श्रीस्वस्थानी व्रतकथाको तृतीय अध्याय, दक्षकन्याविवाहको वर्णन

कथा भन्ने र सुन्ने सबैले चन्दन, अक्षता, फूल लिएर हात जोर्नू ।
वक्ताले तलको स्तुति पढ्नु-

यं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतः स्तुन्वन्ति दिव्यैः स्तवै- र्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः । 
ध्यानावस्थित-तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्याऽन्तं न विदुः सुरासुरगणा देवाय तस्मै नमः ।।१।।

श्रीमच्चन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका-

मालाऽलंकृतकुण्डला प्रविलसन्मुक्तावलीशोभिता ।
सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा 
वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।।

मूकं करोति वाचालं पङ्गं लङ्घयते गिरिम् ।
यत्कृपा तमहं वन्दे परमानन्दमाधवम् ।।३।।

नमो भगवते तस्मै व्यासायाऽमिततेजसे ।
यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् ।।४।।

नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम् ।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।५।।

सबैले पुष्पाञ्जलि पुस्तकमा चढाएपछि वक्ताले कथा भन्न थाल्नु। श्रोताले एकचित्त भएर कथा सुन्नु। 

तृतीयोSध्याय:

कुमारजी आज्ञा गर्नुहुन्छ-  हे अगस्त्य मुनि!   अष्ट प्रजापतिमा सबभन्दा जेठा दक्षप्रजापति थिए।     तिनकी विरणी नामकी साध्वी एवं पतिव्रता स्त्री थिइन्।     विरणी गर्भिणी भइन् र दशमास पूर्ण भएपछि पुत्री जन्मिइन्।    कस्ती कन्या भने-हजार सूर्य का जस्तो तेज भएकी, बत्तीस लक्षणले युक्त, पद्मपत्र जस्तो नेत्र भएकी, अरुण उदय भए जस्तो रक्तवर्ण भएको, हात्तीका सूँढ जस्तो हात भएकी, कदलीस्तम्भ जस्तो तिघ्रा भएकी, चन्द्रमाकों जस्तो उज्ज्वल र शान्त मुख भएकी यस्ती परम सुन्दरी कन्या जन्मेकी देखी दक्षप्रजापतिले आनन्द मान्दै आफ्ना गुरु प्रोहित वसिष्ठ आदि ज्योतिषी हरूलाई डाकी विधिपूर्वक न्वारान गराए।     सबै ऋषि ज्योतिषीले गणना गरेर भने-हे दक्षप्रजापति! यी बालिकाको नाम 'सतीदेवी' भन्ने तीनै भुवनमा प्रख्यात हुनेछ।    दक्षप्रजापतिले भोजन गराई दक्षिणा दिई बिदा गरे।    सबै जना आफ्ना-आफ्ना आश्रममा गए।    हे मुने! यो कुरा धेरै लामो छ तापनि म संक्षेपमा भन्दछु।    त्यसपछि विरणीका क्रमैले तेतिसकोटि कन्या जन्मे।    ती सबैलाई दुवै दम्पतीले यथायोग्य रूपमा पालन. गरे।   अनि अगस्त्य मुनिले सोधे- हे कुमार! ती कन्याहरूको, विवाह तेत्तिसकोटि देवतासँग कसरी भयो? त्यो पनि सन्ने इच्छा छ।  त्यति सुनी कुमार आजा गर्दछन-

 

हे अगस्त्य मुनि! एक दिन स्वर्गका देवता, ऋषि, यक्ष, गन्धर्व, किन्नर, दसदिक्पाल जम्मा भई सभा गरेर भने-हाम्रा स्त्री छैनन्, दक्षप्रजापतिका तेत्तिसकोटि कन्या विवाह गरौं, तर कन्या माग्न कसलाई पठाउने भनी मत मिलाई नारदजीलाई डाकी सबै कुरा बुझाएर दक्षप्रजापतिकहाँ कन्या माग्न जाऊ भन्दा नारदजीले स्वीकार गरी दक्षप्रजापतिका घर गए।        दक्षप्रजापतिले उचित शिष्टाचार गरेर के कामले पाल्नुभएको भूनी सोधे-आफूलाई देवताहरूले पठाएको कुरा सुनाई हे दक्ष! तिम्रा तेत्तिसकोटि कन्या तेत्तिसकोटि देवताहरूलाई देऊ भने।      नारदजीका कुरा सुनी दक्षप्रजापति प्रसन्न भएर भने-हे नारद! तिमीले असल कुरा भन्यौ। म धन्य रहेछु।    मेरा तेत्तिसकोटि कन्या तेत्तिसकोटि देवतालाई तिम्रो वचले दिएँ।    यौटी सतीदेवी मात्र दिने छैन, किनकि मेरा पुत्र छैनन्, सम्पत्तिको रक्षा को गर्ला? अन्य सबै कन्या तिमी जहिले भन्छौ र जस-जसलाई दिन भन्नेछौ उसैलाई दिनेछु।      अब यहाँबाट गएर विवाहको दिन ठहराई पठाउन लगाऊ भनी अनेक उपचारले पूजा गरे।      नारदजी दक्षसित बिदा मागी सरासर स्वर्ग गए।     नारद आएको देखी देवताहरूले तिमी गएको काम के भयो भनी सोधे।     नारदजीले 'सतीदेवी बाहेक अन्य सबै कन्या दिन्छु' भने भन्ने कुरा सुनाए।     अनि देवताहरूले धन्य नारद मुनि भन्दै प्रशंसा गरी विवाहको दिन ठहराई पठाए।     त्यसपछि विवाहको सामग्री तयार गरी देवताहरू कन्यादान लिन भनी दक्षका घर पुगे।      उनले देवताहरू आएको देखी आनन्द मान्दै मंगल यात्रा गर्दै आफ्नू मर्यादाले सतीदेवी बाहेक तेत्तिसकोटि कन्या नारदजीको आज्ञानुसार तेत्तिसकोटि देवतालाई कन्यादान दिए।      देवताहरू कन्यादान पाई हर्षपूर्वक आफाफ्ना स्त्री लिई आफाफ्ना आश्रममा गए।

 

यो वृत्तान्त कैलास पर्वतमा रहेका शिवजीले थाहा पाएर देवताहरूले मलाई बाहेक पारी, एक वचन पनि नसोधी आफू-आफूले कन्यादान लिएछन्। कैलासको स्वामी भएर पनि मेरा स्त्री छैनन्।      अब मलाई कसले कन्या देला! भनी ध्यान-दृष्टिले विचार गरेर हेर्दा दक्षकी तेत्तिसकोटि कन्यामा सबभन्दा जेठी बाँकी नै रहिछन।      देवताहरूले मेरो मर्यादा राखेकै रहेछन्।       अब ती कन्या माग्न कसलाई पठाऊँ? आफैं जान्छु भनी दक्षका घर गए।        दक्षले महादेव आउन लागेको परैबाट देखी विरणीसित भने-हे स्त्री! त्यो आउन लागेको महादेव हो, के भन्न आयो भनी कुरा गर्दागर्दै महादेव घरमुनि पुगेर बोलाउनुभयो।       अनि दक्षले झ्यालबाट हेरेर 'माथि आइज' भनी डाके र सोधे-हे महादेव! आज तँ मेरा घरमा के कामले आइस्? भनी हेलाँ गरि बोले।

 

 

अनि महादेव भन्नुहुन्छ-हे दक्षप्रजापत्ति! तिम्रो घर आउने मेरो अरु केही प्रयोजन थिएन।         तिमीले कृपा गर्नाले तेत्तिसकोटि देवताले कन्यादान पाएर उद्धार भए। अब सतीदेवी रहेकी रहिछन्, म योग्य पनि छु, ती कन्या मलाई कृपा गर।           महादेवको यस्तो वचन सुन्नासाथ दक्ष अत्यन्त रिसाई भने-'हे पापिष्ट महादेव! मेरी कन्या सतीदेवी तेरो योग्य कसरी होली? तँ कस्तो भने मशानको खरानी घसी, सर्पको गहना लगाई, बाघको छाला ओढेर डमरू-त्रिशूल लिई बूढो साँढेमा चढेर हिंड्ने, विष-भाङ-धतूरो खाई भूत-प्रेत लिए मशानमा बस्ने, दिगम्बर देख्दैमा पनि घिन लाग्ने, यस्तो तैंले मेरै मुख्यांजी आई यस्तो अयोग्य कुरा गरिस्।    जा, मेरो घरमा नबस्' भनी पाखुरामा समानी धपाए।       महादेवले त्यस्तो किसिमसित दक्षले क्षुद्रवचन द्वारा निन्दा गरेको सुनी साहै नै चित्त दुखाई बाहिर आएर. 'नदिने भए दिन्न भने भइजान्थ्यो, यस्तो निन्दा गर्ने कामै थिएन। अब कहाँ जाऊँ? के गरूँ? ती कन्या कसले मलाई पारिदेला भन्ने तर्क-वितर्क गर्दै विष्णुको वैकुण्ठधाममा पुग्नुभयो।

 

विष्णुले शंकरजी आएको देखी हत्तपत्त उठेर उच्चासनमा बसाली -'के कामले आज परिश्रम गर्नु भयो' भनी सोधे। अनि महादेवले आफू दक्षका घर गएको र उनले दुर्वाच्य बोली अपमान गरेको सबै कुरा सुनाइसकेपछि 'हे विष्णु! मेरा स्त्री छैनन्, त्यसैले घर पनि छैन, यही कुरा गर्न आएको हूँ।        अब जसरी ती कन्या मेरी हुनेछन् त्यही काम गर' भन्नुभयो।          महादेवको वचन सुनी विष्णुले भन्नुभयो-हे ईश्वर! यो काम म पार लगाउँला।    हजुरले सन्देह गर्नु पर्दैन!      म दक्षको घर जान्छु।       म फर्केर नआउञ्जेल हजुर यहीं राज गर्नु होला भनी महादेवलाई पर्खाई आफू दक्षप्रजापतिको घर जानुभयो।    दक्षले विष्णु-आएको देखी माथी डाकेर आदरपूर्वक बसाली-

 

"हे विष्णु! आज मेरो घर किन पवित्र गर्नुभयो? आज्ञा हवस्'  भनी सोधेपछि विष्णुले आज्ञा गर्नुभयो- "हे दक्षप्रजापति! केही माग्न आएको हुँ, दिने भए। मात्र माग्दछु' त्यति सुन्नासाथ दक्षले भने-'हे विष्णु! तिमीले मागेपछि जे वस्तु भए पनि दिनेछु। के चाहियो, आज्ञा गर' त्यति सुनी विष्णु भन्नुहुन्छ-'हे दक्षप्रजापति! म वैकुण्ठको अधिपति भएर पनि मेरा स्त्री छैनन्।      तिमीले कृपा गर्नाले तेत्तिसकोटि देवता कन्यादान पाई उद्धार भए।      अब सतीदेवी छन्, ती मलाई कृपा गर।' विष्णुको यस्ता वचन सुनी दक्षले चिन्तित हुँदै भने-'हे विष्णु! मेरा पुत्र नहुनाले सम्पत्तिको रक्षा गर्न राखेको, दिनु त उचित थिएन, तर वाचा गरेको

हुनाले दिन कर लाग्यो ती कन्या तिम्री भइन्।      अब सुदिन ठहराई कन्यादान लेऊ।' यति दक्षको वचन, सुनी विष्णुले 'हुन्छ' भनी बैकुण्ठ जानुभयो।      अनि विष्णु आएको देखेर महादेवले सोध्नुभयो-'हे विष्णु! तिमी गएको काम कस्तो भयो?' अनि विष्णुले उत्तर दिए-हे ईश्वर! म गएको काम पुग्ला जस्तो त भयो, तर आफैंलाई भनी मागेर आएको छु। हजूर वृद्ध संन्यासीको रूप धारण गरी कन्यादान दिने ठाउँमा आई भिक्षा माग्नू र मलाई भिक्षा नदिई कन्यादान दिए-लिने-दिने दुवैलाई श्राप दिनेछु भन्नुहोला। अनि म-'हे संन्यासी! मेरो लग्न बिललाग्यो, कन्यादान भइसकेपछि भिक्षा दिनेछु, नसराप, बरू यहाँ आएर बस' भनी आफू बसेकै छेउमा बसालि राख्नेछु र दक्षले कन्यादान दिंदा आँखा छली सतीदेवीको हात (हजुरको हातमा पारिदिनेछु। यस दिन, यो बेला आउनुहोला भनी दक्षसित भएको सबै विवरण एक-एक गरी सुनाउनु भयो। विष्णुको कुरा सुनेर प्रसन्न भएका महादेव 'अवश्य आउनेछु' भनी गर्गद चित्तले कैलासमा जानुभयो।

 

इति श्री स्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये कुमारअगस्त्यसंवादे श्रीस्वस्थानी- व्रतकथायां दक्षकन्याविवाहवर्णनंनाम तृतीयोऽध्यायः ॥ ३ ॥

कथा सकिएपछि निम्न स्तोत्र पढेर पुष्पाञ्जलि गर्नु-

उपनयतु मंगलं वः सकल जगन्मंगलालयः श्रीमान् ।

दिनकर किरण निबोधित नवनलिनदलनिभेक्षणः कृष्णः ।।

काले वर्षतु पर्जन्यः पृथिवी शस्यशालिनी । 
देशोऽयं क्षोभरहितो ब्राह्मणाः सन्तु निर्भयाः ।। 

अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः । 
निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।

तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च ।

तीर्थानि सर्वाणि वसन्ति तत्र, यत्राच्युतोदार कथा प्रसंगः ।।

या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता ।
या वीणा वरदण्डमण्डितकरा या श्वेतपद्मासना ।।
या ब्रह्माच्युत शंकरप्रभृतिभिर्देवैः सदा वन्दिता ।
सा मां पातु सरस्वती भगवती निःशेष जाड्यापहा ।।

कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृतिस्वभावात् ।

करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पये तत् ।।

श्री स्वस्थानी देव्यार्पणमस्तु ।

यति भनिसकेर कथा सुन्ने जति समस्त श्रोताहरूले | पुष्पाञ्जलि चढाई दण्डवत् गर्नु र आफाफ्ना मनको इच्छित वरदान माग्नु ।

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish