कथा भन्ने र सुन्ने सबैले चन्दन, अक्षता, फूल लिएर हात जोर्नू ।
वक्ताले तलको स्तुति पढ्नु-
यं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतः स्तुन्वन्ति दिव्यैः स्तवै- र्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ।
ध्यानावस्थित-तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्याऽन्तं न विदुः सुरासुरगणा देवाय तस्मै नमः ।।१।।
श्रीमच्चन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका-
मालाऽलंकृतकुण्डला प्रविलसन्मुक्तावलीशोभिता ।
सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा
वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।।
मूकं करोति वाचालं पङ्गं लङ्घयते गिरिम् ।
यत्कृपा तमहं वन्दे परमानन्दमाधवम् ।।३।।
नमो भगवते तस्मै व्यासायाऽमिततेजसे ।
यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् ।।४।।
नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम् ।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।५।।
सबैले पुष्पाञ्जलि पुस्तकमा चढाएपछि वक्ताले कथा भन्न थाल्नु। श्रोताले एकचित्त भएर कथा सुन्नु।
कुमारजी आज्ञा गर्नुहुन्छ-हे अगस्त्य मुनि! त्यसपछि लावण्यदेशमा मन्त्रीहरूले हात्तीलाई सुनको कलश र फूलको माला दिई राजा खोज्न लगाइराखेका थिए। लोकहरू अनेक वस्त्र अलंकार पहिरी राजा होइजान्छु कि भनी हात्तीको नगीच गएर अघि-पछि हिंड्न लागे। नवराज पनि पुगेर यौटा पाटीमा बसी हेरिरहे। हात्तीमा हरि-हर प्रवेश गरी नवराज ब्राह्मणका नगीच गई गलामा माला पहिराई सुवर्णको कलशले अभिषेक गरिदियो।
https://amritastrology.com.np/
त्यो देखेर प्रजाहरू भन्न लागे-हे लोक हो! यो हात्ती बौल्हायो, के यस देशमा कुनै क्षत्रिय छैनन् र ब्राह्मणलाई अभिषेष गर्यो? कसैले प्रतिवाद गरे-यो हात्ती बौल्हाएको होइन, तिमीहरूनै पागल भयौ। मुखले नबोले पनि हात्ती देवता हो। बाह्मण, क्षत्रिय, वैश्य, शूद्र जो भए पनि उसको तपस्या र भाग्यले राजा भयो। बिना नारायणको अंशले राजा हुन पाइन्न, चुपलाग भनी सम्झाए। उता हरि-हर प्रवेश भइरहेको हात्तीले नवराजलाई सूँढले उचाली कुम्भस्थलमा राखेर दरबारमा लग्यो। गुरु प्रोहितले अनेक वस्त्र अलंकार पहिराई सम्पूर्ण सामग्री तयार पारी पूर्ण घट, अष्ट मंगल गरी सुदिन ठहराई त्यसै शहरकी राजाकी कन्या लावण्यवती नाम भएकी लाई विधिपूर्वक नवराजलाई कन्यादान गरी राजा तुल्याए।
अनि गुरु प्रोहितले भने- हे महाराज! राज्याभिषेक भएको छैन, सामग्री तयार, छ, सुदिन ठहराई अभिषेक लिनुहवस्। तिनको यस्ता, कुरा सुनी नवराज भन्दछन्-हे गुरु प्रोहित हो! मेरी, महतारीले नदिई पहिले अरुको अभिषेक कसरी लिऊँ? चन्द्रज्योति नगरको बाहिर यौटा खरको घर छ। त्यहाँ गोमा नामकी ब्राह्मणी छन्। ती मेरी महतारी हुन्। तिनीलाई चाँडै लिन पढाओ। यति नवराजले भनेपछि मंत्रीले 'म जान्छु' भनी वस्त्रालंकार, पालकी र केही सेना समेत लिई चन्द्रज्योति नगरमा गए र त्यहाँ, गोमालाई भेटी प्रणाम गरेर भने-हे राजमाता! हजुरका छोरा लावण्यदेशका राजा हुनुभयो, म मंत्री हुँ । हजुरलाई लिन पठाउनु भयो र म आएँ। यो वस्त्रालंकार, पालकी पनि ल्याएको छु, यो पहिरी चाँडै सवारी हवस्। मन्त्रीले यति भनेको सुनी गोमाले मनमा आनन्द मानी वस्त्रालंकार पहिरी पालकीमा बसेर लावण्यदेश हिंडिन्।
चन्द्रज्योति नगरका नारीहरूले थाहा पाई हेर्न भनेर कसैका कपालको केश फुकेको, कसैका छोरा-छोरी रोएको, कसैले पाक्न लागेको र खान बसेको भात पनि छाडेर हत्पताउँदै निस्के। पालकीमा बसेर फौजसमेत भई जान लागेकी गोमालाई देखेर भन्दछन्-हेर, स्त्री जाति भएर पनि गोमा अर्काको ढिकी-जाँतो गरी धागो कातेर बाँचिरहेकी हुनाले आज राजमाता भएर पालकीमा बसेर गइन् भनी परस्पर कुरा गर्थे। गोमा राजमाता त्यहाँबाट गएर लावण्यदेशको नगीच पुगिन्। र नवराजले थाहा पाएर हात्ती, घोडा, रथ, सेना लगेर गीत-वाद्य गर्दै दरबारमा लगेर साष्टांग प्रणाम गरी-हे माता! हजुरको तपस्या र हरि-हरको कृपाले म लावण्यदेशको राजा भएँ। अब राज्याभिषेक दिनु हवस् भने। यति नवराजले भनेपछि सुदिन ठहराई सुनको सिंहासनमा बसालेर नवराज राजा र लावण्यवती रानीलाई विधिपूर्वक राज्याभिषेक दिइन्। राज्याभिषेक भइसकेपछि गुरुपुरोहित र ब्राह्मणहरूलाई भोजन गराई दक्षिणा दिई बिदा गरे। अनि हात्ती, घोड़ा, रथ, पैदल सेना तयार पारी गीत-वाद्य गर्दै दरबार जाँदा भए।
इति श्री स्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये कुमारअगस्त्यसंवादे श्रीस्वस्थानी परमेश्वर्या-व्रतकथायां नवराजराज्याभिषेकवर्णनंनाम पञ्चविंशोऽध्यायः ।।२५।।
कथा सकिएपछि निम्न स्तोत्र पढेर पुष्पाञ्जलि गर्नु-
उपनयतु मंगलं वः सकल जगन्मंगलालयः श्रीमान् ।
दिनकर किरण निबोधित नवनलिनदलनिभेक्षणः कृष्णः ।।
काले वर्षतु पर्जन्यः पृथिवी शस्यशालिनी ।
देशोऽयं क्षोभरहितो ब्राह्मणाः सन्तु निर्भयाः ।।
अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः ।
निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।
तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च ।
तीर्थानि सर्वाणि वसन्ति तत्र, यत्राच्युतोदार कथा प्रसंगः ।।
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता ।
या वीणा वरदण्डमण्डितकरा या श्वेतपद्मासना ।।
या ब्रह्माच्युत शंकरप्रभृतिभिर्देवैः सदा वन्दिता ।
सा मां पातु सरस्वती भगवती निःशेष जाड्यापहा ।।
कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृतिस्वभावात् ।
करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पये तत् ।।
श्री स्वस्थानी देव्यार्पणमस्तु ।
यति भनिसकेर कथा सुन्ने जति समस्त श्रोताहरूले | पुष्पाञ्जलि चढाई दण्डवत् गर्नु र आफाफ्ना मनको इच्छित वरदान माग्नु ।