सङ्कटा योगिनीको दशाकालको अन्तिम चारवर्षको अवधिमा यसको नाम विकटा हो भन्ने मान्यता छ । यस समयमा यस योगिनीले केतु ग्रहले प्रदान गर्ने शुभ र अशुभ फल नै प्रदान गर्दछ । त्यसैले यसको उक्त चार वर्षको अवधिमा प्राप्त हुने अशुभ फलको निवारण र शुभ फलको अभिवृद्धिका लागि केतु ग्रहकै उपासनामाथि जोड दिनुपर्दछ । तपाईंको जीवनमा केतु र सङ्कटाको दशाको अन्तिम चार वर्षको समय अर्थात् विकटाको समय एकै पटक आएमा अधिकतम अनिष्ट फलहरू प्राप्त हुने गर्दछन् । त्यसैले त्यस्तो अवस्था हुनुअघिदेखि नै केतु ग्रहकै स्वस्तिशान्तिका उपाय अवलम्बन गरी दशा निवारण गर्नु राम्रो हुन्छ । सङ्कटा योगिनीको अन्तिम चार वर्षमा प्राप्त हुने अशुभ फलको निवारण र शुभफलको बृद्धिका लागि निम्न उपाय अवलम्बन गर्न सकिन्छ :-
१) मङ्गलबार, बिहीबार वा प्रत्येक महिनाको कृष्णपक्ष र शुक्लपक्षमा पर्ने औंसी र पूर्णिमा तिथिको व्रत लिने ।
२) सुनको गणेश वा हनुमानको प्रतिमा वा आकृति बनाई हरहमेशा आफ्नो साथमा राख्ने र गणेश अथर्वशीर्ष वा हनुमान् चालिसाको नियमित पाठ गरेमा पनि सङ्कटा योगिनीको शुभफल प्राप्त हुन्छ ।
३) घरमा बुढी षडङ्ग रुद्री पूजा गरी केतु ग्रहको बीज मन्त्रको ५००० आवृत्ति जाप र ॐ नमो भगवति विकटे वीरपालिके प्रसीद, प्रसीद यस मन्त्रको ८००० सङ्ख्यामा जाप गर्नु उचित हुन्छ ।
४) केतु ग्रहको दान सामाग्री नै सङ्कटा योगिनीको अन्तिम चार वर्षको दान सामाग्री भएकाले उक्त दानसामाग्री कुनै नीच जातिको व्यक्तिलाई वा जोगीलाई दान गर्नुपर्दछ ।
५) कम्तीमा ३ क्यारेटभन्दा माथिको वैदूर्यमणि (लसुनिया) पत्थर चाँदीमा औंठी बनाई दाहिने हातको माझी औंलामा धारण गरेमा पनि सङ्कटा योगिनीको अन्तिम चार वर्षमा प्राप्त हुने अनिष्टको निवारण हुन्छ ।