धनु राशि
धनु राशिको लागि वि. सं २०८० साल शुभ समय रहेको छ । बृहस्पति तथा शनिको शुभ गोचरको प्रभावले स्वास्थ्य सम्बन्धि समस्या निवारण हुने, धन लाभ हुने, शत्रु पराजित हुने, सन्तानबाट सुख मिल्ने, शैक्षिक तथा बौद्धिक क्षेत्र सफल रहने समय छ।
स्वास्थ्य
बृहस्पति ग्रहको पञ्चम गोचर तथा शनि ग्रहको तृतीय गोचरको शुभ प्रभावले यो वर्ष स्वास्थ्य राम्रो रहन सक्छ। लामो समय देखि रहेका रोगहरु पनि यो वर्ष निको हुने वा कम हुन सक्ने समय छ। पेट तथा पाचनप्रणाली यो वर्ष राम्रो रहन सक्छ। शारीरिक बल पनि यो वर्ष बढ्न सक्छ।
व्यापार/व्यवसाय/आर्थिक
व्यापार व्यवसायका दृष्टिले यो वर्ष राम्रो देखिन्छ। बृहस्पतिको शुभ गोचरले शैक्षिक, सामाजिक, वित्तीय, फेशन, खाद्यान्न, कृषि इत्यादी व्यवसायका व्यक्तिहरुले यो वर्ष राम्रो सफलता प्राप्त गर्न सक्छन् भने शनि ग्रहको शुभ गोचरले उद्योग, कलकारखाना, सुचना प्रविधि, अनुसन्धान आदि क्षेत्र पनि राम्रो रहन सक्ने समय छ। आम्दानीको मात्रा बढ्ने तथा दीर्घकालिन लगानी हुन सक्ने समय छ। शेयर बजारबाट पनि नाफा कमाउन सकिन्छ भने जग्गाजमिनको लगानीले पनि राम्रो परिणाम प्राप्त हुन सक्छ। आर्थिक दृष्टिले जेठ, असोज, कात्तिक र फागुन महिना शुभ रहेका छन् ।
पेशा/रोजगार
सरकारी तथा गैरसरकारी क्षेत्रका व्यक्तिहरुको यो वर्ष पदप्रतिष्ठा तथा मानसम्मान बढ्न सक्छ। वकिल, न्यायधीश, शिक्षक, राजनीतिज्ञ आदि व्यक्तिहरुले पनि सफलता प्राप्त गर्न सक्ने समय छ।
प्रेम तथा पारिवारिक सम्बन्ध
यो वर्ष प्रेम तथा पारिवारिक सम्बन्ध राम्रो रहन सक्छ। प्रेम जीवनमा प्रवेश गर्न चाहने व्यक्तिहरुले प्रेमीप्रेमिका प्राप्त गर्न सक्छन् भने विवाहको चाहना हुने व्यक्तिहरु यो वर्ष विवाह हुन सक्छ। सन्तानको कामना भएका व्यक्तिहरुलाई सन्तान प्राप्त हुन सक्छ। मातापिता, दाजुभाई तथा आफन्तहरुसंग पनि सन्तुलित सम्बन्ध रहन सक्ने समय छ।
शुभ रंग/अङ्क
धनु राशिको लागि यो वर्ष पहेँलो, ध्वाँसे तथा आकाशे रङ्ग शुभ रहन सक्छ।
त्यस्तै शुभ अङ्कहरु २, ४, ७, ९ रहेका छन्।
उपाय
धनु राशिका व्यक्तिहरुले शनिबारको दिन भैरवको स्मरण गर्दा, पशुपन्क्षीहरुलाई आहार दिंदा, गरिबदुखीलाई सहयोग गर्दा गोचरगत राहुकेतुजन्य अशुभ फलको निवारण हुन सक्छ।