शुक्र ग्रह शान्तिका वैदिक तथा तान्त्रिक उपायहरु

शुक्रबार, बृष र तुला राशि, भरिणी, पूर्वाफाल्गुनी र पूर्वाषाढा नक्षत्रको स्वामी शुक्र ग्रह हो । यस ग्रहलाई पनि शुभ ग्रहका रूपमा नै लिने गरिन्छ, त्यसैले शुक्र ग्रहको महादशा कालमा आमरूपमा मनुष्यले सुखसुविधा र धनवैभवको विस्तार गर्ने सम्भावना हुन्छ । यस समयमा राजातुल्य सुखको प्राप्ति हुन्छ । साथीभाइबाट हरहमेशा सहयोग प्राप्त हुन्छ । मनोरञ्जन, उत्सव, यज्ञयागादिमा सहभागी भइन्छ । घरमा सुखसम्मृद्धि र लक्ष्मीले निवास गर्दछन् । यस समयमा सद्बुद्धि प्राप्त हुन्छ । भोगविलास र श्रृंगारिकतातर्फ मानसिक आकर्षण बढ्ने गर्दछ । कुण्डलीमा शुक्र ग्रहको महादशाको समय वा सिद्धा योगिनीको दशावधि छ भने जसले पनि शुक्र ग्रहको उपासना र आराधना गर्नु राम्रो हुन्छ । त्यस्तै तपाईंको जन्मकुण्डलीमा शुक्र ग्रहको शुभ प्रभाव बढाउनु छ र अशुभ प्रभाव निवारण गर्नु छ भने तलका उपायलाई अवलम्बन गर्दा राम्रो हुन्छ :-

१ – काला कमिलालाई चिनी खुवाउनु पर्दछ ।

२ – शुक्रवारका दिन सेतो गाईलाई चामलको पिठो खुवाउनु पर्दछ, उक्त गाईको पूजा गरी सेतो चन्दनको तिलक लगाउँदा शुभ हुन्छ ।

३ – एउँटा आँखा नभएको कुनै कानो मानिसलाई सेता लुगा र सेतो फल वा मिठाइ दान गर्नुपर्दछ ।

४ – कुनै महत्त्वपूर्ण काममा घरबाहिर जाँदा छोरी, बहिनी वा कुनै १० वर्षभन्दा कम उमेरकी बालिकालाई खुट्टामा ढोगेर आशीर्वाद ग्रहण गरी निस्कनु पर्दछ ।

५ – घर बनाउँदा सेतो मार्बलको प्रयोग गर्नुपर्दछ ।

६ – कुनै असहाय कन्याको पालनपोषण गरी कन्यादान गरिदिएमा शुक्र ग्रह अत्यन्त प्रसन्न हुने गर्दछन् ।

७– शुक्रवारका दिन कम्तीमा आफ्नो तौलको दशांश (८० किलो वजन भए ८ किलो) गाईको दूध जम्मा पारी त्यसले आफूले स्नान गर्नुपर्दछ वा शिवालयमा गई भगवान् शङ्करको उक्त दूधले अभिषेक गर्नुपर्दछ ।

८ - शुक्रको महादशा चलिरहेको छ भने शुक्र ग्रहको थप उर्जा प्राप्त गर्न दिनैपिच्छे लोकल गाईको पूजाआराधना गर्ने एवं आमा, पत्नी वा छोरीको हातबाट लिई गुलियो पदार्थ खाने वा मगन्तेलाई दिने बानी विकसित गर्नु पर्दछ ।

९ - शुक्रबारका दिन पारेर गच्छेअनुसार नारीश्रृङ्गारका सामाग्रीहरु कुनै न कुनै सौभाग्यवती स्त्रीलाई दान गर्नुपर्छ र प्रत्येक वर्षको जन्मतिथिमा कुनै गाईको पालनपोषण गर्ने किसान वा ब्राह्मणलाई अथवा गौशालामा गई आफ्नो तौलबराबरको चारा, चोकर वा घाँस दान गर्नु पर्छ तथा कम्तीमा सात जना सधवा स्त्री भेला पारी पेटभरि भोजन गराउनु पर्छ ।

१० - शुक्रवारको व्रत सम्पादन गर्नु पर्छ । 

११ - दीनदुःखी, रोगी विशेष गरी कुष्ठ रोगीलाई शुक्रवारका दिन खिचड़ी खुवाउनु शुभ हुन्छ ।


यी व्यवहारिक उपाय सबै वा कुनै इच्छानुसार प्रयोग गर्न सकिन्छ र शुक्र ग्रहको दुष्प्रभावलाई निवारण गर्न सुरुमा शुक्रबारका दिन, शुक्र ग्रहको नक्षत्र (भरणी, पूर्वाफाल्गुनी र पूर्वाषाढा) वा शुक्रको होरामा गर्नु राम्रो हुन्छ ।
शुक्र ग्रहको वैदिक र तान्त्रिक शान्तिविधि :-
शुक्र ग्रहको आराधनाका लागि पूजा लगाउँदा रूद्राभिषेक र हवनको आयोजना गरी मुख्यदेवताको विशेष पूजा, नवग्रह पूजा, तलका मध्ये कुनै मन्त्रको तोकिएको सङ्ख्यामा जापप्रयोग र दानसामाग्री दान गर्ने वैदिक विधान छ :-

मुख्य देवता - महालक्ष्मी/विष्णु भगवान्

वैदिक मन्त्र  – 
ॐ अन्नात्परिस्रुतो रसं ब्रह्मणा क्षत्रं पयः सोमं प्रजापति । 
ऋतेन सत्यमिन्द्रियं वियान ℧ शुक्रमन्धस इन्द्रस्येन्द्रियमिदं पयोऽमृतं मधु ।।

पौराणिक मन्त्र  – 
ॐ हिमकुन्दमृणालाभं दैत्यानां परमं गुरूम् ।। 
सर्व शास्त्रप्रवक्तारं भार्गवं प्रणमाम्यहम् ।।

शुक्र गायत्री मन्त्र  – ॐ भृगुराजाय विद्महे दिव्यदेहाय धीमहि तन्नो शुक्रः प्रचोदयात् ।।

तन्त्रोक्त मन्त्र  – ॐ द्रां द्रीं दौं सः शुक्राय नमः ।

लघु बीज मन्त्र – ॐ शुं शुक्राय नमः ।

शुक्र ग्रहलाई अर्घ्य दिने मन्त्र – 
भार्गव करुणासिन्धु ज्ञानगम्य सुतप्रद । 
गृहाणार्घ्यं मया दत्तं शुभ्रांशो ! शुक्लभूषणः ॥

शुक्र ग्रह जप संख्या – ११०००

रत्न  – शुक्र ग्रहका लागि हीरा वा अोपल (हीरा कम्तीमा २ क्यारेट र अोपल कम्तीमा ७ क्यारेट) चाँदी वा श्वेतस्वर्ण (White-Gold) मा जडान गरी दाहिने हातको कान्छी औंलामा धारण गर्ने प्रचलन छ ।

दानसामाग्रीहरू :– चाँदी, चामल, सुन, दूध, दही, सेतो कपडा, सेतो घोड़ा, सेतो फूल, सेतो फल, सुगन्धित पदार्थ, दक्षिणा ।

  • Mero Jyotish

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish