वैशाख १६ गतेदेखि बृहस्पति र शुक्र अस्त, यो समयमा के-के गर्न हुँदैन
दैत्यहरुका गुरु, भृगु ऋषिका पुत्र, वृष र तुला राशिका स्वामी शुक्र ग्रह वि. सं. २०८१ साल वैशाख १६ गते आइतबार बिहान १०:१६ मा पूर्वमा अस्त हुँदैछन् भने असार २१ गते शुक्रबार राति १२:५३ मा शुक्र पश्चिममा उदय हुनेछन्।
देवता तथा ऋषिहरुका गुरु, धनु तथा मीन राशिका स्वामी, आङ्गिरस ऋषिका पुत्र बृहस्पति ग्रह वि. सं. २०८१ साल वैशाख २५ गते मङ्गलबार बिहान ९:४७ बजे देखि पश्चिममा अस्त हुँदैछन् भने जेठ १९ गते शनिबार बिहान ११:०७ बजेको समयमा पूर्वमा उदय हुनेछन्।
विशेषतः बृहस्पति र शुक्र ग्रह सूर्यको बिम्बभित्र प्रविष्ट गरी नदेखिने हुदा अस्त हुने गर्दछन् ।यस्तो अवस्था हुन सूर्य र बृहस्पति तथा सूर्य र शुक्र अत्यन्त नजिक हुनु पर्दछ ।बृहस्पति र सूर्य तथा शुक्र र सूर्य एउटै राशिमा भएकोवेला अस्तको सम्भावना अधिक हुने गर्दछ । बृहस्पति पश्चिममा अस्त भई पूर्व दिशामा उदय हुने गर्दछ । शुक्र ग्रह पूर्वमा अस्त भई पश्चिममा उदय हुने गर्छ। यस्तो हुनु भनेको बृहस्पति सूर्यको पश्चिम विम्बबाट प्रवेश गरी पूर्वी भागबाट नउदाएसम्मको समय हो । त्यस्तै शुक्र अस्त भनेको शुक्र ग्रह सूर्यको पूर्वी विम्बबाट प्रवेश गरी पश्चिम विन्दुबाट उदाउँदा सम्मको समय हो। हिन्दु धर्म अनुसार देवताका गुरु बृहस्पति हुन् भने दैत्यका गुरु शुक्राचार्य हुन् ।हिन्दुधर्म अनुसार प्रत्येक वर्ष शुक्र अस्त र बृहस्पति अस्त हुने गर्दछ ।वर्षको एक समयमा घुम्दै जाने क्रममा शुक्र ग्रह पृथ्वीनजिक पुगेपछि सूर्यको प्रकाशले शुक्र ग्रहको प्रकाशलाई ओझेलमा पार्नुलाई शुक्र अस्त भन्ने गरिन्छ ।साथै घुम्दै जाने क्रममा बृहस्पति ग्रह पृथ्वीनजिक पुगेपछि सूर्यको प्रकाशले बृहस्पति ग्रहको प्रकाशलाई ओझेलमा पार्नु नै बृहस्पति अस्त भन्ने गरिन्छ ।
धार्मिक मान्यता अनुसार नित्य, नैमित्तिक र काम्य गरी तीन प्रकारका कार्य रहेका हुन्छन् ।नित्य कर्ममा स्नान, ध्यान, जपतप, पूजापाठ आदि कर्म पर्दछन् ।नैमित्तिक कार्यमा बच्चाको न्वारान, पास्नी, मृत्यु संस्कार तथा श्राद्ध, मासिक तर्पण, जन्मोत्सव जस्ता कर्म पर्दछन् ।काम्य कर्ममा जुराएर र हेराएर गर्ने प्रकृतिका कार्यहरु जस्तै नयाँ गृह निर्माण आरम्भ, नवगृह प्रवेश, नयाँ व्रतको आरम्भ, नयाँ मन्दिर निर्माण, मूर्ति स्थापना, सप्ताह, नवाह आदि अनुष्ठान र व्रतबन्ध–विवाह आदि संस्कारहरू पर्दछन् ।प्रत्येक काम्य कर्मका फलदाता नै गुरु र शुक्र हुन् ।
बृहस्पति र शुक्र अस्तमा कस्ता कार्य गर्नु हुँदैन ?
अस्त भएको बेलामा बृहस्पति र शुक्र ग्रह निर्बल हुने हुँदा विवाह, व्रतबन्ध आदि शुभकर्म गर्नु हुँदैन भनी शास्त्रले निर्देश गरेको छ । कुवा, बगैँचा, गृहारम्भ, गृहप्रवेश, देवताको मूर्ति प्राण प्रतिष्ठा, व्रत प्रतिष्ठा, व्रतको आरम्भ, बधूप्रवेश, महादान, सोम यज्ञ, अष्टका श्राद्ध, गोदान (केशान्तक कर्म), नवान्न भक्षण, प्रथमपटक उपाकर्म, वेदव्रत, काम्य वृषोत्सर्ग, समयमा संस्कार हुन नसकेका बाँकी संस्कार, देवताको प्रतिष्ठा, दीक्षा मन्त्र ग्रहण, व्रतबन्ध, विवाह, मुण्डन, पहिलोपटक तीर्थ यात्रा, सन्यास ग्रहण, राजाको दर्शन, राजाभिषेक, यात्रा, विशेष परीक्षा आदि कुरा त्याज्य हुन्छन् भनी मुहूर्त चिन्तामणि मा बताइएको छ ।
‘वाप्यारामतडागकूपभवनारम्भप्रतिष्ठेव्रताऽ
रम्भोत्सर्गबधूप्रवेशनमहादानानि सोमाष्टके ।
गोदानाग्रयण-प्रपा-प्रथमकोपाकर्म वेदव्रतम् ।
नीलोद्वाहमथातिपन्नशिशुसंस्कारान् सुरस्थापनम् ।।
दीक्षा-मौञ्जि-विवाहमुण्डनमपूर्वं देवतीर्थेक्षणम् ।
सन्यासाग्निपरिग्रहौ नृपतिसन्दर्शाऽभिषेकौ गमम् ।
चातुर्मास्यसमावृती श्रवणयोर्वेधं परीक्षां त्यजेद् ।
वृद्धत्वास्तशिशुत्व इजय-सितयोन्र्यूनाधिमासे तथा ।।’ (मुहूर्तचिन्तामणि)
यसैगरी गयाश्राद्ध र गोदावरीको यात्रा भने गर्दा हुन्छ भन्ने वायुपुराणले बताएको छ :-
‘न त्यक्तव्यं गयाश्राद्धं सिंहस्थे च वृहस्पतौ ।
अधिमासे सिंहगुरावस्ते च गुरुशुक्रयोः ।
तीर्थयात्रा न कर्तव्या गयां गोदावरीं विना ।।’ (वायुपुराण)
अर्थात् गुरु बृहस्पति र शुक्रको अस्तमा गयाश्राद्ध र गोदावरी यात्रावाहेक अन्य यात्रा नगर्नू भनिएको छ । प्रमादवश गरेमा अनिष्टफल भोग्नुपर्ने कुरा मुहूर्तचिन्तामणिको पीयूषधारा टीकामा उल्लेख गरिएको छ ।
कस्ता कार्य बृहस्पति र शुक्र अस्तमा गर्नु हुन्छ ?
बृहस्पति र शुक्र अस्त भएको बेलामा आफ्ना नित्य कर्म गर्न भने कुनै बाधा व्यवधान रहँदैन । यसैगरी नित्य कर्मअन्तर्गत पर्ने श्राद्ध, वार्षिकी, लिँदैआएका व्रत उपासना पनि रोकिँदैनन् । यसैगरी नैमित्तिक कर्मअन्तर्गत अइपर्ने नामकरण, औध्र्वदेहिक कर्म, अत्यावश्यक कर्म, ग्रहशान्ति, रोग शान्ति आदि कर्म गर्न सकिन्छ । शान्ति कर्मका निम्ति पनि छुट दिएको पाइन्छ :-
‘शान्तिकर्मणि कुर्वीत रोगे नैमित्तके तथा ।
गुरुभार्गवमौढ्येऽपि दोषस्तत्र न विद्यते ।।’
यसैगरी महिना तोकेर भनिएका कर्म गर्न पछि छुट दिइएको छ ।
बृहस्पतिको वचनअनुसार-
‘मासप्रयुक्तकार्येषु मूढत्वं गुरुशुक्रयोः ।
नदोषकृन्मलो मासो गुर्वादित्यादिकं तथा ।।’
बृहस्पति र शुक्र अस्तमा सीमन्तोन्नयन, जातकर्म, अन्न प्राशन कार्य पनि गर्नु हुन्छ दोष लाग्दैन भनी बताइएको छ :-
‘सीमान्तजातकादीनि प्राशनान्तानि यानि वै ।
न दोषो मलमासस्य मौढ्यस्य गुरुशुक्रयोः ।।’ (मुहूर्तचिन्तामणि पीयूषधारा टीका)
नित्य कर्म, ग्रहशान्ति, नैमित्तिक कर्म अन्तर्गतका सीमन्तोन्नयन, जातकर्म, अन्नप्राशन, शान्ति कर्म, गयाश्राद्धादि कार्य बृहस्पति अस्त भए पनि गर्दा कुनै दोष नलाग्ने कुरा शास्त्रले बताएका छन् ।
बृहस्पति र शुक्र अस्त एक प्राकृतिक चक्र हो । सूर्यको बिम्बमा परि बृहस्पति र शुक्र हाम्रो दृष्टिपथमा नआएको अवस्थालाई बृहस्पति र शुक्र अस्त भनिन्छ । सूर्य र बृहस्पति तथा सूर्य र शुक्र एउटै राशिमा भएका बेला यस्तो अस्त हुने गर्दछ । बृहस्पति र शुक्र अस्त हुँदा बृहस्पति र शुक्रजन्य प्रभाव कम हुने भएकाले, विवाह, व्रतबन्ध आदि काम्य कर्म (कुनै फलको कामना राखी गरिने धार्मिक कार्य) गर्न निषेध गरिएको छ । यसैगरी नित्य गरिँदै आएका कार्य श्राद्ध, व्रत-उपवास, चाडपर्व रोकिदैनन् । यसैगरी निमित्तवशात् आएका कर्म नामकरण, अन्नप्राशन, मृत्युसंस्कारका कार्य आदि नैमित्तिक कार्य भने सम्पादन गर्नु हुने शास्त्रीय निर्णय पाइन्छ । बृहस्पति र शुक्रजन्य प्रभावको कमी रहने भएकाले गरिएका काम्यकर्म निष्फल हुन्छन् । यसैले काम्य कर्मका लागि भने बृहस्पति र शुक्र अस्तमा शास्त्रले निषेध गरेका हुन् ।