कथा भन्ने र सुन्ने सबैले चन्दन, अक्षता, फूल लिएर हात जोर्नू ।
वक्ताले तलको स्तुति पढ्नु-
यं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतः स्तुन्वन्ति दिव्यैः स्तवै- र्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ।
ध्यानावस्थित-तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्याऽन्तं न विदुः सुरासुरगणा देवाय तस्मै नमः ।।१।।
श्रीमच्चन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका-
मालाऽलंकृतकुण्डला प्रविलसन्मुक्तावलीशोभिता ।
सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा
वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।।
मूकं करोति वाचालं पङ्गं लङ्घयते गिरिम् ।
यत्कृपा तमहं वन्दे परमानन्दमाधवम् ।।३।।
नमो भगवते तस्मै व्यासायाऽमिततेजसे ।
यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् ।।४।।
नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम् ।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।५।।
सबैले पुष्पाञ्जलि पुस्तकमा चढाएपछि वक्ताले कथा भन्न थाल्नु। श्रोताले एकचित्त भएर कथा सुन्नु।
कुमारजी आज्ञा गर्नुहुन्छ- 'हे अगस्त्य मुनि !! तिमीले सोधेको सबै प्रश्नको उत्तर दिइसके । अब के सुन्ने इच्छा छ?भन । म सबै सुनाउन तयार छु ।' त्यति सुनी अगस्त्य मुनिले बिन्ती गरे- 'हे कुमारजी ! त्रिपुरासुरले कसको तपस्या गरयो ? त्यसलाई श्रीमहादेवले कसरी भस्म पार्नुभयो? यो सुन्ने इच्छा छ, त्यो सबै आज्ञा गर्नुहवस् । मुनिको यस्तो प्रश्न सुनेर कुमारजी आज्ञा गर्नुहुन्छ- 'हे मुने ! अधि विष्णु भगवान् ले हिरण्याक्ष दैत्यको वध गर्नुभयो अनि समस्त दैत्यहरू दुःखी भएर खेद गर्न लागे। तब मय नामको दैत्यले मनमा विचार गर्न लाग्यो। जस्तो कामदेव नहुँदा रति भइन्, त्यस्तै त्यो दानवराज मय पनि भयो। अनि बलवान् तारकाक्ष र विद्युत्प्रभ नामका आफ्ना भित्रसमेत लिई मयले कठोर तपस्या गर्न लाग्यो। ती तीनै जना दैत्यहरू माघ पूषको जाडोमा हिमालयमा गई तपस्या गर्दथे, वैशाख- जेठको घाममा पञ्चाग्नि तापी गर्मी प्रदेशमा तपस्या गर्दथे। यस्तै प्रकारले तपस्या गर्दा- गर्दा दश हजार वर्ष बिताए । तिनका देहमा केवल हाड़- छाला मात्र बाँकी रह्यो । फेरि ती ठूलो सुखबाट पनि वञ्चित भए, तैपनि तिनीहरू सूर्य जस्तै तेजिला देखिन लागे ।
तिनको तपस्याले ब्रह्माजी प्रसन्न भएर ती तीनै जनाको सामुन्ने पुगी नम्र स्वरले आज्ञा भयो- 'हे दैत्यहरूमा श्रेष्ठ भएका वीर हो ! तिमीहरूको तपस्याले म प्रसन्न भएँ, जे इच्छा छ सो वरदान माँग।' ब्रह्माजीको त्यस्तो वचन सुनेर साष्टांग दण्डवत् गरी, केवल घुँड़ाले मात्र भूमिमा स्पर्श गरी, हात जोरेर बिन्ती गरे- हे प्रभो ! हजुर प्रसन्न हुनुहुन्छ भने हामीलाई अवध्यत्व (कहिल्यै नमर्ने) वर दिनुहवस् । बल- पराक्रम पनि ठूलो होस् । फेरि विमान समान जो हामी तीन पुर बनाउनेछौँ त्यसमा मनुष्यको गति नहोस् । हामी ठूला बलवान् होऔं' यही वरदान दिनुहवस् । ती दैत्यहरूले त्यस्तो वर माँगेको सुनी ब्रह्माजी आज्ञा गर्नुहुन्छ- 'हे दैत्य हो ! त्यस्तो अवध्य वरदान दिन म असमर्थ छु । मृत्युको अवकाश राखेर अर्को वर माँग, भ दिन्छु, यसमा अन्यथा नमान ।'
ब्रह्माजीको त्यस्तो आज्ञा सुनेर मयले फेरि बिन्ति गर्यो- 'हे प्रभो ! अघि मैले भने-जति सबै कुरा हवस् । मृत्युलाई ती मैले बनाएका पुरहरू एकै स्थानमा रहने छैनन् । जब दश हजार वर्ष पुग्ला तब ती पुरको केवल आधा निमेषसम्म मात्र मेल होस् र त्यही आधा निमेष-भित्र जो एक बाणले ती तीनै पुरलाई नष्ट गर्न सकोस्, त्यही पुरुष हामीलाई मार्न सकोस्।' मयका यस्ता वचन सुनेर 'तथास्तु' भनी ब्रह्माजी आफ्नो लोकतर्फ जानुभयो । तब त्यो मय दानवले संसार नै वश गर्ने इच्छा लिएर आदिकल्पमा तीन पुरको रचना गर्दो भयो। ती तीन पुरमा पहिलो फलामको, दोस्रो चाँदीको र तेस्रो सुनको बनायो । ती तीन पुर आकाशमा सुमेरु पर्वतका शृङ्ग (टाकुरा) हुन् कि जस्ता देखिन लागे । ती पुरहरू चन्द्रमाका किरण लाग्नाले अति शीतल भएका, स्थान-स्थानमा आँखीझ्यालहरू बनेका, घरका अट्टालिकाहरू पनि अति अग्ला, आँगनहरूमा पनि राम्रा-राम्रा देख्दै मनलाई मोह पार्ने शिलाहरूले छापेका, स्थान-स्थानमा सुनले मढेका उत्तम पुरद्वारहरूमा रंग-विरंगका रत्न जडेका ; मूगा, मोति, मणिहरू स्थान-स्थानमा जडाएर बिजुलीको प्रकाश समान रत्नहरूको चारैतिर प्रकाश फैलिएको बनायो । फेरि चित्र विचित्र प्रकाश फैलाउने गरी हीरा, मोती आदि रत्न जडेको, वायुको वेग लाग्नाले फरफराएका पताकाहरूले शोभायमान भएका घरहरूका पंक्तिहरू पनि रत्नसमूहका थुप्रा नै हुन् कि भन्ने भान पार्ने फराकिला मार्गहरू पनि सिंगारिएका अत्यन्त राम्रा पुर तयार गरायो। घर-महलहरू पनि अनेक रंगका मन हरण गर्ने रत्नहरूले सुशोभित ध्वजा-पताकाहरूले सिंगारेर ती विमान जस्ता तीन पुरलाई शोभा- युक्त बनायो । अनेक रत्न जडेका गमलाहरूमा रंग-विरंगका, जात-जातका उत्तम-उत्तम सबै ऋतुजा फुलने फूल र यस्तै छ:ओटै ऋतुमा फल्ने फलका वृक्षहरू लगायो । तलाउहरू पनि अनेक प्रकारका कमल, कमलिनी, कुमुदिनीका पुष्पले शोभायमान भएका तयार गरायो । यस्ता प्रकारले त्रिपुरवासीहरूको शोभाले
युक्त महल तयार भयो। फेरि मयूर, डाँफे आदि उत्तम पक्षिगणले युक्त र पुरुषका नङ लाग्नाले जसका पयोधरका गोलाकार घेरामा अर्ध-चन्द्राकार घाउ लागेका कलश जस्तै उत्तुङ्ग (ठडिएका) कुच भएका, मदिराले राता-राता आँखा भइरहेका, लाजले मुसुक्क हास्य गर्ने, लोलिएका नेत्र भएका यस्ता अनिन्द्य सुन्दरीहरूले व्याप्त भएको त्यो त्रिपुर परैबाट पनि अत्यन्त रमणीय देखिन लाग्यो ।
यसरी देवताहरूलाई दुःख दिएको निकै समय व्यतीत भयो । तब तिनीहरूदेखि सबै देवताहरू क्रोधित भई ब्रह्माका सामु गई त्रिपुर-निवासी दैत्यहरूको सारा अन्याय उपद्रव विस्तार गर्दा भए । अनि ब्रह्माजीले समस्त देवतालाई शान्त गराई आज्ञा भयो- 'हे देवगण हो ! त्रिपुरासुर दैत्यहरू बड़ा बलवान् छन्, तिमीहरूद्वारा तिनको नाश हुन सक्तैन, तसर्थ, नारायण आदि सकल देवता अब महादेवका शरणमा जाऔं उनैले हाम्रो उद्धार गरिदिन्छन् । उनले हाम्रा शत्रु ती दैत्यहरूको अवश्य नाश गर्नेछन्। ब्रह्माजीको यस्तो हित वचन सुनेर स्वीकार गरी ब्रह्मा, विष्णु, इन्द्र, यम, चन्द्र, कुबेर, वायुसमेत सबै देवता ब्रह्मालाई अघि लगाई कैलास पर्वतमा पुगे ।
त्यहाँ महादेवको दर्शन पाई हात जोरेर स्तुति गर्न लागे- "हे पिनाकधारी ! हे चन्द्रमौले! हे त्रिलोकेश ! हे अमित पराक्रमी ! हजुरलाई कोटि-कोटि नमस्कार । हे चन्द्र- शेखर ! हे त्रिलोकदेव ! हे चन्द्रमौलि ! जटाजूटधारी, नीलकण्ठ हजुरलाई कोटि कोटि नमस्कार । संसारलाई शरण लिने, नन्दीलाई वर दिने, देवताका पनि देवता यस्ता हजुरलाई कोटि-कोटि नमस्कार । थोरै सेवाले पनि प्रसन्न भएर वर दिने, यज्ञका मालिक, हिमालयमा निवास गर्ने यस्ता हजुरलाई कोटि-कोटि नमस्कार । योगीहरूले सदैव ध्यान गरिने, जगत्को वैभवलाई तुच्छ ठान्ने, धर्ममा दृढ़ रहने, दिशारूपी वस्त्र धारण गर्ने, भक्तलाई वर दिने, ब्रह्माण्डका धाता विधाता यस्ता हजुरलाई कोटि-कोटि नमस्कार छ। सूर्य, चन्द्र, इन्द्र, वायु आदि देवताको सृष्टि र पालन गर्ने यस्ता हजुरलाई कोटि-कोटि नमस्कार । सूक्ष्मभन्दा पनि अति सूक्ष्म, काल स्वरूप, नित्यस्वरूप धारण गर्ने यस्ता हजुरलाई कोटि-कोटि नमस्कार । परभन्दा पनि पर, परब्रह्म-स्वरूप शंकरलाई कोटि-कोटि नमस्कार छ । सारा ब्रह्माण्ड धारण गर्ने; सूर्य, चन्द्र, वायु, अग्नि र जल एवं आकाशको रचना गर्ने यस्ता हजुरलाई कोटि-कोटि नमस्कार छ। हे सौम्य ! हे पुरुषोत्तम ! हे वपुष्मान् ! त्रैलोक्यको सृष्टि, स्थिति, संहार गर्ने यस्ता हजुरलाई कोटि कोटि नमस्कार छ । पूषाको दाँत भाँच्ने, दक्षको यज्ञ नाश्ने र कामदेवलाई भस्म पार्ने यस्ता हजुरलाई कोटि-कोटि नमस्कार छ । सुराऽसुरका उत्पन्न कर्ता, यज्ञका हर्ता, धर्ता हे शिखण्डिन् ! हे नीलकण्ठ ! हजुरलाई कोटि-कोटि नमस्कार छ । निरन्तर सुधा-स्वरूप, पार्वतीका भर्ता, गणेश-कुमारका पिता ! हजुरलाई कोटि- कोटि नमस्कार ! सदा मोक्षरूप वरदान दिने हे विश्वेष्वर, हे ब्रह्मात्मन् ! हे वरदाता ! हजुरलाई कोटि कोटि नमस्कार छ। हे योगेश्वर, हे चण्डीश्वर, ह रुद्र, हे शर्व, हे शम्भो, हे भीम, हे ईश्वर ! हजुरलाई कोटि-कोटि नमस्कार छ । हामीदेखि प्रसन्न हुनुहवस् ।
देवताहरूले काँतर भएर यस्तो स्तुति गरेको सुनी, तिनका मनको भाव जानी शिवले आज्ञा गर्नुभयो- 'हे देवता हो ! जे इच्छा छ सो वर माँग । मैले नदिइने संसारमा केही वस्तु छैन, म इच्छा-पूर्ण गर्न तयार छु । जे इच्छा छ नि:शंक भएर माँग । महादेवको यस्तो आज्ञा सुनी प्रसन्न भएका देवताले विनम्र स्वरमा बिन्ती गरे- '"हे प्रभो ! ब्रह्माको वरले उन्मत्त भएका मय आदि दानवले हाम्रा उर्वशी, मेनका आदि अप्सराहरू बलजफत लुटेर लगे। नन्दनवनका असल-असल बोट-बिरुवा पनि कति उखेलेर नाशे, कति आफ्ना घर ओसारे । देवताको नाश गर भन्दै हामीलाई अनेक तरहको कष्ट दिइरहेका छन् । अमरावतीबाट पनि निकालियौं । भगवन्, ती दैत्यको संहार गर्न ब्रह्मा-विष्णु पनि समर्थ छैनन् । हे ईश्वर ! अब जसरी हामी देवताहरूको भलो हुन्छ, सोही वरदान बक्सियोस्।" त्यति सुनी शिवजीले फेरि भन्नुभयो- 'हे देवता हो ! तिमीहरू मेरो रुद्र - तेजको एक अंश धारण गरी रुद्र-तेजोमय रूपले ती दानव हरूको संहार गर ।' शिवजीको त्यस्तो वचन
सुनी देवताहरूले फेरि बिन्ति गरे- 'हे भगवान् ! हामी हजुरका तेजको हजार अंशको एक अंश पनि धारण गर्न समर्थ छैनौं भने रुद्र-तेज धारण गर्ने कुरा त परै रहोस्, हेर्ने शक्तिसम्म पनि हामीमा छैन। हे प्रभो! हामी-उपर प्रसन्न भएर त्यो अजेय त्रिपुरासुरलाई स्वयं संहार गरिबक्सनुहवस् । ब्रह्माजीको वरदान अनुसार दिव्य दश हजार वर्ष बितेपछि आधा निमेषती त्रिपुरको मिलन हुनेछ, त्यही आधा निमेष-भित्रमै त्यो त्रिपुरलाई जसले
एकै बाणले भस्म पार्ला, उसैद्वारा ती दैत्यहरूको संहार होला, अन्यथा तिनको मृत्यु हुनेछैन। हे शशिशेखर ! हामीदेखि प्रसन्न भई त्यो पापिष्ठ त्रिपुरासुरको नाश गरिदि बक्सियोस् । देवताहरूको त्यस्तो प्रार्थना सुनी शिवजीले फेरि आज्ञा भयो हे देवता हो ! त्यस्तो अभेद्य त्रिपुर छ भने तिमीहरूको हितका निम्ति म एउटै बाणले ती तीनै पुरलाई भस्म पारिदिनेछु । त्यस्ता अजेय दानवहरूका साथ युद्ध गर्दा मेरो शक्ति थाम्न सक्ने हिमालय समान मेरो निम्ति यौटा रथ तयार पार अनि म युद्धमा जानेछु ।' महादेवको यस्तो आज्ञा सुनी प्रसन्न भएका देवताहरूले प्रणाम गरेर 'हवस्' भनी तत्काल विश्वकर्मालाई डाकी महादेवको निमित्त समस्त देवतारूपी अवयव भएको सुवर्णमय रथ तयार पारे । त्यस रथका दुवै पांग्रा सूर्य-चन्द्र भए । दक्षिण पांग्रामा बाह्ल सूर्य भूषण गराइयो । बायाँ चक्रमा सत्ताईस नक्षत्र र षोडश कला भूषण बनाइयो। छ: ऋतु रथका दायाँ-बायाँ राखिए । आकाशको गजुर र पांग्रा अड्याउने दण्ड मन्दराचलको बनाए । अयन र संवत्सर रथका वेग भए । चार समुद्र रथका कुण्डलिका भए । गंगादि समस्त तीर्थ राम्रा
राम्रा वस्त्र आभूषण पहिरी स्त्री-रूप धारण गरेर हातमा चमर लिई रथमा उभिए । सारथि स्वयं ब्रह्माजी बने, ब्रह्मस्वरूप ॐकारको कोर्रा बनाए र विन्ध्याचलको छत्र निरूपण गरे । मन्दराचलको पार्श्वदण्ड बनाए । सरस्वती धण्ट भइन्। श्री नारायण अग्निबाणको टुप्पो भए । चार वेद नै चार घोड़ा भए । ताराहरू घोड़ाका गहना भए । हे अगस्त्य मुनि ! यसरी समस्त वस्तु त्यस रथका अवयव भए । यसरी जब धनु-बाण-सहित रथ तयार भयो तब पृथ्वी र आकाश कम्पित पार्दै भगवान् शिव त्यस रथमा आरूढ़ हुनुभयो । त्यस रथका अघि-पछि शिवका गणहरू शंकुकर्ण, चण्डेश्वर, गणेश, नन्दी आदि प्रमथ गणहरू शूल, पट्टिश आदि अनेक शस्त्रास्त्र लिएर शंख, भेरी, मृदंग आदि बाजा बजाउँदै महादेव माथि अनेक थरिका पुष्पको वर्षा गराउँदा भए । त्यस बेलाको रुद्र-तेज सहन गर्न नसकी समस्त देवता मोहमा प्राप्त भए, । महादेवले देवताहरूको त्यस्तो स्थिति देखी आफ्नो तेज खिंची केही कम पार्नुभयो, अनि देवताहरू रुद्र-तेज सहन गर्नमा किंचित् समर्थ भए। त्यसपछि नारद मुनि ती दैत्यहरूकहाँ गएर भन्न लाग्नुभयो-'हे दैत्यराज! देवताहरूको स्तुतिले प्रसन्न भएका महादेव स्वयं तिमीहरूको संहार गर्न भनी आइरहनु- भएको छ । अब तिमीहरूको जो इच्छा छ सो गर । नभए तिमीहरूको अविलम्ब नाश हुनेछ ।' नारदजीका यस्ता वचन सुनी दैत्यराज मयले आफ्ना मित्र तारकाख्य, विद्युत्माली र अन्यान्य योद्धाहरूलाई डाकी नारद मुनिले आज्ञा भएको सबै कुरा विस्तारले सुनायो । अनि दानवमा उत्तम बलवान् भएको तारकाख्यले भन्यो- 'हे राजन् ! किन चिन्ता गर्नुहुन्छ ? देवताहरू यथार्थ रूपमा हाम्रा वध्य छन् । यो त्रिपुर भेदन गर्ने कसको पराक्रम वा शक्ति छ ? यदि समस्त देवता, यक्ष, गन्धर्व, किन्नर आए पनि यो त्रिपुर अभेद्य नै रहनेछ। फेरि शत्रुलाई जित्न साम, दाम, दण्ड, भेद आदि अनेक किसिमका नीति छन् । अतः जित्ने इच्छा भएका बलवान् शत्रुलाई आफ्नू पराक्रमद्वारा दण्ड दिनु नै उचित छ । वीर तारकाख्यको यस्ता कुरा सुनी विद्युत्माली भन्न लाग्यो- 'हे राजन् ! श्रीहीन र बलहीन देवता कुनै प्रकारले पनि हामीसित युद्धमा अगाडि आउन सत्तैनन् । यदि कोही मूर्खता गरेर हामीसित युद्ध गर्न अघि पर्छ भने त्यो अवश्य क्षयमा प्राप्त
हुनेछ, यसमा शंसय छैन । हे राजन् ! यसमा चिन्तित हुनुपर्ने केही कुरा छैन । एकमत भएर युद्ध गरौं, अनि समस्त देवतालाई जितेर इन्द्रको पद पनि भोग गर्नुहवस् । फेरि अघिका हिरण्याक्ष र हिरण्यकशिपुको पद पाई चौधै भुवनको अकंटक राज्य भोग्नुहवस् ।'
विद्युत्मालीका त्यस्ता कुरा सुनेर मयले शान्त स्वरमा भन्यो- "हे दैत्य हो, सुन्यौ ? अब हाम्रो नाशको बखत आइपुग्यो ।' यति भनेर देह कम्पित पार्दै र शिर हल्लाउँदै फेरि भन्न लाग्यो 'जो शत्रु आफूभन्दा बलियो वा निर्बल छ भने त्योसित साम, दाम, दण्ड, भेद आदि नीतिको प्रयोग गर्न सकिन्छ, तर यी त सम्पूर्ण जगत्का स्वामी श्रीमहादेव हुन् । उनी दानव र देवताभन्दा धेरै बर्ता श्रेष्ठ छन् । यदि देवताको हितका लागि उनी स्वयं हामीलाई मार्न आइरहेका छन् भने, यसको त कुनै पनि उपाय छैन । केवल महादेवको नगीच गई उनलाई नमस्कार गरौं भन्ने मेरो यो अन्तिम निर्णय हो। यदि हामी उद्दण्ड झै कठोरता धारण गरेर उनका सामु युद्ध गर्न गयो भने केवल उनको दृष्टिपात (हेराइ) मात्रले नै भस्म हुनेछौँ । ब्रह्मादि देवता पनि दुःखी भएर जसका शरणमा जान्छन्, आज उनै ईश्वर हाम्रो नाश गर्न आइरहेका छन् भने हाम्रो के गति होला, भन्न सकिन्न । जो क्षण मात्रमा सम्पूर्ण सृष्टि, पालन र नाश गर्न सक्तछन्, फेरि जो जगत्का कारण र मुक्तिदाता पनि हुन्, ती महादेवसित युद्ध गरेर हामी कसरी जित्ने आशा गर्न सक्तछौँ? हे वीर हो! हाम्रो विधिहीन तपले के हुन सक्तछ ? फेरि त्यसको फल हामीहरूले धेरै वर्षसम्म भोग गरिसक्यौँ । अत: म भन्दछु हे दानव वीर हो ! तिमीहरू सबै यतिखेर कालले प्रेरित छौ, त्यसैकारण युद्ध गर्न तम्सिरहेका छौ ।' मयको त्यस्तो कुरा सुनी नारद मुनि उन्मत्त दैत्यहरूको मृत्युरूप यो कुरा भन्न लागे-'हे दानवराज ! अब तिमीहरूको तपस्या को फल सकियो। यदि संग्राममा पछि हटेर नपुंसक हैं 1. देवताहरूको शरणमा जानु- भन्दा त संग्राममा लड़ी वीर-गति पाउनु नै उत्तम ठान्दछु। यदि शिवका हातबाट मर्न पायौ भने उनका प्रमथ गणको अधिपति पनि हुन सक्तछौ । संग्राम नगरेर शरण पर्न गयौ भने पनि देवताको हितका लागि तिमीहरूलाई नमारी छाड्नेछैनन् । फेरि दानवहरूका राजा, वीर पराक्रमी भएर पनि कायरतातिर लाग्नु उचित छैन । कायरदेखि शिवजी प्रसन्न हुँदैनन् । बरु युद्धमा पराक्रम देखाउने वीरदेखि प्रसन्न हुने छन् । अत: किन नलड्ने? अवश्य लड । यदि संयोगले जित्यौ भने तीनै लोकको सुख-भोग गरौला ।
नारद मुनिका यस्ता कुरा सुनेर तारकाख्य र विद्युत्माली दानवहरू आयुष्य क्षीण भइसकेका हुनाले भन्न लागे- 'ठीक हो, उत्तम हो, नारदजीले आज्ञा भएको उचित हो।' दानवराज मयले पनि आफ्ना सहयोगीहरूको कुरा सुनी अब समस्त दानव वंशको संहार हुने समय भयो भन्ने जानी नारदजीले आज्ञा भएको कुरो उचित हो भनी सर्थन गरे । अनि मयका वचन सुनेर नारदजी पनि प्रसन्न हुनुभयो र समस्त दैत्यहरूलाई युद्ध गर्न उद्यत पारी मयसित बिदा माँगी महादेवकहाँ गएर उहाँ भएको कुरा सबै निवेदन गरे । त्यसपछि समस्त दानवहरू युद्धको इच्छा गरी अनेक तरहका शस्त्रास्त्रले सज्जित भई लड्न तयार भए । बलनामा, नेमिनामा, बाणासुर, तारकाख्य, विद्युत्माली आदि प्रधान दानवहरू पनि युद्धको निश्चय गरी राजा मयका सामुन्ने आई अनेक प्रकारले सिंहनाद गर्दै गर्जन थाले । फेरि ती दानव सैन्य स्वयं दानवहरूलाई नै भयदायक देखिन लागे । परस्परमा -ऊः रथ आयो, उता हेर, ऊः महादेवका रथको ध्वजा देखियो भन्न लागे । भय र शोक त्यागी नाना तरहका शस्त्रास्त्र लिई युद्धको इच्छाले जसरी पशु पुतली आगोको नगीच जान्छ, त्यसरी नै त्यो पशु गए-झै कालले प्रेरित दैत्यगणले शिवको रथ कहिले आइपुग्छ र युद्ध गर्न पाइन्छ भनी हेरिरहेका थिए ।
त्यसै बखतमा पश्चिम सागरको शिरोभागमा रहेको अनेक सौन्दर्यले शोभा बढाइरहेका ध्वजा-पताका आदिले सज्जित एवं सुशोभित सुमेरु पर्वत समान शिवरथ देखियो । नन्दीश्वर आदि महादेवका प्रधान गणहरू उच्च स्वरले सिंहनाद गर्न लागे । तिनको सिंहनाद सुनेर दानवगणहरू पनि नगर छाडी बाहिर निस्के । यता चण्डेश्वर पनि उज्ज्वल कुठार हातमा लिएर डरलाग्दो मुख पारी शिवगणका सामुन्ने आए । फेरि देदीप्यमान त्रिशूल हातमा लिई शिवकै समान पराक्रम गर्ने इच्छा भएका गणका अधिपति पार्श्वभागमा आए। अर्को गणका स्वामी शंकुकर्ण मुसल हातमा लिएर अर्को पार्श्वमा डटे । नन्दी, भंगी, रिटी, तुण्डी र वीरभद्र आदि प्रधान वीरहरू पनि वज्र, त्रिशूल, गदा, परिघ आदि लिएर युद्धमा अग्रसर भए । यता दानवगण पनि शिवजी- को रथ आएको देखेर युद्धका निमित्त अनेक शस्त्रास्त्र लिएर शिवगणमाथि जाइलागे अनि दुवै तर्फबाट युद्ध शुरू भयो । शिवजी पनि त्रिपुरलाई भस्म हुन लागे-झै देखेर प्रसन्न मुद्राले संग्राममा तत्पर हुनुभयो । नन्दी चाहिँ महाबली दानवसित जुझे । भृंगीले दश बाणद्वारा विद्युत्प्रभलाई भेदन गरे । तर राता- राता नेत्र पारेर अनेक शिलाले ठोक्ता पनि उसलाई केही हानि गर्न सकेनन् । तब श्रृंगी र रिटीले त्यस दैत्यका पृष्ठदेशमा प्रहार गरे, अनि उसले पनि सर्प झै नि:श्वास फेर्दै ठूलो शूलले भृङ्गी र रिटीलाई मर्म-मर्ममा प्रहार गर्यो । त्यसको पीडा खप्न नसकी भंगी र रिटी संग्रामबाट भागे । त्यस दानवराजले जब तिनीहरूलाई त्यसरी भगाएथ्यो तब गणनायक गणेशलाई पनि एक हजार शरको प्रहारले घायल तुल्यायो । फेरि त्रिसट्ठी र दश बाण थपेर गणेशको सर्वाङ्गमा घाउ गरायो। वैरीको त्यस्तो अदम्य साहस देखेर गणेशजी पनि रिसाई सूँढ लामो पारेर त्यस दानवको घाँटीमा बेह्री बेसरी निमोठी, मत्ता हात्तीले तलाउँमा फुलेको कमलको पुष्पलाई सहजै उखेलेर फाले-झै गरी विद्युत्प्रभ दानवको शिर उखेलेर फालिदिए । अनि गिंडबाट छुट्टिएको उसको शिर-सरोवरबाट छुट्टिई हात्तीका दाँतमा अड्केको कमलको पुष्प झै शोभित भयो । त्यो देखेर भृङ्गी र रिटीले अनेक स्तुति-गान गरे । अनि नेमिनामा र बलनामा दुवै दानव रिसाई गणनायक गणेशका सर्वाङ्गमा बाण हानेर घाउ लगाउन थाले । ती दानवलाई शंकुकर्णले बीचमै रोकेर तिनका रथ, सारथि, ध्वजा र घोड़ा सबै काटी-मारी विरथी गराए । ती दुवै दानव पनि तत्काल अर्को रथमा चढेर आई चण्डेश्वर र गणनायकका सबै अंगमा अनेक बाण प्रहार गरी घाउ पारिदिए। गणनायक र चण्डेश्वरले पनि दानवका प्रहार खपेर रिसले राता-राता आँखा पारी हातमा मुसल लिई वेगले हाने । त्यसको चोट खप्न नसकी दुवै दानव यमराजको नगरमा पुगे ।
ब्रह्माजीले त्यसलाई देख्नासाथ आफ्नू दाहिने हातको औंलाले शंकेत गरेर श्रीमहादेवलाई विनयपूर्वक भन्नुभयो- 'हे ईश्वर ! त्यो दानव अघि नै मरिसकेको थियो, तर अहिले फेरि बाँचेर लडाइँमा आयो । मयका घरमा अमृतको कुण्ड छ, त्यसले मरेका समस्त दानवलाई बचाउनेछ । अतः हे शिव ! त्यसका घरमा अमृत रहेसम्म मरेका दानक्लाई बराबर बचाइरहनेछ । यसकारण, एक बाण प्रहार गरेर त्यो अमृत शोषिलिनुपर्दछ । ब्रह्माजीको वचन मानेर शिवले एक बाण प्रहार गरी सारा अमृत शोषिलिनुभयो । ब्रह्माजीले फेरि विनय पूर्वक बिन्ती गरे-'हे प्रभो ! अब त्यो बाण प्रहार गर्नुहवस् । मैले त्रिपुरसितको युद्ध अघाउँजी देखें । लड्दा-लड्दा आज हजार वर्ष बितिसक्यो । तर त्यसको नाश हुन सकेन । अब त्यो बाण शीघ्र छाड्नुहवस्, अनि वैरीको नाश होला । ठीक उसै बेला ती तीन पुरहरू आधा निमेषसम्म जोरिई फेरि छुट्टिनेछन् । ती पुरहरू एकपल्ट जोरिएर छुट्टिएपछि जति बाण प्रहार गरे पनि सफलता प्राप्त हुन सक्तैन । हे प्रभो ! मेरो प्रार्थना स्वीकार गरिबक्सिन्छ भने तत्काल बाण प्रहार गरेर यस त्रिपुरलाई नाश गर्नुहोस् ।
ब्रह्माजीको त्यस्तो विनय-युक्त कुरा सुनी 'ठीक हो, असल हो' भनी त्यो अग्नि - सोम-युक्त उग्र बाण धनुमा चढ़ाई धनुलाई तल-माथि झुकाई दिव्य दश हजार वर्ष पुग्नासाथ आधा निमेष, आँखा झिम्म गरेर उधारे-जति समयको लागि त्रिपुर जोरियो, तब महादेवले आफ्नू योगबलले जोरिनुलाई निश्चल पारिदिनु-भयो । अनि जसको टुप्पामा अग्नि-सोम स्थित थिए त्यो नारायणरूपी बाण शिवले प्रहार गर्नु- भयो । त्यो बाण छुट्नासाथ त्रिपुरका भव्य महलहरूमा आगो लागेर चारैतिर डढ्न थाल्यो। 'धिक् धिक्, कष्ट-कष्ट' भन्ने शब्द सुनिन लाग्यो । महादेवले तत्काल नन्दीलाई भन्नुभयो- त्यो मय दानव मेरो प्रिय भक्त छ, त्यसलाई अग्निले नडढाऊन् । श्री महादेवको त्यस्तो आज्ञा पाउनासाथ वायुरूप भई बाणभन्दा पनि वेगले गई मयको घरमा नन्दीले देखे-राजा मय शिवलिंग सामुन्ने राखी उनकै ध्यान गरिरहेको छ । तब नन्दीले मयलाई भने- 'अग्निले तिमीलाई जलाउनेछैनन् ।' मयले तुरुन्त नन्दीलाई प्रणाम गरे । त्यसै बेला अग्नि पनि आइपुगे र नन्दीले शिवको आज्ञा अग्निलाई सुनाइदिए । तब अग्निले मय दानवतिर फर्केर भने-'हे शिवभक्त ! अब तिमी यो नगर छाडेर तुरुन्त जाऊ।' मयले 'जो आज्ञा' भनेर सुवर्णको शिवलिंग बोकी तत्काल पाताल गए। यता नन्दीले फर्केर गई सम्पूर्ण कुरा शिवजीलाई बिन्ती चढाए । अब त्रिपुर भस्म हुन लाग्यो । त्यसका वेदी, महल, उद्यानहरू धमाधम भत्किएर नाशिन थाले । अनेक दानव र तिनका परिवारहरू कराएको मात्र सुनिन लाग्यो । वस्त्र खुस्केका अनेक सुन्दरी स्त्रीहरू घरबाट बाहिर निस्की रोए
