विश्वघस्र पक्ष भनेको कस्तो पक्ष हो र यो पक्ष कसरी बन्छ ? जान्नुहोस्।

वैदिक ज्योतिष अनुसारको कालगणनामा  सौर्य, चान्द्र, सावन तथा नक्षत्र आदि अनेक कालको अस्तित्व रहेको छ। यसैको अन्तर्गत रहेर हामी महिना]लाई चान्द्रमान अनुसारको दिन अर्थात् तिथिबाट तथा दिनको लागि सावन दिनबाट गणना गर्दछौँ । सामान्य लक्षण अनुसार यदि १३ सावन दिन अन्तर्गत १५ तिथिहरुको भोग हुन्छ भने त्यसलाई विश्वघस्र पक्ष वा १३ दिनहरुको पक्ष भनिन्छ। सामान्यतया कुनै पनि तिथिको क्षय गणितद्वारा हुँदैन। गणनाको क्रममा सूर्योदयसँग सम्बन्धित तिथिहरु मात्र ग्राह्य हुनाले जुन तिथिले कुनै पनि सूर्योदयलाई छुदैन अर्थात् यदि कुनै तिथि आज सूर्योदय भैसकेपछि सुरु हुन्छ र भोलि सूर्योदय हुनुभन्दा पहिले नै त्यो तिथिको भोग समाप्त हुन्छ भने त्यस तिथिलाई क्षय तिथि भनिन्छ। यो नियम अनुसार एउटा पक्षमा दुई तिथि सूर्योदय भैसकेपछि सुरु भएर अर्को दिनको सूर्योदय हुनुभन्दा पहिले नै समाप्त हुन्छ भने त्यो पुरै पक्षलाई विश्वघस्र पक्ष भनिन्छ। यो विश्वघश्र पक्ष अशुभ फल दिने मानिएको छ। 

पक्षस्य मध्ये द्वितिथी पतेतां तदा भवेत रौरवकालयोगः।

अर्थ: यदि कुनै पक्ष अन्तर्गत दुइवटा तिथि पतित हुन्छ वा सूर्योदयको साथ सम्बन्ध रहँदैन भने त्यो समयमा रौरवकाल योग हुन्छ। 

त्रयोदशदिने पक्षे तदा संहरते जगत्।
अपि वर्षसहस्रेण कालयोगः प्रवर्तते।।

अर्थ: यदि कुनै पक्षमा तेह्रवटा मात्र दिन हुन्छन् भने त्यसले जगत अर्थात् पृथ्वीमा अशुभ फलको सन्चार गर्दछ। यो धेरै वर्षहरुमा एकपटक आउँछ र यसले कालयोग निर्माण गर्दछ। 

१३ दिनको एक पक्ष भएको स्थितिमा पृथ्वीमा विनाशको स्थिति उत्पन्न हुन्छ। यो कालयोग धेरै वर्षमा एकपटक आउने कुरा माथिको श्लोक तथा शास्त्रमा उल्लेखित छ । यो भाद्र महिनाको शुक्लपक्षमा प्रतिपदा र त्रयोदशी तिथिको क्षय भएर अर्थात् सूर्योदयसँग सम्बन्ध नरहेकाले १३ दिनको पक्ष बन्न पुगेको छ। २०७८ साल भदौं २३ गतेदेखि असोज ४ गतेसम्म विश्वघस्र पक्ष रहेको छ। 

अस्ते वर्ज्यं सिंहनकस्थजीवे वर्ज्य केचिद्वक्रगे चातिचारे । गुर्वादित्ये विश्वघश्रेऽपि पक्षे प्रोचुस्तद्वदन्तरत्नादिभूषाम् ।।

अर्थ- गुरु अस्त भएको बेला जुन कार्य बर्जित छन् । ती सबै काम वृहस्पति, सिंह र मकर राशिमा छन् भने पनि वर्जित छन् र गुर्वादित्य तथा तेह्र दिनको पक्ष अर्थात् विश्वघस्र पक्षमा पनि ती कामहरु वर्जित छन्। 

यसको मतलब वापी, बगैचा, पोखरी, इनारको आरम्भ वा प्रतिष्य अथ उत्सर्ग-यज्ञ, गृहारम्भ र गृह प्रवेश, कुनै व्रतादिको प्रारम्भ र उत्सर्ग उद्यापन, वधू-प्रवेश, महादान, तुलादान, सोमयाग, अष्टका अर्थात् पितृपक्षको श्राद्ध, गोदान, केशान्त कर्म अर्थात् कपाल खौरने, नवान्न भक्षण, काम्य वृपोत्सर्ग, अतिपन्न शिशु संस्कार अर्थात् समय वितिसकेपछि अतिक्रान्त समयमा गरिने बालकहरूको जातकर्मादि संस्कार, कुनै देवताहरूको स्थापना, सुयोग्य गुरुबाट दीक्षा मन्त्र ग्रहण, उपनयन, विवाह र चूडाकरण अर्थात् मुण्डन, सर्वप्रथम कुनै तीर्थमा देवताको दर्शन, संन्यास ग्रहण, अग्निहोत्र, प्रथम भूपति दर्शन, राजाको राज्याभिषेक, प्रथम कुनै अपूर्व यात्रा, चातुर्मास्य व्रत अर्थात् चतुर्मासाको व्रत र यज्ञ, समावर्तन अर्थात् ब्रह्मचर्य व्रतको विसर्जन, कर्णवेध अर्थात् कान छेड्ने र दिव्य परीक्षा यी सबै कार्यहरू त्यागीदिनु अर्थात् उक्त समयमा माथि कहिएका काम निषेध छन् ॥