कुमारजी आज्ञा गर्नुहुन्छ-हे अगस्त्य मुनि! त्यसपछि कन्यादान लिने दिन आयो र महादेव आउनुहोला भन्ने विचार गर्दै विष्णु दक्षको घर पुग्नुभयो। उनले सम्पूर्ण सामग्री तयार गराई अन्य विधान पूरा गरेर कन्यादान गर्न तयार भए। उता महादेव दक्षको घर जान बिर्सेर विष, भाड, धतुरो खाई अचेत जस्तै भए। अनि विष्णुले अझसम्म महादेव आउनु-भएन, कन्यादानको वेला भइसक्यो, आफ्नू हातमा थापौं भने महादेवलाई हुँदैन, अब के गरौं भनी व्याकुल हुन लागे। उता महादेव अकस्मात् झसंग भई- 'कन्यादान दिने दिन आजै हो, विष्णु पुगिसके होलान्, वेला पनि भयो होला' - यस्तो सम्झी, तत्काल वृद्ध संन्यासीको रूप धारण गरी दक्षको घर पुगी भिक्षा माँगे-'हे विष्णु ! म धेरै परबाट आइरहेको छु, भोक लागिरहेछ, पहिले मलाई भिक्षा नदिई कन्यादान गरे लिने-दिने दुवैलाई श्राप दिनेछु।' ती संन्यासीरूप महादेवको यस्ता वचन सुनी विष्णु भन्नुहुन्छ - 'हे भिक्षुक ! लग्नको समय बित्न लाग्यो, कन्यादान भइसकेपछि भिक्षा दिएर सन्तुष्ट गराउँला, अहिले म बसेको ठाउँमा आएर बस' भनी आफू बसेकै सिंहासनको छेउमा बसाउनुभयो। महादेव कस्तो समयमा पुग्नुभयो भने-विरणीले सुनको कमण्डलुले धारा दिई दक्षप्रजापतिले सतीदेवीको हात समाती विष्णुको हातमा सुम्पन लागेको-यस्तो समयमा पुग्नुभयो र विष्णु आफ्नो मायाले ढाकेर दक्ष- दम्पतीको आँखा छली सतीदेवीको हात संन्यासीरूप महादेवको हातमा पारिदिनुभयो ।
त्यो देखेर दक्षले अत्यन्त दुःखी भई विष्णुको मुखमा हेरी-तिमी भारी कपटी रहेछौ, तिम्रो विश्वासमा पर्दा आज मेरी पुत्री सतीदेवी यो अवस्थामा पर्न गई। दक्षको त्यस्ता कुरा सुनेर पनि सुन्या नसुनै गरी केही उत्तर नदिई संन्यासीरूप महादेवसित 'जान्छु' भनेर वैकुण्ठ गए । त्यसपछि दक्षले छोरीतर्फ हेरेर भने- 'हे सती ! पापिष्ठ विष्णुको छलमा परेर यो वृद्ध संन्यासी स्वामी पाए पनि चिन्ता गर्नु- पर्दैन । हामी छँदै छौं, तँलाई दुःख हुन दिने छैनौं। अहिले उसैसित जाऊ।' पिताको यस्तो वचन सुनेर सबै बहिनीहरूले देवत स्वामी पाएको सम्झी- 'म धिक्कार रहिछु' भनी विषाद गरी रुन लागिन् । फेरि 'विधाताले मेरो ललाटमा यस्तै लेखेको रहेछ, अब रुनु व्यर्थ छ; जस्तो भए पनि माता-पिताले दिएका मेरा स्वामी यिनै हुन्' भनी धैर्य धारण गरिन् ।
त्यसपछि संन्यासीरूप महादेवले सतीदेवीतर्फ हेरेर भने- 'हे स्त्री! अब यहाँ बसेर के गर्ने ? आफ्नू घर जानुपर्छ । माता-पितासित बिदा भाँगेर आऊ।' स्वामीको यस्तो आज्ञा सुनी 'हवस्' भनी माता- पिताको नगीच गएर-'हे माता-पिता ! अब आज्ञा पाए म जाने थिएँ' भनिन् । अनि दक्षप्रजापति र विरणीले धैर्य धारण गरेर- 'जाऊ' भनी बिदा दिए। सतीदेवीले माता-पितालाई प्रणाम गरी संन्यासीरूप महादेवको अगाडि लागेर हिंडिन् । निकै पर पुगेपछि संन्यासीरूप महादेव आज्ञा गर्नुहुन्छ- 'हे प्रिये ! घरबाट कहिल्यै बाहिर ननिस्केकी, सदा सुखमा पालिएकी, अत्यन्त कोमल अंग भएकी तिमीलाई परिश्रम पर्ला, सुस्त-सुस्त हिंड ।' पतिको मधुर वचन सुनेर सतीदेवी भन्न लागिन्- 'हे स्वामी ! म त हिंडून सक्तछु, हजुरको वृद्धाऽवस्था छ, परिश्रम पर्ला, बिस्तार-बिस्तार हिंडिबक्सियोस्।' यस्तै किसिमका अनेक कुरा गर्दै गए। सतीदेवीले आफ्ना स्वामीको वृद्धावस्था देखी 'यी वृद्ध अवस्था भएका, म युवति, मेरा स्वामीलाई कसैले केही गरी मेरो अपहरण पो गर्ने हो कि ! भन्ने चिन्ता गर्दै एकछिन पनि नछाड़ी पछि लागेर गइन् ।
कैलासमा पुगेर महादेवले सतीदेवीको चरित्र हेर्नको लागि कैलासकै टाकुरामा यौटा खरको झुपड़ी उत्पन्न गरी- 'हे स्त्री ! हाम्रो घर त्यही हो, आइपुग्यो' भन्दै औंलाले देखाए, अनि अब तिमी घरभित्र जाऊ, भोक पनि लाग्यो होला, जे छ झिकेर खाऊ। मलाई परिश्रम भयो, एकछिन सुत्तछु भनी विष- भाऊ-धतुरो खाई बाहिरै सुते । सतीदेवीले त्यो खरको झुप्रो देखी आफ्ना पिताको घर सम्झेर-त्यस्तो सुवर्णको घरमा बसेकी मलाई यस्तो खरको झुपडीमा बस्नुपर्यो भनी मनमा विषाद गरी आँखाबाट आँसुका धारा बगाइन् । फेरि 'मेरो कर्मले यस्तै पारिल्यायो, के गरूँ' भनी मन बुझाइन् र पछ्यौराले आँसु पुछी घरभित्र पसिन् । भित्र हेर्दा त सबै ठाउँमा माकुराको जालो र कसिंगर मात्र देखिन् । अनि कुचोले माकुराको जालो फाली राम्रोसित बढारेर सफा पारिन् । अनि स्वामी जागा भएपछि खान के दिने भनेर भण्डारमा हेर्न पुगिन् , तर त्यहाँ केही फेला पारिनन् र मनमा विषाद गरी महादेव सुतेको स्थानमा गई खुट्टामनि बसिरहिन् ।
चार दिन बितेपछि महादेव जागा हुनुभयो र सतीदेवीको मुखमा हेरी-'हे पापिनी स्त्री ! मलाई बाहिर एक्लै सुताई आफू भित्र सुतिस्, त्यसो गरे पनि के तँलाई खानुपर्दैनथ्यो? केही खाइस् कि खाएकै छैनस् ?' भन्दै अनेक तरहले रिसाउन लागेको देखी, हँस्याइलो मुख गरी स्वामीको मुखमा हेरी 'हे स्वामी ! हजुरलाई गहिरो निद्रा परेको देखी जागा गराउन सकिनँ र म सुतेकी पनि छैन । यहीं बसिरहेकी छु। मैले त भण्डारमा जे भएको खाइसके । अब हजुर के खानुहुन्छ ? ' भनिन्।
सतीदेवी कस्ती भने सधैं श्रृंगार गरी, रिसमा पनि रसमा पनि उज्यालो मुख गरी स्वामीकै भक्तिमा चित्त लगाइरहन्थिन् । सतीदेवीले त्यति भनेपछि त्यहाँ के थियो र खाइहोली भनी करुणामूर्ति शिवलाई अत्यन्त करुणा भयो र- 'हे प्रिये ! हाम्रो घर यो होइन, त्यो खरको भित्ता च्यातेर हेर त ! भन्नुभयो र सतीदेवी भन्दछिन् 'हे स्वामी ! भएको घर नाशी नभएको घर कहाँ हेर्न जाऊँ । फेरि बनाउनुपरेमा हजुर वृद्ध, म नारी जाति कसले बनाइदेला?' सतीदेवीको यस्तो वचन सुनी महादेव जुरुक्क उठेर खरको भित्तामा लात्तले हानी उज्ज्वल कैलासको दर्शन गराइदिनुभयो। अनेक मणिमाणिक्य जड़ेको, सुनैसुनले बनेको त्यस्तो दिव्य महल देखेर सतीदेवी प्रसन्न भई मेरा पिता दक्षप्रजापतिको घरभन्दा पनि अत्यन्त राम्रो यो घर कसको होला ! भन्ने विचार गरिन् । अनि संन्यासीरूप महादेवले आफ्नू दिव्य रूपको दर्शन दिन सतीदेवीलाई चोकमा डाकेर लगे, अनि 'हे स्त्री ! यो चोकको माझमा गाईको गोबरले मण्डलाकार गरी लिपिदेऊ भने' । सतीदेवीले तत्काल आज्ञा पालन गरिन् । अनि महादेवले त्यो लिपेको स्थानमा बसी निर्मल स्फटिकको जस्तो विश्वम्भर मूर्तिको दर्शन दिनु भयो । अनि सतीदेवीले मनमा आनन्द मानी हर्षको आँसु बगाई- 'म धन्य रहिछ, जगदीश्वर महादेव स्वामी पाएँ' भनी महादेवलाई फूलको माला पहिराई, तीनपल्ट प्रदक्षिणा गरी साष्टांग दण्डवत् गरिन् । त्यसपछि ती दुवै शिव-शक्ति स्वरूपले रहँदा भए ।
।। इति श्रीस्कन्दपुराणे केदारखण्डे माघमाहात्य्य कुमारअगस्त्यसंवादे श्रीस्वस्थानी- परमेश्वर्या व्रतकथायां सतीदेवीविवाहवर्णनं नाम चतुर्थोऽध्यायः।। ४ ।।