श्रीस्वस्थानी व्रतकथाको सप्तदशोऽध्यायः, वृन्दाको पतिव्रता धर्मको हरण

कथा भन्ने र सुन्ने सबैले चन्दन, अक्षता, फूल लिएर हात जोर्नू ।
वक्ताले तलको स्तुति पढ्नु-

यं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतः स्तुन्वन्ति दिव्यैः स्तवै- र्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः । 
ध्यानावस्थित-तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्याऽन्तं न विदुः सुरासुरगणा देवाय तस्मै नमः ।।१।।

श्रीमच्चन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका-

मालाऽलंकृतकुण्डला प्रविलसन्मुक्तावलीशोभिता ।
सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा 
वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।।

मूकं करोति वाचालं पङ्गं लङ्घयते गिरिम् ।
यत्कृपा तमहं वन्दे परमानन्दमाधवम् ।।३।।

नमो भगवते तस्मै व्यासायाऽमिततेजसे ।
यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् ।।४।।

नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम् ।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।५।।

सबैले पुष्पाञ्जलि पुस्तकमा चढाएपछि वक्ताले कथा भन्न थाल्नु। श्रोताले एकचित्त भएर कथा सुन्नु। 

सप्तदशोऽध्यायः

कुमारजी आज्ञा गर्नुहुन्छ-हे अगस्त्य मुनि! त्यसपछि महादेव राजहंसहरूका राजा भएर मानसरोवरमा अनेक हंसका साथ जल-क्रीडा गरिरहनु भएको थियो। त्यही अवसरमा विष्णुलाई ठूलो वेगले आएको देखी राजहंसरूप महादेव भन्नुहुन्छ-'हे विष्णु! यस्तो वेगले मकहाँ के काम परेर आयौ? तिमीलाई के कष्ट आइलाग्यो भन। यति महादेवको वचन सुनी विष्णु गरुड़बाट वर्ली दण्डवत् प्रणाम गरेर बोले-' हे ईश्वर! हजुर यता आएपछि हजुरको रूप धारण गरी जालन्धर पार्वतीलाई छल्न कैलास पुगेछ र पार्वतीले मलाई छल्न जालन्धर आएछ भन्ने थाहा पाई त्यहाँ नबसेर कसैले नदेख्ने स्थानमा लौकी मलाई डाक्नु भयो, अनि म गएर सारा विस्तार बुझी यहाँ आएको हुँ। अब म गएर त्यसकी स्त्री वृन्दाको पतिव्रता धर्म नाश पारेर आउँछु। यति विष्णुको वचन सुनी महादेव राजहंसको रूप छाडी आफ्नू रूप धारण गरी क्रोधले राता-राता आँखा पारी आज्ञा गर्नुभयो- हे विष्णु! त्यसो हो भने म अब कैलास जान्छु। तिमी वृन्दाकहाँ गएर त्यसको पतिव्रता धर्म नाश पारेर आऊ। त्यस पापिष्ट जालन्धरलाई म नमारी छाड्नेछैन' भन्दै पाखुरा निमोठी क्रोधयुक्त भएर विष्णुलाई पठाई आफू कैलास पर्वतमा पार्वती लुकिरहेको स्थानमा पुग्नु भयो।

 

अनि महादेव आउनु भएको देखेर पाऊ धोई दण्डवत् गरेर-हे स्वामी! भनी जालन्धर आएको सारा वृत्तान्त वर्णन गरिन्। अनि महादेव आज्ञा गर्नु हुन्छ हे प्रिये! म त्यो पापिष्ट जालन्धरलाई नमारी छाड्दिन। विष्णु वृन्दाको सत्य डगाउन गएका छन्। उनी आउनासाथ युद्ध गरेर त्यसलाई मार्नेछु भनी गौरी-शंकर दुवैजना  कुरा गरिरहे। उता विष्णु जालन्धरको रूप लिएर अन्तःपुर पुगे। जालन्धररूप विष्णु आएको देखेर वृन्दाले स्वामी आए भनी पाऊ धोई भित्र लगेर बसालिन् अनि सोधिन् -'हे स्वामी ! पार्वतीलाई छल्न जानुभएको के गरेर आउनुभयो? पार्वती मभन्दा कत्तिकी सुन्दरी रहिछन्? भन्नुहवस्।' त्यति सुनी जालन्धररूप विष्णु भन्दछन् "हे वृन्दा! पार्वतीलाई छल्न नसकिने रहेछ किनकि म पार्वतीको घरभित्र जान खोज्दा ढोकामा बसेका द्वारपाललाई देखी डराएर फर्के।' यसरी कुरा गर्दागर्दै वृन्दाले यी मेरा स्वामी होइनन्, विष्णु मलाई छल्न मेरा स्वामीको रूप धारण गरेर आएका रहेछन् भन्ने जानी-अब मैले केही युक्ति गर्नुपयो भनी हाउ-भाउ कटाक्षले विष्णुलाई वशमा पारेर भनिन्-'हे स्वामी! म केही कुरा भन्दछु, हजुर मान्नु हुन्छ कि मान्नुहुन्न?' यति सुनेर विष्णुले-'जे भने पनि मान्नेछु' भन्ने वाचा  गरेपछि उनले भनिन्-विशेष कुरा केही होइन, केवल म नआएसम्म यहीं बसिरहनु होला भनी विष्णुलाई कोठामा थुनी आफू अर्कै घरमा गएर बसिरहिन्। अहिले आउलिन्, भरे आउलिन् भन्दै प्रतीक्षामा चार दिन बिते, तैपनि वृन्दा फर्किनन्। अनि विष्णु चिन्ता गर्न, लागे-अब म यसै गरी बसिरहूँ भने कति दिन बस्ने!
जाऊँ भने वाचा हारिएको छ। उता महादेव के भन्नु, होला भन्ने चिन्ता अलगै छ! कसरी यहाँबाट उम्कने! इत्यादि तर्क गरे पनि केही गर्न समर्थ थिएनन्।

 

उता महादेवले विष्णु गएको यतिका दिन भैसक्यो, तैपनि किन फर्केनन् भनी ध्यान दृष्टिले विचार गरी, पार्वतीसित भन्नुभयो-'हे गिरिजे! वृन्दालाई छल्न गएका विष्णुलाई उसैले छली कोठामा थुनिराखेकी छ।' यति भनी माया द्वारा यौटा अत्यन्त सुन्दर सोह्र वर्षको भिक्षुक उत्पन्न गरी उसलाई भन्नुभयो-'हे भिक्षुक! तिमी अन्तःपुरको जालन्धरका घर गएर 'भिक्षान्देही भनी वृन्दाले थुनिराखेका विष्णुलाई मागेर ल्याऊ। यति शिवजीको आज्ञा सुनी 'हुन्छ' भनी सरासर जालन्धरका घर पुगी 'भिक्षान्देही' भने । अनि वृन्दाले झ्यालबाट हेरिन् र अत्यन्त राम्रो योगी देखी-यस्तो राम्रो र अलौकिक योगी मैले आजसम्म देखेकी थिइन, मेरो घरमा माग्न पनि कहिल्यै आएको थिएन। यस्तो " नवीन योगीलाई भिक्षा दिनै पर्दछ-इत्यादि तर्क गरी भिक्षा लिएर गइन्-हे योगिराज! के माग्नको इच्छाले। आयौ? भजन भनिन्। अनि योगी भने-'केही माग्ने इच्छाले आएको हुँ, दिने भए माग्छु, नदिने भए व्यर्थ के माग्नु?' त्यति सुनी वृन्दाले भनिन्-'मैले दिन हुने वस्तु जे मागे पनि दिनेछु' भनी वाचा (प्रतिज्ञा) गरेपछि योगीले भने-अरु केही चाहिन्न, केवल तिमीले कोठामा थुनिराखेकोलाई माग्दछु, त्यही यौटा देऊ।' योगीको वचन सुनेर वृन्दा मनमनै विचार गर्न लागिन्- अब के गरौं? यस योगी छल गरेर वाचा-बन्धन, गराई माग्यो। नदिए वाचा हारिन्छ। जे भए पनि वाचा हार्नु अनुचित हो-यस्तो तर्क गरेर कोठामा थुनिराखेका जालन्धर रूप विष्णुलाई बाहिर ल्याई योगीको जिम्मा लगाइदिइन्।

