वैदिक धर्मशास्त्रमा वैशाख शुक्लपक्ष तृतीया तिथिलाई अक्षय तृतीयाको रुपमा उल्लेख गरिएको छ । हिन्दू धर्ममा यो तिथिको विशेष महत्व छ । यो हरेक वर्षमा आउने ४ वटा अबुझ मुहूर्तमध्ये एक हो (अक्षय तृतीया बाहेक हरिबोधनी एकादशी, वसन्त पञ्चमी तथा आषाढ शुक्ल नवमीलाई पनि अबुझ मुहूर्त मानिन्छ) । अक्षय शब्दको अर्थ हुन्छ कहिले पनि क्षय नहुने वा नाश नहुने । अक्षय तृतीयका दिन गरिएको दान एवं धर्मबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल वा पुण्य प्राप्त हुन्छ । यसकारण यो तिथिलाई धानधर्मका लागि अचुक काल मानिएको छ । यो दिनलाई कुनै पनि शुभ कार्यका शुभ सिद्ध मुहूर्त मानिन्छ । यसै सन्दर्भमा यस्तो श्लोक रहेको छ-
यत्किञ्चिद् दीयते दानं स्वल्पं वा यदी वा बहु ।
तत्सर्वं अक्षयं यस्मात्तेनेयमक्षया स्मृता ।।
अर्थात् अक्षय तृतीयाको दिन गरेको जप, दान, वा पुण्य कर्म धेरै होस् वा थोरै होस्, त्यो सबै अक्षय अर्थात कहिले पनि नाश नहुने हुन्छ । त्यसकारण अक्षय तृतीयाको दिन पुण्यका कामहरु गर्नुपर्छ भनेर शास्त्रमा लेखिएको छ । त्यसैले अक्षय तृतीयाको दिन धर्म घडा पनि दान गर्नु भनिएको छ-
एष धर्मघटो दत्तो ब्रह्म विष्णुशिवात्मकः ।
अस्य प्रदानात्तृप्यन्तु पितरोऽपि पितामहाः ।।
गन्धोदकं तिलैर्मिश्रं सान्नं कुम्भं फलान्वितम् ।
पितृभ्यः संप्रदास्यामि ह्यक्षय्यमुपतिष्ठतु ।।
अक्षय तृतीयाको दिन विशेष रुपमा जौको सातु तथा सर्वत सत्पात्रलाई दान गर्नु भनिएको छ । त्यसकारण अक्षय तृतीयाको दिन जौको सातु र सर्वत बाँड्नु राम्रो मानिन्छ । अक्षय तृतीयाको दिन गर्मी मौसमका लागि उपयोगी जौ, गहुँ, चना, सातु, दहीचामल, उखुको रस, दूधका परिकार, सोन, जलभरिएको घडा, पंखा, छाताजुत्ता, वस्त्र आदि कुराको दान गर्नु मंगलकारी हुन्छ । यस दिन पितृको श्राद्ध तथा ब्राह्मण भोजन गराउँदा पनि अनन्त फल मिल्ने जनविश्वास पाइन्छ ।
ज्योतिष शास्त्रका अनुसार अक्षय तृतीयका दिन सूर्य तथा चन्द्रमा आफ्ना उच्च राशिमा रहन्छन् । यसकारण यो दिन विवाह, नयाँ कारोबारको सुरुवात तथा गृहप्रवेशजस्ता मंगल कार्य गर्नु निकै शुभ मानिन्छ
वैदिक धर्मशास्त्रहरुमा अक्षय तृतीयाको महत्वको बारेमा निकै वर्णनहरु गरिएका छन् । भविष्य पुराणमा भनिएको छ कि अक्षय तृतीयाको दिन नै सत्य युग र त्रेता युगको शुरुवात भएको हो ।
भगवान् विष्णुका विभिन्न अवतारहरु फरकफरक समयमा भएका छन् । तीमध्ये परशुराम, नरनारायण तथा हयग्रीव अवतार अक्षय तृतीयाको दिन भएको हो भन्ने उल्लेख पुराणहरुमा पाइन्छ । त्यसैकारण भगवान् शिवले पार्वतीसँग विवाह पनि आजैका दिन गर्नुभएको थियो ।
भारतमा बद्रीनारायणको दर्शन तथा पूजा गर्नको लागि अक्षय तृतीयादेखि सबैलाई खुल्ला गरिन्छ । अर्थात् बद्रीनारायणमा आजदेखि नै ढोका खुल्छ । वृन्दावनमा बाँके बिहारीजीको दर्शन सधैं गर्न पाइने भए पनि उहाँको चरणको दर्शन भने अक्षय तृतीयामा मात्र गराइन्छ।