कुमारजी आज्ञा गर्नुहुन्छ-हे अगस्त्य मुनि! त्यसपछि पौषशुक्ल पूर्णिमाको दिन आयो र पार्वतीले श्री विष्णुको उपदेश अनुसार सखी समेत भई हात-खुट्टाका नङ काटी स्नान गरी पवित्र भइ एकभक्त रही एकचित्त गरी नित्य मध्याह्नकालमा श्री महादेवको पूजा गर्न लागिन्। महिना दिन पूरा भयो र माघशुक्ल पूर्णिमाको दिन सम्पूर्ण सामग्री तयार गरी श्री स्वस्थानी परमेश्वरीको विधिपूर्वक पूजा ध्यान जप र स्तोत्र पाठ गरिन्। देवराज इन्द्रले त्यो समाचार पाएर देवताहरूसित भने हे देवता हो! अब पापिष्ट तारकासुरको नाश हुने समय आयो, किनकि हिमालय पर्वतकी पुत्री पार्वतीले महादेव स्वामी पाएपछि उनका गर्भबाट पुत्र जन्मनेछन् तिनै कुमारले हाम्रो शत्रु तारकासुर देत्यलाई मारिदिने छन्। अनि हामी अमरावती प्राप्त गरी राज्य-सुख भोगौंला। फेरि महादेव सतीदेवी मनर्नाले शोक गर्दै सम्पूर्ण पृथ्वी भ्रमण गरिसकेर उत्तरापन्थमा काम, क्रोध, लोभ, मोह त्यागी सम्पूर्ण इन्द्रिय रोकी तीन नेत्र । बन्द गरी केवल परब्रह्ममा चित्त लगाएर ठूलो कष्टले। तपस्या गरिरहेका छन्। अत: महादेवलाई तपस्याबाट च्युत गराई फेरि काम क्रोध, लोभ, मोहमा ल्याउने उपाय के छ?
यति सुरराजले भनेको सुनी देवताहरूले भने-हे देवेन्द्र! यो काम गर्न कामदेव बाहेक अरू कसैले सत्तैन। अतः कामदेव गई महादेवको हृदयमा कामबाण प्रहार गरेर आउन्। सृति देवताहरूको कथन सुनी देवेन्द्रले स्वीकार गरी कामदेवलाई डाक्न तुरुन्त वायुलाई पठाए। वायु पनि तत्काल गएर कामदेवलाई इन्द्रको आज्ञा सुनाई लिएर आए। अनि कामदेवले इन्द्रलाई मलाई के कामले डाक्नुभयो? भनी सोधेपछि इन्द्रले भने-हे कामदेव! सतीदेवी मर्नाले महादेव उत्तरापन्थमा गई काम, क्रोध, लोभ, मोह त्यागी सम्पूर्ण इन्द्रिय रोकेर परब्रह्ममा चित्त लगाई तपस्या गरिरहेका छन्। महादेव बिना यो संसारको रक्षा को गल्ला? अतः तिमी त्यहाँ गई महादेवलाई कामबाण हानी फेरि काम, क्रोध, लोभ, मोहमा ल्याऊ । यति सुरेन्द्रको आज्ञा सुनी 'हुन्छ' भनी आफ्नी पत्नी रति समेत भई उत्तरापन्थमा गए।
हे अगस्त्य मुनि! कामदेव त्यहाँ पुगेर पहिले शिवलाई साष्टांग दण्डवत् गरी सुरराजको आज्ञाले कामबाण कानसम्म खैंची मर्मस्थान ताकेर प्रहार गरे। अनि महादेवले थाहा पाएर क्रोधित भई सहसा आँखा उधारेर हेर्नासाथ तीनै नेत्रबाट अग्निका ज्वाला निस्की कामदेवलाई भस्म पारिदियो। तब कामदेवकी स्त्री रतिले आफ्ना स्वामी भस्म भएको, देखी अनेक प्रकारले शोक गर्दै शिवजीका पाउमा परेर बिन्ती गरिन् -हे प्रभो! यो अपराध मेरा स्वामीको होइन। देवराजको आज्ञाले हजूरको हृदयमा कामबाण प्रहार गरेको हो। हे जगदीश्वर! म देखि प्रसन्न भई स्वामी दान दिनु हवस्। हे शम्भो! हजूर दुष्ट जनको संहार र साधु जनको रक्षा गर्ने यस्ता हजुरलाई कोटि कोटि नमस्कार। हजुरको स्तुति गर्न शेषनाग र सरस्वतीले पनि सत्तैनन् भने म कसरी सक्नेछु! हे भक्तवत्सल! मलाई विधवा नतुल्याई मेरा स्वामीको जीवन दान दिएर सन्तुष्ट पार्नुहवस्।
रतिले त्यसरी स्तुति गरेको सुनी महादेवलाई दया लाग्यो र आज्ञा गर्नु भयो- "हे रति! यस जन्ममा अब तिमी स्वामी पाउन सक्तिनौ। द्वापरयुगको अन्त्यमा विष्णु भगवानले अवतार लिने छन्। तिम्रो स्वामी तिनै कृष्णका पुत्र प्रद्युम्न भएर जन्म लिनेछन्। अनि तिमी दुवैको भेट होला । अहिले, दुःख नमानी घर जाऊ।' महादेवले यति आज्ञा भएको सुनी रतिले 'जो आज्ञा' भनी शिवलाई दण्डवत् प्रणाम गरी घर फिरिन्।
त्यसपछि महादेवले सतीदेवीलाई सम्झी कहाँ जन्म लिन गइन् भनी ध्यान दृष्टिले विचार गर्दा हिमालय पर्वतकी पुत्री पार्वती भएर जन्मी श्री महादेव स्वामी पाऊँ भनी नाना तीर्थ, व्रत, तप-जप आदि गरेको र विष्णुको उपदेशले श्री स्वस्थानी परमेश्वरीको व्रत, गर्न लागेको थाहा पाएर अब तिनको चरित्र हेर्दछु, भनी देवेन्द्रको रूप धारण गरी हातमा वज्र लिई, ऐरावत हात्तीमा चढेर पार्वतीले व्रत गरेको स्थानमा पुग्नुभयो।
महादेव कस्तो समयमा त्यहाँ पुग्नुभयो भने सम्पूर्ण व्रत गरिसकी हातमा अर्घ्य लिएर-हे ईश्वरी! निरंजन, निराकार रूप हजुरलाई कोटि-कोटि नमस्कार। सम्पूर्ण व्रत पनि तिमी, सृष्टि-स्थिति-संहार गर्ने पनि तिमी, पञ्चमहाभूत र सत्व, रज, तम त्रिगुण पनि तिमी। यो समस्त ब्रह्माण्डमा आत्मस्वरूप भएकी र, आदिशक्ति पनि तिमी, कालस्वरूि पनि तिमी, आदि,, मध्य, अन्त्य पनि तिमी। यस्ती अव्यक्त स्वरूप भएकी तिम्रो गुणगान गर्न शेष र सरस्वतीले पनि नसकेको म कसरी सक्नेछु! मेरो पूजाले प्रसन्न हुनुहोस् भनी, अनेक प्रार्थना गरेर प्रसाद झिक्न लागेको वेलामा, इन्द्रस्वरूप महादेव पुग्नुभयो। तब पार्वतीले देखेर, यथायोग्य सत्कार गरी-हे देवराज! के कामले आउनु भयो, आज्ञा होस् भनिन् र इन्द्रस्वरूप महादेव आज्ञा गर्नुहुन्छ-हे पार्वती! तिम्रो श्रद्धा-भक्ति देखेर म प्रसन्न भएँ। महादेव स्वामी पाउन भनी यो व्रत गन्यौ, तर, ती महादेव कस्ता छन् भने-बौलाहा जस्ता महानिर्धिनी, नागका गहना लगाएका, बाघको छाला कम्मरमा बेहेका, भूत-प्रेत, प्रमथगण साथमा लिई वूढो गोरूमा चढेका, दाहिने हातमा डमरू र बायाँ हातमा त्रिशूल लिएका,, विष, भाङ, धतूरो खाई निर्लज्ज झै डुल्ने र अघोर मूर्ति भइ श्मशानमा वास गर्ने। तिमी भने यस्ती परम सुन्दरीलाई त्यस्ता महादेव स्वामी कदापि योग्य छैनन्। म सम्पूर्ण देवताको राजा बरू मलाई स्वामी तुल्याई स्वर्गकी रानी भएर अलभ्य सुख भोग गर।
https://amritastrology.com.np/
यति इन्द्रस्वरूप महादेवले आज्ञा भएको सुनी पार्वती रीसले चूर भई भन्न लागिन्-'हे पापिष्ट इन्द्र! मैले यस्तो श्री स्वस्थानी परमेश्वरीको व्रत गरेको स्थानमा आएर महादेवको निन्दा गर्यौ, म यो सहन सक्तिन। अब म तिमीलाई श्रापदिन्छु' भनी श्राप दिन तयार भइन् र इन्द्रस्वरूप महादेव डराई-हे पार्वती! म इन्द्र होइन, तिम्रो चरित्र हेर्न इन्द्रको रूप धारण गरेर आएको हुँ। धन्य तिम्रो भक्ति! तिम्रो तपस्याले म सन्तुष्ट भएँ भनी आफ्नू ज्योतिस्वरूपको दर्शन दिनुभयो र पार्वतीले महादेवको दर्शन पाएर मनमा आनन्द मानी साष्टांग प्रणाम गरिन्। अनि-हे जगदीश्वर! मैले अनेक व्रत, दान, यज्ञ, जप, तप करें तैपनि हजुरको दर्शन पाइन। आज वैकुण्ठनाथ विष्णुको उपदेशले श्री स्वस्थानी परमेश्वरीको व्रतको प्रभावले हजुरको दर्शन पाएँ। अब स्वस्थानी परमेश्वरीको प्रसाद दिन कन्यादान भएको, छैन, कसो गरूँ? भनी बिन्ती गरिन्। अनि महादेव, प्रसन्न भई पार्वती कन्यादान लिन हिमालय पर्वतका, घर जानुभयो।
हिमालय पर्वतले महादेव आउनु भएको देखी आफ्नी पुत्रीले महादेव स्वामी पाउन लागी भनी वडो हर्ष मानी आफ्नी स्त्री मेनकासित भने-हे स्त्री! हामी धन्य रहेछौं! पार्वती कन्यादान लिन स्वयं महादेव आउनुभयो। अब कन्यादानको सामग्री तयार पार भनी अह्राए। अनि वसिष्ठ आदि ऋषि ज्योतिषीहरूलाई डाकी लग्न विचार गरेर अक्षय तृतीयाको दिन लग्न ठहराई। सम्पूर्ण देवता, ऋषि, यक्ष, गन्धर्व, किन्नर, दैत्य, 0 नाग, अप्सरा उपस्थित भई यज्ञमा बसे। ब्रह्माजी यज्ञ गराउन लागे। अन्य ब्राह्मणहरू वेद पाठ गर्नलागे। अप्सराहरू नाच-गानमा लागे। देवकन्या, यक्षकन्या, नागकन्या, दैत्यकन्या आदि नाना वस्त्र अलंकार पहिरी उभन्दा उराम्री, उ भन्दा ऊ राम्री बनी पार्वती कन्यादान दिएको हेर्न लागेका थिए। हिमालयकी पत्नी मेनका पनि पार्वतीलाई सुगन्ध लेपन गराई हीरा, मोती, मणि-माणिक्य आदि रत्न जडेका गहना र वस्त्रहरू पहिराई सिंगारी राखेकी थिइन्। त्यस बखत पार्वतीभन्दा राम्री, तीनै लोकमा कोही पनि देखिएनन्। मंगल गीत गरी हातमा जौ-तिल कुश लिई हिमालयले पार्वतीको हात समाती मेनकाले सुवर्णको कमण्डलुले जलको धारा दिई कन्यादानको संकल्प पढ्दा हिमालयले सोधे- 'हे ईश्वर! यस शुभ लग्नमा म आफ्नी पुत्री कन्यादान दिन तयार छु, हजुरको गोत्र के हो? बिना गोत्रले, गरेको काम अधुरो हुन्छ र शुभ कर्मको फल पनि प्राप्त हुँदैन भनी शास्त्रहरूको कथन छ।"
हिमालयको त्यस्तो वचन सुनी महादेव केही पनि उत्तर दिन नसकी लाज मानी अधोमुख गरिरहनु भयो। हिमालये पनि पार्वतीको हात समाती महादेवको मुखमा हेरिरहे। विष्णु प्रभृति समस्त देवता, यक्ष, किन्नर, गन्धर्व, दैत्य, नाग आदि कसैले पनि 'यो त्यसै हो' ' भन्न सकेनन्। त्यसै मौकामा नारद मुनि सतीदेवीका हाड़को यन्त्र बनाई शिव-गीत गाउँदै हिमालयकहाँ आइपुगे र सबै कुरा सुनेपछि भने-'हे गिरिराज! जो सम्पूर्ण ब्रह्माण्डको सृष्टि-स्थिति-संहार गर्दछन्, जो अहिले यौटै छन् तापनि आफ्नू मायाले ब्रह्मा, विष्णु, महेश, तीन रूपका बन्दछन्। आदि पुरुष इनै हुन्। इनका, माता-पिता पनि छैनन्, जात पनि छैन र गोत्र पनि छैन। सर्वव्यापी पनि इनै, तेत्तीसकोटि देवताका माता-पिता पनि इनै। फेरि चौधै भुवनमा भएका समस्त जीवात्माका हृदयमा बसेर पाप-पुण्यको साक्षी भइरहेका पनि इनै। निरंजन निराकार पनि इनै। यस्ता ईश्वरको महिमा वर्णन गर्न हजार जिभ्रा भएका शेषनाग र सरस्वतीले पनि नसकेको म कसरी सकुँला? अत: शंका नमानी जगदीश्वर महादेवलाई पार्वती कन्यादान देऊ।' नारद मुनिले यति भनेको सुनी सम्पूर्ण देवता, यक्ष, गन्धर्व, किन्नर, नाग आदिले-' नारद मुनिले सत्य भने' भन्दै समर्थन गरे।
अनि हिमालयले महादेवलाई पार्वती कन्यादान दिए। पार्वतीले महादेवको गलामा फूलको माला पहिराइन् र तीन पल्ट प्रदक्षिणा गरी पाउमा ढोगिदिइन्। हिमालयले पनि आएका जति सबै देवता, यक्ष, गन्धर्व, किन्नर, दैत्य, नाग आदि-लाई, भोजन गराई यथायोग्य दक्षिणा दिए। त्यसपछि सबैले हिमालयसिंत भने-हे हिमालय! तिमी धन्य रहेछौ। तिमी झै भाग्यमानी सातद्वीप, नवखण्डमा पनि हुन दुर्लभ छ। तिमीले संसारमा जन्म लिएको सफल भयो किनभने जुन जगदीश्वर महादेवलाई कठोर तपस्याले पनि दर्शन गर्न पाउन्नन्, उनैलाई ज्वाइँ रूपमा पायौ। हामी कृतार्थ भयौं। अब बिदा पाए आफाफ्ना आश्रममा जाने थियौं। निमन्त्रणमा आएका सबैले यति भनेपछि हिमालयले आदरपूर्वक बिदा दिएर सबै आफाफ्ना आश्रममा जाँदा भए।
इति श्री स्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये कुमारअगस्यसंवादे श्रीस्वस्थानी परमेश्वर्या-व्रतकधायां पार्वतीविवाहवर्णनंनाम त्रयोदशोऽध्यायः।। १३।।