अश्विनी, मघा र मूल नक्षत्रको स्वामी केतु ग्रह हो । केहि आचार्यहरुले केतुलाई मीन राशिको स्वामी पनि मानेको पाइन्छ। यस ग्रहलाई पनि शनि ग्रह झैं अशुभ र दुष्ट ग्रहका रूपमा लिने गरिन्छ, त्यसैले केतु ग्रहको महादशा प्राप्त हुँदा नैसर्गिक रूपमा मनुष्यले प्रायशः मानसिक सन्ताप र दिमागी पीडालाई व्यहोर्नु पर्ने हुन्छ । यस समयमा आफन्तहरुसँग झैझगडा, विवाद र कलहको सम्भावना बढ्ने गर्दछ । पाचनप्रणालीमा समस्या देखिने, कुनै महत्वाकांक्षा र जोखिमका कारण धन र वैभवको नाश हुने, राज्यपक्ष र प्रशासनिक झैझमेलाबाट सन्तप्त रहनु पर्ने परिस्थिति केतुको महादशा कालमा भोग्नु पर्ने हुन्छ । कुण्डलीमा केतु ग्रहको महादशाको समय वा सङ्कटा योगिनीको अन्तिम चार वर्षको समयावधि छ भने जसले पनि केतु ग्रहको उपासना र आराधना गर्नु राम्रो हुन्छ । त्यस्तै तपाईंको जन्मकुण्डलीमा केतुको शुभ प्रभाव बढाउनु छ र अशुभ प्रभाव निवारण गर्नु छ भने तलका उपायलाई अवलम्बन गर्दा राम्रो हुन्छ :-
१ – घरका छोराछोरी वा नातिनातिनालाई हरहमेशा नम्र व्यवहार गर्नुपर्दछ ।
२ - मगन्ते, भिखारी वा जोगीलाई दुई वटा रङ मिसिएको कम्बल वा दोलाई दान गर्नुपर्दछ ।
३ – शक्ति उपासना गर्नेहरूले देवीको मन्दिर भोग खाने शक्तिपीठमा कालो बोकाको बलि दिनुपर्दछ । वैष्णव वा शाकाहारी परिवारका व्यक्तिले प्रत्येक मङ्गलबार वा बिहीबारका दिन कालो बोकोलाई हरियो र पोसिलो घाँस खुवाउनु पर्दछ ।
४ – छाँगो वा झरनामा गई स्नान गर्नु पर्दछ ।
५ – घर बनाउँदा दुईवटा रङको सम्मिश्रण भएको मार्बल वा ढुङ्गाको प्रयोग गर्नुपर्दछ ।
६ – आफू सुत्ने खाट वा पलङ्गमुनि कुनै भारी चिज वा आफ्नो तौलको कम्तीमा १० प्रतिशत तौलको ढुङ्गो राख्नु पर्दछ ।
७ – कुनै पवित्र नदी, तलाउ वा सरोवरको शुद्ध जल ल्याई आफ्नो शयनकक्षको सिराने भागमा राख्नु पर्दछ ।
८ - नरिवलमा कुराउनी वा कुनै दूधबाट बनेको मिठाइ भरेर भुइँमा गाडी दिनुपर्दछ ।
९ - केतुको महादशा वा सङ्कटाको पछिल्लो चार वर्षभित्रको अवधि चलिरहेको छ भने केतु ग्रहको थप उर्जा प्राप्त गर्न दिनैपिच्छे हनुमान् चालिसाको नौ आवृत्ति पाठ गर्नुपर्दछ ।
१० - कुनै विद्यालय वा अनाथाश्रममा अक्षयकोषको स्थापना गर्नुपर्दछ ।
११ - प्रत्येक मङ्गलबार वा बिहीबारका दिन गच्छेअनुसार केतु ग्रहको दानसामाग्रीका साथमा काँसोको भाँडोमा राखी कुनै पक्वान्न कुनै बृद्ध जोगीलाई वा माता दुर्गाको शक्तिपीठमा दान दिनुपर्छ ।
१२ - प्रत्येक वर्षको जन्मतिथिमा बुढीषडङ्ग रुद्रीअन्तर्गतको केतुसूक्तको ७ आवृत्ति पाठ गर्न लगाई सम्पुटसहित श्री दुर्गासप्तशती (चण्डी) पाठ ३ वा ९ आवृत्ति गर्नुपर्छ ।
१३ - देवीदेउराली वा कुनै शक्तिपीठमा गई वर्षको एकपल्ट नौ जना नौ वर्षमुनिका बालिका लाई कालो रङको तैयारी लुगा दान गर्नुपर्दछ ।
यी व्यवहारिक उपाय सबै वा कुनै इच्छानुसार प्रयोग गर्न सकिन्छ र केतु ग्रहको दुष्प्रभावलाई हटाउनका लागि मङ्गलबार वा बिहीबारका दिन, केतु ग्रहको नक्षत्र (अश्विनी, मघा र मूल) वा मङ्गल वा गुरुको होरामा यी कर्मको सुरुवात गर्नु उचित हुन्छ ।
केतु ग्रहको वैदिक र तान्त्रिक शान्तिविधि :-
केतु ग्रहको आराधनाका लागि पूजा लगाउँदा रूद्राभिषेक र हवनको आयोजना गरी मुख्यदेवताको विशेष पूजा, नवग्रह पूजा, तलका मध्ये कुनै मन्त्रको तोकिएको सङ्ख्यामा जापप्रयोग र दानसामाग्री दान गर्ने वैदिक विधान छ :-
मुख्य देवता - माता दुर्गा/सङ्कटा भगवती र हनुमान्
वैदिक मन्त्र –
ॐ केतुं कृण्वन्नकेतवे पेशो मय्र्याऽपेशसे । समुषभ्दिरजायथाः ।।
पौराणिक मन्त्र –
ॐ पलाश पुष्प सकाशं तारका ग्रह मस्तकम् ।
रौद्रं रौद्रात्मकं घोरं तं केतुं प्रणमाम्यहम् ।।
केतु गायत्री – ॐ पद्म पुत्राय विद्महे अमृतेशाय धीमहि तन्नो केतु प्रचोदयात् ।।
तन्त्रोक्त मन्त्र – ॐ स्रां स्रीं स्रौं सः केतवे नमः ।
लघु बीज मन्त्र - ॐ कें कतवे नमः ।
केतु ग्रहलाई अर्घ्य दिने मन्त्र –
सदारुद्रप्रिय रुद्र क्रूरकर्मन् सुगन्धधृक् ।
लोककेतो महाकेतो गृहाणार्घ्यं ग्रहाधिपः !
जाप संख्या – ७०००
रत्न – केतुका लागि २, ३, ६, ७, १० वा ११ क्यारेटको लहसुनिया रत्न सुन, चाँदी वा पञ्चधातुको औंठीमा बनाई दाहिने हातको माझको औंलामा धारण गर्ने प्रचलन छ ।
दानका लागि वस्तुहरू – फलाम, कालो बोको, नरिवल, तिल, सप्तधान्य, ध्वाँसे कपडा, फलामको हतियार, कैली गाई र दक्षिणा दान गर्नु पर्दछ ।