सूर्य ग्रह शान्तिका वैदिक तथा तान्त्रिक उपायहरु

सूर्यलाई ग्रहसभाको राजा मानिन्छ । समस्त चराचर जगत् सूर्यद्वारा नै सञ्चालित छ । आइतवार, सिंह राशि, कृतिका, उत्तराफाल्गुनी र उत्तराषाढा नक्षत्रको स्वामी सूर्य हो । यस ग्रहलाई क्रूर ग्रहका रूपमा लिइन्छ, त्यसैले नैसर्गिक रूपमा सूर्यको महादशामा डरचिन्ता, व्याकुलता र ताप बढ्ने गर्दछ । मुद्दामामिला र प्रशासनिक समस्या, घरपरिवारमा झैझगडा र धननाशको सम्भावना समेत हुने गर्दछ । तर कुण्डलीको प्रभावअनुसार प्रत्येक व्यक्तिले सूर्यको शुभ वा अशुभ छुट्टै फल प्राप्त गर्दछ । भगवान् सूर्य समस्त संसारको शक्तिको स्रोत र हाम्रो प्राणशक्तिका आधार हुन् । सूर्यको महादशाको समय चल्दैछ वा पिङ्गला योगिनीको समय छ भने जसले पनि सूर्यको उपासना र आराधना गर्नु राम्रो हुन्छ । त्यस्तै तपाईंको जन्मकुण्डलीमा सूर्यको शुभ प्रभाव बढाउनु छ र अशुभ प्रभाव निवारण गर्नु छ भने तलका उपायलाई अवलम्बन गर्दा राम्रो हुन्छ :-

१ – सूर्यलाई बलियो बनाउन जातकले प्रातःकालमा सूर्योदयको समयमा उठेर रातो फूल फुल्ने बोटबिरुवाको फेदमा पानीले सिञ्चन गर्दा लाभ हुन्छ ।

२ – बेलुका सुत्ने वेलामा तामाको पात्रमा शुद्ध जल ओछ्यानको सिराने भागमा राखी बिहान उठ्ने बितिक्कै बासी मुखमा उक्त पानी पिउने गर्दा पनि सूर्यको शुभप्रभाव प्राप्त हुन्छ ।

३ – तामाको बाला वा चुरा बनाएर दाहिने हातको नारीमा आइतबारका दिनदेखि धारण गरेमा पनि सूर्यको शुभ प्रभाव पाउन सकिन्छ ।

४ – आइतबारका दिन मध्याह्नकालमा कुनै पात्रमा गहुँ राखी रातो गाईलाई खान दिएमा पनि सूर्यको अशुभ प्रभावको नाश हुन्छ । गाईलाई खान दिएको कुनै पनि चिज खाली भुइँमा दिनु हुँदैन ।

५ – घरबाट कुनै महत्त्वपूर्ण कामका लागि बाहिरिंदा गुड वा कुनै गुलियो वस्तु आफूभन्दा ठूलाबडा वा मान्यजनको हातबाट लिई खाँदै निस्कनु राम्रो हुन्छ ।

६ – कुनै यज्ञ वा चाडपर्वमा रक्षासूत्र (रक्षाविधान, मोली आदि) बाँध्दा दाहिने हातमा छ फन्का बाँधेमा सूर्य सधैं प्रसन्न हुने गर्दछन् ।

७ – नित्य प्रातःस्नान गर्दा रातो चन्दन मिसाएको पानीले नुहाएमा सूर्यको प्रभाव राम्रो हुन्छ ।

८ - तपाईंको जीवनमा सूर्यको महादशा चलिरहेको छ भने सूर्य ग्रहको थप उर्जा प्राप्त गर्न दैनिक रुपमा पिताजीको आशीर्वाद प्राप्त गर्ने र प्रातःकालमा उदाउँदो सूर्यको दर्शन गर्ने बानी विकसित गर्नु पर्दछ ।

९ - दिनहुँ सूर्योदयको १ घटिका (२४ मिनेट) भित्र स्नानादिबाट निवृत्त भई मह वा चिनी मिसाएर तामाको पात्रमा शुद्धजल वा गङ्गाजल राखी सूर्यलाई अर्घ्य दिंदा लाभ हुन्छ ।

१० - सूर्य ग्रहको शान्तिका निमित्त केसरी वा रातो टीका लगाउँदा, सूर्य गायत्री, आदित्य हृदय स्तोत्रको पाठ गर्दा, सूर्य कवचको पाठ गर्दा र भगवान् विष्णुको नियमित पूजा आराधना गर्दा दुष्प्रभावहरू नष्ट हुन्छन् ।

११ - आइतबारका दिन अन्धाश्रम, बृद्धाश्रम वा अस्पतालमा गई पाकेको अन्न दान गर्नाले सूर्य भगवान् प्रसन्न हुनुहुन्छ ।

१२ - आइतबारका दिन रातो रङको गाईलाई सक्खर र पिठो खुवाउँदा पनि शुभ फल नै प्राप्त हुन्छ ।


यी व्यवहारिक उपाय सबै वा कुनै इच्छानुसार प्रयोग गर्न सकिन्छ र सूर्यलाई बलशाली बनाउन यी उपाय आइतबारको दिन, कृतिका, उत्तराफाल्गुनी वा उत्तराषाढा नक्षत्रमा सूर्यको होरामा अवलम्बन गर्न थालेमा अत्यधिक शुभ हुन्छ ।
सूर्य ग्रहको वैदिक र तान्त्रिक शान्तिविधि :-
सूर्यको आराधनाका लागि पूजा लगाउँदा रूद्राभिषेक र हवनको आयोजना गरी मुख्यदेवताको विशेष पूजा, नवग्रह पूजा, तलका मध्ये कुनै मन्त्रको तोकिएको सङ्ख्यामा जापप्रयोग र दानसामाग्री दान गर्ने वैदिक विधान छ :-

वेदोक्त मन्त्र  – 
ॐ आकृष्णेन रजसा वर्तमानो निवेशयन्नमृतं मर्त्त्यञ्च । 
हिरण्ययेन सविता रथेना देवो याति भुवनानि पश्यन् ।

पुराणोक्त मन्त्र –
जपाकुसुमसङ्काशं काश्यपेयं महाद्युतिम् । 
तमोऽरिं सर्व पापघ्नं प्रणतोऽस्मि दिवाकरम् ।।

सूर्य गायत्री मन्त्र  – ॐ आदित्याय विद्महे प्रभाकराय धीमहि तन्नो सूर्यः प्रचोदयात् ।

तन्त्रोक्त बीज मन्त्र – ॐ ह्रां ह्रीं ह्रौं सः सूर्याय नमः

लघु बीज मन्त्र – ॐ घृणि सूर्याय नमः

सूर्यार्घ्य मन्त्र – 
एहि सूर्य सहस्रांशो तेजो राशि जगत्पते । 
अनुकम्पय मां भक्त्या गृहाणार्घ्यं दिवाकरः ।।

सूर्यको जाप संख्या  - ७०००

दान सामाग्रीहरू :– गहुँ, सक्खर (गुड), रातो कपडा, घिउ, सुन, माणिक्य रत्न, तामाको भाँडो, नरिवल, रक्तचन्दन, रातो फूल, मुसुरोको दाल र दक्षिणा ।

सूर्यरत्न - सूर्य ग्रहलाई बलशाली बनाउन माणिक्य रत्न ५ क्यारेटभन्दा माथि, तामा वा सुनको औंठी बनाई आइतबार सूर्योदयको समयमा भगवान् सूर्यको पूजा गरी दाहिने हातको काहिंली औंलामा धारण गर्नुपर्छ ।

सूर्य यन्त्र – सूर्यको यन्त्रलाई तामाको पत्र खोप्न लगाएर वा भोजपत्रमा अष्टगन्धले लेख्न लगाएर विधिपूर्वक प्राणप्रतिष्ठा गरी दाहिने हातको पाखुरामा शुभ समयमा धारण गरेमा शुभ फल प्राप्त हुन्छ ।

 
  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish