वि.सं. २०८१ सालको वार्षिक भविष्यफल

वि.सं. २०८१ सालको वार्षिक भविष्यफल

यस वर्ष साठी संवत्सरमध्ये बार्हस्पत्यमानले पिङ्गलनामको संवत्सरको समाप्तिसँगै कालयुक्तनामको संवत्सर प्रारम्भ भए‌को छ । मेषसंक्रान्तिबाट भुक्तमासादि ०/२५/२१/३६ २ भोग्यमासादि ११/४/३८।२४ रहेको छ। यसपछि सौरमानले सिद्धार्थनामक संवत्सरको आगमन हुनेछ । संवत्सरफल निम्नअनुसार रहेको छ ।

 

कालयुक्त संवत्सरमा सामयिक नीतिनियममा रहनाले प्रायः सबै प्राणीहरू सुखी हुनेछन् । धान्यादि उत्पादनमा प्रचुरताका साथै अनेकौं रोगहरूको उत्पत्तिसमेत हुनेछ । सिद्धार्थनामक संवत्सरको प्रभावसँगै राजा (शासकवर्ग) र जनता सबै शान्त एवं निर्वैर हुनेछन् । सर्वत्र धान्यादिको उत्पादनले पृथ्वी सुशोभित हुनेछ । अनाजको यथोचित मूल्यप्राप्तिले कृषकवर्गमा प्रसन्नता छाउनेछ। 

 

गुरुको उदयास्त कार्तिक वर्ष परेकाले अग्निजीवी, गाई पालेर जीवीका गर्ने र यातायात व्यवसायीहरू पीडित हुनेछन् । शस्त्रप्रकोप, अग्निभय, भोकमरीजस्ता अशुभ फलको आधिक्य हुनेछ भने पुष्पजीवीहरूको वृद्धि हुनेछ। राजा मङ्गलका कारण अग्निभय, जनधनको क्षति, चोरडाँकाको भय, शासकहरूमा विग्रह, जनतामा दुःखकष्ट, रोगव्याधिजन्य दुःख हुनेछ भने मेघबाहुल्य रहे पनि वृष्टिमा न्यूनता आउनेछ । 

 

मन्त्री शनिका कारण सरकार क्रूर र नृशंस बन्नेछ । जनधनको सुरक्षामा सरकार उदासीन बन्नाले जनता दुःखी हुनेछन् । लोकरञ्जनकारक वृष्टिको अभाव हुनेछ । फलस्वरूप जनताले यदाकदा र कतैकतैमात्र सुखको सास फेर्नेछन् । सस्येश पदमा आसीन मङ्गलका कारण हात्ती, घोडा, गधा, ऊँट, गाईलगायतका पशुधनमा रोगव्याधिको सम्भावना, असन्तुलित वृष्टिका कारण धान्यादि उत्पादनमा न्यूनताजस्ता अशुभ फलका बाबजुद धान्येश चन्द्रका कारण केही शुभफलको सम्भावना देखिन्छ । गहुँ एवं सस्यूँ प्रजातिका अनाज तथा दुग्ध उत्पादनमा वृद्धि हुनाले समाजमा केही सुखको सञ्चार हुनेछ । 

 

मेघेश शनिका कारण अल्पवृष्टि, सरकारको क्रियाकलापका कारण जनमानसमा सन्ताप, विविध सङ्क्रामक रोगका कारण जनता दुःखी हुनेछन्। रसेश गुरुका कारण जनमानसमा थोरै भएपनि सुखानुभूति, तालतलाउहरूमा जलवृद्धि, ब्रह्मज्ञानी साधुसन्त, ब्राहमण एवं प्राज्ञिकजनप्रति लोकको सम्मानजनक भाव बढ्नेछ। मुगा, तामा, रक्तचन्दन, रातो वस्त्रलगायत राता वर्णका वस्तुहरूमा हुने लगातार विशेष मूल्यवृद्धिको कारक निरसेश मङ्गल रहनेछ। फलेश शुक्र भएकाले धरा हराभरा देखिनेछ । शासकवर्ग भोगविलासमा प्रवृत्त हुनेछन् । ब्राह्मणहरू वेदादि शास्त्रको पाठपारायण, एवं अध्ययन-अनुसन्धानमा लाग्नेछन् । धनेश मङ्गलका कारण सरसामानमा व्यापक मूल्यवृद्धि हुनाले उपभोक्ता मारमा पर्नेछन् । मूल प्रजातिबाहेकका धानहरूको उत्पादन साहै न्यूनमात्रामा हुनेछ ।

 

दुर्गेश शनिका कारण न्यायपूर्वक सुरक्षा संयन्त्र परिचालन नहुनाले गाउँ, शहर कतै पनि सुरक्षासुखको अनुभूति हुनेछैन । देश विग्रहमा जानसक्ने खतरा रहनेछ । राज्यसंयन्त्र परनिर्देशनमा चल्नाले नागरिकहरू पलायन हुने क्रम बढ्‌नेछ । पृथ्वीमा कहिँ कतै पनि कृषिधनको प्राप्ति गर्न कृषकहरू समर्थ हुनेछैनन् । सूर्यको आर्दाप्रवेशसमय विचार गर्दा फलका हिसाबले तिथि र योगको उत्तम संयोग परे पनि वार र नक्षत्र सामान्य छन् । तसर्थ शुभाशुभ मिश्रित फलप्राप्ति हुने अवस्था रहेको छ । 

 

जगल्लग्नकुण्डलीमा लग्नेश बृहस्पति मित्रगृही भई मित्रग्रह सूर्यका साथ पञ्चम स्थानमा बसेको छ । शासकवर्गले चाहेमा असल मित्रहरूको सरसल्लाह र सहयोगले आफ्ना योजनाहरू कार्यान्वयन गराउन सफल हुनेछन् । लग्नमा चन्द्रमा र बृहस्पतिको दृष्टि रहेको छ। देशमा अस्थिरता वृद्धि हुनेछ तर पनि तृतीय भावमा स्वगृही शनि र मङ्गलको अवस्थिति राष्ट्रस्वावलम्बन कार्यका लागि अनुकूल रहेको छ । राष्ट्रको विकास र जनतामा आशाको सञ्चार अभिवृद्धि गराउने ध्येय भएमा ग्रहपरिषद्‌द्मा अवस्थित ग्रहस्थितिलाई विचार गर्दै सबैसँग सरसल्लाहका साथ संयमपूर्वक अघि बढ्नु शासकवर्गका लागि श्रेयस्कर हुनेछ ।

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish