सङ्कटा योगिनी राहु/केतुकी साझा पत्नीको नाम हो । त्यसैले यस योगिनीको दशाकालको सुरुको चारवर्षको अवधिमा राहुले प्रदान गर्ने शुभ र अशुभ फल नै प्राप्त हुन्छ । त्यसैले यसको उक्त चार वर्षको अवधिमा प्राप्त हुने अशुभ फलको निवारण र शुभ फलको अभिवृद्धिका लागि राहु ग्रहकै उपासनामाथि जोड दिनुपर्दछ । तपाईंको जीवनमा राहु र सङ्कटाको दशाको सुरुको चार वर्षको समय एकै पटक आएमा अधिकतम अनिष्ट फलहरू प्राप्त हुने गर्दछन् । त्यसैले त्यस्तो अवस्था हुनुअघिदेखि नै राहु ग्रहकै स्वस्तिशान्तिका उपाय अवलम्बन गरी दशा निवारण गर्नु राम्रो हुन्छ । सङ्कटा योगिनीको सुरुको चार वर्षमा प्राप्त हुने अशुभ फलको निवारण र शुभफलको बृद्धिका लागि निम्न उपाय अवलम्बन गर्न सकिन्छ :-
१) शनिबार, बुधबार वा प्रत्येक महिनाको कृष्णपक्ष र शुक्लपक्षमा पर्ने पञ्चमी तिथिको व्रत लिने ।
२) जुनसुकै धातुमा निर्माण गरी नागाकृति वस्तु धारण गर्ने वा हरहमेशा आफ्नो साथमा राखेमा पनि सङ्कटा योगिनीको शुभफल प्राप्त हुन्छ ।
३) घरमा बुढी षडङ्ग रुद्री पूजा गरी राहु ग्रहको बीज मन्त्रको ५००० आवृत्ति जाप र ॐ ह्रीं सङ्कटे मम रोगं नाशय स्वाहा यस मन्त्रको ८००० सङ्ख्यामा जाप गर्नु उचित हुन्छ ।
४) राहु ग्रहको दान सामाग्री नै सङ्कटा योगिनीको सुरुको चार वर्षको दान सामाग्री भएकाले उक्त दानसामाग्री कुनै नीच जातिको व्यक्तिलाई वा जोगीलाई दान गर्नुपर्दछ ।
५) कम्तीमा ३ क्यारेटभन्दा माथिको गोमेदमणि पत्थर चाँदीमा औंठी बनाई दाहिने हातको माझी औंलामा धारण गरेमा पनि सङ्कटा योगिनीको सुरुको चार वर्षमा प्राप्त हुने अनिष्टको निवारण हुन्छ ।