श्रीस्वस्थानी व्रतकथाको द्वितीय अध्याय, दिक्पालको वर्णन

कथा भन्ने र सुन्ने सबैले चन्दन, अक्षता, फूल लिएर हात जोर्नू ।
वक्ताले तलको स्तुति पढ्नु-

यं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतः स्तुन्वन्ति दिव्यैः स्तवै- र्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः । 
ध्यानावस्थित-तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्याऽन्तं न विदुः सुरासुरगणा देवाय तस्मै नमः ।।१।।

श्रीमच्चन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका-
मालाऽलंकृतकुण्डला प्रविलसन्मुक्तावलीशोभिता ।
सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा 
वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।।

मूकं करोति वाचालं पङ्गं लङ्घयते गिरिम् ।
यत्कृपा तमहं वन्दे परमानन्दमाधवम् ।।३।।

नमो भगवते तस्मै व्यासायाऽमिततेजसे ।
यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् ।।४।।

नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम् ।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।५।।

सबैले पुष्पाञ्जलि पुस्तकमा चढाएपछि वक्ताले कथा भन्न थाल्नु। श्रोताले एकचित्त भएर कथा सुन्नु। 

अथ द्वितीयोऽध्यायः

हे मुने! अघि यो संसार जलमय छँदा विष्णु भगवान् का नाभिबाट सहस्त्रदल कमल उत्पन्न भयो। त्यस कमलमा बसी ब्रह्मा सृष्टि गर्ने विचार गर्दै थिए, त्यही अवसरमा विष्णु भगवान्को काजेगुजीबाट अत्यन्त पराक्रमी मधुकैटभ नामका दुइ वीर उत्पन्न भए। ती दैत्यले जलमय संसारमा कहाँ के छ भनी घुम्दा ब्रह्मा बसेको स्थानमा पुगी कमलको डाँठ समातेर माथि गई हेर्दा ब्रह्माजीलाई देखे र उनलाई खसाल्न तयार भए। त्यो देखेर डराएका ब्रह्माले योगमायाको आराधना गरे। योगमाया प्रकट भएपछि ब्रह्माले-'हे ईश्वरी! विष्णुलाई जागा गराइदिनहवस' भने र उनले बह्याको कष्ट बुझी विष्णु भगवान् लाई जागा भराइदिइन्। भगवान् जागा भएर हेर्दा ती मधुकैटभलाई देखी तत्काल युद्ध गर्न अघिसरे। दिव्य पाँच हजार वर्षसम्म जलमा युद्ध भयो तर हार-जीत हुन सकेन। अनि विष्णुले' हे दानव हो! तिमीहरू पराक्रमी रहेछौ, म प्रसन्न भएँ, इच्छा भएको वर माग' भन्दा अहंकारी मधुकैटभले, भने-'हे विष्णु! यस युद्धमा हाम्रो जीत भयो! तिमी हार्नेले के दिनसक्छौ? बरू तिमीलाई इच्छा लागेको वर हामीसँग माग।' दैत्यहरूको त्यस्तो अभिमानपूर्ण कुरा सुनी विष्णुले भन्नुभयो-'पहिले वाचा गर अनि म वर माग्दछु। अनि दानवले-तिमीले जे मागे पनि अवश्य दिने छौं भन्ने वाचा गरेपछि विष्णु भगवान् ले अरु वर के मार्ूँ, तिमी दुवैलाई म मार्दछु, मेरा हातबाट मर' भनेको सुनी मधुकैटभले भने- 'हे विष्णु! तिमी छली रहेछौ। कपट गरेर वर माग्यौ, वाचा हारेको हुनाले हामी दिन्छौं।' अब के गर्ने भनी विचार गर्दा सारा संसार जलमय देखी भने-'हे विष्णु! हामीलाई जल नभएको स्थानमा मार' दैत्यका त्यस्ता कुरा सुनी विष्णुले आफ्नू काखामा राखेर सजिलैसित दुबैलाई। मारे। तिनै दैत्यको बोसो शीतकालमा तुषारोले पानी जमे झैं समुद्रको जलमा जमेर पृथ्वी भइन्। मासुले पर्वत र हाड़ले पत्थर भयो।

 

त्यो देखेर ब्रह्माले संसार सृष्टि गर्न भनी पहिले चौध भुवन सृष्टि गरे। कुन- कुन भने- १- भूर्लोक, २- भुवलोक, ३- स्वलोक, ४- महल्लोक, ५- जनलोक ६- तपलोक, ७- सत्यलोक। यी माथिका र १- अतल, २- वितल, ३- सुतल, ४- तलातल, ५- महातल, ६- रसातल, ७- पाताल। यति तलका जम्मा चतुर्दश भुवन र द्वीप सृष्टि गरे। कुन-कुन भने- १- जम्बूद्वीप, २- प्लक्षद्वीप, ३ शाल्मली- द्वीप, ४- कुशद्वीप, ५- क्रौंचद्वीप, ६- शाकद्वीप, ७- पुष्करद्वीप। त्यसपछि सात समुद्र सृष्टि गरे- १- क्षारोद समुद्र, २- सुरोद समुद्र, ३- इक्षुरसोद समुद्र, ४- घृतोद समुद्र, ५- दधिमण्डोद समुद्र, ६- क्षीरोद समुद्र, ७- शुद्धोद समुद्र।

 

 

जम्बूद्वीप क्षारोद समुद्रले वेष्टित छ, त्यहाँ अग्नीध्र राजा राज्य गर्दछन्। प्लक्षद्वीप इक्षुरसोद समुद्रले वेष्टित छ, त्यहाँ इध्मजिह्ण राजा राज्य गर्दछन्। शाल्मलीद्वीप सुरोद समुद्रले वेष्टित छ, त्यहाँ यज्ञबाहु राजा छन्। कुशद्वीप घृतोद समुद्रले वेष्टित छ, त्यहाँ हिरण्यरेता राजा छन्। क्रौंचद्वीप क्षीरोद समुद्रले बेरिएको छ, त्यहाँ धृतपृष्ट राजा छन्। शाकद्वीप दधिमण्डोद समुद्रले बेरिएको छ, त्यहाँ मेधातिथि राजा राज्य गर्दछन्। पुष्करद्वीप शुद्धोद समुद्रले वेष्टित छ, त्यहाँ वीतिहोत्र राजा राज्य गर्दछन्। जम्बूद्वीपको विस्तार चार लाख कोश छ। यसको आकार कमलगट्टा जस्तै छ। यसमा नौ-नौ हजार योजनका नौ खण्ड छन्। यस प्रकार सृष्टि गरिसकी अष्ट पर्वत सृष्टि गरे। कुन कुन भने १- सुमेरु पर्वत, २- गन्धमादन पर्वत, ३- कैलास पर्वत, ४- हिमालय पर्वत, ५- त्रिकूट पर्वत, ६- चित्रकूट पर्वत, ७- चन्द्रान्तक पर्वत, ८- चन्द्रकूट पर्वत।

 

त्यसपछि प्राणी सृष्टि गरूँ भनेर महादेवको तपस्या गरे। दिव्य बाह्र हजार वर्ष कठोर तपस्या गरेपछि महादेव प्रकट भएर-ब्रह्मन्! तिम्रो तपस्याले म प्रसन्न भएँ, वरमाग भन्ने आज्ञा भएको सुनी ब्रह्माले अनेक उपचारले शिवको पूजा गरी स्तुति गर्न लागे हे ईश्वर! आफैंले अनेक ब्रह्माण्डको रचना गरी आफ्नै मायामा भुलिरहेका यस्ता हजुरलाई कोटि-कोटि नमस्कार। एक मूर्तिबाट तीन मूर्ति ब्रह्मा, विष्णु, शिव भइरहेका यस्ता हजुरलाई कोटि-कोटि नमस्कार। हे ईश्वर! हजुरको महिमा वर्णन गर्न शेष र शारदाले पनि नसकेको म कसरी समर्थ हुनेछु? हजुरको कृपाले द्वीप, समुद्र, पर्वत सृष्टि गरें, अब प्राणी सृष्टि गर्न सकूँ, यही वर दिनु हवस् भनी बिन्ती गरे। ब्रह्माजीको प्रार्थना र आग्रह बुझी महादेव आज्ञा भयो-' ब्रह्मन्! तिमी प्राणी सृष्टि गर्न सके' भनी वरदान दिनु भयो। अनि ब्रह्माले महादेवलाई दण्डवत् गरी प्राणी सृष्टि गर्न सुमेरु पर्वतमा गए। पहिले शिवलोक, विष्णुलोक, ब्रह्मलोक, उमालोक स्कन्दलोक र अरु अनेक लोक सृष्टि गरे। तिनमा सबभन्दा माथि सत्यलोक सृष्टि गरे। अनि सुमेरु पर्वतको पूर्व दिशामा अमरावती, " आग्नेय कोणमा शुद्धावती, दक्षिण दिशामा यमपुरी, नैर्ऋत्य कोणमा कृष्णावती, पश्चिम दिशामा श्रद्धावती, ईशान कोणमा यशोवती नामका पुरीहरू रचना गरे। त्यसपछि स्थावर-जंगम सृष्टि गरे। अनि प्राणि सृष्टि गर्ने इच्छा भयो र मनले चिताउनासाथ कश्यप प्रभृति एक सय ऋषि सृष्टि भए। त्यति सुनेर अगस्त्य मुनिले सोधे-'हे कुमारजी! हजुरको वचनरूपी अमृत मेरो कानरूपी जिब्रोले बराबर पिउन माग्दैछ। अब देव, दानव, पशु-पक्षी, मनुष्य कसरी सृष्टि भए, त्यो सुन्ने इच्छा छ।

 

मुनिको इच्छा जानेर कुमारजी आज्ञा गर्नुहुन्छ- हे मुने! कश्यप ऋषिका १- अदिति, २- दिती, ३- दनु, ४- कारा, ५- घोरा, ६- सिंहिका, ७- क्रोधा, ८- प्राधा, ९- बलिष्ठा, १०- विनता, ११- कपिला, १२- कद्रू र १३- मनु। यस्ता स्त्रीहरू थिए। अत: दितिका गर्भबाट हिरण्यकशिपु आदि दैत्य जन्मे। अदितिका गर्भबाट चन्द्र-सूर्य आदि तेतिस कोटि देवताहरू जन्मे। दनुका गर्भबाट दानवहरू जन्मे। कारा-घोराका गर्भबाट गन्धर्वहरू जन्मे। सिंहिकाको गर्भबाट राहु जन्म्यो। प्राधाका गर्भबाट उर्वशी आदि अप्सराहरू जन्मे। क्रोधाका गर्भबाट क्रोध जन्म्यो। मनुका गर्भबाट ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र यी चार थरी मनुष्य जन्मे। बलिष्ठा र विनताका गर्भबाट अरुण, गरुड़, सम्पाती, मयूर, कोकिल, चखेवा, जीवञ्जीव, मुनियाँ, धोबिनी, राजहंस आदि पक्षीहरू जन्मे कपिलाका गर्भबाट कामधेनु, सिंह, शार्दूल, बाघ, हात्ती-घोड़ा, मृग, जरायो, गैंडा, खरायो आदि पशुहरू जन्मे। कद्भूका गर्भबाट शेषनाग, अनन्तनाग, पद्मनाग, वासुकिनाग, कुलिकनाग, कर्कोटकनाग, तक्षकनाग, शङ्खनाग आदि अष्टनागहरू जन्मे। यसरी देवता, ऋषि, यक्ष, गन्धर्व, किन्नर, अप्सरा, नाग, मनुष्य, पशु-पक्षीहरू सृष्टि भएको देखी ब्रह्माले तिनीहरूलाई खाने अहारा धान, जौ, तिल आदि अनेक तरहका अन्न र फल-मूल सृष्टि गरे।

Mero Jyotish

 

हे मुने! यो मैले अत्यन्त संक्षेपमा भनें। अरु पुराणबाट विस्तारले बुझ्नेछौ। यो सृष्टिका कुरा सुनाएँ, अब के सुन्ने इच्छा छ भन भन्दा अगस्त्य मुनि भन्दछन्-हे कुमार! कुन-कुन भुवनमा कुन-कुन देवता छन् र दिक्पाल कसरी भए? यो सुन्ने इच्छा छ। त्यति सुनी कुमारजी आज्ञा गर्नुहुन्छ-हे मुने! कैलास भुवनमा महादेव हुनुहुन्छ। वैकुण्ठ भुवनमा विष्णु भगवान् छन्। सत्य भुवनमा ब्रह्मा छन्। उमा भुवनमा पार्वती छन्। स्कन्द भुवनमा म छु। धूम्र भुवनमा धूम्र ऋषि छन्। नैर्ऋत्य भुवनमा अन्य ऋषिहरू छन्। यति भुवनका कुरा कहें, अब दिक्पाल भएका कुरा भन्दछु। कश्यप ऋषिका छोरा इन्द्रले हिमालयमा गई धेरै कालसम्म कठोर तपस्या गरे। महादेव प्रसन्न भई हे इन्द्र! तिम्रो तपस्याले म प्रसन्न भएँ भनी वरदान दिई अमरावतीको अधिपति र पूर्वदिशाको दिक्पाल बनाई पठाए। फेरि यौटाले गई उसै गरी तपस्या गर्दा महादेव प्रसन्न भएर अग्नि नाम राखी अग्निकोणको दिक्पाल बनाई शुद्धावतीको अधिपति गराई पठाए। फेरि अर्कोले गई त्यसै गरी तपस्या गरे। महादेव प्रसन्न भई 'यम नाम राखी दक्षिण दिशाको दिक्पाल बनाई यमपुरीको अधिपति गराई पठाए। फेरि यौटाले गई त्यसै गरी तपस्या गरे। महादेव खुशी भई निर्ऋति नाम राखी नैर्ऋत्य कोणको दिक्पाल र कृष्णावतीको अधिपति गराई पठाए। फेरि अर्कोले गई त्यसै गरी तपस्या गरे। महादेव प्रसन्न भई 'वरुण' नाम राखी पश्चिम दिशाको दिक्पाल र श्रद्धावतीको अधिपति गराई पठाए। फेरि उनञ्चास वायुले गई त्यसै गरी तपस्या गरे।

 

महादेव प्रसन्न भइ वरदान माग भन्दा ती वायुले हामी उनञ्चासै जना एक हुनसकौं र हामीलाई कोही नदेखुन् केवल शब्दमात्र सुनुन् बलमा पनि कसैले जित्न नसकून् भनी माग्दा महादेवले 'तथास्तु' भनी वरदान दिएर वायु नाम राखी वायव्य कोणको अधिपति गराई पठाए। फेरि यौटाले गई त्यसै गरी तपस्या, गरे। महादेव खुशी भई कुबेर नाम राखी उत्तर दिशाको दिक्पाल र अलकापुरीको अधिपति गराई पठाए। फेरि यौटाले गई त्यसै गरी तपस्या गरे। महादेव प्रसन्न भइ विश्वकर्मा नाम राखी ईशान कोणको दिक्पाल र यशोवतीको अधिपति बनाई पठाए। हे मुने! यति दिक्पाल भएको कुरा कहें, अब के सुन्ने इच्छा छ। भन। कुमारको यस्ता वचन सुनी अगस्त्य मुनि भन्न- हुन्छ-महादेव र सतीदेवीको विवाह भएको र सतीदेवी मर्दा उत्पात भएको, फेरि सतीदेवी महादेवकी पत्नी कसरी भइन् र कस्तो कारण परेर उनको मृत्यु भयो? यो सबै विस्तारले आज्ञा हवस्। मुनिको इच्छा जानी प्रसन्न भएका कुमारजीले-यो कुरा तेस्रो अध्यायमा वर्णन गर्नेछु भन्नुभयो।

 

इति श्री स्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये कुमारअगस्त्यसंवादे श्रीस्वस्थानी- व्रतकथायां दिक्पालवर्णनंनाम द्वितीयोऽध्यायः।।२।।

 

कथा सकिएपछि निम्न स्तोत्र पढेर पुष्पाञ्जलि गर्नु-

उपनयतु मंगलं वः सकल जगन्मंगलालयः श्रीमान् ।
दिनकर किरण निबोधित नवनलिनदलनिभेक्षणः कृष्णः ।।

काले वर्षतु पर्जन्यः पृथिवी शस्यशालिनी । 
देशोऽयं क्षोभरहितो ब्राह्मणाः सन्तु निर्भयाः ।। 

अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः । 
निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।

तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च ।
तीर्थानि सर्वाणि वसन्ति तत्र, यत्राच्युतोदार कथा प्रसंगः ।।

या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता ।
या वीणा वरदण्डमण्डितकरा या श्वेतपद्मासना ।।
या ब्रह्माच्युत शंकरप्रभृतिभिर्देवैः सदा वन्दिता ।
सा मां पातु सरस्वती भगवती निःशेष जाड्यापहा ।।

कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृतिस्वभावात् ।
करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पये तत् ।।

श्री स्वस्थानी देव्यार्पणमस्तु ।

यति भनिसकेर कथा सुन्ने जति समस्त श्रोताहरूले | पुष्पाञ्जलि चढाई दण्डवत् गर्नु र आफाफ्ना मनको इच्छित वरदान माग्नु ।

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish