श्रीस्वस्थानी व्रतकथाको प्रथम अध्याय, सृष्टिक्रमको वर्णन

 प्रथमोSध्याय:

पूर्वकालमा समस्त मुनिहरूमा सबै प्रकारले ख्याति प्राप्त गरेका अगस्त्य मुनि आफ्नू आश्रममा तपमा लीन थिए। एक दिन मयूरमा चढेर स्कन्द कुमार त्यहीं पाल्नुभयो। अगस्त्य मुनिले देखेर सम्मान साथ आसनमा बसाली स्वागत सत्कार गरिसकेपछि नम्र वाणीले सोधे-हे कुमार! यो संसार कसरी सृष्टि भयो? यसको विषयमा जान्न इच्छा भयो, मउपर कृपा गरी आज्ञा भए आफूलाई धन्य सम्झने थिएँ। अगस्त्यको प्रश्न सुनेर कुमारजी भन्नु हुन्छ-हे मुने! तिमी एकचित्त भई सुन, म तिमीलाई सृष्टिको क्रम सुनाउँछु-यो सृष्टि प्रारम्भ हुँदा पहिले परब्रह्म परमात्माको इच्छा स्वयं स्फुरण हुनासाथ त्यही इच्छाले प्रेरित समस्त गुणले युक्त ब्रह्मा, विष्णु र शिव प्रकट भए। तिनका शक्ति स्वरूप त्रिगुणले युक्त माया वा प्रकृति उत्पन्न भइन्। ती त्रिगुणात्मिका मायालाई जिल वा वश पार्न अत्यन्त कठिन छ। उनै मायाभन्दा पर प्रतिष्ठा युक्त 'निवृत्ति पद' छ। त्योभन्दा पर शान्ति पद र उभन्दा पनि पर शान्त्यतीत पद छ। त्यसपछि विद्या पद छ र विद्याभन्दा पनि पर निवृत्ति पद छ। जान्नेहरू त्यसैलाई मोक्ष पद पनि भन्दछन्।

 

यो संक्षेपमा भयो। अलि विस्तारले सृष्टिको क्रम बुझाउन र बुझ्न पनि निकै कठिन छ। संक्षेपमा भनेको कारण पनि मुख्य यही हो। प्रलय र सृष्टिको क्रम बेग्लावेग्लै छ। एक नियमले सृष्टि हुन्छ र अर्को नियमले प्रलय हुन्छ । जो त्रिगुणात्मिका माया छन् ती शान्त्यतीत, शान्ति, विद्या, प्रतिष्ठा र निवृत्ति आदि पदमा रहन सक्तिनन्। मायाभन्दा पनि टाढा रहने जो अव्यक्त छ, त्यो अत्मामा विद्यमान छ। जीव अज्ञानी र प्रकृति जड़ हुनाले समस्त परमाणु अचेतन छन्। कारण बिना कुनै कार्य हुन सक्तैन। यसै कारण जगत्को अधिष्ठाता परमात्माको इच्छा बिना कुनै कार्य पनि हुनसक्तैन। यो कुरा वेद, शास्त्रले पनि स्वीकारेका छन्, तापनि वेदान्त आदि शास्त्रमा सबैको गति नपुग्ने हुनाले सबैलाई तुरुन्त निश्चय हुन सक्तैन। त्यसैकारण जन्म-मरण रूप बन्धन नछुटेर त्यसैको सुख-दुःख केवल अनुभव गर्ने जीवद्वारा यो संसारको क्रम चलिरहेको छ। यो क्रम कल्प-कल्पको भेदले भिन्न-भिन्न झैं देखिने हुँदा अनेकौं कल्पमध्ये केवल पद्मकल्पको मात्र वर्णन गर्दछु।

ब्रह्मा, विष्णु, शिव एक हुन्। यिनमा सानो र ठूलो भन्ने भेद छैन। हे मुने! सृष्टि गर्ने चतुर्मुख ब्रह्मा, पालन गर्ने विष्णु, संहार गर्ने रुद्र हुन्। विष्णु र शिवका आयुको अवधि वा प्रमाण छैन। ब्रह्माको सय वर्ष परमायु कहिन्छ। उनको प्रथम पचास वर्षलाई परार्ध भन्दछन्। सय वर्ष पुगेपछि उनको पनि नाश हुन्छ, वा प्रलय हुन्छ। प्रलय भएपछि समस्त संसार र यसमा रहेका वस्तुहरू केही रहन्न। अनि ईश्वरद्वारा अर्को सृष्टिको क्रम आरम्भ हुन्छ। त्यो नयाँ सृष्टि पनि अगाडि जुन क्रमले चलेको थियो सोही प्रकारले चल्न थाल्दछ। प्रलय चाहिं अनेक प्रकारले हुन्छ। ब्रह्माको घर-गृहस्थी सबै छ, उनले पनि खानु-सुत्नु पर्दछ। उनी बस्ने लोक के नाम सत्यलोक हो। प्रातःकाल 1. हुँदा उनले सृष्टि गर्दछन्। उनको एक दिनमै सत्य, त्रेता, द्वापर, कलि चार युग बहत्तर पल्ट घुमिसक्छन्। रात परेपछि प्रलय गर्दछन्। यही क्रमले जब ब्रह्माको सय वर्ष पुग्दछ तब महाप्रलय हुन्छ। त्यस महाप्रलयपछि फेरि पहिले जस्तै रजोगुणले युक्त ब्रह्मा उत्पन्न गराई अहंकार र पञ्चमहाभूत, ज्ञानेन्द्रिय, कर्मेन्द्रिय, पञ्चतन्मात्रा, शब्द, रूप, रस, गन्धले युक्त यौटा अण्ड उत्पन्न हुन्छ वा बन्दछ। त्यो अण्ड ब्रह्ममय हुनाले त्यसको नाम ब्रह्माण्ड रहेको हो। त्यही अण्ड फुटेर दुइ भाग भएपछि एक भागको प्रकृति रे अर्को भागको पुरुष बन्दछ। त्यसैबाट प्रथम सृष्टि चतुर्मुख ब्रह्मा भए, पालन गर्ने अनन्तकोटि ब्रह्माण्डका स्वामी विष्णु भए, संहार गर्ने महारुद्र भए। यिनैले यो सृष्टिको कार्य निर्बाध गतिले गर्दछन्। जसको इच्छाले त्यो अण्डको उत्पत्ति हुन्छ , त्यस परब्रह्म परमात्मालाई त्रिगुण, गुणातीत, चतुर्ग्रह, अनादि, अजन्मा, हिरण्यगर्भ, प्रजापति आदि भन्दछन्। सुमेरु पर्वत समुद्रको बीचमा समस्त जीवहरू, गर्भाशयमा बालक रहेजस्तै रहेका छन्। सूर्य, चन्द्र, ग्रह, नक्षत्र आदि पनि त्यही सुमेरूको चारैतिर स्थित छन्। निराकार आकाश पनि त्रिगुणात्मिका माया र पञ्चमहाभूतले बेरिए झैं भई आकारवान् अर्थात् एक रूपबाट अर्को रूप देखिइन्छ, तर त्यस आकाशलाई राम्ररि विचार गर्दा आदि, मध्य, अन्त्य नभएको अनादि, अनन्त परमेश्वरको लीला मात्र हो । यो संसार नै भ्रान्तिको रूप हो किनकि उनै ईश्वरको इच्छाले सृष्टि-स्थिति संहार हुन्छ। धागोमा दाना उनिए झै यो संसार परब्रह्ममा उनिएको छ। अनन्तकोटि ब्रह्माण्डको गणना गर्न सकिन्न। जति ब्रह्माण्ड छन् उतिनै ब्रह्मा, विष्णु, शिव, चन्द्र सूर्य, इन्द्र, दिक्पालहरू भिन्न-भिन्न छन्। जस्तै स्वप्नमा देखिएका अनेकौं सुख-दुःखको अनुभव जागा हुनासाथ केही पनि रहन्न, त्यस्तै यो मिथ्या, अनित्य संसारको (सुख-दुःख पनि स्वप्न जस्तै छ। सुख-दुःख त मनले मात्र अनुभव गर्दछ। त्यसको भागी जुन मन हो, त्यसलाई आफ्नो वशमा राख्नु नै ईश्वर प्राप्तिको मुख्य बाटो हो भन्ने कुरा पण्डितले राम्ररी बुझ्नुपर्दछ। हे मुने! तिमी पनि एकाग्र मनले तपस्या गर, अवश्य सिद्धि मिल्नेछ। मैले यो सृष्टिको क्रम संक्षेपमा सुनाएँ। अब दोस्रो अध्यायमा पद्मकल्पको वर्णन गर्नेछु, ध्यानपूर्वक सुन !

 

इति श्री स्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये कुमारअगस्त्यसंवादे श्रीस्वस्थानी- व्रतकथायां सृष्टिक्रमवर्णनंनाम प्रथमोऽध्यायः ।। १ । ।

  • Mero Jyotish

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish