अथ सप्तमोऽध्यायः
कुमारजी आज्ञा गर्नुहुन्छ-हे अगस्त्य मुनि! सतीदेवीले त्यसरी प्राण त्यागेको देखेर देवता, यक्ष, गन्धर्व, किन्नर, नाग, दैत्य र ऋषि-मुनि सबैले-अहो, साहै। अनर्थ भयो भन्दै आश्चर्य माने। उसै वेला अकस्मात् आँधी चलेर धूलो उडी सारा आकाश ढाक्यो र विपरीत हावा चल्न लाग्यो। बिना वादलकै मेघ गर्जन लाग्यो। यज्ञमा उपस्थित सबै देवता, यक्ष, गन्धर्व, किन्नर, दैत्य, नागहरू धूलो उडेर आँखामा परी हेर्न असमर्थ भए। वायुको वेगमा अडिन नसकी भूमिमा घोप्टिए। वायुको त्यो उग्र वेगले कतिलाई उडाएर लग्यो, कति भूमिमा पछारिए, कति रुन-कराउन लागे। त्यस हुरीमा परेर कतिको हात माँच्चियो, कतिको खुट्टा मर्कियो, कतिले भूमिमा टाउको टेक्न पुगे, कतिको मुख भूमिमा घोटिएर माटो खान लागे। उठ्न असमर्थ भएका जति रुन-कराउन लागे। कति रक्षा गर, रक्षा गर, मरें बचाओ भन्न लागे। यस्ता प्रकारले यज्ञम उत्पात भएको केही बेरपछि हुरीको वेग कम भयो र दक्षप्रजापतिले चिन्ता गरी सबै छोरी-ज्वाइँलाई 'नडराओ, डराउनु पदैन' भनी सान्त्वना दिइसकेपछि चित्त व्याकुल गरी अब कसो गरूँ भन्दै गुरु बृहस्पतिकहाँ गएर बिन्ती गरे-'हे गुरो! अनर्थ भयो, अब कसो गर्ने, असम्भव कुरा प्रत्यक्ष भयो' भन्दै भयभीत स्वरमा कराउन लागे। त्यसै बेला नारदजीले सतीदेवीले अग्निकुण्डमा हामफाली
प्राण त्याग गरेको देखी हावाभन्दा पनि वेगले शीघ्र कैलास पुगी महादेवका चरणमा दण्डवत् गरी उभिइरहे।
अनि 'हे नारद! तिमी के भन्न आएका, भन। किन मौन उभिएका छौ।' यस्तो शंकरजीको आज्ञा सुनी हात जोरेर नम्र स्वरमा बिन्ती गरे-हे ईश्वर! हजुरकी प्राणप्रिया सतीदेवी दक्षप्रजापतिको यज्ञाग्निमा हामफालेर प्राण त्याग्नुभयो। किन भने-हे जगदीश्वर! हे करुणानिधे! पापिष्ट दक्षले हजुरलाई अनेक क्षुद्र वचनले हेलाँ गरी निन्दा गरेको-'त्यो महादेव कहाँको देवता हो? त्यो त बौलाहा हो, त्यसलाई नडाकेर मेरो के हुन सक्तछ? मेरा तेत्तीसकोटि छोरी-ज्वाइँ र ब्रह्मा-विष्णु आदि छँदैछन्, कस्तै भए पनि म त्यसलाई डाक्ने होइन इत्यादि अनेक दुर्वचन बोलेको सुन्दा सहन नसकी क्रोध- युक्त भएर भूमिमा लात्तले हानी, यज्ञको परिक्रमा गरी, कसैको पनि मुखतर्फ नहेरी, केवल हजुरको नाम 'शिव-शिव' भन्दै यज्ञाग्निमा हामफाली प्राण त्यागिन्। हे प्रभो! हजुरको डरले अग्निले देह दग्ध गर्न सकेका छैनन्। केवल प्राण छाडेर यज्ञ-कुण्डमा शयन गरे झै सुतिरहनु भएको छ। हे ईश्वर! यही कुरा बिन्ती चढाउन आएको हूँ। हे चन्द्रमौले! अनर्थ भयो, अब के गर्ने? यति भनी नारदजी उभिइरहे।
नारद मुनिका कुरा सुनेर महादेवले आज्ञा भयो-'हे मुने! तिमीले भनेको कुरा निश्चय ( सत्य ) हो कि होइन?' शिवको वचन सुनी नारदले भने-'हे जगदीश्वर! हजुरका सामु मिथ्या बोल्ने साहस अथवा शक्ति ममा छैन। ध्यान-दृष्टिले हेर्नुभए सत्यासत्य ज्ञात हुनेछ।' नारदजीका त्यस्ता वचन सुनी ध्यान-दृष्टिले विचार गरी अत्यन्त क्रोधले तीनै नेत्रबाट अग्निका ज्वाला निकाली, दाह्रा किटी, पाखुरा निमोठ्तै नारदजीको सामुन्ने नै भन्नुभयो-'हे मुने! तेत्तीसकोटि देवताले रक्षा गरिएको पापिष्ट दक्षको विनाश नगरी छाड्नेछैन। अब तिमी आफ्नू आश्रममा जाऊ।' भनी विदा दिनुभयो र नारदजी श्रीमहादेवलाई दण्डवत् प्रणाम गरेर आफ्नो धाममा गए।
नारदजी गएपछि शिवजीले सती देवीलाई सम्झेर रिसले तीनै नेत्रबाट अग्निका जस्तै ज्वाला निकाली शिखाबाट एउटा जटा झिकेर भूमिमा पछारे। त्यसबाट मेघ गर्जे जस्तै चर्को शब्द गरी भयंकर चतुःषष्ठी योगिनी र भूत-प्रेत-पिशाच, प्रमरथगणले सहित भएर महाकाली उत्पन्न भड़न्। कस्ती महाकाली भने-डरलाग्दो अनुहार भएकी, लामा लामा दाह्रा निस्केकी, आकाश जस्तै पेट भएकी र बाघको छाला कम्मरमा बेहेकी, झाँक्रो फिंजेकी, हातमा भयंकर खड्ग लिएकी, कहिले हाँस्ने, कहिले लामो जिभ्रो निकाल्ने यस्ती महाकाली, शिवजीको सामुन्ने उभिई-के कामले मेरो आराधना गर्नुभयो, भनी बिन्ती गरिन्। अनि महादेवले अघि झैं अर्को जटा झिकेर भूमिमा पछारे। त्यसबाट पृथ्वी कम्पायमान पार्दै, क्रोधित सिंह जसरी गर्जन्छ, त्यस्तै ध्वनि निकाल्दै, हजार सूर्य जस्तै तेज भएका, सम्पूर्ण. शरीरमा खरानी घसेका, मुण्डमाला लगाएका, दायाँ हातमा त्रिशूल लिएका र बायाँ हातले डमरू बजाउने यस्ता भीषण मूर्ति भएका वीरभद्रले महादेवका अगाडि
उभिएर बिन्ती गरे-'हे शम्भो! हामीहरूलाई किन आराधना गर्नुभयो? तिनीहरूको यस्तो प्रार्थना सुनेर महादेवले आज्ञा भयो-हे वीरभद्र! महाकाली! तिमीहरूलाई पापिष्ट। दक्षप्रजापतिको यज्ञ विध्वंश पारी उसको पनि संहार गरी दक्षका सहायक, संरक्षक देवताहरूको पनि संहार गरेर आओ भनी डाकेको हूँ। अब तिमीहरू नन्दी, भृंगी, गोष्टी योगिनी, भूत-प्रेत, पिशाच समेत भइ दक्षको यज्ञ विध्वंश गर्न तत्काल जाओ ।'
श्रीमहादेवको यस्तो आज्ञा सुनी नन्दी, भृङ्गी, भूत-प्रेत, योगिनी र पिशाचसहित भइ मेघ गर्जे झै सिंहनाद गरी पृथ्वी कम्पित पारी साक्षात् यमराज प्राणीको नाश गर्न हिंडे झै, क्रोधित भएर शिवको आज्ञा शिरोपर गरी कैलास पर्वतबाट हिंडी तिनीहरूको चाला-माला देखेर पृथ्वीलाई भार थाम्न कठिन पर्यो र थर्र काँपिन्। सात समुद्र छरचल्किए। समस्त जीव त्राहि-त्राहि भए। दक्षको यज्ञमा पनि अनेक किसिमका उत्पात हुन लागे। आकाशमा काग र गिद्ध मण्डलाकार गरी उड्दै कराउन थाले। स्यालहरू आँखा र मुखबाट आगोको ज्वाला निकाल्दै कराउन र दगुर्न लागे। रगतको वृष्टि भयो। विपरीत वायु चल्न लाग्यो। यस्तो उत्पात हुन लागेको देखेर यज्ञमण्डपमा बसेका सबै हाहाकार गर्दै यता-उता भाग्न लागे। स्त्री, बालक, बूढाहरू भाग्न नसकी भूमिमा घोष्टिएर रुन-कराउन लागे। कोही अझ के-के हुने हो भनेर डराई त्राहि-त्राहि हुन लागे।