 

यसरी विष्णुलाई साथमा लिएर योगी बाहिर निस्की अन्तर्धान भइ कैलास पुगेर शिवजीलाई सारा कुरा सुनाए। यता विष्णु बाहिर आएपछि मनमा तर्कना गर्नलागे-म वृन्दाको सत्य डगाउन आएको, उसैले छली यतिका दिनसम्म थुनेर राखी, महादेवले के भन्नुभयो होला इत्यादि चिन्तन गर्दै गरुडमा चढेर कैलास पुग्दा भए। विष्णु कैलास जाँदा गरुड़ उडेको चर्को शब्दले जालन्धर मूर्छाबाट जागेर केको शब्द हो भनी विचार गर्दा विष्णुले कैलासको चर्चा गरिरहँदा रहेछन्, अतः पार्वतीलाई छल्न कठिनमात्र होइन कि असम्भव रहेछ, अब यहाँ नबसौं, घरै जाऊँ भनेर जालन्धर आफ्नू घर गयो।

 

उता विष्णु महादेवको सामुन्ने गएर प्रणाम गरी एकातिर उभिइरहे। विष्णुतिर हेरेर महादेवले आज्ञा भयो-'हे विष्णु! तिमी वृन्दाको सत्य डगाउन गएका यतिका दिनसम्म त्यहाँ के गरिरह्यौ? आफ्नू काम अर्थात् उसको सत्य डगाउन सक्यौ कि सकेनौ?' महादेवको यस्ता वचन सुनी विष्णु बिन्ती गर्दछन्! हे शम्भो! हजुरको आज्ञाले म गएँ, तर वृन्दाले छली म फर्केर नआएसम्म कोठामै बसिरहनु भनी प्रतिज्ञा गराई मलाई थुनेर आफू बाहिर, निस्की। ऊ आउली भनेर बस्ता-बस्ता कैयौं दिन बिते। वाचा हारेको र प्रतिज्ञा गरेको हुनाले त्यहाँबाट निस्कन नसकेर बसिरहेको थिएँ, पछि यौटा योगीको साथ लगाई छाडिदिई र हजूरको दर्शन गर्न हाजिर भएँ। विष्णुको यस्ता वचन सुनी महादेवले ब्रह्मा, इन्द्र आदि तेत्तिसकोटि देवता, यक्ष, गन्धर्व, किन्नर, नन्दी-भृङ्गी, चतुःषष्ठी योगिनी, भूत-प्रेत, पिशाच राक्षस सबै जम्मा गरी आज्ञा भयो-हे देवता हो! तिमीहरू गएर पापिष्ट जालन्धरलाई मारेर आओ।' यति शिवजीको वचन सुनी देवताहरू 'हवस्' भनी तयार भए। अनि शिवजीले नारद मुनिलाई डाकी-हे मुने! तिमी गएर । जालन्धरलाई-'तिमीसित लडाइँ गर्न समस्त देवताहरू आउन लागेका छन्। तिमी संग्रामको तयारी गर' भनिदेऊ। शिवजीको आज्ञा अनुसार नारदजी तत्काल जालन्धरको घर जाँदा भए।
 

हे मुने! उता जब कैलासबाट जालन्धर आफ्नू घर गयो। तब वृन्दाले स्वामी आएको देखेर पाऊ धुवाई भित्र लगेर बसेपछि सोधिन्-'हे स्वामी! पार्वतीलाई। छल्न जानु भएको के कसो भयो?' अनि जालन्धर भन्दछन्-हे प्रिये! त्यस विषयमा विस्तारले भन्दछु, सुन-म महादेवको भेष धारण गरी कैलास पुग्दा पार्वतीले देखिन् र सुवर्णको कमण्डलुले मेरो खुट्टा धुन आइन्। त्यसै वेला मैले देखें, ती भन्दा सुन्दरी स्त्री तीनै लोकमा हुनु असम्भव छ। अतः तिनको अनिन्द्य रूप देख्नासाथ मेरो होश हराई मूर्छा परेर भूमिमा ढलेको थिएँ। पछि चेत आयो र उठेर हेर्दा पार्वती कता गइन् केही जान्न सकिन र घर फर्केर आएँ। त्यति आफ्ना स्वामीको वचन सुनी वृन्दा भन्दछिन्-हे स्वामी! तपाईं यहाँबाट हिंडेपछि विष्णुले तपाईंको रूप धारण, गरी मलाई छल्न आएका थिए, तर मैले चिन्हेर निकै, दिनसम्म कोठामा थुनिराखेकी थिएँ। पछि यौटा अनौठो भिक्षुक आएर माग्दा विष्णुलाई दिई पठाएँ। यति स्त्रीको वचन सुनी जालन्धर रिसाई-हे प्रिये! त्यस्तो हो भने म पार्वतीलाई नछली छाड्दिन। फेरि जान्छु भन्दै जालन्धर घरबाट निस्कनु र शिवजीको आज्ञाले गएका नारद मुनि टुप्लुक्क पुग्नु एकसाथ भयो। अनि नारदजीले सोधे-'हे जालन्धर! तिमी कहाँ जान हिंडेका? उसले भन्यो-'म भिक्षा माग्न हिंडेको हुँ।' तब नारदजीले फेरि भने-हे जालन्धर! मिथ्या कुरा किन भनिरहेका छौ? तिमी जानलागेको मैले जानिसकें: पार्वतीलाई छल्न हिंडेका हौ। सुन-तिमीसित लडाईँ गर्न ब्रह्मादि  सकल देवताहरू आउन तयार भइ खबर दिन मलाई पठाएका हुन्। अब तिमी अन्त कतैतिर जान पट्टि नलागेर आफ्ना फौज र शस्त्रास्त्र लिई संग्रामको तयारी गर।

 

यति नारदजीको कुरा सुनी 'त्यसो भए धरै फर्कन्छु' भनी आफ्नी पत्नीलाई नारदसित भएका सबै कुरा बुझाई-'अब म संग्राममा जान्छु, तिमी घरको सम्भार गरे' भनी हातमा त्रिशूल लिएर आफ्ना समस्त सेना जम्मा गरी देवताहरूसित लडाइँ गर्न कैलासतर्फ गयो। नारदजीले कैलास पुगी जालन्धरसित भएको सारा कुरा शिवजीलाई बिन्ती चढाए। त्यसपछि महादेवले ब्रह्मा, विष्णु, इन्द्र, यम आदि सकल देवतालाई युद्ध, गर्न जाओ भनी आज्ञा दिनु भयो। महादेवको आज्ञा पाउनासाथ समस्त देवताहरू नाना तरहका बाजा बजाई सिंहनाद गर्दै, प्रलयकालको मेघ झै गर्जन्दै कैलासबाट हिंडे। बाटोमा दुवै तर्फका सेनाको जम्काभेट भएर भयंकर संग्राम आरम्भ भयो। देवताहरूले बेसरी चिच्याई अनेकानेक शस्त्रास्त्र प्रहार गरे। तर तिनको प्रहारले जालन्धरलाई केही हानि गर्न सकेन आफूले प्रहार गरेका शस्त्र-अस्त्रले शत्रुको केहि हानि गर्न नसकेको देखेर देवताहरू मनमा दिक्क मानी आफाफ्ना शस्त्रास्त्र झिकी चुपचाप भए। तब वैकुण्ठनाथ विष्णु रिसाई पाञ्चजन्य शंख बजाई कौमोदकी गदा प्रहार गरे। त्यस गदाले जालन्धरलाई छुदै छोएन। अनि देवराज इन्द्र रिसाई वज्र प्रहार गरे । त्यसले पनि केही गर्न सकेन। जालन्धरले नटेरी तृण-समान मानेर चुप लागिरह्यो। त्यति हुँदा पनि देवताहरूले शस्त्र प्रहार गर्न छाडेका थिएनन्।

 

आखीरमा विष्णु भगवानले अब यस्तो चालले केही हुन सक्तैन भनी महादेवकहाँ गएर- हे जगदीश्वर! हामीले जालन्धरलाई मार्न सकेनौं। तपाईं बिना त्यसलाई मार्न अरुको शक्ति पनि छैन। अब तपाईंले नै संग्राममा जानु पर्यो। यति विष्णुका वचन सुनी महादेव आज्ञा गर्नुहुन्छ-हे विष्णु! जालन्धरकी स्त्री वृन्दाको पतिव्रता धर्मले गर्दा जालन्धरलाई कसैले पनि मार्न सक्तैन। अत: तिमी आफ्नो मायाले छोपी जालन्धरको रूप धारण गरी अन्तःपुरमा गएर वृन्दाको पतिव्रताधर्म नष्ट गराऊ। म गएर त्यस पापिष्टलाई मार्दछु। यति शिवजीको आज्ञा सुनी विष्णु त्यहाँबाट, 1. बिदा भइ तुरुन्त जालन्धरको रूप धारण गरेर बायाँ हातमा त्रिशूल र दाहिने हातमा डमरु बजाई आफ्नू मायाले छोपी अन्त:पुरमा जालन्धरको घर पुगे भेषधारी जालन्धर आएको देखी वृन्दाले हात-पाउ धोएर कोठामा लगेर आसनमा बसालेर सोधिन्-हे स्वामी! महादेवसित युद्ध गर्न जानुभएको के गरेर आउनु भयो? त्यति सुनेर भेषधारी विष्णु आज्ञा गर्दछन्-हे प्रिये! महादेवसितको युद्धमा थकाइ मारूँ र विश्राम गर्न आएको छु। भोक लागिरहेछ केही खानेकुरा ल्याऊ । त्यति सुन्नासाथ वृन्दाले चौरासी व्यंजन तयार पारी भोजन गराइन। अनि रात परेपछि वृन्दासँग अनेक तरहका वार्तालाप गरेर त्यसको पतिव्रता-धर्म नष्ट पारिदिए। रात बितेपछि जालन्धरको रूप छाडी आफ्नो स्वरूप चार बाहुमा शंख, चक्र, गदा, पद्म धारण गरी दर्शन दिए। त्यो देखेर वृन्दा रिसाई-हे पापिष्ट विष्णु! तिमीले कपट। गरेर मेरो पतिव्रता धर्म नष्ट गरिदियौ भनिन्। अनि विष्णु आज्ञा गर्नुहुन्छ-हे वृन्दा! जालन्धरलाई शिवजीले, हिजै मारिसके। अब तिमीले म वैकुण्ठको अधिपति भएको नारायण जस्तोलाई स्वामी पाएपछि तिमीलाई केको चिन्ता? तिमी पत्याउन्नौ भने एक छिनमा समाचार पाउली भनी नाना तरहसित वृन्दालाई बुझाउँदा भए।
 

इति श्री स्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये कुमारअगस्त्यसंवादे श्रीस्वस्थानी पर्मेश्वर्या-व्रतकथायां वृन्दापतिव्रताधर्महरणंनाम सप्तदशोऽध्यायः ।। १७।। 

कथा सकिएपछि निम्न स्तोत्र पढेर पुष्पाञ्जलि गर्नु-

उपनयतु मंगलं वः सकल जगन्मंगलालयः श्रीमान् ।

दिनकर किरण निबोधित नवनलिनदलनिभेक्षणः कृष्णः ।।

काले वर्षतु पर्जन्यः पृथिवी शस्यशालिनी । 
देशोऽयं क्षोभरहितो ब्राह्मणाः सन्तु निर्भयाः ।। 

अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः । 
निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।

तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च ।

तीर्थानि सर्वाणि वसन्ति तत्र, यत्राच्युतोदार कथा प्रसंगः ।।

या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता ।
या वीणा वरदण्डमण्डितकरा या श्वेतपद्मासना ।।
या ब्रह्माच्युत शंकरप्रभृतिभिर्देवैः सदा वन्दिता ।
सा मां पातु सरस्वती भगवती निःशेष जाड्यापहा ।।

कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृतिस्वभावात् ।

करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पये तत् ।।

श्री स्वस्थानी देव्यार्पणमस्तु ।

यति भनिसकेर कथा सुन्ने जति समस्त श्रोताहरूले | पुष्पाञ्जलि चढाई दण्डवत् गर्नु र आफाफ्ना मनको इच्छित वरदान माग्नु ।

 

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish