शुक्र प्रदोष व्रत

शुक्र प्रदोष व्रतकथा

आशुतोष भगवान् शिवले आफ्ना भक्तका प्रत्येक इच्छाआकाङ्क्षा र सुखसुविधा पूरा गर्ने गर्नुहुन्छ । त्रयोदशी शिवको अत्यन्त प्रिय तिथि हो । प्रत्येक महिनाको अमावस्या (औंसी) र पूर्णिमापछिको १३ औं दिन त्रयोदशी हो । अतः हरेक महिनाको शुक्ल र कृष्ण पक्षका दुबै त्रयोदशीका दिन शिवको उपासनाका निमित्त प्रदोष व्रत लिने गरिन्छ । प्रदोष व्रतले भिन्नभिन्न बारका आधारमा भिन्नभिन्न फल प्रदान गर्ने गर्दछ भन्ने मान्यता छ । शुक्रबारका दिन त्रयोदशी तिथिको संयोग परेको दिनलाई शुक्र प्रदोष भन्ने गरिन्छ । यस दिन व्रत लिएमा प्रदोषको व्रत गरी प्राप्त हुने फलका अतिरिक्त मनुष्यले धर्म, अर्थ, काम र मोक्ष यी चारवटै पुरुषार्थ प्राप्त गर्न सक्दछ । यसबाहेक उसको दाम्पत्य जीवन सुखमय हुन्छ, रूप र लावण्यमा बृद्धि हुन्छ, भोगविलास र सांसारिक सुखको अभिवृद्धि गर्न सघाउ पुग्छ । पूर्वीय ज्योतिषशास्त्रमा भवन, वाहनादि भौतिक सुख, प्रेमप्रसङ्ग, दाम्पत्य जीवन र यौनसुख, घरायसी परिबन्द तथा गृहस्थी सुख, भ्रमण, पर्यटन आदिको उपलब्धीमा शुक्र ग्रहको भूमिका विचार गर्ने गरिन्छ, शुक्र ग्रह शारीरिक सुखको कारक हो, सम्भोगदेखि हार्दिक प्रेमसम्मका सबै विषय शुक्र ग्रहको अधीनमा हुन्छन् । त्यसैले शुक्र ग्रहको थप ऊर्जा प्राप्त गर्न शुक्रप्रदोषको व्रत लिन सकिन्छ । यस दिनको व्रतको महात्म्य र कथा यस प्रकार छ :-
 

महाराज युधिष्ठिरले द्युतक्रीडामा सबै राजपाट गुमाएर वनवासको जीवन व्यतीत गर्दै थिए । अर्जुन तपस्याका लागि बदरिकाश्रम गएकाले भीम, नकुल, सहदेव र द्रौपदीमात्र उनीसँग उपस्थित थिए । अर्जुन नभएकाले अन्य पाण्डवगण एक दिन अर्जुनलाई स्मरण गर्दै उनकै विषयमा कुराकानी गर्दैथिए । त्यतिकैमा युधिष्ठिरको कुटीमा महर्षि वृहदश्व आइपुगे । धर्मराज युधिष्ठिरले उनको यथोचित स्वागत सत्कार गरे । दुबैका बीचमा एकआपसका कुशल-क्षेमका विषयमा कुराकानी भए । यस क्रममा युधिष्ठिरले आफ्ना समस्त दुःख र वेदनाको विवरण मुनिलाई सुनाउँदै भने, “हे महर्षि! जुवामा मैले आफ्नो राजपाट र श्रीसम्पत्ति सबै चीज गुमाएँ, त्यसैले मभन्दा दुःखी, पीडित र अभागी को हुन सक्छ र ? युधिष्ठिरका यस्ता वचन सुनेपछि महर्षि बृहदश्वले उत्तर दिए - 'हे राजन् ! तपाईंले धैर्य धारण गर्नुपर्छ, तपाईंमात्र होइन, ठूलै र वरिष्ठ हुँ भनौंदा धेरै जनाले यस्ता त्रुटि गरेका छन् र कठोर सङ्कटसमेत भोगेको इतिहास छ । तर धैर्य र उपायको अवलम्बन गरी तिनले समस्याबाट मुक्ति प्राप्त गरेका छन् । यसको उदाहरणका रूपमा राजा नलको जीवनलाई लिन सकिन्छ । उनले पनि जुवा खेल्दा आफ्नो सर्वस्व गुमाएका थिए, तर पछि उनको राजपाट र वैभव पुनः फिर्ता भयो ।' ऋषि बृहदश्वका यस्ता वचन सुनेपछि युधिष्ठिरले राजा नलको सम्पूर्ण जीवनी सुन्ने इच्छा व्यक्त गर्नुका साथै गुमेको सुखसौभाग्य र राजपाट फिर्ता लिने के उपाय हुनसक्छ भनी जिज्ञासा राखे । युधिष्ठिरलाई राजा नलको इतिहास सुनाउँदै मुनिले भने -

