वृष राशिको लागि २०८० साल सामान्य रहन सक्छ। सवारीसाधन, जग्गाजमिन, रोजगारी, वैदेशिक क्षेत्रबाट राम्रो आम्दानी गर्न सक्ने योग छ। स्वास्थ्य स्थिति वर्षभरि नै सामान्य रहन सक्छ। वर्षको पूर्वार्धको समयमा खर्च बढ्ने, काममा ढिलासुस्ती हुने रहेपनि वर्षको उत्तरार्धबाट सुधार हुन सक्ने समय छ। पढाईमा उचित समय दिन नसक्दा विद्यार्थीले उचित नतिजा प्राप्त गर्न गाह्रो हुन्छ।
स्वास्थ्य
बृहस्पति ग्रहको बाह्रौं गोचर र शनि ग्रहको दशौँ गोचरका कारण स्वास्थ्य सामान्य रहन सक्छ। नशा सम्बन्धि तथा बोसो सम्बन्धि समस्या यो समयमा देखिन सक्छ। वर्षको पूर्वार्धको समय स्वास्थ्य सम्बन्धि समस्या रहन सक्ने भएपनि उत्तरार्धबाट सुधार आउन सक्ने सम्भावना छ।
व्यापार/व्यवसाय/आर्थिक
व्यापार व्यवसायका दृष्टिले यो वर्ष मध्यम देखिन्छ। शनि ग्रहको गोचर दशौँ स्थानमा रहने भएकाले ढिलासुस्ती बाबजुत कठोर प्रयासले कामहरु बन्न सक्छन्। अनावश्यक विवादमा अल्झिंदा बन्न लागेको काम बिग्रिन सक्ने, व्यवसायबाट घाटा हुन सक्छ। वर्षको उत्तरार्धबाट राहु ग्रहको एकादश गोचर रहने भएकाले व्यापार व्यवसायमा सुधार आउन सक्छ। धार्मिक तथा परोपकारको क्षेत्रमा पनि केहि खर्च हुन सक्छ। यो वर्ष शेयर बजारबाट त्यति राम्रो अपेक्षा गर्न सकिंदैन। आर्थिक दृष्टिले साउन, कार्तिक, फागुन र चैत महिना शुभ रहेका छन् ।
पेशा/रोजगार
वैदेशिक क्षेत्र तथा पर्यटन तथा होटल सम्बन्धि क्षेत्रमा काम गर्ने व्यक्तिहरुले वर्षको उत्तरार्धबाट सामान्य लाभ लिन सक्छन् भने सरकारी तथा बैकिङ्ग क्षेत्रमा काम गर्नेहरुको समय सामान्य नै रहन सक्ने भएकाले ठूलो प्रगतिको अपेक्षा गर्न सकिंदैन । कामको कारणले यात्रा गर्नुपर्ने र यात्रा मध्यम फलदायी रहने समय छ।
प्रेम सम्बन्ध
प्रेम तथा पारिवारिक जीवन यो वर्ष मध्यम नै रहने देखिन्छ। केहि असमझदारी र विवाद पारिवारिक तथा प्रेम जीवनमा देखिएपनि वर्षको अन्त्यतिर समस्या हट्ने र पारिवारिक जीवन राम्रो हुन सक्ने समय छ। प्रेम जीवनमा रहेकाहरु आफ्नो प्रेमीको साथ रमाइलो यात्रामा सहभागी हुन सक्ने योग छ।
शुभ रंग/अङ्क
वृष राशिको लागि यो वर्ष सेतो, गुलाबी, पपहेंलो र निलो रङ्ग शुभ रहन सक्छ।
त्यस्तै अङ्कहरु २, ४, ६, ७ रहेका छन्।
उपाय
वृष राशिका व्यक्तिहरुले शनिबारको दिन विहान पीपलमा जल चढाउँदा, हनुमानजीको स्मरण गर्दा र बिहिबारको दिन तपाईंले बिहिबारको दिन भगवान बिष्णुको पुजापाठ तथा दर्शन गरेर पनि गोचरको शनि र बृहस्पतिको अशुभ प्रभाव कम गर्न सक्नुहुन्छ। शनि तथा बृहस्पतिको अशुभ गोचरफलको निवारणको लागि जप/पाठ तथा ग्रहशान्ति पुजा गर्न सक्नुहुन्छ।