भद्रिका योगिनी बुधकी पत्नीको नाम हो । त्यसैले यस योगिनीको दशाकालमा बुधले प्रदान गर्ने शुभ र अशुभ फल नै प्राप्त हुन्छ । त्यसैले यसको अशुभ फलको निवारण र शुभ फलको अभिवृद्धिका लागि बुध ग्रहकै उपासनामाथि जोड दिनुपर्दछ । तपाईंको जीवनमा बुध र भद्रिकाको दशा एकै पटक आएमा अधिकतम अनिष्ट फलहरू प्राप्त हुने गर्दछन् । त्यसैले त्यस्तो अवस्था हुनुअघिदेखि नै बुध ग्रहकै स्वस्तिशान्तिका उपाय अवलम्बन गरी दशा निवारण गर्नु राम्रो हुन्छ ।भद्रिका योगिनीको पालामा प्राप्त हुने अशुभ फलको निवारण र शुभफलको बृद्धिका लागि निम्न उपाय अवलम्बन गर्न सकिन्छ :-
१) बुधबार वा प्रत्येक महिनाको कृष्णपक्ष र शुक्लपक्षमा पर्ने एकादशी तिथिको व्रत लिने ।
२) चाँदीको पाँचकुने आकारको लकेट वा कुनै वस्तु हरहमेशा आफ्नो साथमा राखेमा पनि भद्रिका योगिनीको शुभफल प्राप्त हुन्छ ।
३) घरमा बुढी षडङ्ग रुद्री पूजा गरी दुर्गासप्तशती चण्डीको पाठ र बुध ग्रहको बीज मन्त्रको ५००० आवृत्ति जाप र ॐ भद्रिके भद्रं देही अभद्रं नाशय स्वाहा यस मन्त्रको ५००० सङ्ख्यामा जाप गर्नु उचित हुन्छ ।
४) बुध ग्रहको दान सामाग्री नै भद्रिका योगिनीको समेत दान सामाग्री भएकाले उक्त दानसामाग्री कुनै कुटुम्ब वा चेलीबेटीलाई वा जोगीलाई दान गर्नुपर्दछ ।
५) कम्तीमा ३ क्यारेटभन्दा माथिको पन्ना पत्थर सुनमा वा चाँदीमा औंठी बनाई दाहिने हातको कान्छी औंला वा काहिंली औंलामा धारण गरेमा पनि भद्रिका योगिनीबाट प्राप्त हुने अनिष्टको निवारण हुन्छ ।