आर्द्रा, स्वाती र शतभिषा नक्षत्रको स्वामी राहु ग्रह हो । कुनै कुनै आचार्यहरुले राहुलाई कन्या राशिको स्वामी पनि मानेको छन्। यस ग्रहलाई पनि शनि ग्रह झैं अशुभ र दुष्ट ग्रहका रूपमा लिने गरिन्छ, त्यसैले राहु ग्रहको महादशाको अवधिमा पनि जातकले नैसर्गिक रूपमा अशुभ फलहरु प्राप्त गर्दछन् । यस समयमा धन र प्रतिष्ठाको नाश हुने खतरा हुन्छ । रोगव्याधिले सताउँछ, विशेषतः घरमा पिता वा अभिभावकको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्दछ । जीवनसाथी र सन्तानपक्षमा समेत पीडा हुन्छ । साथीभाइले धोका दिन्छन् । गरेका काममा खासै सफलता प्राप्त हुँदैन । चारैतिर आफूप्रतिकूलको वातावरण सिर्जना हुनाले मन त्यसैत्यसै अत्तालिने स्थितिको सिर्जना हुन्छ । कुण्डलीमा राहु ग्रहको महादशाको समय वा सङ्कटा योगिनीको सुरुको चारवर्षको अवधि छ भने जसले पनि राहु ग्रहको उपासना र आराधना गर्नु राम्रो हुन्छ । त्यस्तै तपाईंको जन्मकुण्डलीमा राहुको शुभ प्रभाव बढाउनु छ र अशुभ प्रभाव निवारण गर्नु छ भने तलका उपायलाई अवलम्बन गर्दा राम्रो हुन्छ :-
१ – राहुको दुष्प्रभावलाई न्यूनीकरण गर्न अष्टधातुको बाला बनाउन लगाई दाहिने हातको नारीमा धारण गर्नुपर्दछ ।
२ – हाथीको दाँतको आकृतिको लकेट (पेन्डेन्ट) बनाई चाँदीको सिक्रीमा झुन्ड्याई गलामा धारण गर्नुपर्दछ ।
३ – श्रीखण्ड चन्दनको एउटा सानो टुक्रा आफ्नो पर्स वा सधैं बोक्ने झोलामा हरहमेशा राख्नुपर्दछ ।
४ – डुम, चमार, मेत्तर, सार्की, पोडे वा घरको फोहोर उठाउने व्यक्तिलाई चुरोट, खैनी, गुट्खा आदि अम्मलका वस्तुहरू दान दिनुपर्दछ । तर राहुको अवधिभरि आफूले चुरोट, खैनी वा गुट्खा आदि सूर्तिजन्य पदार्थको सेवन नगरेको जाति हुन्छ ।
५ – दिनको सन्धिकाल अर्थात् सूर्योदय र सूर्यास्तको आसपासमा कुनै महत्त्वपूर्ण काम गर्नुहुँदैन, कुनै यात्रामा निस्कनु हुँदैन र शयन गर्नु हुँदैन ।
६ – कतै ऋणसापटीमा गएको धन फिर्ता आएको छैन भने उक्त धन फिर्ता ल्याउन प्रशासन वा प्रहरिको सहायता लिनु हुँदैन । बरु प्रातःकालमा पन्छीलाई दाना खुवाई मेलमिलापको नीति लिई शान्त वातावरणमा उठाउने प्रयास गर्नु पर्दछ ।
७ – कसैलाई आश्वासन दिनु हुँदैन, वाचा गर्नु हुँदैन । राहुको दशाकालमा कुनै पुराना वाचा वा कसम पूरा गर्न सकियो भने राहु ग्रह अत्यन्त प्रसन्न हुने गर्दछ ।
