वि.सं. २०८३ सालको वार्षिक भविष्यफल

वि.सं. २०८३ सालको वार्षिक भविष्यफल यस वर्ष साठी संवत्सरमध्ये बार्हस्पत्यमानले सिद्धार्थी नामको संवत्सरको समाप्तिसँगै रौद्रनामको संवत्सर प्रारम्भ भएको छ। मेषसंक्रान्तिबाट भुक्तमासादि १/३/४८/० र भोग्यमासादि १०/२६/१२/० रहेको छ। यसपछि सौरमानले दुर्मतिनामक संवत्सरको आगमन हुनेछ जसअनुसार संवत्सरफल निम्नअनुसार रहेको छ। 

रौद्रनामक संवत्सरमा शासकहरुका क्षोभका कारण जनता दुःखको भागीदार हुनेछन्। धान्यादि वस्तुको उत्पादन र मूल्यवृद्धि पनि माध्यम प्रकारको हुनेछ। दुर्मति संवत्सरको प्रभाववृद्धि भएसँगै शासक र जनता सबैको बुद्धि मलीन हुनेछ। सबैतिर युद्धको त्रासदीपूर्ण वातावरण सिर्जना हुनेछ तर पनि सबै खुशी भए‌जस्तै आत्मरतिमा रमाउनेछन् । जेठमा अधिकमास परेकाले सशस्त्र द्वन्दको स्थिति, शासकवर्गको दमन, तेल, घिउ तथा धान्यादिको मूल्यवृद्धिजस्ता फलको अनुभूति हुनेछ। गुरुको उदयास्त विचार गर्दा पौष वर्ष परेकाले विभिन्न प्रकारका ज्वरजन्य रोग, भोकमारी र अनावश्यक मूल्यवृद्धिका कारण जनता आजित हुनेछन्। सुरुका तीन महिनामा विशेष रूपमा मूल्यवृद्धि हुनेछ भने पछि केही सामान्य हुनेछ। 

जेठमा पर्ने अधिकमासका कारण शस्त्रकलह, राजभय, चोरडाँकाहरुको डर बढ्‌नेछ भने घिउ, तेलजस्ता स्नेहजन्य पदार्थ एवं धान्यादि वस्तुको भारी मूल्यवृद्धि हुनेछ। राजा बृहस्पति भएकाले अनुकूल वृष्टिका कारण लोकमा आनन्दको सञ्चार हुनेछ। दुग्धवृद्धि हुनाले पशुपालक किसानहरूमा आनन्दको सञ्चार हुनेछ। ब्राह्मण एवं अग्निहोत्रीहरुद्वारा अनेकौँ यज्ञयागादि सम्पन्न हुनेछन्। सबैतिर महोत्सवहरू आयोजना हुनेछन्। मन्त्री मंगलका कारण चोर, डाँका र रोगको भय वृद्धि हुनेछ। जनधनको सुरक्षामा सरकार उदासीन बन्नाले जनता दुःखी हुनेछन्। गाईको दूधको उत्पादनमा कमी आउनेछ। ढोंगपूर्ण धार्मिक कार्यहरूमात्र हुनेछन् । 

सस्यैश पदमा आसीन शुक्रका कारण लोक रन्जनकारक वृष्टि हुनेछ। फलस्वरूप गहुँ, उत्तम प्रजातिको धान, उखु, कागुनुजस्ता वस्तुको उत्पादनमा वृद्धि हुनेछ भने उपयुक्त रूपमा वृक्षमा फूल एवं फल लाग्नेछन्। जनताले धोरै भए पनि सुखको सास फेर्नेछन् । धान्येश बुधका कारण केही शुभफलको सञ्चार हुने सम्भावना देखिन्छ। समग्रमा भारतवर्षका प्राचीन सिन्धुदेश, लाटदेश र माधवदेशका आसपासका स्थानका अतिरित वृष्टिमा उपयुक्तता नै देखिन्छ। मेधेश चन्द्रका कारण उत्तम प्रजातिका गाई, भैंसी, बाख्राहरुबाट पशुपालक कृषकहरुलाई लाभ मिल्नेछ। फल एवं फूलहरूको उत्पादनमा वृद्धि हुनेछ। 

रसेश सूर्यका कारण वस्त्र, तेल, घिउमा विशेष मूल्यवृद्धि हुनेछ। शासकहरू आफ्नो प्रभुत्व - कायम राख्न सक्षम हुनेछन् । जनमानसमा थोरै भएपनि सुखानुभूति, तालतलाउहरूमा जलवृद्धि, ब्रम्हज्ञानी, साधुसन्त, ब्राह्मण एवं प्राज्ञिकजनप्रति लोकको सम्मानजनक भाव बढ्नु र बेसार, पहेंलो वर्णका वस्त्रलगायत अन्य पदार्थको समेत लगातार विशेष मूल्यवृद्धिको कारक निरसेश बृहस्पति रहनेछ । 

फलेश चन्द्र भएकाले घराहराभरा देखिनेछ। कूटनीतिका सम्बन्धमा शासकवर्गको दौडधूप बढ्‌नेछ। प्राज्ञिक व्यक्तिहरू सन्तुष्टप्रायः देखिनेछन् । धनेश बृहस्पतिका कारण व्यापारी वर्गहरू विशेष लाभान्वित हुनेछन्। वातावरण सन्तुलनका प्रयासहरू हुनेछन् । दुर्गेश चन्दका कारण न्यायक्षेत्रमा जनताले राहतको महसुस गर्नेछन्। मेलमिलापको नीतिमै राज्यसंयन्त्र चल्नाले नागरिकहरूमा केही आशाको सञ्चार हुनेछ। 

सूर्यको आर्याप्रवेशसमय विचार गर्दा तिथिअनुसार भयपूर्वक आयआर्जन गर्ने वातावरण बन्नेछ। योग, वेला, नाग, रोहिणीवासजस्ता पक्ष विचार गर्दा सामान्य शुभाशुभ मिश्रित फलप्राप्ति हुने अवस्था देखिए पनि वार र नक्षत्रको संयोग उत्तम प्रकारको भएकाले सामान्य शुभफलकै सञ्चार हुनेछ ।

जगल्लग्नकुण्डलीमा लग्नेश चन्द्रमा राहुका साथमा अष्टम स्थानमा बस्नु फलका हिसाबले उपयुक्त देखिन्न। शासकवर्गले चाहेका कामलाई सहजै सम्पन्न गर्ने वातावरण बन्ने सम्भावना ज्यादै न्यून छ। राज्यस्थानमा सूर्य र शुक्रको स्थिति पनि राज्यसञ्चालनमा असहज देखिन्छ। राज्यसंयन्त्रमा समन्वयको अभाव देखिनेछ । द्वादश भावको बृहस्पतिका कारण बुद्धिजीवी वर्गको सुझावको कार्यान्वयन हुने सम्भावनासमेत देखिदैन। राष्ट्रको विकास र. जनतामा आशाको सञ्चार अभिवृद्धि गराउने ध्येय भएमा ग्रहपरिषद्‌मा अवस्थित ग्रहस्थितिलाई विचार गर्दै सबैसँग सरसल्लाहका साथ संयमपूर्वक अघि बढ्नु शासकवर्ग, जनता र देशकै लागि श्रेयस्कर हुनेछ ।

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish