कथा भन्ने र सुन्ने सबैले चन्दन, अक्षता, फूल लिएर हात जोर्नू ।
वक्ताले तलको स्तुति पढ्नु-
यं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतः स्तुन्वन्ति दिव्यैः स्तवै- र्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ।
ध्यानावस्थित-तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्याऽन्तं न विदुः सुरासुरगणा देवाय तस्मै नमः ।।१।।
श्रीमच्चन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका-
मालाऽलंकृतकुण्डला प्रविलसन्मुक्तावलीशोभिता ।
सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा
वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।।
मूकं करोति वाचालं पङ्गं लङ्घयते गिरिम् ।
यत्कृपा तमहं वन्दे परमानन्दमाधवम् ।।३।।
नमो भगवते तस्मै व्यासायाऽमिततेजसे ।
यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् ।।४।।
नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम् ।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।५।।
सबैले पुष्पाञ्जलि पुस्तकमा चढाएपछि वक्ताले कथा भन्न थाल्नु। श्रोताले एकचित्त भएर कथा सुन्नु।
कुमारजी आज्ञा गर्नुहुन्छ-हे अगस्त्य मुनि! तिमी ध्यानपूर्वक सुन। यति पातालका कुरा सुनाएँ। अब मर्त्यमण्डलको कुरा भन्दछु। पूर्वकालमा मर्त्यमण्डलको दक्षिणभागमा ब्रह्मपुर नामको यौटा नगर थियो। त्यहाँका कर्मिष्ठ ब्राह्मणहरू प्रशस्त सम्पत्ति पाई वेद-पुराणादि शास्त्र अध्ययन गरेर आफाफ्ना धर्म-कर्मको पालन गरेर बसेका थिए। त्यहीं यौटा शिवभट्ट नामका अत्यन्त (दीन-दरिद्र ब्राह्मण थिए। गरीब भए पनि तिनी लोभ, मोह त्यागेका र आफ्नू सत्कर्मको पालन गर्दथे। तिनकी सती नामकी ब्राह्मणी थिइन्। ती विप्र दम्पती अनन्य प्रीतिले बसेका थिए। घरमा धन-सम्पत्ति नहुनाले निकै कष्ट पाए र एक दिन शिवभट्टले आफ्नी पत्नीसित भने-हे प्रिये! हाम्रो घरमा सम्पति छैन। त्यसै हुनाले। बराबर कष्ट भोगिरहेका छौं। अब सम्पत्ति प्राप्त गर्न सिद्धि गणेशको सेवा गरौं भन्ने सल्लाह गरी दुवै पति-पत्नी आठ-आठ दिनको मंगलवार बिहानै उठी कष्टपूर्वक सिद्धि गणेशको सेवा गर्न लागे। यही क्रमले निकै दिन बितेपछि सिद्धि गणेश प्रसन्न भई दर्शन, दिए र-'हे शिवभट्ट ब्राह्मण! हे सती ब्राह्मणी! तिमी दुवैको सेवा में प्रसन्न भएँ। जे इच्छा छ सो वरदान माग' भने र शिवभट्टले सिद्धि गणेशलाई दण्डवत् प्रणाम गरी अंजलि जोरेर-हे गणनाथ! अरु के वर मागौं! पूर्वजन्ममा नकमाएको हुनाले यस जन्म दरिद्र भएर कष्ट भोगिरहेछौं, अब सम्पत्ति पाउने इच्छाले हजुरको सेवा गरेका हौं । सम्पत्ति दिई कष्ट निवारण गरिदिनु हवस् भनी बिन्ती चढाए।
अनि सिद्धि विनायकले आज्ञा भयो-'हे शिवभट्ट! आजको आठ दिन मंगलवार | बिहानै आई मेरो पूजा गर्नु। उसे वेला मेरो मुखेंजी जो देखौला त्यो घर लगी तसलामा राखी माथिबाट तसलैले छोपिदिनू। चार दिनपछि छोपेको तसला झिकी हेर्नु, सुन होइरहला। अनि सम्पत्ति पाई सुखी हुनेछौ । तिमीलाई सम्पत्ति हुने वरदान दिएँ। अब आफ्नू घर जाऊ।' यति गणेशजीको वचन सुनी शिवभट्ट ब्राह्मण र सती ब्राह्मणीले सिद्धि विनायकलाई दण्डवत् प्रणाम गरे। अनि विनायक अन्तर्धान भएपछि उनीहरू घर फर्केर आए। आठ दिन बित्यो र मंगलवार बिहानै पूजा सामग्री लिएर ती विप्र दम्पती सिद्धिविनायको मन्दिरमा गए र उनको अगाडि यौटा लड्डू देखे। अनि दुवै पति-पत्नीले नित्य जस्तै विनायकको पूजा गरे र त्यो लड्डू घर लगी तसलामा राखी माथिबाट तसलैले छोपीदिए। चार दिनपछि छोपेको तसला झिकी हेर्दा सुनको लड्डू भइरहेको देखी प्रसन्न भएर सुरक्षित राखे। उसै दिनदेखि शिवभट्ट ब्राह्मण असंख्य सम्पत्ति पाई सुखी भए।
दस घर डुली भिक्षा मागेर खाने शिवभट्टले सम्पत्ति पाएपछि एक दिन आफ्नी स्त्रीसित भने-हे सती! पूर्वजन्ममा दान-धर्म गर्न नसकेकोले यस जन्ममा कष्ट भोग्यौं। अब सिद्धिविनायकको कृपाले सम्पत्ति भयो। अब यस जन्ममा दान-धर्म नगरे अर्को जन्ममा फेरि दरिद्र भई कष्ट पाउने छौं। अतः दान धर्म गरौं भनी दुवै पति-पत्नी गंगास्नान गरी हरि हरको पूजा गरेर सुवर्णादि अनेक द्रव्य दान गरी घर आउँथे। त्यसरी दान-धर्म गर्नाले शिवभट्ट ब्राह्मणको सम्पति झन् बढ्दै गयो। त्यो देखेर एक दिन शिवभट्टले आफ्नी पत्नीसित भने 'हे स्त्री! सम्पति मात्र भए के गर्ने हामी वृद्ध भयौं। हाम्रा सन्तान छैनन्; अत: यो सम्पतिको रक्षा को गरिदेला? अत: संतानको निम्ति गर्न लाग्दा यौटी गाई आएर हेरिरहिन्। अनि शिवभट्टले विनायकको पूजा सकेर गाईको पनि पूजा गरे। तब गाईले गोब्याइन् र शिवभट्टले गोबर भूमिमा खस्न नपाउँदै हातमा थापेर विनायकलाई दण्डवत् प्रणाम गरी सानन्द घर आए। अनि गोबर तसलामा राखी माथिबाट तसलैले छोपिदिए। चार दिन भयो र माथिको तसला झिकी हेर्दा कन्या उत्पन्न भइरहेकी देखे।
कस्ती कन्या भने-मध्यान्हकालका सूर्य जस्तै तेज भएकी, पूर्णचन्द्र जस्तै मुख-मण्डल भएकी, वासुकीनाग झैं (हात-पाउ र बाधको जस्तै कम्मर भएकी, सावित्रीका जस्तै पैताला भएकी त्यस्ती परमसुन्दरी कन्या देखेर शिवभट्ट र सती अन्यन्त हर्षित भई तसलाबाट झिकेर निदान गरी ( राम्रो सुरक्षा गरी ) पाले। त्यस बालिकालाई खान दूध भएन र फेरि सिद्धिविनायकको मन्दिरमा गई पूजा गरे। अनि गणनाथ प्रसन्न भई-हे शिवभट्ट ब्राह्मण, हे सती ब्राह्मणी! के भन्ने इच्छा छ भन, यस्तो आज्ञा भएको सुनी शिवभट्ट विन्ति गर्दछन हे गणनाथ! हजुरको कृपाले संतान पाएँ, तर त्यस बालिकालाई खान दूध भएन, त्यही बिन्ति गर्न आएको हूँ। यति सुनेर त्यस बालिकालाई दूध दिएँ, जाऊ, भनेर विनायक अन्तर्धान हुनुभयो। अनि सतीले आफ्ना स्तन निचोरी हेर्दा दूध आयो र त्यस बालिकालाई खान दिई बढाइन्।
जस्तै सीताजी उत्पन्न हुँदा राजा जनकलाई आनन्द भएर्यो, त्यस्तै ती बालिका उत्पन्न हुनाले शिवभट्ट र सतीलाई आनन्द भयो। त्यसपछि योग्य ब्राह्मणाहरू डाकी नामकरण संस्कार गराए। ती ब्राह्मणहरूले भने - हे शिवभट्ट! गाईको गोबरबाट उत्पन्न भएको हुनाले यी बालिकाको नाम 'गोमा' भयो र यी बालिका भाग्यमानी हुनेछन्। सम्पूर्ण लोकले सम्मान गर्नेछन्। यति ब्राह्मणहरूले भविष्यवाणी गरेपछि शिवभट्टले यथेष्ट भोजन र दक्षिणा दिई बिदा गरे। आगन्तुक सबै ब्राह्मणहरू आफाफ्ना आश्रममा गए। त्यसपछि ती गोमा नामकी कन्या शुक्लपक्षका चन्द्रमा झैं प्रतिदिन बढेर पाँच वर्षकी भइन्। अनि शिवभट्ट ब्राह्मण र सती ब्राह्मणीले एक दिन कन्यालाई भने-'हे पुत्री! हामी गंगास्नान गरेर आउँछौं तिमी पूजाको निम्ति अक्षता केलाइराखे भनी अह्राएर दुवै दम्पति नित्य गंगास्नान गरेर हरि-हरको पूजा गरी सुवर्णादि नाना द्रव्य दान गरेर आउँथे।
त्यही क्रमले दान गर्दा-गर्दा अमरावती थक्यों र देवराज डराई समस्त देवता साथमा लिई कैलासमा श्री महादेवकहाँ गएर बिन्ती गरे- हे ईश्वर! मर्त्यमण्डलको दक्षिणभागमा यौटा ब्रह्मपुर भन्ने नगर छ। त्यहाँ शिवभट्ट नामका ब्राह्मण र सती नामकी तिनकी पतिव्रता स्त्री छन्। ती दुवै स्त्री- पुरुषले हुजुरका पुत्र सिद्धिविनायकको सेवा गरेर विनायक खुसी भई असंख्य सम्पति दिए। ती शिवभट्टले सम्पति पाएपछि नित्य गंगास्नान गरेर हरि-हरको पूजा गरी सुवर्णादि नाना द्रव्य दान गर्नाले अमरावती थर्कियो। हे शम्भो! म अरु पनि बिन्ति गर्दछु-ती शिवभट्टले सम्पति पाएपछि सन्तान भएनन् भनी फेरि विनायकको सेवा गरे। तब गणेशजी खुसी भएर सकल लक्षणले युक्त परम सुन्दरी यौटी कन्या पनि वरदान दिए। हे प्रभो! हामीहरूको रक्षा गरि बक्सियोस्। हजुरले रक्षा नगरे अमरावतीबाट मैले च्युत हुनु पर्नेछ।
यति इन्द्रको प्रार्थना सुनी महादेव आज्ञा गर्नु हुन्छ- हे देवेन्द्र! नडराऊ, म रक्षा गर्नेछु। अब अमरावती जाऊ। शिवजीको आज्ञा सुनी दण्डवत् प्रणाम गरी सुरराज अमरावती फर्के। त्यसपछि महादेवले भिक्षुक रूप धारण गरी देवताको रक्षाका निमित्त जटाको मुकुट बनाई, बायाँ हातमा त्रिशूल र दाहिना हातमा डमरू लिई भस्मलेपन गरी शिवभट्ट ब्राह्मणको घर पुगी भिक्षा माग्नुभयो। गोमा आफ्ना पिताको पूजाका लागि अक्षता केलाई रहेकी थिइन्। निकै बेरपछि हे भिक्षुक! मेरा माता-पिता गंगास्नान गर्न गएका छन्, म अक्षता केलाउँदै छु, एकै छिन पर्ख, भिक्षा दिने अरु कोही छैनन्। यति भनेर पर्खाइराखिन्। अनि अक्षता केलाइसकेर भिक्षा लिई भिक्षुकरूप श्री महादेवछेउ आई-हे भिक्षुक! मेरा माता-पिता घरमा छैनन्, म अक्षता केलाउँदै थिएँ, त्यसै कारण विलम्ब भयो, दुःख नमान, भिक्षा लेऊ, भनिन्।
गोमाको यति कुरा सुनी भिक्षुकरूप महादेव भन्नुहुन्छ-'हे ब्राह्मणी! यतिका बेर पर्खाई अब भिक्षा दिन आइस्। म त्यो भिक्षा लिन्न। दिने भए तेरा पिताको पूजा गर्न केलाइराखेको अक्षता दे।' यति भिक्षुकरूप महादेवको वचन सुनी गोमाले-लिने भए भिक्षा लेऊ, नलिने भए अक्षता त दिने होइन, भनिन्। गोमाको त्यस्तो वचन सुनेर रिसाएका महादेवले-हे पापिष्ट ब्राह्मणी! तैंले अहंकार गरेर मलाई भिक्षा दिइनस्, अत:तँलाई श्राप दिन्छु- तँ सात वर्षकी हुँदा सत्तरी वर्षको बूढोसित विवाह होस्। फेरि तेरा माता-पिताले महाकष्ट सही सिद्धिविनायकको सेवा गरेर पाएको सबै सम्पति पनि नाश होस्। फेरि तलाई पनि अनेक दुःख आइपरुन्। फेरि तेरा माता-पिता पनि चाँडे नै मरिजाउन्। यति। चार थोक तँलाई श्राप दिएँ। यति भनी त्यो भिक्षा पनि नलिई त्यहाँबाट अन्तर्धान भई कैलासमा पुग्दा भए।
इति श्री स्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये कुमार-अगस्त्यसंवादे श्रीस्वस्थानी परमेश्वर्या-व्रतकथायां गोमाश्रापप्राप्ति्नाम एकोनविंशोऽध्यायः।।१९।।
कथा सकिएपछि निम्न स्तोत्र पढेर पुष्पाञ्जलि गर्नु-
उपनयतु मंगलं वः सकल जगन्मंगलालयः श्रीमान् ।
दिनकर किरण निबोधित नवनलिनदलनिभेक्षणः कृष्णः ।।
काले वर्षतु पर्जन्यः पृथिवी शस्यशालिनी ।
देशोऽयं क्षोभरहितो ब्राह्मणाः सन्तु निर्भयाः ।।
अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः ।
निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।
तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च ।
तीर्थानि सर्वाणि वसन्ति तत्र, यत्राच्युतोदार कथा प्रसंगः ।।
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता ।
या वीणा वरदण्डमण्डितकरा या श्वेतपद्मासना ।।
या ब्रह्माच्युत शंकरप्रभृतिभिर्देवैः सदा वन्दिता ।
सा मां पातु सरस्वती भगवती निःशेष जाड्यापहा ।।
कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृतिस्वभावात् ।
करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पये तत् ।।
श्री स्वस्थानी देव्यार्पणमस्तु ।
यति भनिसकेर कथा सुन्ने जति समस्त श्रोताहरूले | पुष्पाञ्जलि चढाई दण्डवत् गर्नु र आफाफ्ना मनको इच्छित वरदान माग्नु ।