ठीक उसैबेला शिवको आज्ञा पाएर उन्मत्त भएका वीरभद्र र महाकाली, नन्दी, भृङ्गी आदि शिवका गण मेघ गर्जे जस्तै गर्जन्दै हात्तीका बथानमा सिंह पसे झें दक्षका यज्ञमा पुगे र दक्षद्वारा डाकिएका देवता, यक्ष, गन्धर्व, किन्नर, नाग, दैत्यगणसित परस्पर जुधे। त्यो देखेर दक्षका कन्याहरू, देवकन्या, नागकन्या, ब्राह्मण, ऋषि-मुनि आदि सबै 'त्राहि-त्राहि नारायण' भन्दै रोई कराई दस दिशातिर भाग्नलागे। कोही भाग्न, नसकेर लडे, कसैको हातखुट्टा भाँचियो, कोही टाउकाको भरले पल्टेर माटो खानलागे। कति मूर्छा परी असहाय जस्तै भूमिमा लडिरहे। तर विष्णु प्रभृति देवता, यक्ष, गन्धर्व, किन्नर आदि सबैले दक्षप्रजापतिको रक्षा गर्न शस्त्र-अस्त्र लिएर वीरभद्र महाकाली माथि प्रहार गर्नलागे। यसरी परस्पर घमासान संग्राम भयो। इन्द्रादि देवताहरूले कुन-कुन अस्त्र प्रहार गरे भने-इन्द्रास्त्र, अग्न्यास्त्र, देव्यास्त्र, वरुणास्त्र, पाशुपतास्त्र, ब्रह्मास्त्र, तोमर, गदा, खड्ग र मुसल, नागपाश आदिले वीरभद्र महाकाली र चौंषष्ठी योगिनी, भूत-प्रेत, प्रमथगण र विषमज्वर माथि प्रहार गरे।
यस्ता तरहले आफूमाथि शस्त्रास्त्र प्रहार गरेको देखेर वीरभद्रका गणहरूले पनि कठोर स्वरले गर्जेर दक्षका सैन्य भित्र पसी जति भेटे उतिको टाउको समाती, निमोठी, हात-खुट्टा भाँची, मुड्कीले रगत छदाई देवताहरूको संहार गरे। उता महाकालीले प्रत्यक्ष काल जस्तै खड्ग लिई वर्षाकालको प्रचण्ड मेघ गर्जे झैं गर्जी, सिंहनाद गर्दै मृगका फौजमा सिंह पसे झैं र सुकेका परालमा आगो लागे जस्तै गरी दक्षका सेनाको संहार गरिन्। वीरभद्र समेत नन्दी, भृङ्गी, चतुःषष्ठी योगिनी, भूत, प्रेत, पिशाच, प्रमथगण समेतले शत्रुतिरका कसैको शिर, कसैको हात-खुट्टा छुट्याए। कसैलाई तिमोठी रगत पिएर नाच्न लागे, कोही हाँस्न थाले। कसैको मासु लुछेर खाए। कसैको कोखामा प्वाल पारेर रगत पिउन लागे। कोही देवता भागे। यसरी दक्षका सेना र कोटि-कोटि देवताको संहार गरे।
