पिङ्गला योगिनी सूर्यकी पत्नीको नाम हो । त्यसैले यस योगिनीको दशाकालमा सूर्यले प्रदान गर्ने शुभ र अशुभ फल नै प्राप्त हुन्छ । त्यसैले यसको अशुभ फलको निवारण र शुभ फलको अभिवृद्धिका लागि सूर्य ग्रहकै उपासनामाथि जोड दिनुपर्दछ । तपाईंको जीवनमा सूर्य र पिङ्गलाको दशा एकै पटक आएमा अधिकतम अनिष्ट फलहरू प्राप्त हुने गर्दछन् । त्यसैले त्यस्तो अवस्था हुनुअघिदेखि नै सूर्य ग्रहकै स्वस्तिशान्तिका उपाय अवलम्बन गरी दशा निवारण गर्नु राम्रो हुन्छ । पिङ्गला योगिनीको पालामा प्राप्त हुने अशुभ फलको निवारण र शुभफलको बृद्धिका लागि निम्न उपाय अवलम्बन गर्न सकिन्छ :-
१) आइतबार वा प्रत्येक महिनाको कृष्णपक्ष र शुक्लपक्षमा पर्ने सप्तमी तिथिको व्रत लिने ।
२) तामाको बाला दाहिने हातको नारीमा धारण गरेमा पनि पिङ्गला योगिनीको शुभफल प्राप्त हुन्छ ।
३) घरमा बुढी षडङ्ग रुद्री पूजा गरी सूर्य ग्रहको बीज मन्त्रको ५००० आवृत्ति जाप र ॐ ग्लौं पिङ्गले वैरिकारिणी प्रसीद फट् स्वाहा यस मन्त्रको २००० सङ्ख्यामा जाप गर्नु उचित हुन्छ ।
४) सूर्यको दान सामाग्री नै पिङ्गला योगिनीको समेत दानसामाग्री भएकाले उक्त दानसामाग्री कुनै प्रौढ अवस्थाको रातो वा श्याम वर्णको ब्राह्मण वा जोगीलाई दान गर्नुपर्दछ ।
५) कम्तीमा ५ क्यारेटभन्दा माथिको माणिक्य पत्थर सुनमा वा पहेंलो धातुमा औंठी बनाई दाहिने हातको काहिंली औंलामा धारण गरेमा पनि पिङ्गला योगिनीबाट प्राप्त हुने अनिष्टको निवारण हुन्छ ।