कराएको चक्को स्वर सुनिन लाग्यो । अग्ला-अग्ला महल र विमानहरूमा रहेका, कठोर (कड़ा) र उच्चस्तन भएका, मदले विह्वल नेत्र भएका, आफ्ना आफ्ना पतिका अत्यन्त प्रिय नारीहरू अग्निबाणले डराई घर-घरमै यता-उता दगुर्न र कराउन थाले । जस्तै पर्वतमा भूमि-कम्प हुँदा त्यहाँका किन्नरहरू भयले व्याकुल हुन्छन्, त्यस्तै आफ्ना पतिलाई भयले आकुल भई अंकमाल गर्न थाले । कोही डराई भाग्न लागे । कतिपय दानवगण आफाफ्ना स्त्रीहरूलाई बोकेर नगर छाडी वेगले भाग्न लागे । शिवको भक्तिले हीन र वस्त्राभूषणले पनि हीन, पर्वताकार, देख्तैमा डरलाग्दा, काला-न-काला दानवहरू डढेर खस्न लागे। जति दानवहरू समुद्रमा खसेथे, ती सबैलाई जलका अनेक जन्तुले खान थाले। कति दानवहरू त आफ्ना पति वा पत्नीको अवस्था देखेर खप्न नसकी आगोमा डढेर मरे ।'
रतिका अन्तमा खेदित भएका, तर तुरुन्त कामले पीडित भई प्रियाका साथ जाऊँ भन्ने इच्छा भएका ती कति दैत्यहरू भार्या-सहित अग्निमा डढेर मरे । कोही सभुद्रमा हामफाली जलजन्तुको भोजन भए । कोही आधा डढेर, कोही भाग्दा लडेर स्वाहा भए । यस प्रकार त्यो अमोघ अग्नि सोमयुक्त बाणले त्रिपुर भस्म पारी शेष नगर समुद्रमा डुबाई फेरि भगवान् शिवको हातमा आइपुग्यो । त्यस्ता प्रकारले अभेद्य त्रिपुर भस्म भएपछि देवताहरू आफाफ्ना अधिकार पाई शिवजीलाई प्रणाम गरेर स्तुति गर्न लागे - 'हे रुद्र ! आज हजुरद्वारा जुन रौद्रकर्म हुन गयो, त्यो अन्य कसैबाट पनि न कहिल्यै भएको थियो, न फेरि हुनेछ । हे शंकर ! यो कामले हामी समस्त देवताहरूको कष्ट निवारण गरिदिनुभयो । अतः हजुरलाई कोटि-कोटि नमकार छ।' यस्तो देव गणले स्तुति गरेको सुनी महादेव प्रसन्न भएर आज्ञा भयो- 'हे देवता हो ! आफ्ना प्रिय भक्तजनलाई सदैव पुत्र जस्तै स्नेहपूर्वक पालन गर्नुपर्दछ । आज त्रिपुरवासी दानवहरूको संहार हुन गएकोले तिमी- हरूको इच्छा पूर्ण भयो । अब तिमीहरू खुशी साथ आफाफ्ना आश्रममा जाओ। श्रीमहादेवले यस्तो आज्ञा भएको सुनी महादेवलाई दण्डवत् प्रणाम गरी देवताहरू आफाफ्ना लोकमा जाँदा भए । देवताहरू गएपछि नन्दी, भृङ्गी, भूत, प्रेत, पिशाच, डाकिनी-शाकिनी सहित भएर शिवजी कैलाशपुरी पाल्नुभयो। हे अगस्त्य मुनि ! यो सहसा कसैले वर्णन गर्न नसकिने त्रिपुर-दाह मैले सुनाएँ । जो शिवभक्त खुशीसाथ यो कथा सुन्ला वा सुनाउला त्यो समस्त पापबाट मुक्त भएर मरेपछि शिवको पार्षद भएर सधैं कैलासमै बस्न पाउनेछ ।
।।इति श्री स्कन्दपुराणे केदारखण्डे माघमाहात्थ्ये कुमारअगस्त्यसंवादे श्रीस्वस्थानी- परमेश्वर्या व्रतकथायां त्रिपुरदाहवर्णनं नाम पञ्चमोऽध्यायः ।। ५।।
कथा सकिएपछि निम्न स्तोत्र पढेर पुष्पाञ्जलि गर्नु-
काले वर्षतु पर्जन्यः पृथिवी शस्यशालिनी ।
देशोऽयं क्षोभरहितो ब्राह्मणाः सन्तु निर्भयाः ।।
अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः ।
निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता ।
या वीणा वरदण्डमण्डितकरा या श्वेतपद्मासना ।।
या ब्रह्माच्युत शंकरप्रभृतिभिर्देवैः सदा वन्दिता ।
सा मां पातु सरस्वती भगवती निःशेष जाड्यापहा ।।
श्री स्वस्थानी देव्यार्पणमस्तु ।
यति भनिसकेर कथा सुन्ने जति समस्त श्रोताहरूले | पुष्पाञ्जलि चढाई दण्डवत् गर्नु र आफाफ्ना मनको इच्छित वरदान माग्नु ।