श्रीस्वस्थानी व्रतकथाको षष्ठोऽध्यायः, सतीदेवीको दक्षयज्ञमा देहत्याग

अथ षष्ठोऽध्यायः

कुमारजी आज्ञा गर्नुहुन्छ-'हे अगस्त्य मुनि! यस्तो किसिमसँग मैले त्रिपुर-दाह सुनाएँ, अब के सुन्ने इच्छा छ?' यस्तो कुरा सुनी अगस्त्य मुनि बिन्ती गर्दछन्-हे कुमारजी! दक्षप्रजापतिका तेत्तीस कोटि कन्या तेत्तीस कोटि देवताले विवाह गरे। सतीदेवीलाई विष्णु भगवानको छलले शिवजीले प्राप्त गर्नुभयो। त्यसपछि सतीको मृत्यु के कारण परेर भयो यस विषयमा (सुन्ने इच्छा छ, सुनाइ बक्सियोस्। यस्तो आग्रह गरेको सुनी कुमारजी भन्नुहुन्छ-हे मुने! एक दिन दक्षप्रजापतीले यज्ञ गर्ने इच्छा गरेको धेरै समय भयो। अब त्यो यज्ञ गर्ने इच्छा बलवती भयो र सम्पूर्ण सामग्री तयार गरे। अनि महादेव र सतीदेवी बाहेक अरु छोरी- ज्वाई र ब्रह्मा, विष्णु आदि समस्त देवता, यक्ष, गन्धर्व, किन्नर, नाग, दैत्य, अप्सरा, दस दिक्पाललाई निमन्त्रणा गर्न पठाऊ भन्ने आफ्ना स्वामीको आज्ञा पाई विरणीले सम्पूर्ण सामग्री तयार पारी महादेव र सतीदेवी बाहेक सबै छोरी ज्वाइँ, ब्रह्मा, विष्णु, यक्ष, गन्धर्व, किन्नर, दैत्य, नाग, अप्सरा दस दिक्पाल- हरूलाई निमन्त्रणा पठाइन्।

 

दक्षका सबै छोरी-ज्वाइँहरू नाना वस्त्रालंकार पहिरी यज्ञमा होम्न अनेक मणि माणिक्य, फल-फूल र वस्त्रादि यज्ञमा होम गर्ने सामग्री लिएर दक्षप्रजापतिको यज्ञ हेर्न भनी आए। दक्षले पनि सबै आएका व्यक्तिहरूलाई यथायोग्य सेवा सत्कार गरेर राखे। सुदिनमा यज्ञ आरम्भ भयो। त्यो अश्वमेध कस्तो भने-नन्दी, भृङ्गी, चतुःषष्ठी योगिनी, भूत-प्रेत, पिशाच, प्रमथगण सहित भई श्रीमहादेव बस्ता जस्तो शोभा हुन्छ, त्यस्तै तेत्तीसकोटि छोरी ज्वाइँ र ब्रह्मा, विष्णु आदि देवता, ऋषि, यक्ष, गन्धर्व, किन्नर, दैत्य, नाग, अप्सराहरू नाना वस्त्र अलंकार पहिरी उभन्दा ऊ राम्री, उभन्दा ऊराम्री भड़ नाच-गान गरी मंगलको निमित्त सुवर्णमय कलश सहित अश्वमेध गर्दा शोभायमान देखियो।

 

त्यसरी अश्वमेध चलिरहेको बखतमा नारद मुनिले को आए, को आएनन् भनी आसनबाट उठेर चारैतिर हेर्नलागे। दक्षका तेत्तिस कोटि कन्या, ब्रह्मा- विष्णु प्रभृति सकल देवता, ऋषि, यक्ष, गन्धर्व, किन्नर, नाग, अप्सरा आदि सबैलाई देखे, तर महादेव र सतीलाई देखेनन्। बिना महादेवको यो दक्ष प्रजापतिको यज्ञ कसरी पूर्ण होला, के कारण हो, निम्ता पठाउन पो बिर्सेका हुन् कि अथवा अरु कुनै कारण छ कि भन्ने मनमा तर्क गर्दै तुरुन्त त्यहाँबाट अन्तर्धान भइ कैलास पर्वतमा गए।
 

त्यसै बेला उता महादेवले सतीदेवीलाई-हे प्रिये! आज हामी दुवैजना जूआ खेलौं, आऊ भन्नुभयो। सतीले 'हवस्' भनी पाशा ल्याइन् र दुवै जना प्रेम साथ जूआ खेल्न लागे। खेलमा सतीदेवीले जितिन्। र स्वामीलाई गिज्याउन लागिन्। अनि शिवजी झोंकिएर झोली थापे, त्यो पनि जितिन्। अनि नागरूपी गहना थापे, त्यो पनि जितिन्। त्यसै वेला दक्षको निम्ता पाएर देवता, दानव, यक्ष, किन्नरहरू विमानमा बसेर गइरहेका थिए। तिनीहरूलाई देखेर सतीले स्वामीसित 'ती विमानमा बसेर जाने को हुन्, आज्ञा हवस्' भनी, सोधिन् र महादेवले- 'तिमीलाई केको धन्धा पर्यो, ' आफ्नू कान गर' भन्दा सतीदेवी चिन्तित भएर माथितिर नै हेरिरहिन्। अनि शिवले हाँसेर मुकुट थाप्नु भयो। त्यो पनि जितिन्। त्यसरी निकै पल्ट हारेकोले शिवजी केही पनि नभनी हाँसिरहनु भयो । अनि सतीदेवीले बिन्ती गरिन् -'हे स्वामी! हजुरका सबै वस्तु मैले जितिसकें, अब के थाप्नु हुन्छ, लौ थाप्नु होस्। अनि शिवजीले-' अब म आफ्नो अंग थाप्दछु' भन्नुभयो। तब सतीदेवीले हात जोरेर विनम्र स्वरमा बिन्ती गरिन्-

हे स्वामी! हजुरको अंग अघि पनि पछि पनि मेरै हो। यदि मैले हारें भने हजुरको अंगको साटो कुन कुरा टक्राउँला? यो सम्पूर्ण ब्रह्माण्डमा हजुरको अंगको साटो दिने मेरो विचारमा कुनै वस्तु पनि छैन। फेरि हजुरको अंग जूआ खेली जितेर आफ्नू बनाउनु पर्ने। पनि केही आवश्यकता देख्दिन। जुन दिन मेरा पिता माताले तिल-कुश सहित हजुरका हातमा राखिदिएका थिए, उसै दिनदेखि हजुरको अंग मेरो र मेरो अंग हजुरको भइसक्यो। यसमा शंका छैन र हजुरले आफ्नो अंग थाप्नु पर्दैन।' सतीदेवीको त्यस्तो स्नेहयुक्त वचन सुनेर महादेव प्रसन्न भइ-'धन्य तिमी' भनेर जूआ खेल्न छाडी मीठा-मीठा वार्ता गरेर कैलासमा बसेका थिए।

 

त्यसै वेला नारद मुनि पुगेर सती र शिवलाई साष्टांग दण्डवत् गरी हात जोरेर उभिइरहे। श्रीमहादेव. कस्ता भने-जटाको मुकुट बनाई बाघका छालाको पटुका कसेका, हात्तीको छाला ओढेर सर्वांगमा भस्म लेपन गरी स्थान-स्थानमा सर्पका गहना लगाई, घाँटीमा नर-मुण्डमाला पहिरी सतीदेवीलाई काखमा लिएर कोटि सूर्य झैं तेजले जाज्वल्यमान भई नन्दी, भृंगी, भूत- प्रेत, डाकिनी-शाकिनी द्वारमा राखेर प्रमथगण सहित भइरहेका महादेवलाई नारदले देखेर हर्ष मानी बारम्बार चरणमा गिरी दण्डवत् गर्दा भए।

 

त्यसरी नारदजीले भक्ति गरेको देखेर मनमा आनन्द मानी श्री महादेवले आज्ञाभयो-'हे मुने! तिम्रो भक्ति देखेर म प्रसन्न भएँ, जे इच्छा छ वर माग। तब नारदजी केही भन्न नसकी उभिइरहे। तब-'के काम परेर यहाँ आयौ, भन' यति शिवजीले आज्ञा भएको सुनी नारदजी। हात जोरेर भन्न लागे-हे शम्भो! म अरु के वर मागौं? हजुरको भक्तिमा मेरो चित्त सदा लागिरहोस्। हे ईश्वर! म आउने कारण के हो भने-दक्षप्रजापतिले अश्वमेध यज्ञ गर्दा तीनै लोकका देवता, यक्ष, गन्धर्व, किन्नर, दैत्य, नाग अष्टवसु, वसिष्ठ आदि ऋषि र ब्रह्मा-विष्णु एवं दस दिक्पाल सहित सबै यज्ञस्थलमा आएका छन्। मैले यज्ञस्थलमा प्रदक्षिणा गरेर। हेर्दा केवल हजुर दम्पतीलाई देखिन र यज्ञका मुख्य भोक्ता, कर्ता एवं फलदाता हजुरलाई किन डाकेनन् भनी आश्चर्य लाग्यो र म त्यही कुरा बिन्ती चढाउन आएको हूँ। हे गौरीशंकर! यसको अर्थ केही बुझ्न सकिन
भनी नारद मुनिले बिन्ती गरेको सुनी सतीदेवीले आफूलाई, अत्यन्त अपमान गरेको ठानी श्रीमहादेवसित बिन्ती गरिन्-हे जगदीश्वर! नारायण प्रभृति तेत्तीसकोटि देवता यक्ष, गन्धर्व, किन्नर, नाग, दैत्य, अप्सराहरू र मेरा सबै बहिनीहरूलाई डाक्ता हामी दुइ जनालाई मात्र किन डाकेनन्? भन्दै विस्मयका साथ आँखाबाट आँसू बगाइन् र मलीन मुख भएकी सतीदेवीलाई शिवजीले आज्ञाभयो-हे प्रिये! तिमी दुःख नमान किन भने तिमी नरुचाइएकी छोरी, म मननपरेको ज्वाइँ, डाकेनन् त के भयो? यस कुरामा तिमीले आफ्नू अपमान मान्नु पर्दैन, तिम्रो म छँदैछु। दक्षको यज्ञमा गएर पो हामीले के पाउनु छ र नगए पनि के होला। भनी धेरै प्रकारले सम्झाउँदा पनि नमानेर-हे स्वामी! त्यस्तो आज्ञा नहोस्।
 

मलाई त्यो अश्वमेध यज्ञ हेर्ने अत्यन्त इच्छा छ। आज्ञा भए नारदसित गई एक पटक हेरेर मात्र आउने थिएँ भनेर बहुतै जिद्दी गरी महादेवका चरणमा परिन्। अनि जगदीश्वरले फेरि भन्नुभयो-हे प्रिये, यस्तो हठ नगर। किनकि विशेष गरेर तिमी आफ्नो स्वाभिमानमा रहेकी, त्यहाँ अपमान होला। जाने काम नगर भनी अनेक किसिमले बुझाउँदा पनि नमानी नारदका साथ लागी कैलासबाट प्रस्थान गरिन्।

 

पिताको यज्ञस्थलमा पुगेर आदरसाथ माता-पितालाई ढोग दिई साहै चित्त दुखाई आँखाबाट आँसुका धारा बगाई मंगल वचन बोलिन् हे माता-पिता! हजुरले गर्न लागेको यस्तो ठूलो यज्ञमा पनि मलाई किन सूचना दिनुभएन? के म हजुरहरूको छोरी होइन? मैले के अपराध गरें, अथवा मेरा स्वामीले हजुरको के बिराम गरिदिनु भयो, आज्ञा हवस्। विष्णु प्रभृति तेत्तीस कोटि देवता, यक्ष, गन्धर्व, किन्नर, दैत्य, नाग अप्सरा र ऋषि- मुनि एवं दस दिक्पाल स्त्री-पुरुष सहित सबै डाकेर केवल हामी दुइ जनालाई मात्र किन डाक्नु भएन? फेरि यज्ञका केर्ता-धर्ता महादेव | नै हुनुहुन्छ। उनी बिना हजुरको यो यज्ञ कसरी पूर्ण होला? यज्ञको फल दिने पनि उहाँ नै होइ-बक्सिन्छ, देवताका देवता पनि शिव नै होइबक्सिन्छ। फेरि सृष्टिकर्ता पनि उहाँ नै होइबक्सिन्छ। महादेव बिना गरेको यज्ञ निष्फल हुन्छ। यज्ञकर्ता नभएको यस्तो अशुद्ध यज्ञ किन आरम्भ गर्नुभयो? यसले हजुरहरूको कदापि जय हुने छैन। श्रीमहादेवलाई तुरुन्त डाक्न पठाउनु होस् अनि मात्र यज्ञको उद्देश्य सफल भई इच्छित फल प्राप्त हुनेछ।

 

हे पिता! शंकरलाई अशंकर गरी थाल्नु भएको यो यज्ञ शंकर नभईकन पनि पूर्ण हुन्छ कि यो ब्रह्माण्डमा दुइ शंकर छन्, यदि छन्। भने मलाई आज्ञा हवस्! फेरि मेरो स्वामीलाई नडाकेको कारण के हो? हे माता-पिता! मलाई भन्नु हवस्। भनी सतीदेवीले भनेको सुनी दक्षप्रजापति भन्न लागे हे पुत्री! तँ मनमा दुःख नमान्। तेरो पति भोलानाथ यो यज्ञमा डाक्ने योग्य छैन किनकि तेत्तीसकोटि देवता, यक्ष, गन्धर्व, नाग आदि अनेक रंग-बिरंगका वस्त्र र मणि-माणिक्यका अनेक अपूर्व गहनाहरूले सज्जित भई, श्रीखण्ड आदि सुगन्धी वस्तु लेपन गरी अनेक थरिका मंगल यात्रा गरी गन्धर्व द्वारा गीत र अप्सराहरूको नाच आदिले शोभित भएको यज्ञमा देख्दै घिनलाग्दो त्यो महादेवलाई कसरी डाक्ने? हे सती! तेरो स्वामी के ढंगको छ?-देहमा खरानी घसी, कम्मरमा बाघको छाला बाँधी, हात्तीको छाला ओढी, विष, भाँग, धतुरो खाई, राता-राता आँखा पारी जस्तो मन लाग्यो उस्तै नाची सर्पको गहना लगाउने, जटाको मुकुट कस्ने, मुण्डमाला पहिरी, दायाँ हातले डमरू बजाई बायाँ हातले त्रिशूल समाई भूत-प्रेत आदि अघि-पछि लगाई दिगम्बर मतवाला जस्तै जहाँ पायो उहीं पाउ राखी, लाज नमानी हिंड्ने। यस यज्ञमा भने-देवकन्या, नागकन्या, गन्धर्व-कन्या र तेरा सबै बहिनीहरू तथा तेत्तीसकोटि देवताहरूले शोभायमान

यस्तो पवित्र यज्ञस्थलमा त्यस्तो देख्तै अशोभा हुने र घिनलाग्दो तेरो स्वामीलाई कसरी डाकूँ, भनी नडाकेको) हो। फेरि तँलाई मात्र डाकौं भने उ पनि पछि लागेर आउला भनी तँलाई पनि डाक्न सकिन। तँ दुःख नमान। फेरि तैंले हाम्रो सेवा पनि गरेकी होस्, अपराध पनि केही गरेकी छैनस्। तेरो स्वामी त्यस्तो गतिको हुनाले नडाकेको हो। फेरि सृष्टि-स्थिति संहार गर्ने महादेव हुन् र यज्ञको फल दिने पनि उनै हुन् भनिस्। त्यो कुरा होइन, त्यो त बहुलाहा मात्र हो। यज्ञकर्ता श्री नारायण हुन्, सृष्टिकर्ता चतुर्मुख ब्रह्मा हुन्, स्थिति संहार कर्ता नारायण महाविष्णु हुन्। त्यो महादेव कहाँको देवता हो? त्यसलाई नडाकेर मेरो यज्ञ कसरी अपूर्ण होला! तेरो स्वामी महादेवलाई त कसै गरे पनि म डाक्तिन। त्यसले मेरो यज्ञमा के वरदान देला? तेत्तीस कोटि देवता, ब्रह्मा-विष्णु स्वयं उपस्थित छन् भनी दक्षप्रजापतिले जगदीश्वर महादेवलाई क्षुद्र वचनले निन्दा गरेको सुंदर मनले सहन नसकी राता - राता आँखा पारी क्रोधले नाग जस्तै लामो श्वास फेरी सुस्केरा हाल्दै दाह्रा किटी जुरुक्क उठेर भूमिमा लात्तले हानी, स्वामीको निन्दा गरेको सम्झी चित्तले सहन नसकी छातीमा मुडकीले हानी शिव, शिव! भन्दै स्वामीको नाम उच्चारण गरी यज्ञ-कुण्डमा हामफाली प्राण छाड्दी भइन्। अनि हिमालय पर्वतकी स्त्री मेनकाको गर्भमा वास लिन पुगिन्।
 

इति श्री स्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये कुमारअगस्त्यसंवादे श्रीस्वस्थानी परमेश्वर्या-व्रतकथायां सतीदेवीदेहत्यागवणनंनाम घष्ठोऽध्यायः।।६।।