मङ्गला योगिनी चन्द्रमाकी पत्नीको नाम हो । त्यसैले यस योगिनीको दशाकालमा चन्द्रमाले प्रदान गर्ने शुभ र अशुभ फल नै प्राप्त हुन्छ । त्यसैले यसको अशुभ फलको निवारण र शुभ फलको अभिवृद्धिका लागि चन्द्रमा ग्रहकै उपासनामाथि जोड दिनुपर्दछ । तपाईंको जीवनमा चन्द्रमा र मङ्गलाको दशा एकै पटक आएमा अधिकतम अनिष्ट फलहरू प्राप्त हुने गर्दछन् । त्यसैले त्यस्तो अवस्था हुनुअघिदेखि नै चन्द्रमा ग्रहकै स्वस्तिशान्तिका उपाय अवलम्बन गरी दशा निवारण गर्नु राम्रो हुन्छ । मङ्गला योगिनीको पालामा प्राप्त हुने अशुभ फलको निवारण र शुभफलको वृद्धिका लागि निम्न उपाय अवलम्बन गर्न सकिन्छ :-
१) सोमबार वा पूर्णिमाको व्रत लिने ।
२) चाँदीको चारपाटे (वर्गाकार) वस्तु हरहमेशा आफूसँग राखेमा मङ्गला योगिनीको शुभफल प्राप्त हुन्छ ।
३) घरमा बुढी षडङ्ग रुद्री पूजा गरी चन्द्र ग्रहको बीज मन्त्रको ५००० आवृत्ति जाप र ॐ ह्रीं मङ्गले मङ्गलायै स्वाहा यस मन्त्रको १००० सङ्ख्यामा जाप गर्नु उचित हुन्छ ।
४) चन्द्रमाको दान सामाग्री नै मङ्गला योगिनीको समेत दान सामाग्री भएकाले उक्त दानसामाग्री कुनै सधवा ब्राह्मणी वा जोगीलाई दान गर्नुपर्दछ ।
५) कम्तीमा ४ क्यारेटभन्दा माथिको मोती पत्थर चाँदीको औंठी बनाई दाहिने हातको कान्छी औंलामा धारण गरेमा पनि मङ्गला योगिनीबाट प्राप्त हुने अनिष्टको निवारण हुन्छ ।