विक्रम सम्वत् २०८२ भदौं २२ गते आइतबार भाद्र शुक्लपक्ष पूर्णिमा तिथिका दिन नेपालमा खग्रास चन्द्रग्रहण लाग्दैछ।
चन्द्रग्रहण के हो ?
पृथ्वीले सूर्यलाई र चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने क्रममा जब पृथ्वी सूर्य र चन्द्रमाको बीचमा आइपुग्छ, तब सूर्यको प्रकाशलाई पृथ्वीले छेकिदिन्छ। यस्तो अवस्थामा चन्द्रमामा पृथ्वीको छायाँ देखिन्छ। छायाँको यस्तो अवस्था नै चन्द्रग्रहण हो। चन्द्रमाको पूरै भाग छायाँले छोपेको अवस्थालाई खग्रास चन्द्रग्रहण र आधा वा केही भाग मात्र ढाकेको अवस्थालाई खण्डग्रास चन्द्रग्रहण भनिन्छ। चन्द्रग्रहण पूर्णिमा तिथीका दिन लाग्दछ । भने सूर्यग्रहण औंशीका दिन लाग्दछ प्रत्येक औंसी र पूर्णिमामा ग्रहण नलाग्नुको कारण बुझ्नु पनि सान्दर्भिक नै होला। सूर्यग्रहण हुन सूर्य र पृथ्वीको बीचमा चन्द्रमा परी तीनै पिण्डहरू एकै सीधा रेखामा परेको हुनुपर्छ, तर त्यतिले मात्र ग्रहण हुन सक्तैन। पृथ्वी र चन्द्र कक्षहरू एउटा सतहमा नपरी ५ दशमलव १५ डिग्रीको कोण बनाएर ढल्किएका छन्। वर्षमा दुईवटा यस्ता अवसर आउँछन् जतिबेला चन्द्र कक्षका दुई आमने सामनेका छेउहरू पृथ्वीको कक्षसँग मेल खान्छन्। अर्थात् सूर्य र पृथ्वी सँग एकै सरल रेखामा पर्छन्। यी मेल खाएका स्थानहरू सूर्य र पृथ्वीबीचमा पर्न आउँछन्। त्यसबेला ग्रहण हुन्छ। ज्योतिष शास्त्रका अनुसार जुन पूर्णिमा तिथीका दिन राहु अथवा केतुमा एक ग्रह चन्द्रमाको साथमा एकै राशिमा पर्न आउँछन् त्यस दिन चन्द्र ग्रहण हुन्छ ।
धर्मशास्त्र अनुसार समुद्रमन्थनपछि अमृत वितरणका समयमा स्वर्भानु दैत्यले देवताको रूप धारण गरी सूर्य र चन्द्रमाको बीचमा गएर देवताको पङ्क्तिमा बसेर अमृत थाप्न र खान सफल भयो । अमृतपान गरेकाले स्वर्भानुले अमरत्व प्राप्त गर्यो । तर उसले अमृतपानगरिसकेपछि सूर्य र चन्द्रमाले ऊ देवता होइन भन्ने चाल पाए र उक्त कुराको जानकारी विष्णुलाई दिए । त्यसपछि भगवान विष्णुले तुरुन्त सुदर्शन चक्र प्रहार गरी उसको शिर र शरीर लाई छेदन गरी छुट्याइदिनु भयो। आफूले अमृतपान गर्न लागेको अवस्थामा विष्णुलाई पोल लगाएको हुनाले राहु र केतुले पटकपटक सूर्य र चन्द्रमालाई डँस्ने गर्दछन्न, जुन ग्रहणका रूपमा देखा पर्ने गर्दछ । त्यसैले जुनजुन दिन सूर्य वा चन्द्र ग्रहण लाग्दछ, त्यस दिन राहु र केतुको कक्षमा सूर्य र चन्द्रमाको प्रवेश हुन्छ ।
चन्द्रग्रहण कुन समयमा लाग्दैछ ?
यो चन्द्र ग्रहणको स्पर्श अर्थात् सुरुवात विक्रम सम्वत् २०८२ भदौं २२ गते आइतबार राति १० बजेर ११ मिनेटमा हुनेछ भने ग्रहणको सम्मीलनको समय राति ११ बजेर १५ मिनेटमा हुनेछ। ग्रहणको मध्य समय राति ११ बजेर ५६ मिनेटमा रहेको छ भने ग्रहणको उन्मीलन समय राति १२ बजेर ३८ मिनेटमा रहेको छ, त्यस्तै ग्रहणको मोक्ष अर्थात् सकिने समय राति १ बजेर ४१ मिनेटमा रहेको छ। यसरी यस ग्रहणको कूल समय ३ घण्टा ३० मिनेटको छ। वैदिक ज्योतिषमा सूर्योदय नभई अर्को दिनको सुरुवात नहुने भएकाले हामीले राति १ बजेलाई पनि सोहि दिनको रुपमा अर्थात् २२ गते नै उल्लेख गरेका छौँ।
वैदिक धर्मशास्त्र अनुसार ग्रहण सुरु हुनुभन्दा केहि समय अगाडि देखि नै ग्रहणको सुतक लाग्ने भएकाले यो समयमा केहि कार्यहरु बर्जित गरिएको छ। विक्रम सम्वत् २०८२ भदौं २२ गते आइतबार राति १० बजेर ११ मिनेटमा ग्रहणको सुरुवात हुने भएपनि यसको सुतक भने २२ गते दिउँसो १ बजेर ११ मिनेटदेखि लाग्छ र यो समयदेखि ग्रहणको समय नसकिएसम्म बाल, वृद्ध, रोगी, अशक्तले बाहेक अन्यले भोजन गर्न वर्जित छ। त्यस्तै ग्रहणको समयमा सुत्न, शौच गर्न, मैथुन गर्न, बध गर्न, बन्धन गर्न निषेध गरिएको छ।
चन्द्रग्रहणको फल कुन राशिलाई कस्तो रहन्छ ?
यसरी हेर्दा यो ग्रहणबाट मेष, वृष, कन्या, धनु राशिलाई शुभ फल मिल्ने छ भने अरुलाई अशुभ फल मिल्न सक्छ।