ज्योतिष शास्त्रअनुसार एक दिनमा ३० वटा मुहूर्त हुन्छन् । पहिलो मुहूर्तलाई रुद्र भनिन्छ जुन विहान ६ बजे सुरु हुन्छ । यसपछि प्रत्येक अठ्चालीस मिनेटपछि मुहूर्त फेरिन थाल्छन् । त्यसरी क्रमैसँग आउने मुहूर्तका नाम हुन्- आहि, मित्र, पितृ, वाराह, विश्वेदेवा, विधि, सप्तमुखी, पुरुहूत, वाहिनी, नक्तनकरा, वरुण, अर्यमा, भग, गिरीश, अजपाद, अहिर्बुध्न्य, पुष्य, अश्विनी, यम, अग्नि, विधातृ, कण्ड, अदिति, जीव वा अमृत, विष्णु, युमिगद्युति, ब्रह्म र समुद्रम ।
वेद, स्मृति एवं अन्य धार्मिक ग्रन्थहरूको आधारमा मुहूर्तसम्बन्धी जानकारी दिने विशेष ग्रन्थ पनि छन् । जसबाट मुहूर्तका विषयमा सम्पूर्ण जानकारी पाउन सकिन्छ । यिनमा मुहूर्त मार्तण्ड, मुहूर्त गणपति, मुहूर्त चिन्तामणि, मुहूर्त पारिजात, धर्म सिन्धु, निर्णय सिन्धु आदि प्रमुख छन् ।
मुहूर्त पनि केही शुभ हुन्छन् भने कोही अशुभ हुन्छन् । फेरि मुहूर्त मात्र शुभ भएर पनि हुँदैन । मुहूर्तसँगै तिथि, वार, नक्षत्र, पक्ष, अयन, चौघडी एवं लग्न आदिमा पनि विचार पुर्याउनुपर्छ ।
शुभ वार
वार सातवटा छन् । सात वारमध्ये आइतवार, मंगलवार एवं विहिवार शुभ मानिन्छन् । यी तीनमध्ये पनि विहिवार सवैभन्दा श्रेष्ठ मानिएको छ किनभने यो वारका मालिक वृहस्पतिको दिशा ईशान हो । ईशानमा सबै देवताको वास हुने शास्त्रीय मान्यता छ ।
चौघडी
खासमा ४ घडीको समय भन्ने बुझाउन चौघडी नाम आएको हो । दिन तथा रात गरेर जम्मा ७ चौघडी हुन्छन् । ती हुन्- शुभ, लाभ, अमृत, चर, काल, रोग एवं उद्वेग । यीमध्ये शुभ, अमृत एवं लाभ चौघडीलाई उत्तम मानिन्छ र तिनमा पनि शुभ चौघडी सवोत्तम मानिन्छ किनभने यसका स्वामी बृहस्पति हुन् । यसैगरी अमृतका स्वामी चन्द्रमा तथा लाभका स्वामी बुध हुन् । प्रत्येक चौघडीको समय अवधि डेढ घन्टा हुन्छ । शुक्र स्वामी हुने चर चौघडी मध्यम मानिन्छ । काल (स्वामी शनि), रोग (स्वामी मंगल) तथा उद्वेग (स्वामी सूर्य) लाई अशुभ मानिएको छ ।
पक्ष
पक्ष दुईवटा छन्- शुक्ल र कृष्ण । यसमा शुक्ल पक्षलाई उत्तम मानिएको छ । चन्द्रमा बढ्दै जाने क्रम शुक्ल पक्षमा हुन्छ भने कृष्ण पक्षमा चन्द्रमा घट्ने क्रम सुरु हुन्छ । शुभ कार्य गर्नका लागि शुक्ल पक्ष उत्तम मानिन्छ ।
तिथि
शुक्ल पक्षका १५ र कृष्ण पक्षका गरी महिनामा जम्मा तीस तिथि छन् । शुक्ल पक्षको पूणिर्मा तथा कृष्ण पक्षको औंसीबाहेक अन्य तिथिहरूको नाम दुवै पक्षको एउटै छ । तिथिहरूमा एकादशी र पञ्चमीलाई शुभ मानिन्छ । यीबाहेक प्रदोषलाई पनि निकै उत्तम मानिएको छ ।
प्रत्येक पक्षमा एक र महिनामा दुईवटा एकादशी हुन्छ । सामान्यतया वर्षभरिमा २४ वटा एकादशी हुन्छ भने अधिकमास परेका बेला २६ वटा एकादशी हुन्छ । हरेक एकादशीको महत्व हुने भए पनि कार्तिक महिनामा पर्ने हरिबोधिनी एकादशीलाई श्रेष्ठ मानिन्छ ।
पञ्चमी पनि एकादशीजस्तै हरेक महिनामा दुईवटा हुन्छ । सबै पञ्चमी उत्तम भए पनि माघ महिनामा पर्ने वसन्त पञ्चमी तथा साउनमा पर्ने नाग पञ्चमीलाई सबैभन्दा उत्तम मानिएको छ ।
महिना
महिना १२ वटा छन् । महिनाहरूमा चैत, वैशाख, जेठ, साउन, असोज, कात्तिक, मंसिर, माघ र फागुन उत्तम मानिन्छन् । यीमध्ये पनि चैत र कात्तिक महिनालाई सबैभन्दा उत्तम मानिएको छ ।
अयन
दक्षिणायन र उत्तरायण गरी दुईवटा अयन छन् । एक महिनामा ६ महिना हुन्छन् । साउने संक्रान्तिदेखि पुस मसान्तसम्मको समय दक्षिणायन हो भने माघे संक्रान्तिदेखि असार मसान्तसम्मको समय उत्तरायण हो । देवताहरू दक्षिणायनभरि सुत्छन् र उत्तरायणभरि जागा हुन्छन् भन्ने विश्वास भएकालेृ उत्तरायणलाई शुभ मानिन्छ ।
संक्रान्ति
सूर्य एक राशिबाट अर्को राशिमा जानु वा संक्रमण हुनुलाई संक्रान्ति भनिन्छ । संक्रान्तिहरूमा मेष (वैशाख), कर्कट (साउन), तुला (कात्तिक) र मकर (माघ) संक्रान्ति शुभ मानिन्छन् । यीमध्ये पनि माघे संक्रान्तिलाई सबैभन्दा उत्तम मानिएको छ । यो संक्रान्तिमा सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्छन् ।
ऋतु
ऋतु छ वटा छन्- वसन्त, ग्रीष्म, वर्षा, शरद, हेमन्त र शिशिर ऋतु । यीमध्ये वसन्त र शरद ऋतु सबैभन्दा श्रेष्ठ मानिन्छन् ।
नक्षत्र
नक्षत्र २७ वटा छन् । अभीजितलाई २८ औं नक्षत्र मानिन्छ । यीमध्ये कार्तिक महिनामा पर्ने पुष्य नक्षत्रलाई सर्वश्रेष्ठ मानिएको छ । या बाहेक अश्विनी, रोहिणी, मृगशिरा, उत्तरा फाल्गुनी, हस्त, चित्रा, स्वाति, अनुराधा, उत्तराषाढा, साउन, धनिष्ठा, शतभिषा, उत्तर भाद्रपद तथा रेवती नक्षत्रलाई शुभ मानिन्छ ।