त्यसरी संहार गरेको देखेर दक्षका सेना र देवताले वीरभद्र र महाकाली माथि आफ्ना शस्त्रास्त्र प्रहार गरे तर ती सम्पूर्ण शस्त्रास्तर महाकालीको शरीरमा एुनासाथ आफै भस्म भएर जान्थे। फेरि शिवगण र महाकालीले दक्षका सैन्य र देवगण, यज्ञमा आएका धेरै वीरहरू मारिदिए। विषम ज्वरले पनि सबैका शरीरमा प्रवेश गरी अचेत पारिदिए। अनि वैकुण्ठका स्वामी श्रीविष्णुले सम्पूर्ण देवता, यक्ष, गन्धर्व, किन्नर, दैत्य, नाग सहित दक्षका सबै सेना अचेत भएका देखेर आफ्नू देहबाट शीत-ज्वर उत्पन्न गरेर सबैलाई सचेत गराए। फेरि अनेक शस्त्र- अस्त्र लिएर बत्तीमा पुतली गए झैं वीरभद्र महाकाली माथि जाइलागे। वीरभद्रले पनि त्रिशूल लिई सिंहनाद गर्दै सुकेको खरमा आगो लगाए झैं एक क्षणमै दक्षका अनेक सेनाहरू काटी मारिदिए। तिनमा कसैको शिर छैन, कसैको हात छैन, कसैका खुट्टा छैनन्। यस्तो स्थिति देखेर कोही रक्षा गर, रक्षा गर भन्दै भाग्न पनि नसकी भूमिमा लडिरहे। यसरी सबै देवताहरूको संहार गरी अन्य दैत्य- दानवलाई समाती अग्निकुण्डमा होम्न लागे।
वीरभद्रले त्यसरी दक्षका सेना देवता, यक्ष, दानव, गन्धर्व, किन्नरहरूको नाश पारी यज्ञ समेत ध्वस्त पारिदिएको हेर्न नसकी श्रीविष्णुले राता-राता आँखा पारी नागले झैं नि:श्वास फेर्दै प्रलयकालको अग्नि जस्तै भई बायाँ हातले पांचजन्य शंख बजाई दाहिने हातले कौमोदकी गदा उठाई संहारकालका रुद्र जाइलागे, जस्तै वीरभद्रका सेना माथि जाइलागे। त्यो देखेर देवता, यक्ष, गन्धर्व, किन्नर, नाग आदि सबै र
दक्षप्रजापतिका सेनाले धन्य धन्य विष्णु, तिम्रो जय कल्याण होस् भन्दै आफाफ्ना शस्त्रास्त्र लिई विष्णुको सहायतामा लागेर कठोर युद्ध गरे। त्यस्तो देखेर महाकाली रीसले आगोको ज्वाला झैं डरलाग्दो तेज प्रकट गरी खड्ग लिई जाइलागिन्। त्यो देखी भूत-प्रेत, पिशाच प्रमथगण, डाकिनी, शाकिनी र चतुःषष्ठी योगिनी सबै युद्ध गर्न लागे जस्तै ठूलो हावा चल्नाले मेघ टुक्रा- टुक्रा हुन्छ, त्यस्तै दक्षका सेना देवता, दैत्य, गन्धर्व, किन्नर, नाग आदि दस दिशामा भागे। तब विष्णुले निर्धक्कसित वीरभद्रको छातीमा कौमोदकी गदा प्रहार गरे। त्यो गदा वीरभद्रको छातीमा बज्रन गयो अनि ती मूर्छा परी भूमिमा ढले। फेरि विष्णुले नन्दी, भृङ्गी चौषष्ठी योगिनी, भूत-प्रेत, पिशाच, प्रमथगणका उपर शङ्खको चकों शब्दका साथ शस्त्रास्त्र प्रहार गरे। त्यसरी विष्णुको प्रहारले कति लडी भूमिमा पल्टे, कति मूर्छा परे, कति भागे त्यो देखेर दक्षप्रजापतिका सेनाले धन्य-धन्य विष्णु भनी स्तुति गरी पुष्पवृष्टि पनि गरे। तब विष्णुले पांचजन्य शंख बजाए।
मूर्छा भइरहेका वीरभद्र महाकालीका कानमा देवता, यक्ष, गन्धर्व किन्नर र दक्षका सेनाले संकुल ध्वनि र धन्य- धन्य विष्णु भनी स्तुति गरेको शब्द पो र चेतना फक्यो। आफ्ना सैन्य कोही भूमिमा ढलेका, कोही भाग्न लागेका र कोही के कसो गरूँ भनी अन्योलमा परेका देखी अत्यन्त क्रोधित भइ काल सदृश त्रिशूल लिई विष्णुलाई लक्ष्य गरी वेगले प्रहार गरे। त्यो त्रिशूल विष्णुका छातीमा लाग्यो। त्यसको कष्ट सहन, नसकी नव द्वारबीट रगतको धारा बगाई विष्णु मूर्छा परी ढले। उनी मूर्छित भएपछि वीरभद्रले प्रलयकालको मेघ झैं गर्जन गरी दक्षका सेनामाथि जाइलागे। आफ्ना गणसमेत मिलेर कोटि-कोटि देवताहरूको संहार गरे। वीरभद्र गर्जेको शब्द उनका गणहरू नन्दी, भृङ्गी, प्रमधगण समेतका कानमा पर्यो र बिउँझी उभिएर हेर्दा रणभूमिमा विष्णु मूर्छा परेका र वीरभद्रले दक्ष सैन्य र देवताहरूको संहार गरेको देखेर धन्य-धन्य वीरभद्र, भनी आफाफ्ना शस्त्र-अस्त्र लिएर दक्षका सैन्यमाथि जाइलागे।
त्यसरी अत्यन्त भयंकर युद्ध भयो- कस्तो युद्ध भने हे मुनि! महाकाली र वीरभद्रले र उनका सेना समेत जाइलागे। अनि कसैको टुपी समातेर पछारी खड्गले हानी मारे। कसैलाई मुड्कीले नै मारे। चौंषष्ठी योगिनीले पनि कतिलाई निमोठेर मारे। कसैको काखीमा प्वाल पारेर रगत पिई मारे। कसैलाई पक्री अग्निकुण्डमा होमिदिए। यस्ता प्रकारले देवता, यक्ष, गन्धर्व, दैत्य किन्नरको नाश गरेर वीरभद्रका सैन्यले जय-जय भनी कराएको शब्द मूर्च्छा परेका विष्णुको कानमा पर्यो र मूर्छाबाट उठेर हेर्दा वीरभद्र र महाकालीले यज्ञ विध्वंश पारी देवताहरू र दक्षका सैन्य समेत नाश गरेको देखी अत्यन्त क्रोधित भई राता-राता आँखा पारेर हे पापिष्ट! आज तेरो नाश गरेर दक्षको यज्ञ पूर्ण पारी सबै देवता, यक्ष, गन्धर्व, नाग आदि सबैलाई सन्तोष दिनेछु। आज एकादशरुद्र तेरो सहायक भएर आए पनि रक्षा गर्न सक्नेछैनन्। सम्पूर्ण दुष्टको संहार गर्ने यो चक्र देखिस्! भनी सुदर्शन चक्र देखाए।
विष्णुले भनेको त्यस्तो क्षुद्र वचन सुनेर वीरभद्र रीसले चूर भई भन्दछन्-हे पापिष्ट विष्णु! सम्पूर्ण दुष्टको नाश गर्ने चक्र भनेर देखाइस्। तेरो पराक्रम माफिक त्यो चक्र मेरा उपर प्रहार गरेर हेर। मुखले भनेर मात्र केही हुन सत्तैन। यस्तो वीरभद्रको वचन सुनी विष्णु रिसाई वीरभद्रलाई ताकेर सुदर्शन, चक्र प्रहार गरे। त्यो चक्र अनेक सूर्यको जस्तो तेज र प्रलयकालको गर्जे झैं गर्जना गर्दै काल-रुद्र नाश गर्न गए झै गयो। त्यस्ता प्रकारले आएको त्यो चक्रलाई देखी नन्दी, भृङ्गी, भूत-प्रेत, चौंषष्टी योगिनी, प्रमथगण आदि शिवगण त्राहि-त्राहि वीरभद्र- महाकाली भनी उनका नगीचै गए। जस्तो समुद्र मथनमा कालकूट विष निस्केर सबैलाई भस्म पार्न खोज्दा। शिवले पान गर्नुभएको थियो, त्यस्तै त्यो चक्र आएको देखेर मुख बाइदिनाले वीरभद्रको मुखमा पस्यो र निल्न तयार भएको देखी विष्णुले चाँडो गरी वीरभद्रका मुखबाट सुदर्शन चक्र झिकी त्यहाँबाट अन्तर्धान भइ वैकुण्ठ जाँदा भए।
इति श्री स्कन्दपुराण केदारखण्डे माघमाहात्म्ये कुमारअगस्त्यसंवादे श्रीस्वस्थानी परमेश्वर्या-व्रतकथायां दक्षसेनावधानाम सप्तमोऽध्यायः।।७।।