८ - राहुको महादशा वा सङ्कटाको सुरुको चार वर्षभित्रको अवधि चलिरहेको छ भने राहु ग्रहको थप उर्जा प्राप्त गर्न दिनैपिच्छे नाग गायत्री मन्त्र (ॐ नवकुलाय विद्महे विषदन्ताय धिमहि तन्नो सर्प प्रचोदयात्) को नौ आवृत्ति जाप गर्नुपर्दछ ।
९ - माग्ने वा गरिबगुरुवालाई शनिबारका दिन ध्वाँसे कपडामा गहत पोको पारी दान गर्नुपर्दछ ।
१० - अस्पतालमा भर्ना भएका रोगीको उपचार र स्याहारसुसारमा संलग्न हुनुपर्दछ ।
११ - प्रत्येक शनिबार वा बुधबारका दिन गच्छेअनुसार राहु ग्रहको दानसामाग्री जम्मा पारेर जोगीलाई वा कुनै मठमन्दिर अथवा शिवमन्दिरमा गई दान गर्नुपर्छ ।
१२ - प्रत्येक वर्षको जन्मतिथिमा बुढीषडङ्ग रुद्रीअन्तर्गतको राहुसूक्तको १८ आवृत्ति पाठ गर्न लगाई शिवार्चन (रुद्रीपूूजा) गर्नुपर्छ ।
१३ - पूजा गर्ने अनुकूलता नभएमा कुनै देवालयमा गई कम्तीमा १८ जना भिखारी वा मगन्तेलाई पेटभरि भोजन गराउनु पर्छ ।
यी व्यवहारिक उपाय सबै वा कुनै इच्छानुसार प्रयोग गर्न सकिन्छ र राहु ग्रहको दुष्प्रभावलाई शान्त तुल्याउन शनिवार वा बुधबारको दिन, राहुको नक्षत्र (आर्द्रा, स्वाती र शतभिषा) वा शनि वा बुधको होरामा प्रारम्भ गर्नु शुभ हुन्छ ।
राहु ग्रहको वैदिक र तान्त्रिक शान्तिविधि :-
राहु ग्रहको आराधनाका लागि पूजा लगाउँदा रूद्राभिषेक र हवनको आयोजना गरी मुख्यदेवताको विशेष पूजा, नवग्रह पूजा, तलका मध्ये कुनै मन्त्रको तोकिएको सङ्ख्यामा जापप्रयोग र दानसामाग्री दान गर्ने वैदिक विधान छ :-
मुख्य देवता - अष्टनाग, शिवजी (कालभैरव)
वैदिक मन्त्र – ॐ कयानश्चित्रऽआभुवदूती सदावृधः सखा कया शचिष्ठया वृता ।
पौराणिक मन्त्र –
ॐ अर्धकायं महावीर्यं चन्द्रादित्य विमर्दनम् ।
सिंहिका गर्भ सम्भूतं तं राहुं प्रणमाम्यहम् ।।
राहु गायत्री मन्त्र – ॐ शिरो रूपाय विद्महे अमृतेशाय धीमहि तन्नो राहुः प्रचोदयात् ।।
तन्त्रोक्त राहु मन्त्र – ॐ भ्रां भ्रीं भ्रौं सः राहवे नमः ।
लघु बीज मन्त्र - ॐ रां राहवे नमः ।
राहु ग्रहलाई अर्घ्य दिने मन्त्र –
राहु दानवमन्त्री च सिंहिकाचित्तनन्दन ।
अर्द्धकाय ! गृहाणार्घ्यं, चन्द्रादित्यविमर्दनः ॥
जप संख्या – १८०००
रत्न – राहु ग्रहको शान्तिका लागि २, ३, ६, ७, १० वा ११ क्यारेटको गोमेद रत्न चाँदीको औंठीमा बनाई दाहिने हातको माझको औंलामा धारण गर्ने प्रचलन छ ।
राहु ग्रहको दानसामाग्री – सप्तधान्य, गोमेद, सीसा, कालो घोडा, तिल, चाँदीको सर्प, मास (कालो दाल), कम्बल, नरिवल, कालो वा नीलो कपडा, खड्ग (तरबार) ।