कर्कट राशि
कर्कट राशिको लागि २०८० साल सामान्य वर्ष रहेको छ । बृहस्पति, शनि, राहु आदिका गोचर अनुकूल नरहेकाले पारिवारिक विवाद बढ्न सक्ने, शत्रुबाट समस्या हुने, मानसिक तनाव बढ्ने, संचित धनको नाश हुन सक्ने, पढाईमा रुचि नलाग्ने, शारीरिक आलस्यता बढ्ने समय रहेको छ।
स्वास्थ्य
गोचरको अष्टम शनि तथा अढैया शनिको प्रभावले गर्दा स्वास्थ्य स्थिति त्यति अनुकूल नरहन सक्छ। सवारीसाधन, अग्लो स्थान तथा ढुंगाबाट चोटपटक लाग्न सक्छ। मुखमा घाउ आउनुका साथै टाउको दुख्ने तथा आखाँ सम्बन्धि समस्या देखा पर्न सक्ने भएकाले ध्यान दिनुपर्ने देखिन्छ। वर्षको अन्त्यतिरबाट स्वास्थ्यमा सुधार आउँन सक्छ।
व्यापार/व्यवसाय/आर्थिक
बृहस्पति ग्रहको गोचर दशौँ स्थानमा रहने भएकाले व्यापार तथा व्यवसायबाट घाटा हुन सक्छ। टेक्निकल तथा मेडिकलको क्षेत्र सामान्य नै रहेपनि शैक्षिक तथा कृषि क्षेत्रमा केहि बाधा आउन सक्छ। वर्षको उत्तरार्द्धबाट वैदेशिक क्षेत्रका काम बन्नुका साथै व्यापार व्यवसायबाट मध्यम लाभ हुने समय छ । तीर्थयात्रा तथा अन्य भ्रमण पनि यो वर्ष हुन सक्छ। शेयर बजारबाट नाफा कमाउने समय छैन। आर्थिक दृष्टिले वैशाख, जेठ, असोज र पुस महिना शुभ रहेका छन् ।
पेशा/रोजगार
वर्षको पूर्वार्धमा काममा समस्या आउने, अपजस सहनुपर्ने तथा प्रतिष्पर्धी तथा विरोधीहरु हावी हुनाले काममा सङ्कट आउन सक्ने समय रहेकाले ध्यान दिनुपर्छ। वर्षको उत्तरार्धबाट काममा सुधार तथा मानसम्मान प्राप्ति, शत्रुलाई पराजित गर्न सकिने समय छ।
प्रेम सम्बन्ध
यो वर्ष प्रेम जीवन तथा पारिवारिक जीवन सामान्य रहन सक्छ। पिता तथा पत्नीको स्वास्थ्य केहि कमजोर रहन सक्छ। वैवाहिक जीवनमा विश्वासको सङ्कट देखा पर्न सक्ने भएकाले एक अर्काको भावना बुझ्नु पर्ने हुन्छ। प्रेम सम्बन्धमा रहेकाहरुले आफ्नो प्रेमीप्रेमिकाको मन जित्न अलिक प्रयास गर्नुपर्ने हुन्छ। वर्षको अन्तिमतिर बाट प्रेम तथा पारिवारिक जीवनमा सुधार हुन सक्छ।
शुभ रंग/अङ्क
कर्कट राशिको लागि यो वर्ष हरियो, सेतो तथा पहेंलो रङ्ग शुभ रहन सक्छ।
त्यस्तै अङ्कहरु २, ३, ६, ७ शुभ रहेका छन्।
उपाय
कर्कट राशिका व्यक्तिहरुले बृहस्पति, शनि तथा राहुकेतुको ग्रहशान्ति पूजा जप गर्दा राम्रो हुन्छ। शनिबार सात्विक भोजन गर्ने, हनुमानजी तथा भैरवजीको दर्शन गर्ने गर्दा पनि शनि राहुको गोचरजन्य अशुभ फल कम हुन सक्छ।