनी अप्सरा भन्दछन्-
हे पापिनी! हामी स्वर्गका अप्सरा हौं। आज पौषशुक्ल पूर्णिमा हो। श्री स्वस्थानी परमेश्वरीको व्रत प्रारम्भ गर्न यहाँ स्नान गर्न आयौं। तेरो अवस्था देखेर हामीलाई दया लाग्यो। तँ पनि यही व्रत गर, सम्पूर्ण पाप नाश भएर उद्धार होला। यति सुनी चन्द्रावती मनमनै विचार गर्दछिन्-'मैले अरू त केही पाप गरेकी थिइन, डोलेहरूले स्वस्थानी परमेश्वरीको प्रसाद भनी ल्याइदिएको मैले अहंकारले थुः थु: गरी थुकेर खुट्टाले दली फालिदिएकी थिएँ। मलाई अवश्य त्यही पाप लाग्यो। यहाँ आइपुगेपछि नदी तर्न लाग्दा डोलीबाट लडेथें, ठीक हो। कपिल ब्राह्मणले पनि स्वस्थानी परमेश्वरीको व्रत गर भन्ने उपदेश दिएका थिए। आज अप्सराहरूले पनि त्यस्तै भने। श्री स्वस्थानी परमेश्वरी भनेकी ठूली रहिछन्। मनुष्यहरू अभिमानले नाशिंदा रहेछन्। मैले पनि अहंकार, गर्दा यस अवस्थामा प्राप्त भएँ। अब म पनि स्वस्थानी परमेश्वरीको व्रत गर्दछु।'
यस्तो निश्चय गरेर अप्सराहरूसित प्रार्थना गरिन्-हे अप्सरा हो! स्वस्थानी परमेश्वरीको व्रत विधि के हो? के-के गर्नु पर्दछ? यो सबै आज्ञा हवस्। यति चन्द्रावतीले भनेको सुनी अप्सरा भन्दछन् हे पापिनी! आजैदेखि हात-खुट्टाका नङ काटी, स्नान, गरी, पवित्र भएर एकभक्त रही एकचित्त गरी महीना, दिनसम्म नित्य मध्यान्हकालमा श्री महादेवको पूजा गर्नु। सकेदेखि श्री स्वस्थानी परमेश्वरीको कथा भन्नु, वा सुन्नू, नसके मनले उनैलाई सम्झिझरहनू। माघशुक्ल, पूर्णिमाको दिन अष्टोत्तर सय पान, अष्टोत्तर सय अक्षता, अष्टोत्तर सय वेली पुष्प, अष्टोत्तर सय कुड्का सुपारी, अष्टोत्तर सय यज्ञसूत्र र अष्टोत्तर सय रोटी तथा जात जातका फूल र नैवेद्यहरू तयार पारी आर्सीमाओँॐकार लेखी गंगाजलले स्नान गराउनू, माला पहिराई धूप, दीप, नैवेद्य, फल-फूल र कस्तूरी मेवा मिष्ठान्न, वस्त्र। भेटी चढाउनु। अनि एकचित्त भएर स्वस्थानी परमेश्वरीको स्तोत्र-पाठ-जप-ध्यान गर्नु र अर्घ्य दिनु-हे ईश्वर! भनेर मनले इच्छित वर माग्नु, अनि प्रसाद झिक्नु र अष्टोत्तर सयमा आठ रोटी, आठ अक्षता, आठ यज्ञसूत्र, आठ पान, आठ कुड्का सुपारी सगुन समेत आफ्ना पुरुषलाई दिनु पुरुष नभए छोरालाई दिनु, छोरा पनि न भए मीत छोरालाई दिनु, मीतछोरा पनि नभए मेरो अमुक कामना सिद्ध हवस् भनी गंगामा बगाउनु, सय रोटी आफूले फलाहार गर्नु, रात्रिमा जाग्राम बस्नु। यति गरिसकेपछि तेरो सम्पूर्ण पाप नाश होला। हे पापिनी! यसमा अन्यथा नमानेस्। अब हामीहरू जान्छौ भनी अप्सराहरू स्वर्ग गए।
त्यसपछि चन्द्रावतीले अप्सराहरूकों उपदेश अनुसार शालीनदीमा स्नान गरी एकभक्त रही एकचित्त गरी स्वस्थानी परमेश्वरीलाई मनले सम्झिरहिन्। यही क्रमले व्रत गर्दा चन्द्रावतीको पाप घट्तै गयो। शरीरको कुष्ठ रोग पनि निको हुँदै गयो र दिव्य शरीर भएर आयो। महीना दिन पूरा भयो र माघशुक्ल पूर्णिमाको दिन समस्त सामग्री तयार पारी अप्सराहरू स्वस्थानी परमेश्वरीको पूजा गर्न फेरि शालीनदीमा स्नान गर्न आए। चन्द्रावतीले देखिन् र उनको नगीचै गई-हे अप्सराहरू हो! तपाइहरूको आज्ञाले पौषशुक्ल पूर्णिमादेखि नित्य स्नान गरेर एकभक्त रही नित्य मध्यान्हकालमा श्री महादेवको पूजा गर्दछु। अब व्रत पूर्ण गर्न सामग्री केही पनि छैन, कसो गरूँ भनिन् र अफ्सराहरू भन्दछन्-हे पापिनी! केही पनि छैन भने शालीनदीबाट बालुवा ल्याई सामग्री तुल्याई हामीहरूको संसर्गमा पूजा गर।
यति सुनी चन्द्रावतीले हवस् भनी शालीनदीको बालुवा ल्याई सामग्री तुल्याइन्। श्री स्वस्थानी परमेश्वरीको व्रतको प्रभावले चन्द्रावतीले तुल्याएको ( मनले चिताएको) बालुवाको सामग्रीहरू सिद्ध भई तयार भयो। त्यो देखेर चन्द्रावती मनमा आनन्द मानी धन्य, धन्य, स्वस्थानी परमेश्वरी! भन्दै अप्सराहरूलाई बालुवाको सामग्री सिद्ध भएको कुरा सुनाइन्। उनीहरूले पनि बालुवाको सामग्री सिद्ध भएको, र तिनको दिव्य शरीर भएको देखेर आश्चर्य मान्दै भने-हे सुन्दरी! हामी आजसम्म तँलाई पापिनी भन्दथ्थ्यौं, तर आजदेखि तेरो नाम 'पुण्यवती' भयो भनेर आफ्नू संसर्गमा व्रत गराए।
चन्द्रावतीले पूजा गरिसकी अर्घ्य लिई स्तुति गर्न लागिन्-हे जगदीश्वरी! अघि मैले अहंकार गरेर हजुरको निन्दा गरेको अपराध क्षमा गर्नुहवस्। हे ईश्वरी! सम्पूर्ण प्राणीका हृदयमा बसी पाप-पुण्यकी साक्षी भइरहेकी यस्ती हजुरलाई कोटि-कोटि नमस्कार! हे परमेश्वरी! एक मूर्तिले त्रिमूर्ति ब्रह्मा, विष्णु, महेश्वर भइरहेकी यस्ती हजुरलाई कोटि-कोटि नमस्कार। हे भगवती! पृथ्वी, जल, तेज, वायु, आकाश यी पाँच पनि हजुर, देवताकी देवता पनी हजुर, अति स्थूल र अति सूक्ष्म पनि हजुर यस्ती त्रैलोक्यकी अधिपति हजुरलाई कोटि-कोटि नमस्कार! हे ईश्वरी! हजुरको स्तुति गर्न-शेष र शारदाले नसकेको म कसरी सक्दछु? म पापिनीको पूजाले प्रसन्न भई मलाई यस घोर कष्टबाट पार लगाउनु हवस्। यति भनी अर्घ्य दिइन्। तब पूजा समाप्त भयो र अप्सराहरू बिदा भई स्वर्ग गए।
अनि चन्द्रावती शालीनदीका किनारामा खरको झुपडी बनाई श्री स्वस्थानी परमेश्वरीलाई मनले सम्झी रात्रिमा जाग्राम बसिन्। प्रात:काल भयो र शालीनदीमा स्नान गरी अष्टोत्तर सयमा आठ रोटी, आठ अक्षता, आठ पान, आठ कुड्का सुपारी सगुनसमेत लिई- हे ईश्वरी! मेरा स्वामी यहाँ छैनन्, कसलाई दिउँ? मेरा पति नवराजसित चाँडो भेट हवोस् भनी शालीनदीमा। बगाइदिइन्। सय रोटी आफूले फलाहार गरिन्। अनि स्वस्थानी परमेश्वरीको व्रतका प्रभावले चन्द्रावतीको पाप, रोग निको भई अघि भन्दा पनि दिव्य देह। भयो। त्यो देखेर मनमा आनन्द मान्दै धन्य स्वस्थानी परमेश्वरी भनी बारम्बार प्रणाम गर्दी भइन्।
इति श्री स्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये कुमारअगस्त्यसंवादे श्रीस्वस्थानी परमेश्वर्या-व्रतकथायां चन्द्रावतीव्रतकृतंनाम अष्टविंशोऽध्यायः ।। २८ ।।
कथा सकिएपछि निम्न स्तोत्र पढेर पुष्पाञ्जलि गर्नु-
उपनयतु मंगलं वः सकल जगन्मंगलालयः श्रीमान् ।
दिनकर किरण निबोधित नवनलिनदलनिभेक्षणः कृष्णः ।।
काले वर्षतु पर्जन्यः पृथिवी शस्यशालिनी ।
देशोऽयं क्षोभरहितो ब्राह्मणाः सन्तु निर्भयाः ।।
अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः ।
निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।
तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च ।
तीर्थानि सर्वाणि वसन्ति तत्र, यत्राच्युतोदार कथा प्रसंगः ।।
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता ।
या वीणा वरदण्डमण्डितकरा या श्वेतपद्मासना ।।
या ब्रह्माच्युत शंकरप्रभृतिभिर्देवैः सदा वन्दिता ।
सा मां पातु सरस्वती भगवती निःशेष जाड्यापहा ।।
कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृतिस्वभावात् ।
करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पये तत् ।।
श्री स्वस्थानी देव्यार्पणमस्तु ।
यति भनिसकेर कथा सुन्ने जति समस्त श्रोताहरूले | पुष्पाञ्जलि चढाई दण्डवत् गर्नु र आफाफ्ना मनको इच्छित वरदान माग्नु ।