राजन् ! निषध देशमा वीरसेन नामका राजा थिए । उनका शीलस्वभाव र सद्गुणले युक्त नल नाम गरेका पुत्र थिए । नललाई पनि तपाईंलाई जस्तै जुवा खेल्ने ठूलो सौख थियो । त्यतिवेला विदर्भ देशमा भीष्मक नाम गरेका राजाले शासन गर्दथे । तिनकी दमयन्ती नाम गरेकी अत्यन्त रूपवती कन्या थिईन् । नल एक दिन आफ्नै दरबारको उद्यानमा टहल गर्दै थिए । त्यतिबेलै त्यस उद्यानमा कतैबाट एउटा सुन्दर राजहंस आइपुग्यो । हाँस लोभलाग्दो थियो, नलले अनेकौं प्रयत्न गरी त्यसलाई समाते । राजकुमारको पन्जामा परेपछि हाँसले भन्यो - 'हे युवराज ! म राजकुमारी दमयन्तीको हाँस हुँ, हाम्री राजकुमारी स्वर्गकी अप्सरा उर्वशीभन्दा पनि राम्री छन् । तिनको र तपाईंको जोडी असाध्यै सुहाउँछ । अहिले मलाई मुक्त पारेमा म तिनलाई तपाईंको सौन्दर्य र रूपका बारेमा बताउने छु ।' यस्ता मीठा र लोभलाग्दा कुरा सुनेपछि राजकुमारले हाँसलाई छाडिदिए । राजहंस उड्दै सीधा विदर्भ देशमा पुग्यो र त्यहाँ दमयन्ती भए ठाउँमा गएर राजकुमार नलको रूप र लावण्यको चर्चा गर्न थाल्यो । हाँसले गरेको प्रशंसा सुनेर दमयन्तीको मनमा नलप्रति अनुराग जाग्यो, उनी नलप्रति आशक्त भईन् । केही समयपछि राजा भीष्मकले आफ्नी पुत्री दमयन्तीको स्वयंवरको घोषणा गरे । उक्त स्वयंवरमा स्वर्गबाट इन्द्र, अग्नि, वरुण, यम आदि देवगणलगायत देशविदेशका राजा/महाराजा र राजकुमारका साथमा नल पनि सहभागी भए । स्वयंवरमा दमयन्तीले नललाई वरण गरिन् ।

स्वयंवर सिद्धिएपछि इन्द्र आफ्नो पुरी अमरावतीतर्फ फिर्ता जाँदै गर्दा उनले बाटोमा कलियुगलाई भेटे । कलियुगलाई कता हिंडेको भनी इन्द्रले प्रश्न गरेपछि कलियुगले भन्यो - म दमयन्तीसित विवाह गर्न विदर्भ देश हिंडेको हुँ । इन्द्रले दमयन्तीको स्वयंवर सिद्धिएर आफू फर्किएको बताउँदै दमयन्तीले नललाई वरण गरेको समाचार सुनाइदिए । कलियुगलाई दमयन्तीसित विवाह गर्ने ठूलो धोको थियो । ऊ दमयन्तीलाई पाउन नसकेकोमा खिन्न भयो र राजकुमार नलसित डाहा गर्न थाल्यो । त्यसपछि कलियुगले नललाई दुःख दिने नियतले निषध देशमा प्रवेश गर्यो । ऊ हरदम नलको कमजोरी र त्रुटि पहिल्याएर प्रतीक्षा गर्न थाल्यो । कलियुग निषध देशमा पस्नासाथ नलका पिता वीरसेनको मृत्यु भयो । नल अब निषध देशका राजा बने । उनी धर्मात्मा र सदाचारी थिए, त्यसैले प्रजालाई सन्ततिवत पालनपोषण गर्दै सुखपूर्वक राजपाट सञ्चालन गरेर बसेका थिए । उनको आचरणमा कुनै खोट नभेटिएकाले कलियुग उनको शरीरभित्र पस्न सकेन । लगातार बाह्रवर्षसम्म कलियुगले प्रतीक्षा गर्नुपर्यो । यस बीचमा नल र दमयन्तीका दुई जना सन्तान उत्पन्न भए । यस्तैमा एक दिन राजा नल पिसाब फेरेर आएपछि हातखुट्टा पनि नधोई सन्ध्यावन्दन गर्न बसे । कलियुग यस्तै अपवित्र अवस्थाको खोजीमा थियो । मौका छोपी कलियुग नलको शरीरमा प्रविष्ट भयो । नलका पुष्कर नाम गरेका एक जना पराक्रमी र हिम्मती भाइ पनि थिए । एक दिन पुष्करले दाजुलाई जुवा खेल्ने निम्तो दिए । दाजुभाइ दुबै बसेर जुवा खेल्न थाले । शरीरमा कलियुगले प्रवेश गरेकाले नलले आफ्नो समस्त राजपाट, धनसम्पत्ति र वैभव हारे । जुवामा सबै चिज गुमाएपछि राजा नलले दमयन्तीलाई बालबच्चासहित माइतमा गएर बस्न आग्रह गरे । दमयन्तीले बालबच्चालाई त मावल पठाई दिईन्, तर आफू पतिका साथमा वनवास जाने हठ गरिन् । एकछिन अघि त्यत्रो महलमा बसी श्रीसम्पत्ति र वैभवको भोग गरिरहेका राजा र रानीको केही बेरमैं पाटीको बास भयो । ती दुईको शरीरमा अब एकसरो धोतीबाहेक अरु केही पनि थिएन । आजीवन सुखसयलमा बसेकी दमयन्तीलाई आफ्नो कारणले यस्तो विपत्ति आइलाग्यो भन्ने सम्झँदा नललाई ठूलो चिन्ता हुन्थ्यो । दमयन्तीलाई उनी सधैं समुचित व्यवस्था नहुन्जेल माइतमा गई बस्ने सल्लाह दिन्थे, तर दमयन्ती मान्दिन थिईन् ।

एक दिन दुबै जना जङ्गलमा भौंतारिंदै थिए । पेटमा बढीरहेको भोकको दावाग्निलाई शान्त तुल्याउने कुनै उपाय थिएन । नलले आफूले लगाएको धोतीलाई जालका रूपमा प्रयोग गरी चरा समाउने विचार गरे । विपत्तिमा आफूले खोजेजस्तै कहाँ हुन्छ र ! पन्छीहरू उनले फिंजाएको जालमा परे, तर जालमा फँस्नुको साटो उल्टै धोती नै बोकेर ती पन्छी उडेर गए । भोकको पीडा सहन नसकेर दमयन्ती एकातिर तन्द्रामा परेकी थिईन् । उनको दुःख देख्न नसकेका नलले रानीले लगाएको सारीको एक छेउ च्यातेर बेरे र दमयन्तीलाई त्यसै निर्जन वनमा छाडेर एकातिर लागे । निद्राबाट ब्युँझिएपछि दमयन्तीले राजालाई देखिनन्, वरपर चारैतिर निकै खोजिन्, तर पत्तो लागेन । नलले आफूलाई नदेखेपछि दमयन्ती माइत जानेछिन् भन्ने ठानेकी थिईन्, तर उनले त्यसो गरिनन् । उनी बटुवाहरूको साथ लागी चेदी देशका राजा सुबाहुको दरबारमा आई पुगीन् र नोकरीको याचना गरिन् । त्यहाँ उनले राजमाताको सेवासुश्रुषा गर्ने दासीको काम पाईन् ।

यता राजा नल दमयन्तीको आधा सारी बेरेर व्याकुल भई वनमा यत्रतत्र भौंतारिन थाले । घुम्दाघुम्दै अचानक  डँढेलो लाग्यो, उनले यसअघि नै अग्निको डढ्नु नपर्ने आशीर्वाद पाएका थिए, त्यसैले उनलाई डँढेलोको असर परेन । तर उक्त वनमा नागराज कर्कोटकको निवास पनि थियो । नलले उसलाई आफ्ना साथमा राखे, आगोले नागलाई पनि केही गरेन । यसरी उनले नागराज कर्कोटकको प्राण जोगाइदिए । तर डँढेलो लागेको वनबाट बाहिरिने बितिक्कै कर्कोटकले नललाई डँस्यो । त्यस नागको विषको प्रभावले राजा नलको शरीर अँगारजस्तै कालो भयो । आफूलाई ठुँग्ने नागसित क्रोधित हुँदै मेरो उपकारको प्रत्युपकार यही हो ? भनेर नलले प्रश्न गरे । कर्कोटकले नम्र हुँदै बतायो - 'मैले प्रत्युपकार गरेको होइन, तपाईंको शरीरमा कलियुगले प्रवेश गरेको छ । मेरो विषलाई सहन नसकेपछि केही दिनमा नै उसले तपाईंको शरीरलाई त्याग्नु पर्नेछ । शरीरबाट कलियुग बाहिरिएपछि तपाईंका सुदिन फिर्ने छन् । शरीरको रङ बदलिएकाले तपाईंलाई कसैले पनि चिन्दैन, त्यस्तै मेरो विषको प्रभावका कारण यस भयानक वनमा कुनै पनि हिंस्रक पशुले तपाईंलाई खाने छैन । अब तपाईं आफ्ना राम्रा दिन आउने उपायको खोजी गर्नुहोस् । बरु अब आफ्नो नाम फेरेर तपाईं अयोध्या नामको देशमा जानुहोस्, त्यहाँ ऋतुपर्ण नामको राजाले शासन गर्दैछ, ऊ द्युतकलामा अत्यन्त दक्ष र निपुण छ, तपाईंले उसलाई अश्वविद्या सिकाई दिनुभयो भने उसबाट जुवा खेल्ने चालबाजीको ज्ञान प्राप्त हुनेछ । यसरी द्युतविद्याका तिकडमलाई राम्ररी बुझेपछि हजुरले पुष्करसँग पुनः जुवा खेल्नु होला र उसलाई हराएर आफ्नो श्रीसम्पत्ति र वैभव फिर्ता लिनुहोला । म हजुरलाई एउटा वस्त्र दिन्छु, राज्य फिर्ता आउनासाथ त्यस वस्त्रलाई धारण गर्नुहोला, तपाईंको शरीरको रङ पुनः पहिलेको जस्तै हुनेछ ।' कर्कोटक नागबाट यस्तो उपाय र सहयोग पाएपछि नल अयोध्या पुगे, आफ्नो नाम फेरेर बाहुक नामको सारथी भई परिचय दिए अनि ऋतुपर्णको आश्रयमा बस्न थाले ।

यता विदर्भ देशका राजा भीष्मकले राजा नलले जुवामा आफ्नो राजपाट र श्रीसम्पत्ति सबै हारे भन्ने कुरा चाल पाए । आफ्ना छोरीज्वाइँ कहाँ होलान् भनी पत्ता लगाउन उनले चारै दिशामा दूतहरू खटाए । सुदेव नाम गरेको एउटा ब्राह्मण पनि त्यस काममा खटिएका थिए । उनी चेदी देशमा पुगे र दमयन्तीलाई चिनेर तिनलाई माइतमा लिएर आए । त्यसपछि तिनै सुदेव ब्राह्मणलाई राजा नलको पनि खोजी गर्ने जिम्मेबारी दिइयो । सुदेव एकजना कर्मकाण्डी र नैष्ठिक ब्राह्मण थिए । उनले राजा भीष्मक र दमयन्ती दुबैलाई जस्तोसुकै ठूला सङ्कट र दुःख निवारणका लागि आशुतोष भगवान् भोलेशङ्कर र उहाँको प्रियतम व्रत प्रदोषको ठूलो भूमिका छ भन्ने कुरा बताए । तपाईंहरू भगवान् शिवको उपासना गर्नुहोस्, म आफ्ना तरिकाले राजा नलको खोजतलास गर्नेछु भनी सुदेवले दुबै जनालाई आश्वस्त तुल्याए । सुदेवका कुरा सुनेपछि दमयन्तीले प्रदोषको व्रतको विधान के हो भनी प्रतिप्रश्न गरिन् । सुदेवले सुतजीले नैमिषारण्यमा बताएको प्रदोषको महात्म्य र विधिविधान बताउँदै भने - हे राजकुमारी ! शुक्रबार परेको प्रदोषलाई शुक्रप्रदोष भन्ने गरिन्छ । मनुष्यको तेज, वीर्य, बल, रूप, धनसम्पदा र वैभव प्राप्तिमा शुक्र ग्रहको ठूलो भूमिका हुन्छ । त्यसैले शुक्र प्रदोष व्रतको पुण्यप्रभावले मनुष्यले धर्म, अर्थ, काम र मोक्ष सबै पुरुषार्थ प्राप्त गर्नुका साथै धनसम्पत्ति, राज्यलक्ष्मी र वैभवसमेत प्राप्त हुने गर्दछ । सुदेवले यति भनेर नलको खोजी गर्न देशदेशान्तरको यात्रा प्रारम्भ गरे । उता दमयन्ती निष्ठा र भक्तिपूर्वक सुदेवले बताएको विधिलाई अनुसरण गरी भोलेशङ्करको उपासना गर्न थालिन् र शुक्रबार परेको प्रदोषका दिनदेखि प्रत्येक प्रदोषको व्रतसमेत सम्पादन गर्न सुरु गरिन् ।

घुम्दै जाँदा सुदेव ब्राह्मण अयोध्या पुगे । उनलाई राजा ऋतुपर्णको सारथी बाहुक नै राजा नल हुनुपर्छ भन्ने शङ्का त लाग्यो । तर जिउडाल र बोलीवचन नलको जस्तै भए पनि अनुहार र शरीरको रङ फरक भएकाले उनले टुङ्गो लाउन सकेनन् । विदर्भ देशको दूतका रूपमा अयोध्याको दरबारमैं बसेर उनले बाहुकको हरतरहले परीक्षण गरे । उनको शङ्का बढ्दै गयो । एक दिन उनले एकान्तमा बाहुकलाई भेटे र प्रश्न गरे - कस्तो आपतमा कुनै पनि पुरुषले निद्रित अवस्थामा नै निर्जन वनमा आफ्नी पतिव्रता साध्वी पत्नीलाई छाडेर भाग्दछ ?, सुदेवका प्रश्नले नल झस्किए तर कुनै प्रतिक्रिया नदेखाई झट्ट उत्तर दिए - भरणपोषणको जिम्मेबारीसमेत वहन गर्न नसक्दा मनुष्यले आफ्नी पतिव्रता स्त्रीलाई पनि त्याग गर्दछ ।' उनको शङ्का बढ्दै गयो, यस्ता अनेक तरहले उनले बाहुकको परीक्षा लिई रहे । उता तन्मय र निष्ठाका साथमा दमयन्ती शिवाराधनामा लागेकी थिईन् । पूरा नियम र निष्ठाका साथमा प्रत्येक प्रदोषको व्रत, ब्राह्मण र गरिबगुरुबाको सेवासुश्रुषा तथा दानपुण्य कर्म गर्दथिईन् । प्रदोषको व्रत लिन थालेको एक वर्ष बित्न लागेको थियो । एक वर्षपछि पुनः अर्को शुक्र प्रदोषको आगमन भयो । उनले योग्य ब्राह्मणको सहयोग लिई व्रतको उद्यापन गरिन् र त्यसबाट आर्जित पुण्य जति सबै आफ्ना पतिलाई प्राप्त होस् भनी समर्पण गरिन् ।

सुदेवले नलको अन्तिम परीक्षा लिने तैयारी गर्यो र एउटा झुट्ठा खबर अयोध्याभरि फैलायो, खबरमा भनिएको थियो - 'राजकुमारी दमयन्तीको पुनर्विवाह हुँदैछ, राजा भीष्मकले पुनः स्वयंवरको आयोजना गर्दैछन्, त्यसैले योग्य क्षत्रीय वीरहरूले उक्त स्वयंबरमा पाल्नु होला ।' ऋतुपर्णले पनि यो खबर सुन्यो । ऊ पहिलेदेखि नै दमयन्तीको शीलस्वभाव र रूपलावण्यका बारेमा जानकार थियो । त्यसैले स्वयंवरमा भाग लिन ऊ पनि विदर्भ जाने भयो र आफ्नो सारथी बाहुकका साथमा विदर्भ देशका लागि प्रस्थान गर्यो । बाहुकको भेषमा भएका नलले पनि यो खबर सुने, दमयन्तीको पुनः स्वयंवर हुने कुराले उनको होस र चेत दुबै उडेका थिए । बाहुकले  घोडालाई हावाको चालमा हाँकी अत्यन्त छोटो समयमा नै ऋतुपर्णलाई लिई विदर्भ देश पुगे । त्यस दिन प्रदोष व्रतको साङ्गे हुँदै थियो । दरबारको आँगनमा यञ चलिरहेको थियो । राज ऋतुपर्णका साथमा आएको सारथी बाहुकलाई दमयन्तीले परैबाट देखिन् । रङ कालो नै भए पनि उनले आफ्ना पतिलाई चिनिहालिन् । ऋतुपर्णले पनि दमयन्तीको पतिको खोजी गर्न सुबाहुले यस्तो झुट्ठा खबर फैलाएका रहेछन् भन्ने थाहा पायो । ऊ राजा नलको नम्रता र अश्वविद्याबाट पहिले नै प्रभावित थियो, अहिले वास्तविक परिचय पाएपछि अझ बढी प्रभावित बन्नपुग्यो । अनजानमा नै राजा नललाई सारथी बनाएकोमा अहिले उसलाई अचम्म लाग्यो । त्यसपछि अहिलेसम्म नलमार्फत सिकेको अश्वविद्याको दक्षिणास्वरूप उसले नललाई द्युतविद्या सिकाई दियो । कलियुगले आफ्नो शरीर त्यागेको, पत्नीले प्रदोषको पुण्य समर्पण गरेको र कर्कोटक नागले दिएको वस्त्र धारण गरेकाले नल पूर्ववत सुन्दर र दिव्य स्वरूपमा परिणत भए । त्यसपछि उनले भाइ पुष्करलाई जुवा खेल्ने निमन्त्रणा दिए, जुवा खेलेर आफूले हारेको समस्त राज्यवैभव र श्रीसम्पत्ति फिर्ता लिए । आफ्नो राज्यवैभव सबै हारेपछि बल्ल पुष्करलाई आफूले गरेको गल्तीप्रति पछुतो भयो । तर राजा नलले पुष्करसित जितेको सम्पत्तिमध्ये पहिले आफूले हारेको धन र शासनसत्तामा मात्र कब्जा गरे, पुष्करको आफ्नो राजपाट र सम्पत्ति फिर्ता गरिदिए । दुबै दाजुभाइमा पूर्ववत मित्रता कायम नै रह्यो । त्यसपछि दमयन्ती र बालबच्चाका साथमा राजा नलले सुखपूर्वक जीवनयापन गरे । यति कथा भनी सकेर महर्षि बृहदश्वले भने - हे धर्मराज ! जुन मनुष्यले विपत्तिबाट हार नमानेर धैर्यताका साथमा विपत्तिकाललाई झेल्दछ, त्यही मानिस धीर र वीर हुन्छ । तपाईंले पनि शुक्रबार पर्ने प्रदोषको व्रत लिई देवाधिदेव महादेवको उपासना गर्नुहोस्, तपाईंका विपत्तिका दिनहरू जानेछन् एवं राज्यश्री र वैभवले तपाईंलाई पछ्याउने छन् ।

  • Mero Jyotish

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish