कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्य मुनि ! तहाँ उप्रान्त सतीदेवीको प्रत्येक अंग पतन भयो र महादेवले चित्त दृढ पार्न नसकी हा सती ! भन्दै भूमिमा ढली मूच्छा परे। निकै बेरणछि होश आयो र लामो-लामो सास फेरी चित्तले सतीलाई नै सम्झी बौलाहा जस्तै जताततै डुल्न लागे। त्यस्ता तरहले महादेव हिंडेको देखी तारकासुर दानवले आफ्ना मन्त्रीगण डाकी भन्यो- 'हे मन्त्री हो! हेर, सतीदेवीको वियोगमा महादेव बौलाहा जस्तै: भएर हा सती ! भन्दै हिंडिरहेका छन् । यसै अवसरमा देवताहरूलाई युद्धमा जितेर इन्द्रको अमरावती हात लाउनुपर्दछ । अब हामीलाई कसैले केही गर्न सक्तैन । अहिल्यै जाऔं भनी तत्काल आफ्ना सेनाहरू अगि लगाएर सेनापति र मन्त्री सहित भई लड़ाइँ गर्न अमरावती गयो । त्यो देखेर देवराज डराई- 'हे देवता हो ! अब हामी यहाँ नबसौं, किनकि तारकासुरलाई महादेवले वरदान दिनुभएको छ । अत: त्यसलाई युद्धमा कसैले पनि जित्न सक्तैन । बरु यहाँबाट भागौ भनी स्वर्गबाट भागी मृगस्थलीमा आएर बसि रहे।
त्यसरी देवताहरू स्वर्गबाट भागेपछि तारका- सुरले अमरावतीमा अधिकार जमाई स्वर्ग-मत्त्य- पाताल तीनै लोकको राज्य भोगेर बस्तो भयो । त्यसपछि महादेव पृथ्वीभ्रमण गर्दै मृगस्थलीमा आउनुभयो र देवताहरूले देखी साष्टांग प्रणाम गरी बिन्ती चढाए-'हे ईश्वर ! अब हजुरसँग मृतक देह छैन । नेत्र खोलेर हेर्नुहवस् । पापिष्ठ तारकासुरले हाम्रो अमरावती खोसेर लियो । त्यसलाई हजुरले वरदान दिनुभएको हुनाले हामी त्योसँग लडाइँ गर्न असमर्थ भई भागेर यहाँ आई बसेका छौं । अब हाम्रो रक्षा गरी पापिष्ठ तारकासुरको संहार गर्नुहवस् । देवताहरूको यस्तो प्रार्थना सुनी महादेवले नेत्र उघारी हेर्नुभयो र सामुन्ने देवताहरूलाई देखी केही पनि उत्तर नदिई मनले उनैलाई सम्झी हा सती ! भन्दै त्यहाँबाट हिंडूनु भयो। महादेवले शोक गरेको देखी संसार मा जति जीवात्मा छन्, ती कसैले पनि सहन सकेनन् । यस्तै प्रकारले सतीको शोकमा एक सय वर्षसम्म महादेव पृथ्वी भ्रमण गरेर हिंडिरहनुभयो ।
त्यसपछि एकदिन चित्त दृढ गरी महादेवले हेर्दा आफूसित सतीदेवीको शरीर छैन भन्ने जानी अब के गरूँ ? कता जाऊँ ? कसरी शान्ति प्राप्त होला भनी भरिसक्य धैर्य धारण गरी उत्तरापन्थमा तपस्या गर्न जान्छु भनेर हिंडेको त चित्त दृढ़ हुन नसकी दक्षिणको बाटो लागी जाँदा-जाँदा कर्णाटक नगरको ब्रह्मपुर भन्ने स्थानमा पुग्नुभएछ। त्यहाँका ऋषिहरू गंगा-स्नान गर्न गएका रहेछन् । ऋषि-पत्नीहरूले महादेवलाई त्यतैबाट जान लागेका देखी आपुसमा कुरा गर्न लागे- 'हे ऋषि-पत्नी हो ! हेर, ती जान लागेका महादेव हुन् । सतीदेवी मन्नाले बौलाहा जस्तै भई त्यस प्रकारले हिंडिरहेका छन् । हाम्रा स्वामीहरू एकभक्त रहनाले र अनेक व्रत उपवास गर्नाले दुर्बल छन् । अत: हामीहरूलाई काम- भोग सन्तुष्ट पार्न सक्तैनन् । यसकारण हामीहरू यिनैका पछि लागेर जाऔं' । यति सल्लाह गरी सबै ऋषि-पत्नीहरू महादेवका पछि लागेर हिंडे । त्यसरी पत्नीहरू गएको गंगामा स्नान गर्न गएका ऋषिहरूले थाहा पाई खोज्दै गए । निकै पर पुगेपछि बाटोमै भेटे र- 'हे महादेव ! तिमीले हाम्रा स्त्रीहरू किन हरण गरेर ल्याएका ? भने । तिनीहरूले त्यस्तो भनेको सुनी महादेवले तिम्रा पत्नीहरू म किन हरण गरेर ल्याउँथे ?' भनी उत्तर दिनु भयो । अनि ऋषिहरूले- 'यी तिम्रा पछि लागेर आएका को हुन् त ? भनी सोधे । अनि महादेवले पछाडितिर फर्केर हेर्दा ऋषि पत्नीहरूलाई देखेर- 'यिनीहरूलाई मैले त ल्याएको होइन । कुन्नि किन पछि लागेर आएछन् भन्नुभयो । अनि रिसाएका ती ऋषिहरूले- 'हे महादेव ! हाम्रा पत्नीहरू तिम्रो लिंग देखेर पछि पछि आएका हुन् । अतः तिम्रो त्यो लिंग पतन होस्' भन्ने श्राप दिए ।
तिनीहरूको श्रापले तत्काल शिवको लिंग पतन भयो र त्यसैबाट यौटा ज्योतिर्लिङ्ग प्रकट भएर सम्पूर्ण ब्रह्माण्ड ढाक्न लाग्यो । त्यो देखेर देवता, यक्ष, गन्धर्व, किन्नर आदि श्री विष्णु भगवान्कहाँ पुगी बिन्ती गरे-
'हे ईश्वर ! महादेवको ज्योतिर्लिङ्ग उत्पन्न भएर समस्त ब्रह्माण्ड ढाक्न लाग्यो। सोही कुरा बिन्ती गर्न आएका हौँ । अब जे गर्नुपर्ने हो, तत्काल गर्नुपर्यो ।' देवताहरूको त्यस्तो प्रार्थना सुन्नासाथ विष्णु भगवान् तत्काल त्यहाँ पुगी त्यो ज्योतिर्लिङ्गलाई अंकमाल गर्नासाथ ज्योतिर्लिङ्ग साम्य भयो । त्यो देखेर समस्त देवता, यक्ष, नाग, गन्धर्व र किन्नर आदिले विष्णु भगवान्को अनेक प्रकारले स्तुति गरी आफाफ्ना आश्रममा गए । अनि त्यही ज्योतिर्लिङ्गबाट प्रकट भई महादेवले ती ऋषिहरूलाई भन्नुभयो- 'हे ऋषि हो ! म निर्दोषलाई व्यर्थमा श्राप दियौ, अत: तिमीहरूको पनि वाक्य शुद्ध नहवस् र ब्राह्मणीहरू पनि एकपति मानेर बस्न नसकून् ।' यति भनी उत्तरापन्थमा गई काम, क्रोध, लोभ, मोह छाडी, सम्पूर्ण इन्द्रिय बाँधी, परब्रह्ममा आफ्ना तीनै नयन मिलाई बडो कष्टपूर्वक तपस्या गर्न लाग्नुभयो ।
।। इति श्रीस्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये कुमारअगस्त्यसंवादे श्रीस्वस्थानी- परमेखर्या व्रतकधायां इन्द्रादिदेवतामृगस्थलीगमनं नाम एकादशोऽध्यायः ।। ११।।