शनि ग्रह शान्तिका वैदिक तथा तान्त्रिक उपायहरु

शनिबार, मकर र कुम्भ राशि, पुष्य (तिष्य), अनुराधा, उत्तराभाद्रा नक्षत्रको स्वामी शनिश्चर ग्रह हो । यस ग्रहलाई अशुभ र दुष्ट ग्रहका रूपमा लिने गरिन्छ । शनिश्चरको दृष्टि खराब हुन्छ भन्ने मान्यता छ, त्यसैले प्राकृतिक रूपमा शनिश्चर ग्रहको महादशा मनुष्यको जीवनको संघर्ष र कडा परिश्रमले भरिएको समयावधि हो । यस अवधिमा झुट्टा आरोप, शत्रु र मुद्दामामिलाको भय, बुद्धिपक्षमा मलीनता, दुष्टव्यक्तिसँगको संसर्ग, घरका आफूमुनिका सदस्यहरुको कमजोर स्वास्थ्यस्थिति, अभिभावक, पशुचौपाया र वाहनादिबाट नोक्सानी, मित्रद्रोह र जालसाजी आदि समस्याबाट पीडित हुनुपर्छ । कुण्डलीमा शनिश्चर ग्रहको महादशाको समय वा उल्का योगिनीको दशावधि छ भने जसले पनि शनि ग्रहको उपासना र आराधना गर्नु राम्रो हुन्छ । त्यस्तै तपाईंको जन्मकुण्डलीमा शनिको शुभ प्रभाव बढाउनु छ र अशुभ प्रभाव निवारण गर्नु छ भने तलका उपायलाई अवलम्बन गर्दा राम्रो हुन्छ :-

१ – शनिवारका दिन झिसमिसेमा नै पीपलको रुखमा गई तिलको तेल प्रयोग गरी दियो बाली कम्तीमा ७ पटक परिक्रमा गरी रुखको फेदमा शुद्ध जल चढाउनु पर्दछ ।

२ – शनिवारका दिन फलाम, छाला, काठबाट निर्मित वस्तु वा कुनै किसिमको तेल (खाने तेल वा पेट्रोलियम) किन्नु हुँदैन ।

३ – शनिवारका दिन कपाल छाँट्नु वा खौरनु हुँदैन, दाह्री वा नङ काट्नु हुँदैन ।

४ – कुनै नीच जाति वा जोगीलाई तोरी वा सर्स्युंको तेल दान गर्नुपर्दछ ।

५ – कुनै मगन्ते, भिखारी वा खुट्टा खोच्याउने अथवा खुट्टाले अपाङ्ग ब्राह्मणलाई कालोमासको दाल पकाएर फलाम वा स्टिलको कचौरामा राखी दान गर्नुपर्दछ वा खान दिनुपर्छ ।

६ – कोही कुनै गुनासो पोख्न वा सहयोग माग्न आयो भने त्यसका कुरा सुनेर सकेको आश्वासन र सहयोग प्रदान गर्नुपर्दछ । कोही गुनासो गर्दै रोएमा त्यसका आँसु आफ्ना हातले पुछिदिंदा शनिश्चर अतीव प्रसन्न हुने गर्दछन् । कसैलाई दिएको वचन वा कुनै देवस्थलमा गरेको भाकल तुरुन्त पूर्ण गर्नुपर्दछ ।

७ – घर बनाउँदा कालो मार्बलको प्रयोग गर्नुपर्दछ ।

८ - शनिको महादशा वा साढेसातीको समय चलिरहेको छ भने शनि ग्रहको थप उर्जा प्राप्त गर्न दिनैपिच्छे काग, गिद्ध वा भुस्याहा कुकुरलाई खानेकुरा प्रदान गर्ने एवं छोराछोरी, नोकरचाकर वा भाइबहिनीलाई मिश्री, चकलेट आदि गुलियो पदार्थ बाँड्ने बानी विकसित गर्नु पर्दछ ।

९ - प्रत्येक शनिबारका दिन गच्छेअनुसार काला चिजबिज जम्मा पारेर जोगीलाई वा कुनै मठमन्दिर अथवा शनिमन्दिरमा गई दान गर्नुपर्छ ।

१० - प्रत्येक वर्षको जन्मतिथिमा शनिमृत्युञ्जय स्तोत्रको १०८ आवृत्ति पाठ गर्न लगाई शिवार्चन (रुद्रीपूूजा) गर्नुपर्छ वा कुनै देवालयमा गई कम्तीमा दस जना भिखारी वा मगन्तेलाई पेटभरि भोजन गराउनु पर्छ ।

११ - शनिबार बिहान झिसमिसेमा उठी स्नानादिबाट निवृत्त भई पीपलको रुखमा जल चढाउनु पर्छ ।

१२ - शिव स्तोत्र व शनि स्तोत्रको पाठ गर्नु पर्छ । 

१३ - शनि यन्त्र धारण गर्नु पर्छ ।

१४ - हनुमान् जीको उपासनाबाट पनि लाभ लिन सकिन्छ ।

१५ - दिनैपिच्छे चराचुरुङ्गी वा माछालाई खानेकुरा प्रदान गर्नुपर्दछ र शनिबार मांसाहार गर्नुहुँदैन ।


यी व्यवहारिक उपाय सबै वा कुनै इच्छानुसार प्रयोग गर्न सकिन्छ र शनि ग्रहको अशुभ प्रभावको निवारण र शुभफलको प्राप्तिका निमित्त शनिवारका दिन, शनि ग्रहको नक्षत्र (पुष्य, अनुराधा र उत्तरभाद्रपद) वा शनिको होराबाट प्रारम्भ गर्नु उचित हुनेछ ।
शनि ग्रहको वैदिक र तान्त्रिक शान्तिविधि :-
शनि ग्रहको आराधनाका लागि पूजा लगाउँदा रूद्राभिषेक र हवनको आयोजना गरी मुख्यदेवताको विशेष पूजा, नवग्रह पूजा, तलका मध्ये कुनै मन्त्रको तोकिएको सङ्ख्यामा जापप्रयोग र दानसामाग्री दान गर्ने वैदिक विधान छ :-

मुख्य देवता - भगवान् शिव/मृत्युञ्जय

वैदिक मन्त्र – ॐ शन्नो देवी रभिष्टय आपो भवन्तु पीतये । शंय्योरभिस्रवन्तु नः ।

पौराणिक मन्त्र – 
ॐ नीलाञ्जन समाभासं रविपुत्रं यमाग्रजम् । 
छायामार्तण्डसम्भूतं तं नमामि शनैश्चरम् ।।

शनि गायत्री – ॐ भगभवाय विद्महे मृत्युरुपाय धीमहि, तन्नो सौरिः प्रचोदयात् ।

तन्त्रोक्त मन्त्र – ॐ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः ।

लघु बीज मन्त्र - ॐ शं शनैश्चराय नमः ।

शनि ग्रहलाई अर्घ्य दिने मन्त्र – 
नीलाम्बर नीलवपो किरीटिन् रविनन्दन । 
छायासुत ! गृहाणार्घ्यं प्रसीद सूर्यजः मम ।

जाप संख्या – २३०००

रत्न – शनिको अशुभ फल निवारण र शुभ फलको बृद्धिका लागि २, ३, ६, ७, १० वा ११ क्यारेटको नीलम रत्न चाँदीको औंठीमा बनाई दाहिने हातको माझको औंलामा धारण गर्ने प्रचलन छ ।

दानसामाग्रीहरू :– फलाम, तिल, मास (कालो दाल), तोरी वा सस्र्यूंको तेल, कालो कपडा, काली गाई, गहत, फलामको भाँडो, छाता, जुत्ता, भैंसी, कस्तूरी, सुन, नरिवल, कालो वा नीलो फूल ।

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish