बृहस्पति ग्रह शान्तिका वैदिक तथा तान्त्रिक उपायहरु

बिहीबार, धनु र मीन राशि, पुनर्वसु, विशाखा र शतभिषा नक्षत्रको स्वामी बृहस्पति ग्रह हो । यस ग्रहलाई शुभ ग्रहका रूपमा लिइन्छ, त्यसैले देवगुरु बृहस्पतिको दशाकालमा प्राकृतिक रूपमा मनुष्यले शुभफल प्राप्त गर्दछ । यस समयमा सामाजिक प्रतिष्ठाको अभिबृद्धि हुन्छ । दाम्पत्यसुख, वाहनादिको प्राप्ति, लक्ष्मीप्राप्ति, घरजग्गाको जोहो, सज्जन र विद्वज्जनको सङ्गत, विद्याप्राप्ति र बौद्धिक क्षमताको अभिबृद्धि आदि फल यसै समयावधिमा प्राप्त हुने गर्दछ । कुण्डलीमा बृहस्पति ग्रहको महादशाको समय वा धान्या योगिनीको दशावधि छ भने जसले पनि बृहस्पति ग्रहको उपासना र आराधना गर्नु राम्रो हुन्छ । त्यस्तै तपाईंको जन्मकुण्डलीमा बृहस्पति ग्रहको शुभ प्रभाव बढाउनु छ र अशुभ प्रभाव निवारण गर्नु छ भने तलका उपायलाई अवलम्बन गर्दा राम्रो हुन्छ :-

१ – आफ्ना मातापिता, गुरुजन तथा अन्य मान्यजन र पूजनीय व्यक्तिहरूप्रति सम्मान र आदर गर्ने बानी विकसित तुल्याउनु पर्दछ । विशेष अवसरमा यिनीहरूको गोडामा नै ढोगेर वा परम्पराअनुसार प्रणाम गरी आशीर्वाद ग्रहण गर्नुपर्दछ ।

२ – श्वेत चन्दन (श्रीखण्ड) चनौटोमा घसेर त्यसमा केसरी मिसाई निधारमा टीका लगाउनु पर्दछ ।

३ – कुनै धार्मिक वा कुलपरम्परासँग सम्बद्ध मठ, मन्दिर वा धार्मिक/सामाजिक स्थानमा निःशुल्क सेवा गर्नुपर्दछ वा त्यस्तो ठाउँको जीर्णोद्धार गर्नुपर्दछ ।

४ – यात्राका क्रममा कुनै देवस्थल, मठमन्दिर वा पुराना घर वा स्मारक भेटिएमा तिनलाई टाउको निहुर्याई प्रणाम र सम्मान गर्नु पर्दछ ।

५ – परस्त्री वा परपुरुषसँग अबैध शारीरिक सम्पर्क भएमा गुरु बृहस्पति रुष्ट हुन्छन् । त्यसैले त्यस्तो नाजायज सम्बन्ध गाँस्नु हुँदैन ।

६– प्रत्येक दिन घर छेउछाउमा रहेको केराको बोटलाई पूजा गरी त्यसको फेदमा शुद्ध जलले सिञ्चन गर्नुपर्दछ र प्रत्येक बिहीबारका दिन सन्ध्याकालमा केराको बोटमा दियो बाली दिनुपर्छ ।

७– बिहीबारका दिन गहुँको पीठोको घोलमा चनाको दाल, गुड र बेसार मिसाएर गाईलाई खान दिनुपर्दछ ।

८ - बृहस्पति ग्रहको महादशा चलिरहेको छ भने बृहस्पति ग्रहको थप उर्जा प्राप्त गर्न कुलदेवताको दैनिक आराधना गर्ने एवं घरका बृद्धसदस्य, अभिभावक वा आफ्ना गुरुको आशीर्वाद प्राप्त गर्ने बानी विकसित गर्नु पर्दछ ।

९ - प्रत्येक बिहीबारका दिन पहेंलो फलफूूल, रहरको दाल वा बेसार अनाथालय, बृद्धाश्रम वा मठमन्दिरमा दान गर्नुपर्छ ।

१० - प्रत्येक वर्षको जन्ममहिनामा कम्तीमा नौजना बृद्धबृद्धा भेला पारी पेटभरि खिर भोजन गराउनु पर्छ ।

११ - घरायसी परम्पराबमोजिम प्रत्येक कुलपूूजामा सहभागी बन्नुपर्छ र पैतृक कार्यलाई नियमानुसार सम्पादन गर्नुपर्छ ।

१२ - बिहीबारका दिन व्रत लिनुपर्छ । पहेंलो फूलको प्रयोग गरी इष्टदेवको पूजाआजा गर्नुपर्छ । पितृसूक्त, श्रीमद्भागवत, श्रीमद्भगवद्गीता वा विष्णुसहस्रनाम स्तोत्रको पाठ गर्नुपर्छ । गाई, गरीबगुरुबा, ब्राह्मण र बृद्धबृद्धाको सेवा गर्नुपर्छ ।

१३ - सम्भव भएसम्म पहेंलो रङका लताकपडा र मालतालको प्रयोग गर्नु राम्रो हुन्छ ।


यी व्यवहारिक उपाय सबै वा कुनै इच्छानुसार प्रयोग गर्न सकिन्छ र देवगुरु बृहस्पतिको नराम्रो प्रभावलाई न्यूनीकरण गरी शुभ प्रभाव प्राप्त गर्न सुरुमा बिहीबार वा बृहस्पतिको नक्षत्र (पुनर्वसु, विशाखा र पूर्व-भाद्रपद) वा गुरुको होरामा अवलम्बन गर्दा राम्रो हुन्छ ।

बृहस्पति ग्रहको वैदिक र तान्त्रिक शान्तिविधि :-
बृहस्पति ग्रहको आराधनाका लागि पूजा लगाउँदा रूद्राभिषेक र हवनको आयोजना गरी मुख्यदेवताको विशेष पूजा, नवग्रह पूजा, तलका मध्ये कुनै मन्त्रको तोकिएको सङ्ख्यामा जापप्रयोग र दानसामाग्री दान गर्ने वैदिक विधान छ :-

मुख्य देवता - भगवान् विष्णु, कुलदेवता वा पितृदेवता

वैदिक मन्त्र – 
ॐ बृहस्पते अति यदर्यो अर्हाद् द्युमद्विभाति क्रतुमज्जनेषु । 
यद्दीदयच्छवस ऋतप्रजात तदस्मासु द्रविणं धेहि चित्रम् ।

पुराणोक्त मन्त्र – 
ॐ देवानां च ऋषीणां च गुरुः काञ्चनसन्निभम् । 
बुद्धिभूतं त्रिलोकेशं तं नमामि बृहस्पतिम् ।।

गुरु गायत्री मन्त्र – ॐ वृषभध्वजाय विद्महे घ्रिणीहस्ताय धीमहि तन्नो गुरुः प्रचोदयात् ।
तन्त्रोक्त मन्त्र – ॐ ग्रां ग्रीं ग्रौं सः गुरवे नमः ।

लघु बीज मन्त्र – ॐ बृं बृहस्पतये नमः ।

बृहस्पति ग्रहलाई अर्घ्य दिने मन्त्र – 
अभिष्ट फलद देव सर्वज्ञ सुरपूजित । 
अक्षमालाधर शान्तः गृहाणार्घ्यं बृहस्पते ।।

बृहस्पति ग्रहको जप संख्या – १९०००

रत्न – देवगुरु बृहस्पतिको शुभफलमा वृद्धिका लागि सुनको औंठी बनाएर दाहिने हातको चोर औंलामा ५ क्यारेटभन्दा माथिको पुष्पराज रत्न कुल देवताको पूजागरी बिहीबार, पुष्य नक्षत्र वा पूर्णिमाका दिन प्रातःकालमा धारण गर्नुपर्छ ।

दान सामग्री – पहेंलो कपडा, पुष्पराज रत्न, पहेंलो धान, चनाको दाल, बेसार, हलेदो, मह, पहेंलो पाकेको मौसमअनुसारको फल, घिउ, कुनै पुराण वा गीताको पुस्तक, सुन, पहेंलो मिठाइ, दक्षिणा आदि ।

यन्त्र – सुन वा चाँदीको पत्रमा गुरु यन्त्र लेखेर सुन्दर फ्रेम हाली पूजा र प्रतिष्ठा गरी घाँटी वा दाहिने पाखुरामा धारण गर्नुपर्छ ।

  • Mero Jyotish

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish