श्रीस्वस्थानी व्रतकथाको विंशोऽध्यायः, गोमाको विवाहको वर्णन

अथ विंशोऽध्यायः

कुमारजी आज्ञा गर्नुहुन्छ-हे अगस्त्य मुनि! त्यसपछि भिक्षुकरूप महादेवको श्राप पाएकी गोमा चिन्तित भएर रुन लागिन्। केही बेरमा गंगास्नान गर्न गएका माता-पिता हरि-हरको पूजा गरी सुवर्णादि अनेक द्रव्य दान गरी घर आए। अनि गोमालाई रोइरहेकी देखेर हे गोमा! किन रोएकी? के भयो? भनी सोधे। तब गोमाले भनिन्-हे माता-पिता! हजुरहरू गंगास्नान गर्न गएपछि म अक्षता केलाइरहेकी थिएँ, अकस्मात् यौटा भिक्षुक आएर भिक्षा मागे म अक्षता केलाईसकेर भिक्षा दिन्छु भनी एकछिन पर्खाएँ। अनि अक्षता केलाडसकेर भिक्षा दिन गएँ। तब ती भिक्षुकले- हे ब्राह्मणी! यतिका बेर पर्खाई अहिले भिक्षा दिन आइस् त्यो भिक्षा म लिन्न। दिने भए तेरा बाबाको पूजा गर्ने, तैंले केलाइराखेको भिक्षा दे भने। अनि मैले लिने भए लेऊ, नलिने भए अक्षता त म दिन, सक्तिन। भनें र भिक्षुक रिसाई-हे ब्राह्मणी! तैंले अहंकार गरेर मलाई भिक्षा दिइनस्! अब म तँलाई श्राप दिन्छु- तँ सात वर्षकी हुँदा तेरो सत्तरी वर्षको बूढोसित, विवाह होस् । फेरि तेरा माता-पिताले ठूलो कष्ट सही सिद्धिविनायकको सेवा गरेर पाएको सम्पति सबै नाश हवस्। फेरि तँलाई पनि अनेक थरिका कष्ट आइपरुन्। फेरि तेरा माता-पिता पनि चाँडै नै मरिजाउन्। यति भनी डमरु बजाएर श्राप दिए भनी सारा वृतान्त सुनाइन्।

 

छोरीको वचन सुनी शिवभट्टले भने - हे गोमा! ती भिक्षुक श्री महादेव हुन् र! तिनले दिएको श्राप लाग्छ कि लाग्दैन? ती भिक्षुकले त्यति भने 'भन्दैमा रुनु पर्दैन, नरोऊ, भनी बुझाए। त्यसपछि गोमा छ वर्षकी भइन् र शिवभट्ट ब्राह्मणले आफ्नी स्त्रीसित सल्लाह गरी गोमा कन्यादान दिन भनी अनेक स्थानमा ब्राह्मण खोज्न पठाए जर जगदीश्वर महादेवले श्राप दिएको हुनाले कुनै पनि योग्य ब्राह्मण पाउन सकेनन् र शिवभट्टले आफैं पनि सकेसम्म खोजी गरे तर खोजे जस्तो वर पाउन सकेनन्। अनि गंगामा स्नान गर्न लागेका ब्राह्मणहरूलाई पनि हेरे, तर त्यहाँ पनि आफूले खोजे जस्तो पाएनन् र हार मानी फर्कन लाग्दा कान नसुन्ने, कुप्रो, डेरो, आँखीभुइँ कैलो र जोरिएको, केश सेतै फुलेको दाह्रा निस्केको, कालो, मुखबाट ्याल चुहुने, सत्तरी वर्षको उमेरका शिलासन गरेर सन्ध्या गर्न बसेका शिवशर्मा नामका वृद्ध ब्राह्मणलाई देखेर निकै बेरसम्म तिनैलाई हेरिरहे। शिवशर्माले सन्ध्या सकेर-तिमी को हौ? कहाँबाट आयौ? मलाई किन धेरै बेरसम्म हेरिरह्यौ? भनी सोधे।

अनि शिवभट्टले भने-म शिवभट्ट नामको ब्राह्मण हुँ। मेरो घरमा यौटी कन्या छ, त्यसैको विवाह गर्न भनी ब्राह्मण खोज्दै हिंडेको, तर भनेजस्तो कहीं पाउन सकीन र घर जान लागेको हुँ। यहाँ तिमीलाई देखेर हरेको हुँ। तिमी को हौ? यति शिवभट्टले भनेको सुनी शिवशर्मा भन्दछन्-म शिव शर्मा नामक ब्राह्मण हुँ। सोह वर्षको उमेर देखि कसैले कन्यादान दिए लिन भनेर हिडेको हुँ। मलाई कन्यादान दिने आजसम्म कोही मिलेन। आज मेरो सौभाग्यले तिमीलाई भेटें। ईश्वरको कृपाले हामी दुवैको काम बन्ने भयो। हे पिता! ममाथि कृपा गरी ती कन्या मलाई देऊ, सहस्त्र बिन्ती छ। ब्राह्मण भएर मेरो यो उमेर भयो र पनि अझसम्म विवाह भएको छैन। अब तिमीले कृपा गरे कन्यादान पाउने छु।

 

यति शिवशर्माको कुरा सुनी शिवभट्ट भन्दछन्-हे शिवशर्मा! यस्तो उमेरका तिमीलाई मेरी बालक पुत्री कसरी दिने? फेरि तिमी यस्ता कुरूपलाई कामदेवकी स्त्री रति जस्ती मेरी कन्या अयोग्य छ। यति सुनेर शिवशर्मा भन्न लागे-हे शिवभट्ट! त्यसो नभन, ती कन्या मलाई देऊ, तिमीले नदिए हत्या गरेर मर्नेछु। शिवशर्माको त्यस्ता कुरा सुनी शिवभट्ट मनमनै विचार गर्छन्-त्यसको कर्ममा त्यस्तै लेखेको रहेछ, म के गर्न सक्तछु! उस दिन श्राप दिने भिक्षुकरूप श्री महादेव रहेछन्। उनको श्राप लंघन गर्न को सक्ला? इन्द्रजस्ताले सकेनन्, रावणले पनि सकेनथ्यो भने म जस्ताले कसरी सक्ने? यस्तो विचार गरी मनमा व्याकुल भए पनि शिवशर्मालाई साथै लिई घर गए।

सती ब्राह्मणीले शिवशर्मालाई साथमा लिएर आफ्ना स्वामी घर आएको देखेर प्रसन्न भई-त्यो कसलाई डाकेर ल्याउनु भयो? भनी सोधिन् र शिवभट्ट भन्दछन्-हे सती! यी शिवशर्मा नामका ब्राह्मण हुन्। गोमा कन्यादान दिन वर खोज्दै हिंडेको कहीं पाउन सकीन र घर आउन लाग्दा यी गंगा किनारमा बसेर सन्ध्या गर्न लागेका रहेछन्। मलाई आएको देखेर सन्ध्या गरिसकी-तिमी को हौ? कहाँबाट आयौ? भनी सोधे। मैले मेरो घरमा यौटी कन्या छ, कन्यादान दिन ब्राह्मण खोजी हिडेको कहीं पाउन सकिन र घर जान लागेको भनें। फेरि तिमी को हौ? भने र सोधे र यिनले-म पनि ब्राह्मण हुँ। सोह वर्षको उमेरदेखि कसैले दिए कन्यादान लिन, भनी हिडेको मलाई कन्यादान दिने कोही भएनन्। आज मेरो भाग्यले तिमीलाई भेटें। तिम्री पुत्री मलाई कन्यादान देऊ भने। अनि मैले-हे शिवशर्मा! यस्ता उमेरका तिमीलाई मेरी बालक पुत्री कसरी दिने? फेरि तिमी यस्ता कुरूपलाई कामदेवकी पत्नी रती जस्ती मेरी कन्या अयोग्य छ, यस्ता कुरा नगर भनें। अनि यिनले-त्यसो आज्ञा नगर, ती कन्या मलाई देऊ, नदिए हत्या गरी मन्नेछु भनी साथ लागेर आए। यो अनर्थ हुन लाग्यो। अब गोमा कन्यादान दिउँ कि ब्रह्महत्या लिउँ।

 

आफ्ना स्वामीको यस्ता कुरा सुनी सती भन्दछिन्-हे स्वामी! यस्तो कुरा नगर! त्यो कस्तो भने-बूढो, कान नसुन्ने, डेरो, कैला आँखा भएको, | दाह्रा निस्केको, आँखी भौं जोरिएको, केश पाकेको, र्याल चुहाउने र कालो यस्तालाई मध्यान्ह-कालका, सूर्य झै तेज र पूर्णचन्द्र जस्तै मुख भएकी हात्तीको सूँढ जस्तै हात-पाउ भएकी, बाघको जस्तै कम्मर भएकी तथा सावित्रीका जस्ता पैताला भएकी, सुवर्ण जस्तो शरीर र राजहंसको जस्तै हिंडाई भएकी, अमृत झै मीठो र नरम वाणी भएकी मेरी पुत्री त्यस्तालाई कसरी दिउँ? कसैले कन्यादान दिएन भनेर जति हत्या गरेर मर्नेछन्, के त्यो हत्या हामीलाई लाग्दछ! कदाचित् । तपाईलाई त्यस कुराको डर छ भने, त्यो हत्या गरी मरोस्। त्यो पाप म आफ्नो कपालमा थाप्नेछु। त्यसका घुर्कीमा डराउनु पर्दैन। त्यसलाई त हजार ब्रह्महत्या लागे पनि दिने छैन। पृथ्वीमा अरू कोही योग्य ब्राह्मण छैनन् कि? तपाईंले खोज्न नसके म गएर खोजी ल्याउँला।
 

आफ्नी पत्नी सतीका त्यस्ता कुरा सुनी शिवशर्मा भन्दछन्-हे माता! यस संसारमा बालक पनि छन्, वृद्ध पनि छन्, राम्रा पनि छन्, नराम्रा पनि छन्, कसैका धेरै सन्तान छन्, कसैका यौटा पति छैनन्, कुनै पुरुषका आफूभन्दा उमेर बर्ता भएका स्त्री छन्, कुनै स्त्री का आफूभन्दा उमेर पाकेका पति छन्, कसैका स्त्री छन्, कसैका पुरुष नै छैनन्, कोही निर्धन र कोही धनी छन्। कुमालेको चक्र जस्तै घुमिरहेको यस संसारमा बूढो को हुँदैन र कसले मर्नु पर्दैन? यस कारण ती कन्या मलाई देऊ। नदिए म दुवै स्त्री-पुरुषलाई श्राप दिई प्राण त्याग्नेछु भनी प्राण वायु ब्रह्माण्डमा खिंची मर्न तयार भए।

अनि शिवभट्ट डराई भन्दछन्-हे शिवशर्मा! त्यस्तो नगर मेरी कन्या तिमीलाई नै दिन्छ भनी सम्झाई-बुझाई गोडा धोएर माथि डाकी बसाले। तर सतीले भने मानेकी थिइनन्। तब शिवभट्ट सम्झाउन थाले-हे सती! उस दिन गोमालाई श्राप दिने भिक्षुकरूप श्रीमहादेव नै रहेछन्। अब तेत्तीसकोटि देवता हाम्रो सहाय भएर आए पनि त्यो श्राप टार्न सक्ने छैनन्। दैवले यस्तै पारेर ल्यायो, ढिपी नगर, गोमा यिनैलाई कन्यादान गरेर दिउँ। सामग्री तयार पार भने। पतिको त्यस्ता कुरा सुनी सती मनमा चिन्ता र तर्क गर्न लागिन्-हरे! यो के आश्चर्य! बालक र बूढाको विवाह देख्नु पर्यो। निर्विवेकी विधाताले मेरी छोरीको भाग्यमा कस्तो लेखिदिएका रहेछन्! न्वारान गर्दा सबै ब्राह्मणहरूले यी बालिका भाग्वमानी हुने छन् र सम्पूर्ण लोकले मान्नेछन् भनेका थिए, त्यो पनि मिथ्या भयो। हामीले सकेसम्म सबैको भलो नै गरेको हो, आज कुन पापले यस्तो भयो? मेरी पुत्रीलाई श्राप दिने श्रीमहादेव नै रहेछन्। यस बालकले के जान्दथी र श्राप दिएका होलान-भन्दै साहै रुन लागिन् र शिवभट्ट भन्दछन्-हे सती! नरोऊ, दैवको सामु कसैको बल पुग्दैन। दैवले आफ्नू इच्छानुसार, सबै काम गर्दछ। अब शिवशर्मालाई खान-पिन दिए सुत्ने स्थान खटाइदेऊ, विस्मात् नगर।

 

यति आफ्ना स्वामीले भनेपछि सतीले अनेक उपचार तयार पारी खान दिइन्। शिवशर्मा सुत्न गएपछि सतीले छोरी गोमालाई डाकेर काखमा राखी प्रीतिपूर्वक भन्न लागिन् हे गोमा! तेरो विवाह हुन लाग्यो। तेरा पिताले ती वृद्ध ब्राह्मणलाई दिन आँटे। किनकि उस दिन तँलाई। श्राप दिने भिक्षुकरूप श्रीमहादेव नै रहेछन्। तँलाई त्यो श्राप लाग्यो, हामीलाई दोषी नठानेस् र तँ पनि चिन्ता नगरेस्। तेरो कर्मले परिल्याएको कुरा अन्यथा गर्न कसको सामर्थ्य छ? हे गोमा! भनी आँखाबाट आँसूका धारा बगाई ठूलो स्नेहले काखमा राखिन्। यति आफ्नी माताको वचन सुनी गोमा भन्न लागिन् 'हे माता! यसमा तपाईहरूको केही दोष छैन। मेरो भाग्यमा यस्तै लेखेको रहेछ। फेरि महादेवको श्राप लंघन गर्न को सक्ला? मैले अहंकारले भिक्षुकरूप महादेवको अनादर गरें र त्यसको फल पनि पाएँ।
 

जो मनुष्य भिक्षा माग्न आएका भिक्षुकलाई भिक्षा नदिई अनादर गरी पठाउला त्यसले यस लोकमा र परलोकमा पनि सुख पाउने छैन। फेरि जसले भिक्षामाग्न आएका भिक्षुकलाई आदर गरी भिक्षा दिई पठाउला त्यसले यस लोकमा र परलोकमा पनि सुख संतोष पाउला। हे माता! सन्देह गर्नु व्यर्थ छ। बूढो भए पनि, लंगडो भए पनि, दरिद्र अथवा रोगी भए पनि, पापी अथवा क्रोधी भए पनि मलाई दैवले परिल्यायो।

रामचन्द्र जस्तालाई त दैव लागेर वनवास जानु पर्यो। वनवासमा पनि सीतालाई रावणले हरण गरेर लगिदियो। फेरि महादेव जस्तालाई दैव लागेर कालकूट, विष कण्ठमा राखी नीलकण्ठ भई रहनु पर्यो। फेरि युधिष्ठिर जस्ता धर्मात्मालाई पनि दैव लागेर जुआमा राज्यहारी वनवास र गुप्तवास समेत जानु पर्यो। फेरि द्रौपदीलाई दैव लागेर दुर्योधनका सभामा बेइज्जत हुनु पर्यो। फेरि राजा बलि जस्ता दानीलाई दैव लागेर पातालमा बस्नु पर्यो। फेरि मायाका अधिपति श्रीकृष्ण जस्तालाई दैव लागेर आफ्नै अगाडि आफ्नू नाति अनिरुद्धलाई बाणासुरले नागपाशले बाँधेको र छपन्न कोटि यदुवंशीहरू नाश भएको देख्नु पर्यो। फेरि सम्पूर्ण संसारमा प्रत्येक जीवको सृष्टिकर्ता बह्मालाई पनि दैव लागेर आफ्नू शिर कटाई रहनु पर्यो। फेरि देवताका राजा इन्द्रलाई दैव लागेर स्वर्ग छाडेर भाग्नु पयो। अतः हे माता! दैवको गति लंघन गर्न कोही पनि सक्तैनन्। पूर्वजन्ममा आफूले गरेका कर्मको फल अवश्य भोग्नुपर्दछ। फेरि जस्तै ठूलो घड़ा लिएर कस्तै बर्ता पानी भएको नदी वा तलाऊमा गए पनि जल घड़ाभरि मात्र आउँछ। त्यस्तै आफ्नू भाग्यमा लेखेको मात्र हुन्छ। सन्देह नगर्नु होस्, तपाईहरूले दिएको ठाउँमा म खुसीसाथ जानेछु।

पुत्री गोमाका त्यस्ता, कुरा सुनी सतीले प्रसन्न भएर भनिन्-हे गोमा! तँ धन्य रहिछस्। यस्तो सानै अवस्थामा पनि यस्ता ज्ञानका कुरा गर्ने भनी दुवै आमा-छोरी रातभरि त्यस्तै गन्धन गरिरहे। प्रात:काल भयो शिवभट्टले शिवशर्माको कपाल खौरन नाउ डाकी हात-खुट्टाका नङ काट्न लगाई, मनपरेको खाना-लाउन दिई पालिराखे। शिवशर्मा पनि मनपरेको खान-लाउन पाई हृष्ट-पुष्ट भई मोटाए। त्यसपछि शिवभट्टले लग्न ठहराई कन्यादानको सामग्री तयार पारी अनेक मंगल यात्रा गरेर आफ्नू मर्यादा अनुसार गोमालाई हीरा, मोती, माणिक आदि रत्न र वस्त्रालंकार पहिराई शिवशर्मा ब्राह्मणलाई गोमा कन्यादान दिए। गोमाले फूलको माला लिई शिवशर्मालाई पहिराइन्। र प्रणाम गरिन्। कन्यादान सकिएपछि अन्य ब्राह्मणहरूलाई श्रद्धासाथ भोजन दक्षिणा दिए र सबैजना आफाफ्ना घर गए। गोमाले आफ्ना स्वामी शिवशर्मालाई प्रीतिपूर्वक, सेवा टहल गरेर राख्दी भइन्।

इति श्री स्कन्दपुराणे केदारखण्डे माघमहात्म्ये कुमार-अगस्त्यसंवादे श्रीस्वस्थानी परमेश्वर्या-व्रतकथायां गोमाविवाहवर्णनंनाम विंशोऽध्यायः।।२० ।।