सिद्धा योगिनी शुक्रकी पत्नीको नाम हो । त्यसैले यस योगिनीको दशाकालमा शुक्रले प्रदान गर्ने शुभ र अशुभ फल नै प्राप्त हुन्छ । त्यसैले यसको अशुभ फलको निवारण र शुभ फलको अभिवृद्धिका लागि शुक्र ग्रहकै उपासनामाथि जोड दिनुपर्दछ । तपाईंको जीवनमा शुक्र र सिद्धाको दशा एकै पटक आएमा अधिकतम अनिष्ट फलहरू प्राप्त हुने गर्दछन् । त्यसैले त्यस्तो अवस्था हुनुअघिदेखि नै शुक्र ग्रहकै स्वस्तिशान्तिका उपाय अवलम्बन गरी दशा निवारण गर्नु राम्रो हुन्छ । सिद्धा योगिनीको पालामा प्राप्त हुने अशुभ फलको निवारण र शुभफलको बृद्धिका लागि निम्न उपाय अवलम्बन गर्न सकिन्छ :-
१) शुक्रबार वा प्रत्येक महिनाको कृष्णपक्ष र शुक्लपक्षमा पर्ने नवमी तिथिको व्रत लिने ।
२) चाँदीको छ कुने वा षड्कोण आकारको कुनै वस्तु हरहमेशा आफ्नो साथमा राखेमा पनि सिद्धा योगिनीको शुभफल प्राप्त हुन्छ ।
३) घरमा बुढी षडङ्ग रुद्री पूजा गरी शुक्र ग्रहको बीज मन्त्रको ५००० आवृत्ति जाप र ॐ ह्रीं सिद्धे मे सर्वमानसं साधय स्वाहा यस मन्त्रको ७००० सङ्ख्यामा जाप गर्नु उचित हुन्छ ।
४) शुक्र ग्रहको दान सामाग्री नै सिद्धा योगिनीको समेत दान सामाग्री भएकाले उक्त दानसामाग्री कुनै सौभाग्यवती ब्राह्मणी वा जोगीलाई दान गर्नुपर्दछ ।
५) कम्तीमा ७ क्यारेटभन्दा माथिको ओपल वा कम्तीमा २ क्यारेटभन्दा माथिको हीरा पत्थर चाँदीमा औंठी बनाई दाहिने हातको कान्छी औंलामा धारण गरेमा पनि सिद्धा योगिनीबाट प्राप्त हुने अनिष्टको निवारण हुन्छ ।