कुमारजी आज्ञा गर्नुहुन्छ-हे अगस्त्य मुनि! त्यसपछि डोलेहरूले भने-हे महारानी! त्यहाँ स्वर्गका अप्सराहरूलाई स्वस्थानी परमेश्वरीको व्रत गर्न लागेका देखेर उनैका संसर्गमा हामी पनि पूजा गर्न लाग्दा केही विलम्ब भयो क्षमा गर्नु होला। हजुरलाई पनि स्वस्थानी परमेश्वरीको प्रसाद ल्याइदिएका छौं, लिनुहवस्।
तिनका यस्ता कुरा सुनी चन्द्रावती क्रोधित भई राता-राता आँखा पारेर दाह्रा किटी नागले झैं नि:श्वास फेरी सुस्केरा हाली मत्ता हात्ती रिसाए मैं ठूलो स्वरले गर्जेर-हे पापिष्ट डोले हो! मलाई यस्तो जंगलमा एक्लै छाडी व्रत गर्न लाग्यौ। के सेवकको धर्म यही हो? त्यस व्रतले तिमीहरूलाई खान दिन्छ कि? मैले त स्वस्थानी भनेको नाम पनि सुनेकी छैन। कहाँकी देवी हो? के गर्न सक्तछे? तिमीहरूले मलाई हेलाँ गरेर नटेरेको हो। वनमा भयौ र नभए तिमीहरूलाई अवश्य मार्ने थिएँ! म कहिले पुगौं भनेर हत्पताई आएकी मलाई तिमीहरूले। विलम्ब गरिदियौ। अपराधीमा पनि ठूलो अपराधी तिमीहरू जस्ता व्यक्तिलाई नै भन्छन्। यति भन्दै वानर उफ्रे झै उफ्री डोलेका हातबाट श्री स्वस्थानी परमेश्वरीको प्रसाद खोसेर थुः थुः गरी थुकी खुट्टाले कुल्चेर फालिदिइन्। फेरि यसै गरौला कि चाँडै लैजाओ भनिन्। तब बिचरा डोलेहरू डराई केही बोल्न नसकी आँसूका धारा बगाउँदै मनले श्री स्वस्थानी परमेश्वरीलाई सम्झी चुपचाप डोली बोकेर हिंडे।
लावण्यदेशको नगीचै 'शाली' नामकी नदी थिइन्। त्यहाँ पुगेर आधा नदी तरेपछि स्वस्थानी परमेश्वरीको निन्दा गरेकी हुनाले अकस्मात चाँदनी टाँगे हैं मेघ उठेर मुसलधारे पानी पर्यो। अनि ठूलो हुरी आयो र चन्द्रावती शालीनदीमा डोलीबाट लडिन्। डोलेहरू श्री स्वस्थानी परमेश्वरीको व्रतको प्रभावले पक्षीरूप भई कैलासमा गएर आनन्दले रहे।
https://amritastrology.com.np/
हे अगस्त्य मुनि! त्यसपछि चन्द्रावती ब्राह्मणी महापातकी भएर जलभित्र पडिरहिन्। जुन दिन चन्द्रावती, शालीनदीमा खसिथिन्, त्यसै दिनदेखि शालीनदी बगिनन्,, स्थिर भइरहिन्। माझीहरूले देखेर-यो के आश्चर्य भयो, यस नदीमा ग्राह आएर बस्यो कि वा कहीं कुनै यज्ञमा उत्पात हुन लाग्यो र यस्तो भयो। यो राजालाई, सुनाऊँ भनी नवराज राजाकहाँ गई बिन्ती गरे-हे महाराज! शालीनदी बगिनन्, स्थिर भएकी छन्। यस्तो भएको हामीले आजसम्म सुनेका पनि थिएनौं, तर आज प्रत्यक्ष देखियो, आश्चर्य भयो। विचार गरिबक्सियोस्। माझीहरूको यस्ता कुरा सुनी नवराज राजाले मन्त्रीलाई डाकी सारा कुरा बताई प्रजाहरू समेत शालीनदीमा गएर माझीहरूलाई जल भित्र केही छ कि जाल हालेर हेर भनी अन्हाए। माझीले जाल हालेर हेर्दा चन्द्रावती जालमा अल्झेर पानीको बाहिर आइन्, तर ती कस्ती भएकी थिइन् भने शरीरमा कुष्ठी भएर हात-पाउ झरेकी, चेत हराएकी, हिलोले छोपिई मूढो जस्तै भइरहेकी हुनाले यो के वस्तु हो भन्ने ठम्याउन नसकेर नदीको किनारमा मिल्काए र हे महाराज ! हामीले। केही पनि पाउन सकेनौं भनी बिन्ती गरे। अनि नवराजले- हे गंगे। तिमी किन स्थिर भइरहेकी छौ? मैले बुझ्न सकिन। मदेखि प्रसन्न हौ, भनेर नवरत्न पारो सहित गाईको दूधले अर्घ्य दिए। राजाले अर्घ्य दिनासाथ शालीनदी बगिन्। त्यो देखेर आश्चर्य मान्दै प्रजा सहित नवराज राजा दर फर्के।
त्यसपछि चन्द्रावती ब्राह्मणी कस्ती भइरहिन् भने-क्षणमा मूर्च्छा, क्षणमा चेष्टा, क्षण- क्षणमा भोक प्यास आदिका अनेक कष्ट पाई मूढो। मैं शालीनदीको तटमा रहिन्। एक दिन साहै भोक लाग्यो र खाने वस्तु केही नपाऊँदा माटो खान्छु भनेर हातमा लिइन्, त्यो माटो ढुंगा भयो, ढुंगा पनि खान खोज्दा हाड़ भयो, हाड पनि खान खोज्दा खरानी भयो र खरानी पनि खान खोज्दा ठूलो हुरी आएर उडाई लग्यो। श्री स्वस्थानी परमेश्वरीको निन्दा गरेकी हुनाले शीत, ताप, भोक प्यासबाट हुने अनेक, दुःख खपिरहिन्।
त्यसपछि अग्निपुरका कपिल नामका दुइ भाई ब्राह्मण, नवराज राजाको निमंत्रणमा जान भनी त्यतैबाट आए। तिन्लाई देखेर चन्द्रावतीले-तिमीहरू को हौ? कहाँ जान लागेका? भनेर सोधिन्। तिनले भने-हामी कपिल नामका ब्राह्मण हौं। लावण्यदेशका नवराज राजाको ब्राह्मण भोजनको निमंत्रणमा जान लागेका। चन्द्रवतीले भनिन्- हे ब्राह्मण हो! मैले कती दिनदेखि केही पनि खान पाएकी छैन। तिमीहरू भोजनमा जाने भए मलाई, पनि केही मागेर ल्याइदिए पुण्य होला। म असहाय अनाथ माथि दया गर। तब ती ब्राह्मणहरूले भने- हे पापिनी! अहिले हामी यसै हुन्छ भन्न सक्तैनौं किन भने राजाको महलमा के कसो हुन्छ भन्न सकिन्न। फेरि हामी ब्राह्यणले ल्याउन हुने वस्तु दिए त ल्याउँला, ल्याउन नहुने वस्तु दिए भने कसो गर्ने । अतः तँ आशा गरेर नबसेस्। यति भनेर ती दुवै भाई लावण्य- देश गए।
नवराज राजाले डाकेका सबै ब्राह्मणलाई यथेच्छ भोजन गराई दक्षिणा दिए। सबैजना राजालाई आशिर्वाद दिई प्रसन्न मनले आफाफ्ना घर गए। ती अग्निपुरका कपिल ब्राह्मण अधिका कुरा सम्झेर यसै जाऊँ भने पापिनी आशा गरिरहेकी होली! मागौं भने कसरी मागौं? 'लोभी' भन्दछन् कि भनेर केही भन्न नसकी भोजन गरेको स्थानमा कहिले जाने कहिले आउने गर्न लागे। तिनको गति गोमा राजमाताले देखेर भण्डारेलाई भनिन्-हे भण्डारे हो! ती दुवै ब्राह्मणले खान पाएनन् कि सन्तुष्ट भएनन् र हो कि, किन घुम्दैछन् सोध। अनि भण्डारले तिनको नगीच गएर सोधे-हे ब्राह्मण हो! तिमीहरूले खान पाएनौ कि तृप्त भएनौ? इच्छा भए फेरि भोजन गर। अनि ब्राह्मण भन्दछन्-हे भण्डारे! हामीले इच्छापूर्वक भोजन गर्यौ, सन्तुष्ट पनि भयौं तर हामी आउँदा शालीनदीका तटमा कुष्ठरोग भई हात-पाउ खसेकी कोही स्त्रीले देखी र कहाँ जान्छौं भनी सोधी! हामीले राजाको ब्राह्मण भोजनमा जान्छौ भन्दा तिमीहरू भोजनमा जाने भए मलाई पनि केही मागेर ल्याइदिए। कति दिन देखि खाएकी छैन भनेकी थिई। अत: अब यसै जाउँ भने त्यो पापिनी आशा गरिरहेकी होली, केही लगिदिउँ भने कसरी मार्गौं भन्ने संकोचले यता-उता हिंडेका हौं। त्यो कुरा भण्डारेले राजमातालाई सुनाए।
अनि उनले ती दुई जनाले बोक्न सके जति अन्न दिनु भनिन् र भण्डारेहरू भण्डारमा राखेको वस्तु लिन जाँदा राजाको सम्पूर्ण भण्डार नै सुक्यो। दिने जस्तो वस्तु केही पनि नपाई राजमातालाई विन्ती गरे-राखेको स्थानमा कुनै वस्तु पनि छैन, के दिने? त्यति सुनी गोमा आफैं गएर भण्डारमा हेरिन् र दिने वस्तु केही पनि नदेखी आफूलाई भनेर पकाइराखेको भात 'यही देओ' भनिन्। भण्डारे त्यो भात लिएर गई ब्राह्मणलाई भन्दछन्-हे ब्राह्मण! त्यसको नाम लिनासाथ राजाको सम्पूर्ण भण्डार नै सुक्यो। यो राजमातालाई पकाइराखेको भात छ, यही लगिदेओ भनी जिम्मा लगाइदिए। ब्राह्मणहरू लाज मान्दै त्यो भात लिएर दरबारबाट निस्के। तिनीहरू जानासाथ राजाको भण्डार पहिले जस्तै भयो। जहाँ जहाँ जुन-जुन वस्तु राखेको थियो, त्यहीं-त्यहीं देखियो भनी कुमारले अगस्त्यमुनिलाई सुनाउँदा भए।
इति श्री स्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये कुमारअगस्त्यसंवादे श्रीस्वस्थानी परमेश्वर्या-व्रतकथायां नवराजब्राह्यणभोजनंनाम सप्तविशोंsध्यायः।।२७॥।