वृश्चिक राशि
वृश्चिक राशिको लागि २०८० साल सामान्य रहेको छ । वर्षको पूर्वार्धमा राहु ग्रहको षष्ठ स्थानमा गोचर हुने भएकाले यश, कीर्ति बढ्ने र अर्थलाभ हुने देखिन्छ । तर बृहस्पति ग्रहको षष्ठ र शनि ग्रहको चतुर्थ अशुभ फलदायी रहनाले आफन्तसँगको सम्बन्ध टुट्ने, हानी नोक्सानी बढ्ने, शत्रुवृद्धि हुने, डरत्रासको अवस्थाले मनमा अशान्त हुने देखिन्छ ।
स्वास्थ्य
बृहस्पति ग्रहको षष्ठ गोचरले यो वर्ष तपाईंको स्वास्थ्य कमजोर रहन सक्छ। कम्मर दुख्ने तथा पेट गडबड हुन सक्ने, खुट्टा सुन्निने, चिसोबाट समस्या हुने, छाती दुख्ने आदि समस्या तपाईंलाई देखिन सक्ने भएकाले स्वास्थ्यमा ध्यान दिनुपर्ने देखिन्छ।
व्यापार/व्यवसाय/आर्थिक
व्यापार व्यवसायका दृष्टिले यो वर्ष सामान्य देखिन्छ। वर्षको पूर्वार्धमा राहु ग्रहको षष्ठ गोचरले गर्दा उद्योग, कलकारखाना आदि क्षेत्र राम्रो रहन सक्छ। वर्षको उत्तरार्द्धमा केतु ग्रहको शुभ एकादश स्थानको गोचरले नयाँ कामको थालनी हुन सक्छ। शैक्षिक क्षेत्र, बैङ्क तथा वित्तीय क्षेत्र, फेशन डिजायन, प्राविधिक क्षेत्र आदि यो वर्ष सामान्य नै रहन सक्छन्। राहु तथा केतुको प्रभावले शेयर बजारबाट नाफा कमाउन सक्ने रहेपनि अनावश्यक खर्च हुन सक्छ। आर्थिक दृष्टिले वैशाख, भदौ, असोज र माघ महिना शुभ रहेका छन् ।
पेशा/रोजगार
गैरसरकारी तथा सामाजिक विकासका क्षेत्रमा काम संस्थाका व्यक्तिहरुको लागि प्रगति गर्ने समय छ। शिक्षक, राजनीतिज्ञ, वकिल, प्रशासनका सचिव आदिको यो समयमा कर्मक्षेत्रमा प्रगतिको योग बनेको देखिन्छ। कलकारखानाका प्रबन्धक, आयोजनाका ठेकेदार तथा अन्य कामदार आदिका लागि यो वर्ष सामान्य रहन सक्छ।
प्रेम तथा पारिवारिक सम्बन्ध
यो वर्ष प्रेम तथा पारिवारिक जीवन सामान्य रहन सक्छ। दाजुभाईबीच विवाद हुन सक्ने, मातापितासँग विचारमा मतभेद रहन सक्ने समय छ। प्रेम जीवनमा रहेकाहरुले आफ्नो प्रेमीको विचारको कदर गर्न नसक्दा समस्या आउन सक्छ। वैवाहिक जीवनमा पनि असमझदारी वा मतभेद हुन सक्ने रहेकाले ध्यान दिनुपर्ने देखिन्छ।
शुभ रंग/अङ्क
वृश्चिक राशिको लागि यो वर्ष रातो, सेतो तथा घ्यू रङ्ग शुभ रहन सक्छ।
त्यस्तै शुभ अङ्कहरु १, ४, ६, ७ रहेका छन्।
उपाय
वृश्चिक राशिका व्यक्तिहरुले शनिबारको दिन विहान पीपलमा जल चढाउँदा, हनुमानजी तथा भैरवजीको स्मरण गर्दा र बिहिबार शुद्ध सात्विक भोजन गर्दा, विष्णु भगवानको स्मरण गर्दा राम्रो हुन्छ। बृहस्पति तथा शनिको ग्रहशान्ति गर्दा शुभ हुन्छ।