श्रीस्वस्थानी व्रतकथाको द्वादशोऽध्यायः, श्रीविष्णुद्वारा पार्वतीलाई स्वस्थानी व्रतको उपदेश

कथा भन्ने र सुन्ने सबैले चन्दन, अक्षता, फूल लिएर हात जोर्नू ।
वक्ताले तलको स्तुति पढ्नु-

यं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतः स्तुन्वन्ति दिव्यैः स्तवै- र्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः । 
ध्यानावस्थित-तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्याऽन्तं न विदुः सुरासुरगणा देवाय तस्मै नमः ।।१।।

श्रीमच्चन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका-

मालाऽलंकृतकुण्डला प्रविलसन्मुक्तावलीशोभिता ।
सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा 
वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।।

मूकं करोति वाचालं पङ्गं लङ्घयते गिरिम् ।
यत्कृपा तमहं वन्दे परमानन्दमाधवम् ।।३।।

नमो भगवते तस्मै व्यासायाऽमिततेजसे ।
यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् ।।४।।

नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम् ।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।५।।

सबैले पुष्पाञ्जलि पुस्तकमा चढाएपछि वक्ताले कथा भन्न थाल्नु। श्रोताले एकचित्त भएर कथा सुन्नु। 

अथ द्वादशोऽध्यायः

कुमारजी आज्ञा गर्नुहुन्छ-हे अगस्त्य मुनि! त्यसपछि हिमालय पर्वतले आफ्नी पत्नी मेनका गर्भिणी भएको थाहा पाई अत्यन्त हर्षपूर्वक आफ्नो मर्यादा अनुसार उचित कर्म गरिदिए। दस महीना पूरा भएपछि मेनकाको गर्भबाट हिमालयकी कन्या जन्मिन्। ती कस्ती कन्या थिइन् भने-हजार सूर्यको तेज जस्तै तेज भएकी, रक्तवर्ण र कोमल अंग एवं परम सुन्दरी, पद्मपत्र जस्ता नेत्र भएकी, बत्तीस लक्षणले युक्त कन्या जन्मेकी देखेर हिमालयले वसिष्ठ प्रभृति ऋषि र ज्योतिषीहरूलाई डाक्न पठाएर विधिपूर्वक न्वारान गराए। अनि वसिष्ठ प्रभृति ऋषि ज्योतिषीहरूले बिदा हुने बखतमा भने- हे हिमालय! यस बालिकाको नाम 'पार्वती' राख्यौं। गिरिराज! तिमी धन्य रहेछौ। यी बालिकाले श्री महादेव स्वामी पाएर चौधै भुवनकी स्वामी हुनेछन्। समस्त पापी र दुष्टहरूको संहार गर्नेछन्। तिम्रो श्रद्धा भक्तिले हामी सन्तुष्ट भयौं। अब आज्ञा पाए आफाफ्ना आश्रममा जाने थियौं। यति वसिष्ठ आदि ऋषि ज्योतिषीहरूले त्यस्तो भनेको सुनी हिमालय पर्वतले प्रसन्न भई नाना मणि-माणिक्य सुवर्ण द्रव्यादि दक्षिणा दिई प्रमाण गरेर विदा दिए। अनि समस्त आगन्तुक र वसिष्ठ प्रभृति ऋषि ज्योतिषी आफाफ्ना आश्रममा गए।

 

त्यसपछि पार्वती शुक्लपक्षका चन्द्रमा झैं दिन-दिनै बढेर ठूली भइन्। तिनी खेल्दा पनि शिव-पूजा गरेर नै खेल्दथिन्। यस्ता प्रकारले बाल अवस्थादेखि शिवको भक्तिमा चित्त लगाइरहेकी थिइन्।
एक दिन नारद मुनिले विष्णु भगवान् कहाँ गएर भने-हे वैकुण्ठनाथ! हिमालयकी कन्या पार्वती सबै तरहले तिम्रो योग्य छन्। कस्ती भने लक्ष्मी भन्दा पनि सुन्दरी, बत्तीसै लक्षणले युक्त भएकी ती कन्यासंग तिमी विवाह गर। यति नारदमुनिले भनेको कुरा सुनी विष्णु भगवान् आज्ञा गर्नुहुन्छ-' हे मुने! के हिमालयले ती कन्या मलाई देलान् र?' नारद मुनिले उत्तर दिए 'त्यसको चिन्ता तिमीले लिनु पर्दैन। म अहिल्यै गएर पक्का निधो लिएर आउँछु' यति भनी तुरुन्त हिमालयकहाँ पुगे।

 

हिमालय पर्वतले भेटेर उचित सत्कार गरिसकेपछि नारदजी भन्दछन् - हे गिरिराज! तिमीसित केही भन्न आएको हुँ। तिम्री कन्या पार्वती वैकुण्ठनाथ विष्णुलाई देऊ।' यति नारद मुनिको कुरा सुनी प्रसन्न भएका हिमालय पर्वत भन्दछन्-हे मुने! यो अत्यन्त उत्तम कुरा भन्यो। तिम्रो आज्ञाले मेरी पुत्री वैकुण्ठनाथ विष्णुलाई दिश अब विष्णुकहाँ गएर यो कुरा भन। यति हिमालय पर्वतले भनेपछि नारद मुनि वैकुण्ठ गएर हिमालयसित भएको सबै कुरा सुनाए। अनि हिमालय पर्वतले आफ्नी कन्या तिमीलाई दिन्छु भने-यति नारद मुनिको कुरा सुनेर विष्णु प्रसन्न भएर-हे नारद! तिमी धन्य रहेछौ। अब आफ्नू आश्रममा जाऊ भनेर बिदा दिएपछि नारद मुनि आफ्नू आश्रममा गए। त्यसपछि हिमालय पर्वतले पार्वती कन्यादान दिन भनी सामग्री तयार पारी नारद मुनिलाई डाकेर विष्णुकहाँ पठाई राम्रो लग्न ठहराई आफ्ना गुरु बृहस्पति आदि सम्पूर्ण देवता, यक्ष, गन्धर्व, किन्नर, दैत्य र नाग सबैलाई निमन्त्रण पठाए। अनि विष्णु भगवान् पार्वती कन्यादान लिन हिमालयकहाँ पुगे।

 

 

उता मेनकाले हीरा-मोती, मणि- माणिक्य नाना रत्नहरूले झकाझक पारेर वस्त्रालंकार पहिराई सिंगारिराखेकी थिइन्। त्यो देखेर जया, विजया, अजिता, अपराजिता आदि सखीहरूले पार्वतीलाई भरनें-हे सखी! आज तिम्रो विवाह हुन्छ। विष्णुलाई कन्यादान दिन्छन्। यति सखीहरूले भनेको सुनी पार्वतीको मनमा शंका उत्पन्न भयो-'मैले बाल अवस्थादेखि नै श्रीमहादेव स्वामी पाऊँ भनेर धाइरहेकी छु, अझ पनि महादेवलाई। नदिएर अरु कसैलाई दिए भने म आत्महत्या गरेर मर्नेछ।' तिनको कुरा सुनेर सखीहरूले भने-'हे पार्वती! त्यसो हो भने तिमी यहाँ नबस। हामी कसैले पनि नदेख्ने स्थानमा लुकाएर आउँछौं, लौ हिंड।' यति सखीहरूले भनेको सुनी-हे सखी हो, जसो गर्ने हो गर, म केही जान्दिन भनिन्। त्यसपछि सखीहरूले नदीतटको वनमा लगेर पार्वतीलाई कसैले नदेख्ने एकान्त ठाउँमा लुकाएर आए।

 

त्यसपछि हिमालय पर्वतले आफ्ना गुरु बृहस्पतिलाई यज्ञमा बसाली सारा विधि गरिसकेर कन्यादान दिन पार्वतीलाई लिन पठाए। तर घरमा देखेनन् र यता-उता सबै खोज्न लगाए। कहीं पनि पाउन सकेनन् र हिमालय पर्वतले अत्यन्त व्याकुल भई गुरु बृहस्पति कहाँ गएर-पार्वती कहीं पनि छैनन्, अब के कसो गरूँ, भने। यति हिमालय पर्वतले भनेको सुनी गुरु बृहस्पतिले 'यस लग्नमा भएन' भनी विष्णुलाई बिन्ती गरे अनि आएका जति सबै फर्केर आफाफ्ना आश्रममा जाँदाभए। उता सखीहरूले पार्वतीलाई वनमा लुकाएर आएपछि पार्वतीले नदीतटमा बसेर बालुवा ल्याई त्यसको पार्थिव शिवलिंग बनाएर श्रीमहादेवको आराधना गर्न लागिन्। उसै बेला दुइ दैत्य, प्रघोष र दमघोष आएर पावतीको सौन्दर्यमा लोभिएर अनेक प्रकारका नराम्रा चेष्टा देखाउन लागे। तिनको चेष्टा देखेर पार्वतीलाई रीस उठ्यो र उनले हेर्ने साथ दुवै भस्म भए।

 

https://amritastrology.com.np/

अनि पार्वती बनाएको शिवलिंगबाट स्वयं महादेव प्रकट भई आफ्नू ज्योति- स्वरूपको दर्शन दिनुभयो र हे पार्वती! तिमीले मेरो किन आराधन गरेकी? पार्वतीले बिन्ती गरिन्-हे जगदीश्वर! मैले बालककालदेखि नै श्रीमहादेव स्वामी पाऊँ भनेर हजुरलाई धाइरहेकी छु। मेरा पिता हिमालय पर्वतले विष्णुलाई कन्यादान दिन लाग्दा भागेर यहाँ लुक्न आएकी हुँ। म देखि प्रसन्न भई रक्षा गर। हे प्रभो! मेरो इच्छा पूर्ण गराऊ। पार्वतीको यस्तो प्रार्थना सुनेर महादेव आज्ञा गर्नुहुन्छ-' हे पार्वती! तिम्रा माता-पिताले कन्यादान नदिई मैले तिमीलाई 'मेरी' भन्न मिलेन! फेरि विष्णु आएर तिमीलाई जस्तो उपदेश दिनन्, उसैमाफिक गरे, इच्छा पूर्ण हुनेछ।' महादेवको यस्तो शिक्षा सुनेर पार्वतीले जो आज्ञा भनी साष्टांग प्रणाम गरिन्। अनि महादेव अन्तर्धान हुनुभयो।

 

त्यसपछि सखीहरू आए र पार्वती घर गइन्। छोरी आएकी देखेर रिसाएका हिमालयले भने-हे पुत्री! तिमी कहाँ गएकी थियौ? पार्वतीले विन्ती गरिन्-हे पिता! म बालककालदेखि नै श्री महादेव स्वामी पाऊँ भनी उनैलाई धाइरहेकी छु र उनकै ध्यान भक्ति पनि मेरो हृदयले सदैव गरिरहेछ। हजुरले श्री विष्णुलाई दिनलाग्दा लुक्न गएकी थिएँ। आफ्नी पुत्री पार्वतीले यति भनेको सुनी उनको । न्वारानका दिन वसिष्ठ प्रभृति ऋषि र ज्योतिषीहरूले पार्वतीको विषयमा भविष्यवाणी गरेको सम्झी चुपलागे।' त्यसपछि पार्वतीले विष्णु कहिले आउलान् र श्री महादेव स्वामी पाउँला भनी अनेक तीर्थ, व्रत, दान, धर्म, जप, तप नियम पालन गर्न लागिन्। फेरि निकै दिन बालुवाको शिविलिंग बनाई पार्थिव पूजा पनि गरिन्। तिनको अडिग श्रद्धा एवं भक्तिभाव देखेर विष्णु भगवान गरुड़मा चढ़ी शंख, चक्र, गदा, पद्म धारण
गरी पार्वतीको सामुन्ने आए? आज्ञा गर्नुभयो-'हे पार्वती! तिमीले अनेक तीर्थ, व्रत, दान, धर्म, पूजा-पाठ, यज्ञ आदि गरेको देख्दा म अत्यन्त प्रसन्न भएँ। तिम्रो मनमा जे इच्छा छ सो वरदान माग, म दिन तयार छ।' विष्णु भगवानले त्यस्तो आज्ञा भएको सुनी पार्वती विनती गर्दछिन्-हे ईश्वर! हे परब्रह्म परमात्मा! मलाई केही वरदानको इच्छा छैन। केवल महादेव स्वामी प्राप्त हुने वरदान बक्सियोस्।

 

 

पार्वतीको यस्तो प्रार्थना सुनी विष्णु भगवान आज्ञा गर्नुहुन्छ-हे पार्वती ! तिमीले परिश्रम साथ गरेका यी तीर्थ, व्रत, दान, धर्म, व्रत, 6. उपवास भन्दा पनि यौटा अति उत्तम र गोप्य कुरा भन्दछु, तिमी एकचित्त भएर ध्यानपूर्वक सुन-श्री स्वस्थानी परमेश्वरीको व्रत गर। त्यस व्रतको प्रभावले जगदीश्वर श्री महादेव स्वामी पाउने छौ। यसमा शंका छैन। श्री विष्णुले यति आज्ञा भएको सुनी पार्वतीले फेरि विन्ती गरिन्-हे ईश्वर! त्यस व्रतको विधान के हो, र त्यसमा के-के गर्नुपर्दछ? यो सबै विस्तारपूर्वक, आज्ञा गर्नुहवस्!

पार्वतीको प्रार्थना सुनी विष्णु भगवान् आज्ञा गर्नुहुन्छ-हे पार्वती! पौषशुक्ल पूर्णिमाको दिन देखि व्रत आरम्भ गर्नुपर्दछ। एक दिन पहिले नै हात खुट्टाका नङ काटी स्नान गरेर पवित्र भई एक भक्त रही, एकचित्त गरी, नित्य मध्याह्नकालमा श्री महादेवको पूजा गर्ने र एक महीनासम्म अर्थात् माघशुक्ल पूर्णिमाको दिन अष्टोत्तर सय रोटी अष्टोत्तर सय अक्षता, अष्टोत्तर सय वेली पुष्प, अष्टोत्तर सय कुड्का सुपारी, अष्टोत्तर संय पान र जात-जातका फल-फूल नैवेद्य आदि सबै वस्तु तयार पारी आर्सी ( तामाको थाली) मा ॐकार लेखी गंगाजलले स्नान गराउनू र श्रीखण्ड रक्तचन्दन लगाई, पीताम्बर वस्त्र पहिराई धूप-दीप, नैवेद्य कस्तूरी, भेटी दक्षिणा चढ़ाई षोडशोपचार वा पंचोपचारले पूजन गरिसकी स्तोत्र पाठ, जप, ध्यान गरिसकी अर्घ्य दिनू। अनि हे पार्वती ! स्वस्थानी परमेश्वरी भनेकी कस्ती छन् भने-

अष्टासु च दलेष्वेव मातृकाणस्थितास्तथा ।
खड्गं त्रिशूलं चोर्ध्वं च अर्धे च वरमुत्पलम् ।।
चतुर्भुजां त्रिनेत्रां च सर्वालंकार भूषिताम् ।
सुवर्णवद् विकासाभा स्वस्थानी जगदीश्वरीम् ।। 

अर्थ-अष्टदल पद्म माँ अष्टमातृका, त्यसमाथि खड्ग त्रिशूल र वरनीलोत्पल, हातमा धारण गरेकी, चार बाहु र तीन नेत्र भएकी, अनेक प्रकारका अलंका पहिरेकी, अनेक आयुध लिएकी, पीतवर्ण भन्दा पनि अत्यन्त शोभायमान भएकी यस्ती श्री स्वस्थानी परमेश्वरीको ध्यान गरेर हे जगदीश्वरी! भनी मनमनै उनीसित इच्छा भएको वरदान माग्नू। अनि प्रसाद झिकेर अष्टोत्तर सयमा आठ रोटी, आठ अक्षता, आठ वेलीपुष्प, आठ पान, आठ कुड्का सुपारी सगुनसमेत आफ्नू पतिलाई दिनू, पति नभए छोरोलाई दिनू, छोरो नभए मीतछोरोलाई दिनू र मीत छोरो पनि नभए जुन कामना वा इच्छाले व्रत गरेको छ, त्यो मेरो फलानु कामना पूर्ण होओस् भनेर गंगामा बगाइदिनू, सय रोटी आफूले फलाहार गर्नू। रातमा जाग्राम बसेर स्वस्थानीकै महिमा गान, भजन, कीर्तन गर्नू, सुन्नू. सुनाउनू। यति गरेपछि अवश्य इच्छा पूर्ण हुनेछ, यसमा शंका छैन। हे पार्वती! स्वस्थानी परमेश्वरीको प्रसाद लिने वेलामा श्री महादेव तिम्रो सामु आफैं प्रकट हुनु हुनेछ। तिम्रो श्रद्धा भक्ति देखेर म प्रसन्न भएँ। यति भनिसकेर 'तिमीले महादेव स्वामी पाए' भनी विष्णु भगवानले वरदान दिनुभयो।

हे अगस्त्य मुनि! नारायण विष्णुले यति आज्ञा भएपछि पार्वतीले मनमा सन्तोष र आनन्द मान्दै श्रद्धा सहित विष्णुको पनि पूजा र प्रणाम गरिन्। तिनले पूजा गरिसकेपछि विष्णु भगवान् विदा भएर गरुड़मा चढ़ी त्यहाँबाट अन्तर्धान भई वैकुण्ठ धाममा जाँदा भए।

इति श्री स्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये कुमारअगस्त्यसंवारे श्रीस्यस्थानी परमे श्वर्या-ग्रतकथायां श्रीविष्णुस्वस्थानीव्रतोपदेशवर्णनंनाम द्वादशोऽध्यायः ।।१२ ।।

कथा सकिएपछि निम्न स्तोत्र पढेर पुष्पाञ्जलि गर्नु-

उपनयतु मंगलं वः सकल जगन्मंगलालयः श्रीमान् ।

दिनकर किरण निबोधित नवनलिनदलनिभेक्षणः कृष्णः ।।

काले वर्षतु पर्जन्यः पृथिवी शस्यशालिनी । 
देशोऽयं क्षोभरहितो ब्राह्मणाः सन्तु निर्भयाः ।। 

अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः । 
निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।

तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च ।

तीर्थानि सर्वाणि वसन्ति तत्र, यत्राच्युतोदार कथा प्रसंगः ।।

या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता ।
या वीणा वरदण्डमण्डितकरा या श्वेतपद्मासना ।।
या ब्रह्माच्युत शंकरप्रभृतिभिर्देवैः सदा वन्दिता ।
सा मां पातु सरस्वती भगवती निःशेष जाड्यापहा ।।

कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृतिस्वभावात् ।

करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पये तत् ।।

श्री स्वस्थानी देव्यार्पणमस्तु ।

यति भनिसकेर कथा सुन्ने जति समस्त श्रोताहरूले | पुष्पाञ्जलि चढाई दण्डवत् गर्नु र आफाफ्ना मनको इच्छित वरदान माग्नु ।

 
  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish