कुमारजी आज्ञा गर्नुहुन्छ-हे अगस्त्य मुनि! त्यसपछि गोमा ब्राह्मणी धागाको लरिया लिएर चन्द्रज्योति नगरको बरहीको घर पुगेर- मेरो घरमा सप्तऋषि आएका छन् यो धागोको पान देऊ, तिनलाई खान दिन्छु भनिन्। त्यति गोमाले भनेको सुनेर बरहीले उत्तर दियो-हे गोमा ब्राह्मणी! पान त कत्ति पनि छैन, जो भएको हिजै बेचिसकें। नपत्याए हेर भनेर पानको भाँडा उघारेर देखायो। तब भाँडाभरि पान भइरहेको देखी-यो के आश्चर्य भयो भनी चिन्ता गरेर भन्यो- हे गोमा ब्राह्मणी! यस भाँडाको पान हिजै बेचिसकेको थिएँ, आज कताबाट आयो? तपाइँले मेरो घरमा सप्तऋषि आएका छन्, उनलाई खान दिने भन्दा यस्तो भएको हो कि भनी लाज मानी तपाइ धन्य हुनुहुन्छ, त्यो धागो पनि दिनु पर्दैन, पान लगेर ऋषिहरूलाई खान, दिनुहोस् भनी आधाजति पान, ल्वाङ, सुपारी, समेत, दियो र गोमा ब्राह्मणीले मनमा आनन्द मानी पान लिएर घर आउँदा सप्तऋषिहरू गइसकेछन्। अरू केही नभए पनि पानले ऋषिहरूको आतिथ्य गर्नेछु भनेको, म पापिनीको हातको पान खानु पल्ला भनी गइसकेछन्। म धिक्कार रहिछु भनी विस्मात गरिन्। केही बेरपछि कुचो लिएर घर बढारौं भनी पिरका उठाउँदा उनीहरूले छाडेर गएका सातोटा सुनका कौडी देखिन् ।
https://amritastrology.com.np/
त्यो द्रव्य पाएपछि उनिहरूले बताए अनुसार पौषशुक्ल पूर्णिमा देखि हात-खुट्टाका नङ काटी स्नान गरेर पवित्र भइ एकभक्त रही एकचित्त गरी नित्य मध्यान्हकालमा. श्रीमहादेवको पूजा गरेर रात पर्नासाथ कथा सुन्ने घरमा कोहि न हुनाले आफ्ना खाट, चखा, उइँटा, धनु आदि राखेर स्वस्थानी परमेश्वरीको कथा भन्दथिन्। त्यसो गर्दा चन्द्रज्योति नगरका गोठाला केटा-केटीहरूले सुनेर के हो भनी खरको भित्ता च्यातेर चियाउन लागे र बिछौना, उइँटा, चरखा धनु सामुन्ने राखेर एक्लै बरबराइरहेकी गोमालाई देखेर-हे गोमा ब्राह्यणी! किन एक्लै कराएकी भनी सोधे। अनि गोमाले भनिन्- हे बालक हो! सप्तऋषिहरू आई श्रीस्वस्थानी परमेश्वरीको व्रत गर भनी उपदेश दिएर गएका हुनाले सोही व्रत गरी स्वस्थानी परमेश्वरीको कथा भनेकी हूँ, व्यर्थ कराएकी होइन। मलाई कुनै रोग पनि लागेको छैन, म बहुलाएकी पनि छैन। सुन्ने कोही नहुनाले वछ्यान, चर्खा, उइँटा धनुलाई सुनाएकी हुँ। यति गोमाले भनेको सुनी गोठाला केटा-केटीहरूले दिउँसो आफूले खान लगेको अन्न-पात छाडेर गए। सधैं गोमाले भनेको कथा सुन्दथे र जे सकेको लगिदिन्थे। त्यसो गर्दा स्वस्थानी परमेश्वरीको कृपाले गोठाला केटा-केटीलाई घाँस खोज्न धेरै पर जानु परेन, नगीचै पाइन लाग्यो। गोमालाई पनि अन्न. द्रव्य हुँदै गयो।
त्यसो गर्दागर्दै माघशुक्ल पूर्णिमाको दिन सम्पूर्ण सामग्री तयार पारी एकचित्त भई श्री स्वस्थानी परमेश्वरीको पूजा गरिसकेर हातमा अर्घ्य पात्र लिई-हे स्वस्थानी परमेश्वरी! मलाई महादेवले भिक्षुकरूप भएर डमरूको शब्दले दिएको श्राप नाश गर। फेरि मेरो पुत्र नवराज र मलाई यस लोकमा सुख सम्पति दिई परलोकमा सायुज्य मुक्ति प्रदान गर। हे जगदीश्वरी! आदि, मध्य र अन्त्य नभएकी, सृष्टि, स्थिति संहार स्वरूप भएकी यस्ती हे स्वस्थानी परमेश्वरी! हजुरलाई कोटि-कोटि नमस्कार! यसरी महादेवको पनि स्तुति गरी अर्घ्य दिइन् र दण्डवत् प्रणाम गरेर प्रसाद झिक अष्टोत्तरसयमा आठ रोटी, आठ अक्षता, आठ बेलीपुष्प, आठ पान, आठ कुड्का सुपारी सगुन समेत यो मेरो पुत्र नवराजलाई भनी पर सारिन्। सय रोटी आफूले फलाहार गरिन् र रात्रिमा जाग्राम बसिन्।
त्यही रातमा स्वस्थानी परमेश्वरीको व्रतको प्रभावले नवराज आइपुगे र बाहिरबाट 'हे माता!' भनेर डाके। गोमाले आफ्नो छोरोको बोली चिन्हेर झट्ट उठी बाहिर आएर ढोका खोली भित्र लगिन्। अनि स्नेहपूर्वक सोधिन् 'हे पुत्र ! तेरा पिताको के खबर छ?' अनि नवराजले भने-हे माता! भिक्षा माग्न गएका मेरा पिता गंगातटमा नित्य पूजाको लागि वृक्षमा चढेर फल-फूल टिप्न लाग्दा संयोगले रूखको हाँगा भाँचिई लडेर मरेछन्। मलाई त्यहीं बस्ने वृद्ध दम्पतीले भनेर रूखमनी गएर हेरें। हाड़-खोड रहेछ। त्यो बटुली गंगामा प्रवाह गरें। अनि दसगात्र र श्राद्ध आदि पनि गरें र घर आउन लाग्दा घरको दुःख सम्झेर त्यसै कसरी जाउँ भनी शहरमा गएर राजाको सेवा गरे। उनले केही द्रव्य दिएर घर आइपुगें।
https://amritastrology.com.np/
यति नवराजले भनेको सुन्ना-साथ गोमा अधैर्य भई -निर्विवेकी, विधाताले सात वर्षकी हुँदा सत्तरी वर्षको बूढासित, विवाह गरायो, उही बूढो पनि मेरो यस्तो यौवनको बखतमा खोसेर लगिदियो। हे स्वामी! भिक्षा माग्न गएका तिमीले मलाई अनाथ तुल्याई एक्लै छाडी कता गयौ? हे नाथ! तिमी जहाँ गयौ, मलाई पनि उहीं लैजाऊ। तिमी बिना म यो जीवन कसरी राखौं? भन्दै मूर्छा परेर भूमिमा ढलिन्। पछि चेत आयो र अनेक प्रकारले शोक गर्न लागिन्।
अनि नवराजले भने-हे माता! अब शोक नगर्नुहवस्। यो अनित्य संसारको नियम नै यही छ। जन्मेपछि नमर्ने को छ? एक दिन सबैले मर्नुपर्दछ। अत: अब तपाईले मेरो मुख हेर्नुपर्दछ। तपाइँकी बुहारी कहाँ छ? यतिका दिनसम्म तपाईंहरू कसरी बस्नु भयो, खान-पिन कष्ट भयो होला। फेरि तपाई यस बेलासम्म नसुतेर के गर्दै हुनहुन्छ? अनेक पुष्प र धूप चन्दनको सुगन्ध आइरहेछ। के पुण्य कार्य गर्नुभयो? आज्ञा हवस्? यति नवराजले भनेको सुनी गोमाले धैर्य धारण गरेर भनिन्-हे नवराज! थाकेर आएको भोक लाग्यो होला, पहिले खानेकुरा खाऊ भनी खान दिइन्। खाइसकेपछि हे पुत्र! तेरी स्त्री चन्द्रावती माइत गएकी छ। तपाइँका छोरा आएपछि डाक्न पठाउनु भनेकी थिई। म तँलाई सम्झेर दुःखका दिन बिताइरहेकी थिएँ। एक दिन,सप्तऋषिहरू आई मेरो कष्ट देखेर मनमा दया लागी श्री स्वस्थानी परमेश्वरीको व्रत गर, तिम्रो दुःख नाश होला भनी उपदेश दिए र उनीहरूको उपदेशले मेरो पुत्र नवराज छिटै आओस् र मेरो कष्ट एवं दरिद्रता नाश होस् भनेर उनै स्वस्थानी परमेश्वरीको व्रत र पूजा गरी जाग्राम बसेकी थिएँ, मेरो मनोरथ पूर्ण भयो। अब तँलाई पनि उनको महिमा सुनाउँछु, एकचित्त भएर सुन। यसलोकमा सुख सम्पति पाई अन्त्यमा मुक्ति मिल्नेछ भनी सम्पूर्ण कथा विस्तारले सुनाइन्।
त्यसपछि प्रात:काल भयो र नवराजले भने-हे माता! म गंगास्नान गरेर आउँछु। अनि गंगामा गई स्नान गरिसकी हरि-हरको पूजा र स्तुति गर्दा गोमा ब्राह्मणीको ब्रतको प्रभावले गंगाबाट हरि-हर प्रकट भई - हैं नवराज! तेरी माताले गरेको स्वस्थानी परमेश्वरीको व्रतका प्रभावले हामी प्रसन्न भयौं। वरदान लेऊ। यस गंगादेखि दक्षिण दिशामा लावण्य देश छ, त्यहाँ राजा छैनन्। हात्तीलाई सुवर्णको कलश र फूलको माला दिई राजा रोज्न लगाएका छन्। तँ त्यहाँ जानू, हामी त्यस हात्तीमा प्रवेश भई राज्याभिषेक तँलाई नै दिलाउने छौं। राजा होलास्-भनी वरदान दिए। हरि-हर प्रकट भई वरदान दिएको सुनी नवराज स्तुति गर्न लागे-
यौ तौ शंख कपाल-भूषित करौ मालाऽस्थिमाला धरौ।
देवौ द्वारवती श्मशान निलयौ नागारिगोवाहनौ ।।
द्वित्र्यक्षौ बलि दक्ष-यज्ञमथनौ श्री शैलजा वल्लभौ ।
पापं मे हरतां सदा हरि-हरौ श्रीवत्स गङ्गाधरौ ।।
हे हरि-हर! हातमा शंख र कपाल लिने, वनमाला र अस्थिमाला धारण गर्ने, दिव्यरूप भएका, श्मशान र द्वारकामा वस्ने, वृषभ (साँढे) र गरुड़ वाहन हुने, तीन र दुई नेत्र भएका, बलि र दक्षको यज्ञ मथन गर्ने, श्रीवत्स र गङ्गाले सुशोभित हुने, पार्वती र लक्ष्मीका स्वामी भएका यस्ता हजुरहरू मेरो समस्त पाप हरण गर्नु हवस्। ममाथि दया गरेर दर्शन दिनुभयो, म धन्य रहेछु। मैले माताको गर्भमा वास लिएको सफल भयो। दुष्ट जनको संहार र साधु जनको रक्षा गर्ने यस्ता हजुरहरू सम्पूर्ण ब्रह्माण्ड सृष्टि गरेर पालन गरी पाप पुण्यका साक्षी भएका हजुरलाई कोटि-कोटि) नमस्कार। सधै हजुरको भक्तिमा सेरो चित्त लागोस्। यस्तै अनेक स्तुति गरिसकेपछि हरि-हर अन्तर्धान हुनुभयो।
https://amritastrology.com.np/
अनि नवराज हरि-हरको दर्शन पाएपछि सूर्य झैं तेजिला भएर घर पुगे गोमाले छोरोलाई त्यस्तो तेजले युक्त भएको देखेर आश्चर्य मान्दै सोधिन् हे नवराज! तँ आज अत्यन्त तेजवन्त देखिन्छस्, त्यसै हो कि मेरो चित्तको भ्रान्ति हो। म त देवराज इन्द्रभन्दा पनि तेजिलो देखिरहेकी छु। यति महतारीले भनेपछि नवराजले गंगास्नान गर्न जाँदा गंगाबाट हरि-हर प्रत्यक्ष भएको र लावण्य देशको राजा होलास् भन्ने वरदान दिएको सारा वृत्तान्त सुनाई-हे माता! हजुरको तपस्याको, प्रभावले म यस्तो भएँ भने। यति नवराजले भनेपछि गोमा प्रसन्न भएर बोलिन्-हे नवराज! मेरो पुत्र चौड़े आइपुगोस् भनेर स्वस्थानी परमेश्वरीको व्रत गरी प्रसाद राखिदिएकी छु, लौ लेऊ स्वस्थानी परमेश्वरीले सदैव तिम्रो कल्याण गरुन्। सधैं उनकै भक्तिमा चित्त लागिरहोस्। यति भनेर श्री स्वस्थानी परमेश्वरीको प्रसाद आठ आठ गनेर राखेको सगुन समेत दिइन् र हे पुत्र! तिमी हरि-हरको आशिर्वादले लावण्य देशको राजा भए भनी आशिर्वाद दिइन्। नवराजले पनि श्री स्वस्थानी परमेश्वरीको प्रसाद खाई माताको चरणमा दण्डवत् प्रणाम गरी लावण्यदेश जान भनी हिंडे।
इति श्री स्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये कुमारअगस्त्यसंवादे श्रीस्वस्थानी परमेश्वर्या-व्रतकथायां गोमास्वस्थानीव्रतकृतवर्णनंनाम चतुर्विशोऽध्यायः ।। २४ ।।