श्रीस्वस्थानी व्रतकथाको षड्विंशोऽध्यायः, चन्द्रावती लावण्यदेश प्रस्थान

षड्विंशोऽध्यायः

कुमारजी आज्ञा गर्नुहुन्छ-हे अगस्त्य मुनि! त्यसपछि एक दिन नवराजले आफ्नी माता गोमासित भने हे माता! स्वस्थानी परमेश्वरीका कृपाले हामी आजको यो स्थितिमा प्राप्त भयौं। अब हाम्रो राज्यमा भए। जति समस्त ब्राह्मणहरू डाकेर भोजन दक्षिणा दिऊँ। यस जन्ममा दान-धर्म गर्नसके अर्को जन्ममा प्राप्त हुनेछ। यति नवराजले भनेको सुनी-हे पुत्र! यो असल कुरा भन्यौ। धर्मकार्यमा तिम्रो मन सदैव लागिरहोस्। यति भनी मन्त्रीलाई अन्हाई सामग्री तयार पार्न लगाई ब्राह्मणहरूलाई निमंत्रणा पठाउँदा चन्द्रज्योति नगरका तेरा मित्रहरूलाई पनि निम्ता पठाउनू र तेरी पत्नी चन्द्रावतीलाई पनि लिन पठाउनू।

यति गोमाले भनेको सुनी नवराजले तत्काल मंत्रीलाई डाकी भने-हे मंत्री! हाम्रो राज्यमा भए जति समस्त ब्राह्मणलाई भोजन गराउँछु, सामग्री तयार पार्न लगाऊ र निमंत्रणा पनि पठाऊ। चन्द्रज्योति नगरमा मेरा साथीहरू छन् उनलाई पनि डाक्न पठाऊ। फेरि वरूणपुरका अग्निस्वामीकी पुत्री चन्द्रावती मेरी पत्नी हो, उसलाई पनि लिन पठाऊ। मेरा सासू-ससुरालाई पनि तिम्रा ज्वाइँ राजा भए, आजको चार दिनमा आइपुग्नु भनेर डाक्न पठाऊ।

राजाको आज्ञानुसार मंत्रीले लावण्यदेशका समस्त ब्राह्मणलाई निम्ता पठाउन लगाए। सामग्री पनि तत्काल तयार पार्न लगाए। चन्द्रज्योति नगरमा नवराजका साथीहरूलाई डाक्न पठाए। चन्द्रवतीलाई लिन डोलेहरू डाकी सबै कुरा बुझाई तत्काल पठाए। वरुणपुर पुगेर डोलेहरू 'अग्निस्वामीको घर कुन हो?' भनी सोधेर कसैले ऊ त्यही हो भनी देखाई दिए। तब घरको आँगनमा गएर बोलाए अनि चन्द्रावतीले सुनेर झ्यालबाट हेरी-को हौ? कहाँबाट आएका? भनी सोधिन्। अनि डोलेहरूले भने-हामी नवराज राजाले पठाएर लावण्य- देशबाट आएका हौं। चन्द्रावतीले फेरि सोधिन्-हे डोले हो! नवराज राजा भनी आश्चर्यको कुरा भन्यौ। नवराज कसरी राजा भए, त्यो सबै सुनाऊ। अनि डोलेहरूले फेरि भने-लावण्यदेशमा राजा नहुनाले हात्तीलाई राजा खोज्न लगाएको थियो, नवराजलाई देखेर हत्तीले सुनको कलशले अभिषेक गरी राजा तुल्यायो। चन्द्रावती रानी कहाँ छन्? खबर गरिदेऊ। चाँडै नगए राजा रिसाउने छन्। 

यति डोलेहरूको कुरा सुनी मनमा आनन्द मान्दै 'चन्द्रावती नामकी उनकी पत्नी म नै हुँ भनिन्। तब डोलेहरूले प्रणाम गरेर भने-हे महारानी! चाँडै जाऊँ, ढीलो नगर्नु हवस्। हजुरका माता-पितालाई पनि आजको चार दिनमा आइपुग्ने निम्ता पठाएको छ। हामिले चिन्हेका छैनौं, हजुरले नै भनिदिनु पर्यो। यति सुन्नासाथ माथि गएर आफ्ना माता-पितालाई नवराज राजा भएको र आफूलाई लिन आएको सबै कुरा सुनाइन्। फेरि हजुरहरूलाई पनि आजको चार दिनमा आई पुग्नू भनी निम्ता पठाएको रहेछ। अब आज्ञा दिए म छिटै जाने थिएँ भनिन्।

यति छोरीको कुरा सुनी अग्निस्वामी प्रसन्न भएर धन्य मेरा ज्वाई नवराज, मेरी पुत्री पनि धन्य रहिछ, अब रानी भई भनेर नाना वस्त्र अलंकार पहिराई-हे पुत्री! तैंले जन्म लिएको सफल भयो। अब बिलम्ब नगरेर छिटै जा, भनी बिदा दिए। तब माता-पितालाई प्रणाम गरी आफ्ना साथी संगिनी र छिमेकीहरूसित पनि बिदा भई लावण्यदेश जान भनेर हिंडिन्। अनि लोकहरू परस्पर कुरा गर्न लागे-हेर, चन्द्रावतीले सासूलाई छाडेर माइत बसेकी यस्ती अपराधिनी पनि आज रानी भई भनी चर्चा गर्न लागे।

चन्द्रावती त्यहाँबाट गएर यौटा ठूलो वनमा पुगिन्। कस्तो वन भने-मृग आदि पशुहरू स्त्री-पुरुष भई शीतल स्थानमा विश्राम गरिरहेका, कहीं राजहंसादि पक्षीहरू सरोवरमा खेलिरहेका। गुराँस, पलाश, आदि वृक्षका पुष्पले शोभायमान एवं मधुकर, भ्रमर, कोकिल, मयूर आदिका शब्दले गुंजायमान यस्तो वनमा पुग्दा परैबाट कोही अप्सराहरूले श्री स्वस्थानी परमेश्वरीको व्रत गरिरहेका देखेर डोलेहरूले-हे महारानी! हामीलाई भोक लाग्यो। त्यहाँ पर केही पाए खाएर आउँछौं। हजुर एक छिन यहीं विश्राम गर्नुहोस् भनेर पर्धानीले डोलि अड्याई चन्द्रावतीलाई त्यहीं छाडेर त्यो पर के रहेछ भनी हेर्न गए र अप्सराहरूका नगीच पुगेर तिमीहरू को हौ? कहाँबाट आयौ? कुन देवताको पूजन गरेको? भनी सोधे।

यति डोलेहरूले सोधेपछि अप्सराहरू भन्दछन् हे मनुष्य हो! यी स्वस्थानी परमेश्वरी हुन् । यिनैको पूजा गरेका हौं। हामी स्वर्गका अप्सरा हौं भने। तिनका कुरा सुनेर-यो व्रत हामीहरूले पनि गर्न हुन्छ कि? भनी सोधेपछि अप्सराले 'हुन्छ' भनेपछि भारवाहकले मनमा हर्ष मानी-हामीसित सामग्री केही पनि छैन, हजुरहरूको संसर्गमा पूजा गराउनु हवस् भने । अप्सराहरूले आफ्ना संसर्गमा पूजा गराए। अर्काको भारी बोकेर ज्याला पाएको द्रव्य भेटी चढाए। पूजा सकेर प्रसाद झिकेर अप्सराहरूले डोलेहरूलाई भने-हे मनुष्य हो! जसले स्वस्थानी परमेश्वरीको व्रत गल्ला, कथा सुन्ला वा उनको महिमाको पुस्तक घरमा राख्ला त्यसका समस्त पाप र दुःख-दरिद्रता, शोक नाश भएर जाला र देह त्यागेपछि दिव्य देह पाई कैलाशमा बस्न जाला। बाटो लागेका तिमीहरूले अत्यन्त श्रद्धा-भक्ति साथ व्रत गन्यौ। धन्य रहेछौ भनी अप्सराहरू स्वर्ग गएपछि डोलेहरू फर्केर आई चन्द्रावती महारानी भएको स्थानमा हाजिर हुँदा भए।

इति श्री स्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये कुमारअगस्त्यसंवादे श्रीस्वस्थानी परमेश्वर्या-व्रतकथायां चन्द्रावतीलावण्यदेशगमनंनाम षड्विंशोऽध्यायः।।२६।।